पुष्पलाल र गङ्गालालको जन्मथलोमा साहित्यिक कार्यक्रम
‘हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’को वार्षिकोत्सवका अवसरमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, हित–जून युद्ध–कला सङ्ग्रहालय समुद्घाटन लगायत कार्यक्रम तालिकासहित २०८० चैत २० गते मलाई कवि अशोक सुवेदीजीको पत्र प्राप्त भयो ।
कार्यक्रम चैत २४ गतेदेखि २७ गतेसम्म थियो । पहिलो दिन रामेछापको भँगेरीमा अवस्थित पुष्पलाल–गङ्गालाल जन्मेको भग्नावशेषमा ‘हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’ले दश वर्षअघि बनाएको पुष्पलाल र गङ्गालालको सालिक अनावरण कार्यक्रम थियो । प्रथम विद्यार्थी सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा गरिने कार्यक्रमले पनि मलाई धेरै तानेको थियो । वामपन्थी लेखक पुष्पलाल तथा कम्युनिस्ट आन्दोलनमा तिनको योगदान स्मरण भइरहन्छ ।
कार्यक्रमको विशिष्ट अतिथि, ‘अमरबस्तीको यात्रा’ लोकार्पित पुस्तकको समीक्षा, कविता प्रतियोगिताको निर्णायक आदि भूमिका मेरा लागि तोकिएको थियो ।
चैत २४ गते म र राधा कार्की रामेछापको यात्रामा निस्क्यौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको गाडी लिएर आउने भनेपछि अशोकजीले गाडीमा अट्ने साथीहरू लिएर आउन आग्रह गर्नुभयो । मैले एकजना महिला साथीलाई अगाडिको सिटमा राखेर ल्याउन सकिने कुरा गरेँ । उहाँले राधाजीसँग पनि यही कुरा गर्नुभएको रहेछ । गाडीमा पछाडि दुई सिट र अगाडि एक सिटको क्षमता हो । गर्मीको समयमा लामो दूरीको यात्रामा पछाडि तीनजना बस्न सकिने अवस्था नभएकाले यसो भन्नुपरेको थियो । कार्यक्रमकै दिनमा हामी करिब २ बजेतिर पुगिएला भनेर बिहान ८ बजे हिँडेका थियौँ ।
प्रथम विद्यार्थी सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा गरिने कार्यक्रमले पनि मलाई धेरै तानेको थियो । वामपन्थी लेखक पुष्पलाल तथा कम्युनिस्ट आन्दोलनमा तिनको योगदान स्मरण भइरहन्छ ।
भक्तपुरको जगाते नपुग्दै जाम सुरु भयो । सडक मर्मतको काम हुँदै गरेकाले जाम परेको रहेछ । रामेछापमा २–३ बजेतिर पुग्ने सम्भावना न्यून हुँदै गयो । काठमाडौँबाट चरीकोट हुँदै तामाकोसी पुल निस्किएर रामेछापको मन्थली पुग्न ६–७ घण्टा लाग्ने रहेछ । हामीलाई बेलाबेला अशोकजीले फोन गरिराख्नुभएको थियो । हामी यता–उता, यहाँ–त्यहाँ पुगेको जानकारी दिँदै गथ्र्यौं । निर्धारित समयमा पुग्न नसक्ने भएपछि मैले चालक जितबहादुरजीलाई भनेँ— बिस्तारै चलाउनु, जतिबेला पुगे पनि पुगिन्छ ।
मन्थली बजार पुग्दा साढे २ जति भएको थियो । दुई घण्टामा रामेछाप, मन्थली पुगिएछ । गाडी तीव्र गतिमा थियो । राधाजी ‘भमिट’ गर्न थाल्नुभयो । मलाई पनि रिँगटा लाग्यो । खाली सडकमा भएकाले हामीले चालकलाई केही भनेनौँ ।
मन्थलीबाट हामी ४ बजेको आसपासमा भँगेरी पुगेका थियौँ । अशोकजीले स्वागत गर्नुभयो ।
त्यसपछि हामी पुष्पलाल र गङ्गालालको जन्मथलोतिर लाग्यौँ । एउटा ऐतिहासिक स्थान, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक र वीर सहिदको जन्मथलोमा पुग्न पाउँदा खुसी लाग्यो । काठमाडौँबाट हामीसँगै हिँडेको अर्काे टोलीका लोककृष्ण भट्टराईलगायत आइपुग्नुभएको थिएन । धर्मेन्द्र बास्तोला भने अघिल्लै दिन आइपुग्नुभएको रहेछ । करिब पन्ध्र मिनेट पर्खेपछि उहाँहरू पनि आइपुग्नुभयो । मोहन वैद्य, सीपी गजुरेल र सुरेन्द्र केसी अस्वस्थ भएका कारण जानुभएन । कार्यक्रम ५ बजेतिर सुरु भयो । हामी सबै अतिथिलाई फूल र खादाले स्वागत गरियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले सालिक अनावरण गर्नुभयो । हामी सबैले पुष्पलाल र गङ्गालालको सालिकमा माल्यार्पण गर्यौँ ।
मैले शुभकामना मन्तव्य राखेँ । कार्यक्रममा रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने र भँगेरीका स्थानीय प्रतिनिधिको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कमरेड अशोक सुवेदीले गर्नुभएको थियो । त्यहाँ उपस्थितमध्येबाट मलगायत लगभग १५ जनाले शुभकामना मन्तव्य राखेपछि कार्यक्रमको समापन गरिएको थियो । सहिदहरूको जन्मथलो टेकेर उहाँहरूको सालिकमा श्रद्धाले माल्यार्पण गर्न पाइयो । पुष्पलाल र गङ्गालालको सालिक अनावरण गरेर उहाँहरूलाई सम्झने पहिलो दिनको कार्यक्रम सकिँदा साँझको ८ बज्यो ।
अशोकजीको घरमा आएर (जुन हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान पनि हो) चिया पानी खाइयो । उहाँहरूका आफन्त (दिदी, बहिनी, भतिजी) ले खाना बनाउनुभयो । खाना पाक्दै गर्दा अशोकजीले मलाई पहिले नै दिनुभएको जिम्मेवारीका लागि पुस्तक दिनुभएको थियो । खाना खाएपछि मैले उक्त पुस्तक हेरेँ र केही टिप्दै पनि गएँ । हामीसँगै काठमाडौँबाट गएका प्रा।डा जगदीशचन्द्र भण्डारी, मुकुन्द आचार्य, धर्मेन्द्र बास्तोला, लोककृष्ण भट्टराई तथा उहाँकी अर्धाङ्गिनी सावित्री भट्टराई लगायतको समूह प्रतिष्ठानमा थियौँ । पुष्पलाल, गङ्गालालको जन्मथलो टेक्न पाउँदा निकै हर्ष लागेको थियो । हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका विषयमा धेरै कुरा थाहा पाएँ । पुष्पलालको जन्मघरको आँगनमा उभिएर उनका बारेमा थप नयाँ कुरा जान्ने मौका मिलेको थियो ।
करिब साढे १० बजेतिर खाना खाएर सुत्ने कोठामा गयौँ । म कहिल्यै पनि त्यो भँगेरी, सिर्जनानगरको साहित्यिक सुगन्ध भुल्नेछैन ।
भोलिपल्ट बिहान हामी सिर्जनानगरको सिरानमा रहेको अशोकजीको पुख्र्यौली थलोतिर लाग्यौँ । प्रतिष्ठानको पछाडि पक्की सडकबाट पूर्वतिर उकालो लाग्ने कच्ची सडक छ । त्यहीँबाट हामीले मन्थलीका फाँट हेर्यौँ । अशोकजीले हाम्रा जिजु–हजुरबुबाहरूले आर्जेको फलानो–फलानो टार भन्दै ६ वटा टार देखाउनुभयो । सामन्तहरूसँग मल्लयुद्ध लडेको इतिहास सुनाउनुभयो । रामेछापका कतिपय स्थान निकै सुक्खा र ठाडा भिरजस्ता देखिन्थे । त्यो टारी फाँट भने निकै रमाइलो थियो । थोरै माथि उक्लेपछि चौतारोको पेटीमा उभिएर सामूहिक तस्बिर खिचियो । रोडको बाटो हिँडेर केही पर पुगेपछि माथि सिरानमा अशोकजीको पुरानो घर देखियो । त्यहाँबाट नयाँ घरसम्म पुग्न झन्डै आधा घण्टा लाग्ने रहेछ । हामीले त्यहीँ उभिएर अशोकजीबाट पुरानो घर र नयाँ घर निर्माणको कथा सुन्यौँ ।
नयाँ घरमा हाम्रा लागि खाना तयार गरिएको थियो । गर्मी अत्यधिक हुनाले कार्यक्रम सुरु गर्दा २ बजिसकेको थियो । कार्यक्रम तालिकाअनुसार मलाई कविता प्रतियोगिताको निर्णायकको भूमिका र ‘अमरबस्तीको यात्रा’ पुस्तकको समीक्षा गर्नुपर्ने जिम्मेवारी थियो ।
बाआमाको प्रतिमामा माल्यार्पण गरी श्रद्धासुमन अर्पण भयो । त्यसपछि ‘हित–जून युद्ध–कला सङ्ग्रहालय’को उद्घाटन भयो । अनि बल्ल शुभकामना मन्तव्यसँगै कविता वाचनको कार्यक्रम सुरु भयो । अतिथिहरूबाट पनि पालैपालो कविता वाचन भयो । मैले पनि एउटा कविता वाचन गरेँ ।
कार्यक्रमको विशिष्ट अतिथि, ‘अमरबस्तीको यात्रा’ लोकार्पित पुस्तकको समीक्षा, कविता प्रतियोगिताको निर्णायक आदि भूमिका मेरा लागि तोकिएको थियो ।
पूर्वनिर्धारित कार्यक्रम तालिका अनुसार मेरो संयोजकत्वमा रसुवाली कवि, राधा दुलाल कार्की र अग्निराज पौडेल ‘अराप’ रहेको निर्णायक समिति घोषणा भयो । १२–१३ जना साना बालबालिका, किशोरीहरूबाट विभिन्न शीर्षकमा कविता वाचन भए । धेरै कविता आमा शीर्षकका थिए । मैले कविताहरूको मूल्याङ्कन गर्ने पूरै जिम्मा राधा र रसुवाली कविलाई दिएँ । कार्यक्रम ढिला सुरु भएकाले पूर्वनिर्धारित कार्यक्रम तालिका अनुसार नभ्याइने भएपछि पुस्तकको समीक्षा लिखित रूपमा दिने कुरा भयो ।
भोलिपल्ट बिहान भलिबल प्रतियोगिताको कार्यक्रम थियो । हामी करिब ८ बजे खेल मैदान सरसफाइमा जुट्यौँ । दिउँसो खेल सकेर निस्कँदा काठमाडौँ आइपुग्न ढिला हुने हुनाले हामी निस्कियौँ ।
खुर्काेटको बाटो बिग्रेको जानकारी अघिल्लो दिनै थियो । त्यसैले फर्कंदा पनि हामी मन्थली बजारबाट चरिकोट हुँदै काठमाडौँ सोझियौँ । बाटोमा आउँदा अशोकजीसँग कुराकानी भयो । कार्यक्रम राम्ररी सम्पन्न भएको जानकारी पायौँ । एक जना छोराले दिवंगत बाबुआमाका लागि यति धेरै गर्न सक्ने औकात राख्ने रहेछ । अशोक सुवेदी यस्तो असल सुपुत्र हुनुहुन्छ, जसले आफ्ना बाबुआमाको असल कर्म र विचारलाई जोगाउन यति धेरै प्रयास गर्नुभएको छ ।
- प्रतिष्ठानको सङ्क्षिप्त परिचय
हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको स्थापना २०६३ सालमा भएको हो । साहित्यकार अशोक सुवेदीले आफ्ना बाआमाको सत्कर्मलाई जीवित राख्न यस प्रतिष्ठानको स्थापना गरेका हुन् । उनका पिता हितप्रसाद उपाध्याय मात्रै होइन, पितामह चन्द्रलाल सुवेदी, प्रपितामह शिवलाल सुवेदीले पनि भँगेरी र मन्थलीका सामन्तहरू विरुद्ध मल्लयुद्ध र कानुनी लडाइँ लडेका थिए । पिता हितप्रसाद उपाध्यायले राणाशासनविरुद्ध मुक्ति सेना र पछि रक्षा दलमा आबद्ध भएर भौतिक रूपमै पनि र कविताका माध्यमबाट सामन्तहरूको अन्यायका विरुद्ध आवाज उठाए । जनतामा जागरण छरे । उनी अग्रगमन र हकअधिकार स्वतन्त्रताका पक्षधर थिए ।
हितप्रसाद मात्र होइन, उनकी जीवनसङ्गिनी जूनमायाले महिला विभेद र अन्यायका विरुद्ध जीवनभर निरन्तर सङ्घर्ष गरिन । सबै प्रकारका विभेद, अन्याय र अत्याचारका विरुद्धमा बोलिन । कवि अशोकले आफ्ना मातापिता कवि हितप्रसाद र सामाजिक अभियन्ता जूनमायाका नाममा प्रतिष्ठानको स्थापना गर्नुभयो । बर्सेनि मातापिताको स्मरणमा प्रतिष्ठानको प्राङ्गणमा चैत २४ देखि २६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । साहित्य प्रतिष्ठानले बर्सेनि बाआमाको सामाजिक योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा यसपटक म रामेछाप, मन्थली, सिर्जनानगर पुगेकी हुँ ।
- अमर बस्तीको यात्रा (खोतल्दै भग्नावशेषहरू)
अमर बस्तीको यात्रा एउटा ऐतिहासिक पुस्तक हो । अशोक सुवेदीले सम्पादन गरेको यस पुस्तकलाई हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।
पाँच खण्डमा विभाजित यस ग्रन्थको पहिलो खण्डमा गणतन्त्र र त्यसपछिका साहित्यक गतिविधिसँग सम्बन्धित संस्मरण, नियात्रा र डायरी समेटिएको छ ।
साहित्यकार तथा कवि अशोक सुवेदीले मरणोपरान्त आफ्ना बाआमालाई जीवित राख्ने उद्देश्यले बाआमाका नाममा स्थापना गरेको प्रतिष्ठान र त्यसै प्रतिष्ठानबाट सञ्चालित विभिन्न साहित्यिकरवैचारिक गतिविधिसम्बन्धी विभिन्न लेखकका संस्मरणात्मक लेखहरू यस खण्डमा राखिएका छन ।
आफ्ना बाबाआमा हितप्रसाद उपाध्याय तथा जूनमाया सुवेदीको शालिक निर्माण, सिर्जनानगर निर्माण गर्ने अग्रज किसानहरूको स्मृतिमा पचास फिट अग्लो स्तम्भ निर्माणका क्रममा रामेछाप, मन्थली, सानीमदौ, सिर्जनानगरमा पुगेका स्रष्टाहरूका लेखनी विशेष महत्वपूर्ण र स्मरणयोग्य छन । स्रष्टाका यात्रानुभूति रामेछाप, मन्थली र संस्थाका गतिविधि केन्द्रित छन ।
यस खण्डमा वरिष्ठ वामपन्थी लेखक शान्ता श्रेष्ठ, दीनानाथ शर्मा, अनिल शर्मालगायतका संस्मरण तथा यात्रा अनुभूति आएका छन् ।
अशोक सुवेदीले आफ्ना मातापिताको स्मृतिका अवसरमा काठमाडौँलगायत देशका विभिन्न स्थानका स्रष्टाहरूलाई निम्तो दिएर उहाँहरूको साक्षीमा गरिएका बाआमाका स्मृतिकेन्द्रित साहित्यक गतिविधिले ऐतिहासिक महत्व त दर्शाउँछ नै एक जना असल सन्तानको बाआमाप्रतिको सम्मान समाजका लागि प्रेरणादायी रहनेछ । माता जूनमाया दिवंगत हुनुअघि हितप्रसादको सम्झनामा प्रतिष्ठानले गरेका कार्यक्रम यस खण्डमा आएका छन । त्यस्तै गणतन्त्र स्थापनाका लागि सडकमा स्रष्टाहरूले गरेका सिर्जनात्मक गतिविधि समेत यस खण्डका संस्मरणमा आएका छन । यस खण्डमा धेरै स्रष्टाहरूका यात्रा अनुभूति समेटिएको छ ।
खण्ड २ मा संस्कृति र बहससम्बन्धी धारणा आएको छ । देशका चर्चित वामलेखक तथा राजनीतिज्ञको सम्बोधन समाविष्ट छन । सांस्कृतिक रूपान्तरणमा विकल्पको खोजी विषयमा लेखहरू केन्द्रित छन । कम्युनिस्ट आन्दोलन, प्रगतिवादी साहित्य र सांस्कृतिक रूपान्तरणमा यो खण्ड केन्द्रित छ । हामीले चाडपर्व मनाउने शैली, दैनिक गरिने कर्म, संस्कारहरू आदिलाई परम्परागत ढङ्गबाट भन्दा पनि तत्कालीन समाजसापेक्ष हुनुपर्ने धारणा व्यक्त भएको छ । परम्परागत संस्कृति र संस्कारको खोजीको विकल्पमाथि बहस उठाइएको छ । सांस्कृतिक रूपान्तरणमा लागिपरेका अशोक सुवेदीको कर्मको पनि समीक्षा गरिएको छ । पुराना र अवैज्ञानिक संस्कार र संस्कृतिलाई वैज्ञानिक र सान्दर्भिक बनाउन परिष्कार र परिमार्जन स्वीकार्नुपर्छ भन्नेमा यी बहस केन्द्रित छन ।
खण्ड ३ निकै महत्त्वपूर्ण छ । विशेषतः कवि साहित्यकार अशोक सुवेदीका आफ्नै अनुभूतिहरू समेटिएका छन । अभियन्ताकै अनुभूति हुनाले रामेछापको मन्थली, सानीमदौ, सिर्जनानगर, भँगेरीलगायत स्थानमा सम्पन्न भएका साहित्यिक गतिविधि र ती गतिविधि सम्पन्न गर्ने क्रममा स्रष्टा र भोक्ता अशोक सुवेदीका नितान्त बेग्लै सङ्घर्ष र अनुभूति पढ्न पाइन्छ । खास गरेर गणतन्त्रपछि उनले बाआमाका नाममा प्रतिष्ठान स्थापना गर्न गरेका पहल, प्रतिष्ठानको स्थापनापछि त्यस प्रतिष्ठानलाई सबै प्रगतिवादी स्रष्टामाझ परिचित गराउन चालेका कदमहरू निकै महत्त्वपूर्ण छन । के साँच्चै अशोकले गरेका यी कार्य सहज थिए ? काम गराइ र बोलीमा फरक छ ? कार्यक्षेत्रमा प्रत्यक्ष खटिँदाको अनुभूति बेग्लै छ । कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा आमाले मृत्युवरण गर्दाको दुःखद् क्षण ! आफू जन्मेको घरलाई माता जूनमाया सुवेदीबाट शिलान्यास गरिएको प्रतिष्ठानको भवन, आफ्नै घरलाई सङ्ग्रहालय र प्रतिष्ठान बनाउने घोषणाको सन्दर्भ आदि यस खण्डमा ऊर्जास्वरूप अनुभूतिका रूपमा आएका छन ।
खण्ड ४ मा गीत–कविता समेटिएको छ । रामेछाप मन्थली, सानीमदौ, सिर्जनानगर, भँगेरी, कवि हितप्रसाद उपाध्याय, आमा जूनमाया सुवेदी तथा उहाँहरूका नाममा स्थापित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका गतिविधि, हित–जून युद्धकला सङ्ग्रहालयकै विषयमा लेखिएका कविताहरू यस खण्डमा समाविष्ट छन ।
खण्ड ५ खोजअनुसन्धान र समीक्षाभित्र प्रा.डा. नन्दीश अधिकारीले लालभूमिको यात्रामाथि समीक्षा गरेका छन । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, सहिद गङ्गालाल र कृष्णलालको जन्मभूमिको सन्दर्भ केलाइएको छ ।
लालभूमिभित्र अटाइएका २०६५ चैत २४–२७ का स्रष्टा यात्रीका रचना, अनुभूति र सिर्जनानगरको साहित्यिक गतिविधिमाथि लेखिएका रचनाको समीक्षा गरिएको छ । शान्ता श्रेष्ठले अशोक सुवेदीको ‘आमा’ कवितामाथि समीक्षात्मक टिप्पणी गरेकी छन । आमालाई मरणोपरान्त जीवित राख्ने छोरा शीर्षक दिइएको छ । उहाँहरूको परिवारमाथि गरिएको शोषण, जालसाजी, षड्यन्त्र, खाँदबारी जग्गाको ऐतिहासिक भोगाइ, पृष्ठभूमि र भोगचलनको विषयलाई उठाइएको छ । पेशल आचार्यले पृथक् अभियानमा आमा र साहित्यकार अशोक सुवेदी शीर्षकमा आमा जूनमाया र छोरा अशोकको अभियानका बारेमा लेखेका छन् । समग्रमा यस खण्डमा लालबस्ती स्रष्टाका लागि अब्बल भूमि भएको निचोड छ ।
अन्त्यमा खासमा २०६५ देखिकै साहित्यिक यात्रा, गतिविधि र रामेछाप, मन्थली, सानीमदौ, सिर्जनानगरसँग सम्बन्धित रचनाहरू यस पुस्तकमा समेटिएको छ । एउटै विधा र एकै लेखकका रचना दोहोरिएका छन् । एकै लेखकका धेरै रचना एउटै सङ्ग्रहमा राख्नुभन्दा स–साना अन्य पुस्तकमा समावेश गरेको भए अझै राम्रो हुने थियो ।
(लेखक नेपाल प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल
-
एनपीएल : सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
-
२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे, तस्बिरहरू
-
पर्यटनमन्त्री पाण्डेमाथि करोडौं घुस लिएको आरोप
-
सुरु भयो प्राधिकरण सञ्चालक समितिको बैठक, उद्योगमा लाइन जोड्ने प्रमुख एजेन्डा
-
कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन