सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
काठमाडौँ । सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् । दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन्।उनीहरुलाई टोलीका व्यवस्थापक रवि तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए ।
न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि२०आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए। उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । उनीजस्तो अनुभवी खेलाडीको आगमनले रोयल्स टिम मात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने टिमको विश्वास छ।
तीव्र गतिको बलिङ गर्ने उनीसँग तल्लो क्रममा ठुला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् ।
टि२० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन वनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।
२६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टि२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।
टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो