आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक

मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो

शनिबार, ०८ मङ्सिर २०८१, १८ : १५
शनिबार, ०८ मङ्सिर २०८१

केही दिनअघि समीक्षार्थ एउटा पुस्तक हात पर्‍यो । 

पुस्तकको नाम : मनलाई जिते जित, लेखक : आचार्य महाप्रज्ञ, सम्पादक : हुलासचन्द गोल्छा । 

पुस्तकका पाना पल्टाउँदै जाँदा थाहा भयो, अनुवादक रहेछन्, नारद ओझा । 

अध्यात्ममा धेरथोर रुचि राख्ने भएकाले आचार्य महाप्रज्ञको नाम सुनेकै थिएँ, तर उनका कृति वा विचारहरू पढ्ने–सुन्ने अवसर जुरेको थिएन । 

चञ्चल मनकै कारण जीवन–व्यवहार वा दैनिकी, अध्ययन–मनन र चिन्तन व्यवस्थित नभएको मजस्तो बबुरोले ‘मनलाई जिते जित’ नामक पुस्तकको समीक्षा गर्छु भन्नु ठुलो ठट्टा हुन्छ, पुस्तक ‘पढेझैँ’ गरेर प्रभाव लेख्ने एउटा कुरा हो । प्रभाव पनि कुन स्तरको हुने हो, यसै भन्न सकिँदैन । 

मेरो आजसम्मको अनुभवले भन्छ— संसारमा सबैभन्दा ठुलो ज्ञानको र अध्ययनको विषय हो, मनोविज्ञान । मानिसले आजसम्म जीवन–जगत्, सामाजिक, सांस्कृतिक, आर्थिक, आध्यात्मिक, विज्ञान तथा आविष्कार लगायत क्षेत्रमा जति प्रगति गरेको छ; जे जति सिद्धान्त वा अवधारणा बनाएको छ; ती सबैले मनोविज्ञानसँग कुनै न कुनै रूपले सम्बन्ध राख्छन् । मनले विश्वास नगरेको, मनले संकेत नपाएको वा मनको संकेत नबुझेको र मन दृढ नभएको भए मानिसले कुनै आविष्कार गर्न, कुनै पनि क्षेत्रमा इतिहास रच्न र कुनै विषयमा चिन्तन–मनन गरेर निष्कर्षमा पुग्न सक्ने थिएन ।

भनिन्छ— मुखले खानुभन्दा अगाडि मनले खान्छ, शरीरले भोग्नुभन्दा अगाडि मनले भोग्छ, वास्तविक हारजित हुनुभन्दा अगाडि मनले हार्छ वा जित्छ । 

‘मनलाई जिते जित’ पुस्तक हिन्दी (मन के जीते जीत)को अनुवाद हो । यस पुस्तकका लेखक आचार्य महाप्रज्ञ (सन् १९२०–१९१०)लाई घरले दिएको नाम नथमल हो, दीक्षापछि उनी मुनि नथमल भए । पछि धर्म र दर्शनमा विशिष्ट विद्वान् कहलिएपछि उनलाई आचार्य तुलसी (जैन सन्त)ले ‘महाप्रज्ञ’ उपाधि दिएका हुन् । आचार्य महाप्रज्ञको पुस्तक ‘जैन योग’मा गणाधिपति तुलसीको आशीर्वचन छ, जसमा आचार्य तुलसीले मुनि नथमल (अब आचार्य महाप्रज्ञ) भनी सम्बोधन गरेका छन् । 

जैन धर्मको श्वेताम्बर तेरापन्थका दसौँ सन्त आचार्य महाप्रज्ञले साधना शिविरहरूमा दिएका प्रवचनहरूको सँगालो हो, ‘मनलाई जिते जित’ पुस्तक । साधारण शब्दमा भन्ने हो भने यस पुस्तकले मनको विज्ञानका आयाम वा मनको शक्ति र गतिलाई व्याख्या गरेको छ । यस पुस्तकले आफैँलाई नियाल्न र चिन्न मार्गदर्शन गर्छ; मन र शरीरलाई निखार्ने तरिका सिकाउँछ । विशेषतः यसमा अध्यात्म र ध्यानबारे विशेष चर्चा गरिएको छ । 

ध्यान होस् वा शरीर र मनसँग सम्बन्धित कुनै पनि साधना, जो विधिपूर्वक गरिन्छन्, तिनले केही न केही अनुभव गराउँछन् नै । आफैँले अनुभव नगर्दासम्म ‘निदाएर पनि जागृत अवस्थामा रहनु’जस्ता वाक्य मिथ्या लाग्छन् ।

यस पुस्तक भन्छ, मानिस तीन प्रकारका छन्— सुप्त (सुतेको), जागृत (जागा) र सुप्तजागृत (सुतेर पनि जागेको) । मुनि यस्तो हुनुपर्छ, ऊ सुतेर पनि जागै रहोस् अर्थात् ऊ निदाइरहेको छ तर जागिरहेको अनुभव गर्छ वा बोधमा हुन्छ ।

ध्यान होस् वा शरीर र मनसँग सम्बन्धित कुनै पनि साधना होस, जो विधिपूर्वक गरिन्छन्, तिनले केही न केही अनुभव गराउँछन् नै । आफैँले अनुभव नगर्दासम्म ‘निदाएर पनि जागृत अवस्थामा रहनु’जस्ता वाक्य मिथ्या लाग्छन् । कतिपयलाई यस्ता कुरा काल्पनिक वा दैवीजस्ता पनि लाग्छन् । 

ध्यान र योगनिद्रा गर्दा केही आनन्द वा फरक अनुभव मैले पनि गरेको छु तर नियम, निरन्तरता वा साधना नहुँदा त्यसभन्दा अगाडि बढेको छैन । यद्यपि निदाएको अवस्थामा पनि जाग्न सकिन्छ भन्नुलाई म काल्पनिक, दैवी वा मिथ्या मान्दिनँ । मेरो बुझाइ र विश्वास छ— मन र शरीर स्वस्थ राख्न एक खालको नियम र अभ्यासमा बस्नैपर्छ, जसलाई हामी साधना भन्न सक्छौँ । जसले मनलाई थप बलियो (स्वस्थ) वा जागृत बनाउन सक्छ । 

मन र शरीर स्वस्थ हुँदा हामीले चिन्तन–मनन र कर्म गर्न सक्छौँ तर कस्तो चिन्तन–मनन वा कर्म गर्ने भन्ने प्रश्न र परीक्षा संसारमा सधैँ रहन्छ । किनभने यो संसारमा अनेक थरी प्राणी आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका छन् र अनेकथरी व्यक्ति वा समुदायका विचार र विश्वास हाबी छन् । 

यस पुस्तकमा आचार्य महाप्रज्ञ भन्छन्, ‘अन्तर्जगत् चेतनाको जगत् हो, केवल चेतनाको जगत् । यहाँ खालि चेतना हुन्छ, अरु केही हुँदैन । यसलाई हामी आनन्द भनौँ, शक्ति भनौँ, ज्ञान भनौँ, केही पनि भनौँ यहाँ केवल चेतना छ । त्यस चेतनामा जे छ, आनन्द पनि छ, शक्ति पनि छ, ज्ञान पनि छ । यो सारा चेतना हो, अरु केही होइन । 

बाहिरको जगत्मा अनेक द्रव्य छन् । अणु, परमाणुका संघटन छन् । भित्र केवल चेतना छ ।’

यस्ता वाक्य र शब्दहरूले हामी साधारण मानिसलाई धेरै नै भ्रम छर्छन् । किनभने प्रश्न उठ्छन्— यो जीवनमा वा शरीरसँग मन वा आत्मा जोडिएर रहँदा चेतना आनन्द स्वरूपमा मात्रै रहन कसरी सम्भव होला ? शरीरकोे दुखाइ, मनको दुखाइलाई जागृत अवस्था वा चेतनाले कसरी शमन गर्ला ? यस्ता प्रश्न मेरो मनमा अन्य आध्यामिक पुस्तक पढ्दा पनि आएकै हो, यसको जवाफसम्म पुग्न मेरो बौद्धिक औकातले आजसम्म भ्याएको छैन । 

यहाँनेर भन्नैपर्छ, साधकले जिउँदो–जाग्दो अवस्थामै सांसारिक दुःखसुखबाट पर हुन सक्छ भन्नेमा मेरो विश्वास छैन ।

मनको दक्षता सम्बन्धमा आचार्य महाप्रज्ञले एउटा उदाहरण पस्केका छन् । प्राचीनकालमा एउटा चित्रकारले एउटी रानीको एउटा औँला मात्रै देख्छन् । उहिले रानीहरू ‘असूर्यपश्या’ हुन्थे, अर्थात् सूर्यको किरणले पनि रानीको शरीरलाई स्पर्श गर्न पाउँदैनथ्यो, सबै छोपिएको हुन्थ्यो । 

औँला देखेकै भरमा ती चित्रकारले रानीको सम्पूर्ण शरीर कोरे र त्यसमा कोठीहरू समेत राखे ।  

राजाले ती चित्रकारलाई मृत्युदण्ड दिने भए । राजालाई लाग्यो, रानीसँग यसको सम्बन्ध नभईकन कसरी यसले रानीका शरीरका कोठीहरूसम्म देख्यो ?

राजाका एक मन्त्रीले भने— यस चित्रकारसँग अद्भुत शक्ति छ, यसले शरीरको कुनै पनि एउटा अवयवलाई हेरेर समग्र शरीरको चित्र बनाउन सक्छ । 

मन्त्रीको कुरा सुनेर राजाले त्यस चित्रकारको परीक्षा लिए, ऊ उत्तीर्ण भयो । 

यस प्रसंगले प्रश्न खडा गर्छ, यस्तो अलौकिक ज्ञान एउटा व्यक्तिलाई कसरी आउँछ ? के यो मानिसको कल्पना वा साहित्य मात्रै हो ? 

आध्यात्मिक साधनाहरूबाट यस्ता अन्तस्करणको रहस्य थाहा पाउन सकिने थुप्रै चर्चा ग्रन्थहरूमा पाइन्छन् । यस्ता विषय मानिसको कल्पना मात्रै हुन् वा विज्ञानले खोतल्न सक्ने खालका केही रहस्य पनि यसमा छन् ! यसबारे भोलिको विज्ञानले नै बताउला । 

यद्यपि हाम्रा पुर्खाले विभिन्न अनुसन्धानबाट सामुद्रिकशास्त्र बनाएका छन्, जसले शरीरको कुनै अवयव र आभाका माध्यमबाट मानिसको स्वभाव र बौद्धिक क्षमताको विश्लेषण गर्छ । यो एउटा विधा हो । मलाई लाग्छ, हाम्रा पुर्खाले दायाँ वा बायाँ गालामा कोठी हुने स्त्री वा पुरुषको स्वभाव कस्तो हुन्छ भने विषयमा हजारौँ व्यक्तिमाझ अनुसन्धान गरे होलान् । सयौँ वर्षको अनुसन्धानबाट हाम्रा पुर्खा एउटा निष्कर्षमा पुगे होलान् । शरीरको आकार र उचाइ हेरेर ती साधक चित्रकारले रानीको समग्र शरीरको बारेमा पत्ता लगाए कि ! त्यस्तो ज्ञान उनले लिएका थिए कि !  

जेहोस्, यो पुस्तकले मानिसलाई ध्यान गर्न सिकाउँछ । मनको शक्ति र प्रकृतिका रहस्यहरूतिर यस पुस्तकले केही संकेत गरेको छ । 

‘विज्ञान भैरव तन्त्र’ले ध्यानका एक सय १२ विधिहरूको बयान गरेको छ । ध्यानका धेरै विधि छन्— श्वासमा ध्यान दिने, चक्रहरूमा ध्यान दिने, शरीरका अवयवहरूमा ध्यान दिने । 

आचार्य महाप्रज्ञको यो पुस्तकलाई म समग्रमा बुझ्न र समीक्षा गर्न त सक्दिनँ, यति भन्न सक्छु— यसले भड्किरहने ध्यानलाई सम्हाल्ने केही सूत्र दिएको छ । 

२०५३ सालमा पहिलो संस्करण छापिएको यस पुस्तकको दोस्रो संस्करण गोल्छा ग्रुपले गएको भदौमा निकालेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?