बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीलाई विरासत जोगाउने चुनौती, एमाले फाइदाको खोजीमा

मङ्गलबार, २७ कात्तिक २०८१, ०६ : ४८
मङ्गलबार, २७ कात्तिक २०८१

बुटवल । स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ६ पदमा मंसिर १६ चुनाव हुँदैछ । रिक्त ६ पदमध्ये यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । त्यसैले कांग्रेस र माओवादीलाई यसअघि आफूले जितेका सिटमा विरासत जोगाउने चुनौती रहँदा एमाले भने जित हासिल गरी फाइदा उठाउने दाउमा छ ।

एमाले र माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्याएका छन् भने नेपाली कांग्रेसले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ बाहेक अन्य ठाउँमा उम्मेदवार टुङ्ग्याएको कांग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए । उम्मेदवारी तोक्न बाँकी दुई ठाउँमा मंगलबारसम्ममा टुङ्ग्याउने गरी आन्तरिक तयारी भएको उनको भनाइ छ ।

कहाँ के छ अवस्था ? 
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।

अहिले यहाँ कांग्रेसबाट आनन्द श्रेष्ठ उम्मेदवार बनेका छन् । एमालेले दलबहादुर थापा र माओवादीले दुर्गाबहादुर विकलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर४ मा कांग्रेसका टङ्कबहादुर पुन ४८८ मत पाएर अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका बेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।

नेपाली कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले बेगम पुनलाई नै मैदानमा उतारेको छ । माओवादीबाट नरेशजङ्ग शाही उम्मेदवार बनेका छन् ।

यस्तै नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ४ हो । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।

यहाँ अहिले नेपाली कांग्रेसले अनिल थारुलाई उम्मेदवार बनाएको छ भने एमालेले विष्णु प्रसाद देवकोटा र माओवादीले शेर बहादुर थारुलाई मैदानमा उतारेको छ ।

माओवादीले यसअघि जितेको रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाअध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । माओवादीको राम्रो प्रभाव रहेकाले केन्द्र र प्रदेशमा सत्ता साझेदार रहेका कांग्रेस र एमालेले तालमेल गरेर ती दुवै सिटमा उम्मेदवारी दिने तयारी गरे पनि भागबण्डा मिल्न सकेको छैन ।

कांग्रेसका एक नेताका अनुसार उपाध्यक्ष र वडाअध्यक्ष बाँड्न दुवै दलबिच छलफल भए पनि अझै निष्कर्षमा पुग्न नसकेको हो । गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।

उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए । 

यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादव १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए । अहिले यहाँ कांग्रेसले दिनेश कुमार यादवलाई उम्मेदवार बनाएको छ । यस्तै, माओवादीले रफिक महोम्मद खान मुसलमानलाई र एमालेले मोजीव खाँलाई नै फेरि उम्मेदवार बनाएको छ ।

दलहरूको आ–आफ्नो दाबी

केन्द्रको नीति अनुसार लुम्बिनी प्रदेशमा माओवादीले एकल उम्मेदवारी दिएको छ । तर आफ्ना उम्मेदवारलाई जिताउनका लागि सान दलहरूसँग सहयोग मागेर अगाडि जाने माओवादी केन्द्रको योजना छ ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्ना उम्मेदवारलाई जिताउन स्थानीयस्तरमा एकीकृत समाजवादी, नेकपा, जसपा लगायत दलसँग सहयोग माग्ने योजना रहेको रातोपाटीलाई बताए ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले प्रदेशअन्तर्गत स्थानीय तहका ६ सिटमा हुने उपनिर्वाचनमा आधा जति स्थानमा जित्ने आधार बनाएर अगाडि बढेको बताए । ‘हामीले यसअघि जितेका ठाउँ होइन तर अहिले कम्तीमा आधा ठाउँ खोस्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले नेपाली कांग्रेसबाट जितेका ठाउँहरूमा पार्टीले गरेका राम्रा काम आगडि बढाउने गरी उपनिर्वाचनमा लाग्ने बताए । उनले प्रदेशले समन्वय गरेर जिल्ला जिल्लामा आ–आफ्नो ढङ्गले चुनावी रणनीति तय गरेको खुलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप