२ खर्बको दसैँ !
काठमाडौँ । दसैँमा हुने किनमेल, आवतजावत, घुमघाम लगायतले अर्थतन्त्रलाई चलायमान बनाउँछ । दसैँमा सबै उपभोग्य वस्तुको माग अत्यधिक हुने भएकाले उद्योगहरूले पनि दसैँअघि उत्पादन क्षमता बढाउँछन् । व्यवसायीहरूका अनुसार दसैँ, तिहार जस्ता ठुला चाडबाडमा मात्रै वर्षभर हुने करिब ४० प्रतिशत व्यापार हुन्छ ।
खाद्यान्न, लत्ताकपडा, मदिरा, सवारी साधन, मासु, फलफूल लगायतका वस्तुको खपत दसैँका बेला नै धेरै हुने गरेको छ । परिवारलाई वर्षभरि पुग्ने नयाँ लत्ताकपडा किन्ने चलन फेरिए पनि दसैँमा केही न केही लुगाफाटो किन्ने चलन यथावत् छ । दसैँ र तिहारलाई लक्षित गर्दै साउन, भदौदेखि नै वस्तु आयात सुरु हुन्छ । नेपाली अर्थतन्त्र आयातमुखी छ । भन्सार विभागको तथ्याङ्क अनुसार हामीले उपभोग गर्नेमध्ये ९० प्रतिशत सामग्री अर्को मुलुकबाट आउँछ । गएको साउन र भदौ महिनामा मात्रै २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
जानकारहरूका अनुसार दसैँ र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशत बराबर उपभोग हुने गरेको अनुमान छ । नेपालको कुल गार्हस्थ्य उत्पादन २०८०/८१ सम्म ५८ खर्ब हाराहारीको छ । यसै पनि दसैँ खानपानको चाडका रूपमा चिनिन्छ । दसैँको हप्ता दिनको अवधिमा मात्रै करिब १ अर्बको मासुको व्यापार हुन्छ । दसैँको समयमा हुने अन्य महँगा किनमेल जस्तै– गाडी खरिद, गरगहना लगायतले दसैँमा ५० अर्ब हाराहारी खर्च हुने जानकारहरूको भनाइ छ । यो वर्षको भदौमा सम्पन्न भएको नाडा अटो शोमा मात्रै करिब २० अर्ब रुपैयाँका गाडी बुकिङ भएको छ ।
तलबभत्ता लगायतका शीर्षकमा मात्रै दसैँ अगाडि १५ अर्ब हाराहारी रकम बैंक तथा वित्तीय संस्थाबाट बाहिरिने गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार दसैँलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामती, सेना र प्रहरी) ले मात्र करिब ६ अर्ब ५० करोड रुपैयाँ पेस्की बुझ्छन् । निजी क्षेत्रका कम्पनी तथा उद्योगहरूले पनि आफ्ना कर्मचारीलाई अतिरिक्त तलब, भत्ता दिने चलन छ ।
समग्रमा ३ करोड जनसङ्ख्यामध्ये दसैँ, तिहारमा प्रतिव्यक्ति औसत खर्च ६ हजार रुपैयाँ खर्च हुने हिसाब गर्दा पनि १ खर्ब ८० अर्ब रुपैयाँ दसैँले खर्च गर्छ । अर्थशास्त्रका सहप्राध्यापक डा. घनश्याम खनाल अनिवार्य उपभोग्य वस्तु खरिददेखि विलासी किनमेलले दसैँलाई महँगो बनाएको बताउँछन् । उनी भन्छन्, ‘यति नै खर्च हुने भनेर यकिन भन्न सकिँदैन । तर समग्र सूचक र उपभोगको अवस्थालाई हेर्दा करिब २ खर्ब हाराहारी खर्च दसैँमा हुने अनुमान छ ।’
- फोरिँदो जीवन शैली
पछिल्लो तीन दशकमा नगदमा आधारित अर्थतन्त्र फस्टाएपछि दसैँको अर्थतन्त्र पनि बदलिएको छ । यसले दसैँमा हुने उपभोगको संस्कृतिमा पनि परिवर्तन देखिन थालेको छ । राम्रो लगाउन र मिठो खान दसैँ नै कुर्नुपर्ने अवस्था बहुसङ्ख्यक नेपालीको छैन । आयस्रोतमा आएको फेरबदल र आम्दानीमा भएको सुधारसँगै दसैँमा उपभोगका नयाँ आयाम देखिन थालेका छन् ।
पहिले नेपाली आफैँले गरेको उत्पादनमा दसैँ सीमित थियो । दसैँकै लागि चाहिने खाद्यान्न, कृषि उपज र मासुका लागि चाहिने खसीबोका घरमै साँच्ने चलन थियो । तर अहिले अवस्था बदलिएको छ । करिब आधा नेपाली घरपरिवारले दसैँका लागि चाहिने खाद्यान्न, माछामासु मात्रै होइन अन्य कृषि उपजदेखि पूजाको लागि फूलसमेत किन्न थालेका छन् । ‘पहिले दसैँका लागि घरमै खाद्यान्न र अन्य अत्यावश्यक सामग्री साँच्ने चलन थियो,’ सहप्राध्यापक खनाल भन्छन्, ‘अहिले किनमेलका लागि नगद साँच्ने चलन आयो । यसले दसैँलाई थप उपभोग्य चाडको रूपमा विकास गरेको छ ।’
यससँगै पछिल्लो समय दसैँ घुमघामको पर्व पनि बन्न थालेको छ । लामो बिदा हुने र देश विदेशमा घुमघामका लागि सहज व्यवस्था हुन थालेपछि दसैँमा घुम्ने संस्कार बढ्दो छ । प्रतिव्यक्ति एक, डेढ लाखसम्म खर्च गरेर नेपालीहरू थाइल्यान्ड, दुबई, इन्डोनेसियादेखि यसको दोब्बर खर्च गरेर युरोपेली मुलुकमा समेत घुम्न निस्कन थालेका छन् । ट्राभल तथा टुर एजेन्सीहरूले पनि दसैँलाई यही मौकामा भ्रमणका विभिन्न योजना ल्याउने गरेका छन् ।
उपभोग्य र बदलिएको दसैँ बनाउने शैलीलाई वैदेशिक रोजगारीले ठुलो भरथेग गरेको छ । जीवनस्तर सर्वेक्षण २०७८ अनुसार देशका ७७ प्रतिशत घरधुरीले रेमिट्यान्स भित्र्याउने गरेका छन् । आर्थिक वर्ष सन् १९९५/९६ मा २३.४ प्रतिशत र आर्थिक वर्ष २००३/०४ मा ३१.९ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका थिए । हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिन थालेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । रेमिट्यान्समध्ये दैनिक उपभोगको लागि मात्रै ६९ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।
दसैँ खानपान, घुमघाम र रमाइलोको मात्रै नभएर पछिल्ला केही वर्षदेखि सम्पत्ति जोड्ने पर्वका रूपमा पनि देखिन थालेको छ । यसको छनक नाडा अटो शोले दिइसकेको छ । उक्त शोमा २० अर्बका सवारी साधन बुकिङ भएका छन् । जुन अधिकांश दसैँ अगाडि डेलिभरी भइसकेको व्यवसायीहरूको भनाइ छ । टाटा मोटर्सका अनुसार दसैँमा मात्रै कुल कारोबारको ४० प्रतिशत व्यापार हुने गरेको छ । गाडीका साथै दसैँमा टीभी, मोबाइललगायत सामग्रीको खरिद पनि उच्च हुने गरेको छ ।
नेपाली अर्थतन्त्र पूर्णरुपमा आयातमा निर्भर रहेकाले दसैँ अर्थतन्त्रलाई दुई पाटोबाट हेर्नुपर्ने अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ बताउँछन् । ‘दसैँजस्ता चाडबाडले अर्थतन्त्र गुल्जार बनाए पनि आयातमा निर्भर मुलुक भएकाले अधिकांश पैसा बाहिर जान्छ,’ उनी भन्छन्, ‘अर्को कुरा लामो बिदाले सरकारी खर्च, उद्योगभन्दा लगायतका सेवा पनि लामो समय ठप्प रहन्छन् ।’ यसले गर्दा अर्थतन्त्र क्षणिक चलायमान बनाएको देखिए पनि दिगो नहुने उनको भनाइ छ । श्रेष्ठ भन्छन्, ‘लगभग आधा हिस्सा मात्रै स्वदेशी उत्पादनले धान्ने हो भने यस्तो चहलपहलको धेरै ठूलो महत्त्व हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले केनेडी जूनियरलाई बनाए स्वास्थ्यमन्त्री
-
दुई खेलअघि नै इङ्ल्यान्डले शृङ्खला जित्ने पक्का, इन्डिजलाई तीन विकेटले हरायो
-
तस्बिरमा हेर्नुहोस् राष्ट्रपति पौडेलको स्वदेश फिर्ती
-
स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय, सर्वोच्चको यस्तो छ फैसला
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
माथिल्लो कर्णाली आयोजना : १६ वर्षदेखि लगानीको प्रतीक्षा, दुई महिना म्याद बाँकी