मधेसमा हरेक महिना कम्तीमा ६ जनाको हत्या
वीरगन्ज । मधेस प्रदेशमा शृङ्खलाबद्ध हत्याका घटनाहरू भइरहेका छन् । पछिल्लो चार महिनामा दुई दर्जन भन्दा बढी हत्याका घटना घटेका छन् ।
प्रहरी तथ्याङ्क अनुसार हरेक महिना कम्तीमा ६ जनाको हत्या भइरहेको छ । त्यस तथ्याङ्क बमोजिम हरेक जिल्लामा हत्याका घटनाहरू छ्यापछ्याप्ती भइरहेको देखिन्छ । तैपनि प्रहरीले कुनै ठोस योजनाहरू बनाउन सकिरहेको छैन ।
यही कात्तिक १२ गते, सोमबार । यो दिन महोत्तरीमा एक जना महिलाको शव फेला । २५ वर्षीया महिलाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा उनको शव भेटियो ।
जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकैको ती महिलाको शव फेला परेको थियो । फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरी अनुसन्धानमा जटिलता थियो, तर केही दिनमै अनुसन्धानले गति लियो ।
प्रहरीको सूक्ष्म अनुसन्धानले महिलाको पहिचान मात्रै भएन, घटनाको अनुसन्धानलाई नै सहज बनाइदियो । मृतक महिला धनुषाको सहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी २६ वर्षीया मालती मण्डल थिइन् ।
मृतक मण्डलको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा देखियो । उनको मटिहानी नगरपालिका– ५ का राकेश नायकसँग विवाहेत्तर सम्बन्ध थियो ।
यही कारण श्रीमान्/श्रीमती मिलेर संयुक्तरुपमा हत्या गरे, अनि लगेर बगैँचाको नजिकै रहेको डिलमा शव फ्यालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि चलेको अनुसन्धानले हत्या गरेका श्रीमान्/श्रीमती पक्राउ गरेर मुद्दा प्रक्रियासमेत अगाडि बढाइसकेको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवार बताउँछन् ।
यो घटनाको दुई दिन अगाडि अर्थात् कात्तिक १० गते बारामा पनि एक जना वृद्धको हत्या गरियो । गाउँकै एक व्यक्तिले धारिलो हतियार प्रहार गरी ५० वर्षीय एक वृद्धको हत्या गरे ।
बाराको महागढीमाई नगरपालिकामा नगरपालिकाको वडा नम्बर १ निवासी श्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ । लगत्तै भएको प्रहरी अनुसन्धानले हत्याको जड मात्रै पत्ता लगाएन, हत्याका आरोपितसमेतलाई कठघरामा उभ्यायो ।
आफ्नो खेत जोत्न गर्न नदिँदा हत्या गरिएको बयानसहित प्रहरीले सोथाइ चौधरीलाई नियन्त्रणमा लियो । चौधरी मृतक यादवकै गाउँले रहेको प्रहरी छानबिनमा देखिएको छ । पक्राउ परेका चौधरी अहिले जिल्ला प्रहरी बाराको हिरासतमा छन्, उनीमाथि कर्तव्य ज्यान सम्बन्धीको मुद्दा भएको छ ।
यी दुई वटै घटनाको करिब एक डेढ महिना अगाडिको तेस्रो घटना हो, सिराहाको । कुरा हो– २७ असोजको । यो दिन राती गाउँमा लागेको मेलामा लागेको थियो ।
त्यो मेलामा एक युवती आफ्नो केटासाथीसँग भेट्न आइन । त्यो थाहा पाएर केटाका साथीहरूले ती केटीसँग यौन सम्पर्कको राखे । तर त्यो प्रस्ताव अस्वीकार गर्दा सिराहा सुखीपल नगरपालिकाका कृष्ण महराको हत्या भयो ।
‘गर्लफ्रेन्ड’ सँग साथीहरूले आफूहरू पनि यौन सम्पर्क गर्ने प्रस्ताव अस्वीकार गर्दा उनको हत्या भएको प्रहरीले गरेको अनुसन्धानबाट खुल्यो । त्यसपछि प्रहरीले घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पाँच जना अहिले महरा हत्याकाण्डमा प्रहरी हिरासतमा छन् ।
महोत्तरी, सिराहा र बारमा भएका हत्याका घटना त केही उदाहरण मात्रै हुन । पछिल्लो चार महिनामा प्रदेशमा हत्याका घटना शृङ्लाबद्ध भइरहेको सूचि छ ।
मधेस प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै दुई दर्जन भन्दा बढीको हत्याका घटना भएका छन् ।
मधेस प्रहरीका अनुसार बितेको ४ महिनामा मात्र २६ जनाको हत्या भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ११ गतेसम्मको अवधिमा २६ जनाको हत्या भएको प्रहरी विवरण छ ।
- कुन जिल्लाबाट कति ?
प्रदेशका ८ वटै जिल्लाबाट दुई नाबालकसहित २६ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
यो हत्या लगभग प्रदेशका ८ वटै जिल्लामा घटेको प्रहरी तथ्याङ्कले देखाइरहेको छ । सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका प्रहरी तथ्याङ्क छ । यो जिल्लामा कुल घटनामध्ये ६ जनाको हत्या यही भएको प्रहरी रेकर्डमा उल्लेख छ ।
त्यसपछि सिराहा, रौतहटमा क्रमशः ४/४ जनाको हत्या गरिएको विवरण छ । यसै गरी सप्तरीमा एक जना बालकसहित २ जनाको हत्या भएको प्रहरी विश्लेषण छ । यही अवधिमा बाराबाट समेत एक बालिकासहित ४ जनाको हत्याका घटना भएका प्रहरी आँकडा छ ।
त्यसपछि महोत्तरी ३, धनुषामा २ जना र पर्सामा १ जना हत्या भएको प्रहरी अभिलेख छ । यी ८ वटै जिल्लामा कूल २६ जनाको हत्या भएको प्रहरी अभिलेखमा उल्लेख छ ।
- पुरुषको बढी
गएको चार महिनाको अवधिमा मृत्यु भएकाहरूमध्ये अधिकांश पुरुष रहेको प्रहरी तथ्याङ्कमा देखिएको छ । प्रदेशभरमा चार महिनामा १६ जना पुरुषको हत्या भएको रेकर्ड छ । त्यसपछि दोस्रो नम्बरमा महिलाको हत्या भएको तथ्याङ्क छ ।
चार महिनामा ७ जना महिलाको हत्या गरिएको प्रहरी विवरण छ । साथै २ जना नाबालकको समेत हत्या गरिएको प्रहरी विवरण छ ।
- के भन्छ प्रदेश प्रहरी ?
प्रदेशका ८ वटै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन् । ८ वटै जिल्लामा हत्या सम्बन्धी २७ वटा मुद्दा दर्ता भएका मधेस प्रदेश प्रहरीले जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमध्ये २३ जना पुरुष र ११ जना महिलाको सङ्ख्या छ । कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको प्रदेश प्रहरी प्रमुख लालमणि आचार्य बताउँछन् ।
उनका अनुसार मुख्यतः तीनवटा कारणले हत्याका घटना भइरहेका छन् । रिसिइबी, विवाहेत्तर सम्बन्ध र सानोतिनो झगडामा आवेगमा आएर गरिने प्रहारबाट मूलतः यस्ता घटनाहरू भइरहेको प्रदेश प्रहरी प्रमुख आचार्यको भनाइ छ ।
प्रहरीको अकर्मण्यताले घटना नघटेको प्रदेश प्रहरी प्रमुख आचार्य बताउँछन् । उनी भन्छन्, ‘ यी घटनाहरूको प्रहरी अनुसन्धानमा त सफलता मिलेको छ, तर सफलता मिल्नुको अर्थ वाहवाही होइन । राम्रो होइन । घटनाले समाज कता गइरहेको छ भन्ने म्यासेज दिइरहेको छ, जुन चिन्ताजनक छ । डरलाग्दो छ ।’
यो रोकथामका लागि जनचेतना जगाउन जरुरी रहेको उनको बुझाइ छ । राज्यस्तरबाट आम नागरिकमा जनचेतना जगाउन जरुरी रहेको डिआइजी आचार्य बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छः वर्षमान
-
बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण
-
संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइसके : मन्त्री चौरसिया
-
रास्वपाकी एक्ली वडाध्यक्ष भन्छिन् : बालेनसँग समन्वय गरेरै अघि बढ्छु (भिडियोसहित)
-
३२ वर्षको उमेरमै अस्ताए दक्षिण कोरियाली चर्चित अभिनेता
-
इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)