आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी

मङ्गलबार, ११ मङ्सिर २०८१, ०७ : ११
मङ्गलबार, ११ मङ्सिर २०८१

नेपाल आर्ट काउन्सिलमा भर्खरै (२०२४ को सेप्टेम्बर २७ देखि अक्टोबर ४ सम्म) ‘कन्फ्लुयन्स’ (संगम) नामक सामूहिक कला प्रदर्शनी सम्पन्न भयो । यो प्रदर्शनी अवलोकन गरेर बुझ्ने भन्दा पनि महसुस गर्ने वा महसुस हुने खालको थियो । त्यसो त कलालाई विश्वभरि नै बुझ्नेभन्दा महसुस र आत्मसात गर्ने विधाका रूपमा लिइन्छ । 

यस्ता खालका कला प्रदर्शनी ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट’ (यसपछि केयु लेखिनेछ)ले हरेक वर्ष आयोजना गर्ने गर्छ । 

यसपालि उसले ‘बीएफए एक्जिबिसन प्रोजेक्ट–२०२४’ नाम दिएर प्रदर्शनी गर्‍यो, मूलतः यो ‘ग्राजुयसन सो’ हो, अर्थात् यस प्रदर्शनीमा स्नातक तहसम्मको अध्ययनपछि विद्यार्थीले आफूले सिकेका कलागत ज्ञान–सीप प्रदर्शन गर्छन् । यस खालको चलन पछिल्लो समय अन्य कलाका स्कुल तथा कलेजमा पनि सुरु भएको देखिन्छ । हिजो–आज यस्ता कला प्रदर्शनी बगुन्द्रो रूपमा हुन थालेको छ ।

पहिला–पहिला (केही वर्ष अगाडिसम्म) औपचारिक अध्ययन सकिसकेपछि मात्र कलाकारले यसरी सिर्जनात्मक वा प्रयोगात्मक कलाको प्रदर्शनी गर्थे । अध्ययन पूरा नगरी यसरी एकैचोटि प्रयोगात्मक कला प्रदर्शन गर्न त्यतिबेला छुट थिएन । अहिले त अध्ययन गर्दागर्दै पनि विद्यार्थी कलाकारले यसै प्रकारको विचार प्रधान (कन्सेपचुअल आर्ट) अनि प्रयोगात्मक कलाको प्रदर्शनी गरेको देखिन्छ । यसले विद्यार्थीलाई एक खालको अनुभव लिने वा परीक्षा दिने अवसर दिएको छ । अहिले अलिकता ग्लोबल कल्चरको प्रभावमा कला समयसापेक्ष हुन खोज्दै छ र कला प्रदर्शनीका विभिन्न रूप देखिन थालेका छन् ।

कला स्कुलिङ
सुरुका दिनदेखि नै केयुले समसामयिक कला सिर्जनामा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ । उसले अनुसन्धान र कन्सेप्ट (विचार)मा आधारित सिर्जनशील कला बनाउन विशेष जोड दिने गरेको छ । 

भावकलाई आफ्नो राय भन्न लगाउने वा भावकलाई आफ्नो कलामा संलग्न गराउने तरिका केयुले अपनाउँदै आएको छ । यद्यपि कहिलेकाहीँ यहाँ कन्सेप्टमा अलि बढी नै जोड दिइएका कला प्रदर्शन गरिन्छ, जसमा कलाकारलाई आम भावकबाट टाढा राखेको जस्तो देखिन्छ । जटिल र क्लिष्ट खालका कला निर्माण हुँदा आम भावकमा अन्योल छाएको जस्तो पनि देखिन्छ । यसो हँुदा भावकले यस्ता कलालाई चाख मानेर अध्ययन गर्छन् कि गर्दैनन् भन्ने शंका हुन्छ । यसले भावकलाई नजिक भने ल्याउँदैन । यसो हुँदाहुँदै पनि यसपालि प्रदर्शित कलाको सौन्दर्यता, शिल्प–दक्षताका हिसाबमा कलाकार गहिरिएरै पसेको अनुभव हुन्छ । 

यस ‘ग्राजुएसन सो’मा अब्बल कला देखिने गर्छन्, यसपल्ट पनि यस्तै भएको छ । कलाको सिद्धान्त र तत्त्वलाई राम्रैसँग अवलम्बन गरी यसपालिका कला आएका छन् । यसमाथि मौलिक खालका कला केयुले पस्कने गरेको छ । यसो हुनुको पछाडि कला स्कुलिङकै विशेष भूमिका हुन्छ ।

यस ‘ग्राजुएसन सो’मा अब्बल कला देखिने गर्छन्, यसपल्ट पनि यस्तै भएको छ । कलाको सिद्धान्त र तत्त्वलाई राम्रैसँग अवलम्बन गरी यसपालिका कला आएका छन् । यसमाथि मौलिक खालका कला केयुले पस्कने गरेको छ । यसो हुनुको पछाडि कला स्कुलिङकै विशेष भूमिका हुन्छ । 

यसपल्टको प्रदर्शनीमा ‘ग्राफिक कम्युनिकेसन’बाट, आयुश महर्जन, विनिशा महर्जन, विपीन श्रेष्ठ, निकी महर्जन, रजनी गजमेर, सयुजधर तुलाधर, शिवमणि भट्टचन्द, सृष्टि पुलामी, सुजल खत्री, स्वस्तिक आचार्य थिए भने ‘स्टुडियो आर्ट’बाट विवश राई, मनुकुमार चौधरी, नाइमा किरात राई, ओमप्रकाश श्रेष्ठ, प्रफुल शिल्पकार, सगुन थापा, सरना श्रेष्ठ, सिद्धार्थ शाक्य, सुदीक्षा डंगोल, सुजना बिके र सुरज शिल्पकार थिए । 

कलागत संरचना 
यस कला प्रदर्शनीमा कलाकारका निजी विचार, अवधारणा (कन्सेप्ट) नै कलाको मूल आधारशिला बनेका छन् । यति मात्र होइन, अधिकांश चित्रमा आफ्नो समुदायगत पहिचान पहिल्याउन खोजेको जस्तो देखिन्छ । जसमा आफ्नै बचपनका सम्झना पनि उनिएका हुन्छन् । 

घरभित्र भोगे–सिकेका संस्कार–संस्कृतिदेखि समाजप्रतिको चिन्तनलाई यी कलाकारले आफ्ना चित्रमा मिसाएको देखिन्छ, जसले गर्दा उनीहरूका काम भावकका लागि मार्मिक र अपनत्व बोध हुने खालका पनि देखिन्छन् । 

यी कलामा परम्परा अनि समसामयिकतालाई जोड्ने उपक्रम पनि बडो चाखलाग्दो देखिन्छ । आफ्नै घर–समाजको परम्परा, व्यवहार र चालचलनलाई लिएर बनाइएका कतिपय कला मौलिक खालका देखिन्छन् । 

यी कलाकारलाई दर्शनका कुराले पनि बढी आकर्षित गरेको देखिन्छ । आजको मानवमा देखापरेका सोच, व्यवहार आदिमा परोक्ष रूपमा प्रभाव पर्ने तत्त्वलाई समेत गाँसेर कला सिर्जना भएको देखिन्छ । सबैभन्दा अचम्मको कुरा त आ–आफ्नो पारिवारिक पेसालाई समग्र समुदायको दिनचर्या, जीवन–पद्धतिसँग गाँसेर प्रस्तुत गर्न कलाकार बढी लालायित भएका देखिन्छन् । पेसालाई जीविकोपार्जनका सन्दर्भमा मात्र नहेरेर जीवनको एक महत्त्वपूर्ण पाटोका रूपमा हेरेर कला सिर्जना गरिएको देखिन्छ । यी चित्रमा बाबुबाजे, आमाबजै, घरको माया, घर–परिवारसँग जोडिएका अतीतका सम्झना समेत दृश्यावलोकन भएको महसुस हुन्छ । 

कलाकारका काम
स्वैरकल्पनाका माध्यमबाट सगुनले आफ्ना कलामा आफ्नै यात्राको वर्ण गरेका छन् । उनले कवितात्मक पारामा निजी भाष्य निर्माण गर्ने गर्छन् । आफ्ना गहिरा सम्झनाहरू, आफूले डरसँग मुकाबिला गर्दै गरेका क्षण आदि उनको सिर्जनामा आएको आभास हुन्छ । 

विवश राईका कलामा उनकै समुदायको गरिमामय परम्परा, संस्कार, लोकगाथा जोडिएको देखिन्छ । दृश्यात्मक रूपमा रहस्यमय लाग्ने तर अद्भुत लोकगाथा उनको कलामा स्वैरकाल्पनिक रूपमा बगेको देखिन्छ ।

उनले परिकल्पना गरेको अभिलाषा उनका कलामा अझ खुलस्त भएर देखापर्छन् । उनको कलागत संयोजन मनमोहक देखिन्छ, सलल बगेका जस्ता । मान्छेका सुखदुःख र प्रकृतिसँग हुने मानिसको द्वन्द्व समेत उनका चित्रमा आएका छन् । 

bibhas rai
नाइमा किरात राईले आफ्नै बालापनको सम्झनालाई हल्का–फिक्का कमला रङहरूले क्यानभासमा उतारेकी छन् । उनका चित्रमा निस्वार्थ बालकपन झल्केको पाउन सकिन्छ । उनका हरेक चित्रमा कलिला बालबालिका धमिलो मोटिभमा उदाएका जस्ता देखिन्छन् । थोरै रेखा उनका चित्रपटमा कुदेका छन्, तर पनि उनका सम्झनाहरूलाई हामीले अनुमान गर्न सक्छौँ ।

naima kirat raiसुजना बिकेले एउटा गहिरो विचारका साथ कलाको निर्माण गरेकी छन् । उनी ठान्छिन्— एउटा स्पेस जहाँ घरजस्तो अटाचमेन्ट होस् । घरबाहिर जाँदा पनि यस्तै आरामदायी स्पेसको खोजी हुनुपर्ने उनको सोच देखिन्छ । 

उनी भन्छिन्— तपाईंहरू पनि यस्तो वस्तुका बारेमा आफ्नो अनुभव सुनाउने गर्नुस्, जो आफ्नै घरको जस्तो लागोस् । जहाँ घरको भावनात्मक सुगन्धलाई अनुभूत गर्न सकियोस् । 

यस्तै प्रत्याभूति गराउन उनका चित्रमा घरभित्रको भित्तामा झुन्डिरहेका ब्याग, लुगा, ड्रेसिङ टेबल, भर्खरै चिया पिएको गिलास, स्याउ, पानीको जग आदि मूल पात्रका रूपमा आएका छन् ।

आफ्नै बाथरुमको बेसिन, टुथ ब्रसका थाक, मग, स्याम्पु आदिलाई केन्द्रबिन्दुमा राखेर उनको कला प्रस्तुत हुने गर्छ । उनले नितान्त आधुनिक शैलीमा आफ्नो विचारलाई भन्न खोजेको जस्तो बुझिन्छ । 
sujana bk
मनु चौधरीले आफ्नै थारू संस्कृतिलाई उठाउँदै थारु समुदायको दैनिक जीवनको सुगन्धलाई आफ्नो चित्रमा उतारेका छन् । कृषिलाई जीवनयापनका लागि मात्र नभएर पहिचानकै रूपमा स्थापित गर्न खोजेको जस्तो देखिन्छ । समग्र समुदायलाई प्रकृतिसँग गाँस्दै उनका चित्र बनेका छन् । आफ्नै समुदायको वातावरण, उनीहरूले बाँच्ने गरेको जीवन आदि उनको कलाको मुख्य मोटिफ बन्न पुगेको देखिन्छ । यसका लागि भ्यागुता, प्लान्ट, घोडा, माछा, हाँस, गङ्गटा आदि श्यामश्वैत ड्रइङका रूपमा देखा पर्छन् । अनि यी जम्मै काम आकारमूलक रूपमा देखा पर्छन् । 

सिद्धार्थ शाक्य आफ्ना कलामा सरलता र जटिलताका बिचमा सन्तुलन गर्न चाहन्छन् । उनका चित्रमा परिकल्पना र यथार्थ सँगै आएकोजस्तो लाग्छ । उनका कलालाई झट्ट हेर्दा चतुर्भजले दोहोरी खेलेझैँ लाग्छ । अर्थात् उनले साना–ठुला अनेकौँ चतुर्भुजलाई एउटै चित्रपटमा समायोजन गरी आफ्ना भावना र विचारलाई प्रस्तुत गरेका छन् । 
आफ्ना कलामा उनले परम्परागत विषयवस्तुलाई आधुनिक पारामा प्रस्तुत गरेको बुझिन्छ । उनका कलामा आधुनिकता र परम्पराले आपसमा संवाद गरेझैँ पनि लाग्छ । 
ओमप्रकाशका कलामा पुरुष र प्रकृतिबिच अन्तक्र्रिया भएजस्तो देखिन्छ । प्रकृतिमा तीन गुण छन्— सत्व, रजस र तमस । उनका चित्रले यी गुणलाई समायोजन गरेको देखिन्छ । 

समाजका अपहेलित वर्ग, उनीहरूको जीवनयापन, दिनचर्यासँग निकै नै प्रभावित छन् सुदिक्षा । ती वर्ग तथा समुदायसँग नजिक रहेर उनले सिर्जना गरेकी छन् । केटाकेटीका झैँ देखिने उनका कामभित्र अपहेलित वर्गको एउटा अर्कै दुनियाँको कथा समेटिएका छन् । उनी अवलोकन गर्न आउने भावकलाई ती समुदायकै आँखाबाट कला हेरिदिन पनि आग्रह गर्छिन् ।

प्रफुलले सिग्मन्ड फ्रायडको चेतन र अवचेतन मनस्थितिको विश्लेषणलाई आफ्नो कलाको मूल विषय बनाएका छन् । नदेखिने मनको शक्तिले मान्छेका व्यवहारमा अचम्मको रूपमा प्रभाव पार्र्छ । यसैलाई उनले आफ्ना इन्स्टलेसन कलाबाट व्यक्त गर्ने कोसिस गर्छिन् । मानिसले कहिले अनौठो व्यवहार देखाउँछ भने कहिले सामान्य भइदिन्छ । यही अवस्थालाई उनले अलिकता स्वैरकाल्पनिक, अलिकता प्रतीकात्मक विम्बद्वारा काममा उतार्न खोजेका छन् । उनी एउटा स्पेस पनि सिर्जना गर्न चाहन्छन्, जहाँ भावकले आ–आफ्ना विचार, डर र अचम्भित भएका मनस्थिति आदिलाई अनुभव गर्न सकून् ।

praful silpakar
सुरज शिल्पकारले आफ्ना कलामा पानी र पवित्रतालाई जोड्न खोजेका छन् । पूजाआजा गर्दा अथवा कुनै पनि धार्मिक काम गर्दा पहिले जलले सिचन गर्ने परम्परा नै छ । अर्कोतिर पानीलाई बाँच्नका लागि नभई नहुने चिजका रूपमा हेरिन्छ । मान्छे अनि पानीको सम्बन्धलाई उजिल्याउने उनको प्रयत्न देखिन्छ । यस्तै उनले पानीको स्रोतको संरक्षण, सफाइ लगायत मुद्दालाई समेत उठाएका छन् । उनी सोसिएल इकोलोजिकलका कुरा गर्छन्, पञ्च तत्त्वको कुरा गर्छन् अनि पानीसँग मान्छेका जीवनलाई गाँस्दै भावनात्मक प्रतीकात्मक मूर्तिको निर्माण गर्छन् ।

sarana shrestha
सरनाले तारामण्डललाई लिएर अनेकौँ साङ्केतिक भाषाको प्रयोग गर्न रुचाउँछिन् । नक्षत्रप्रति उनको लगाव देखिन्छ । राशि, चक्र अनि हावापानीको विम्बलाई लिएर उनका सिर्जना आएका छन् । स्वैरकल्पनाका माध्यमबाट तारा मण्डलका अनेक स्वरूपलाई उनले चित्रमा उतारेका छन् । कल्पनासँग गहिरो विचार जोडिँदै जाँदा कोमल मानव पात्र बादलका डप्फासँग खेलेको देखिन्छ र अनेक रहस्यमयी दृश्य उद्घाटित पाइन्छ । आकाशतिर पानीको छाल उर्लेजस्तो पारामा उनका कला आएका छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप

छुटाउनुभयो कि ?