रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ । मौन अवधि सकिनु अघि दुवै उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् ।
सोही गाउँपालिकाको २ नम्बर वडाको अध्यक्ष पदमा भने माओवादीका उम्मेदवार जगत घर्ती सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पुथा उत्तरगंगामा मात्रै पालिकास्तरको निर्वाचन हुने भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई धेरैले चासोका साथ हेरेका छन् ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादीले दिवङ्गत उपाध्यक्ष भूपेन्द्रा बुढाकी दिदी नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनाएको छ । तुलाचनलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।
यस्तै एकीकृत समाजवादीसहित चार जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवार नरपुरा बुढालाई समर्थन गरेपछि यहाँ अब बुढा र तुलाचनबिचमा मात्र प्रतिस्पर्धा भएको हो ।
एमालेका रुकुम पूर्व अध्यक्ष लीलामणि गौतमका अनुसार कांग्रेस–एमालेका साझा उम्मेदवार केशकुमारी तुलाचन बिहीबार रुकुमको मैकोटमा मतदातासँग मत माग्न व्यस्त रहिन् । एमाले पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसबाट पूर्वमन्त्री एवं कांग्रेस जिल्ला सभापति केशरमान रोका, उपसभापति भीम बहादुर खड्का लगायत चुनाव प्रचारमा खटिएको गौतमले बताए ।
माओवादी जिल्ला संयोजक कुमारी बरालका अनुसार लुम्बिनी प्रदेशका पूर्वसभामुख एवं प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीको नेतृत्वमा माओवादी उम्मेदवारको चुनाव प्रचारमा नेताहरू खटिएका छन् । जसमा पूर्वमन्त्री गणेशमान पुन, कमला रोका, दलजित सिर्पालीसहित आधा दर्जन नेता–कार्यकर्ता खटिएका छन् ।
- तीन दलको एक उम्मेदवार
नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साझा उम्मेदवारका रूपमा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् । एमाले जिल्ला उपसचिव भए पनि उनले कांग्रेसको चुनाव चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्दैछिन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।
तुलाचनको चुनाव प्रचारका क्रममा कांग्रेस र एमाले दुवै दलको झण्डा देखिन्छ । एमाले जिल्ला अध्यक्ष गौतमका अनुसार दुवै दलका नेता–कार्यकर्ता तुलाचनका लागि मत माग्न हिँडेका छन् । जनता समाजवादीका नेताहरू पनि उल्लेख्य रुपमा चुनावमा खटिएको उनको भनाइ छ ।
साझा उम्मेदवार भएका कारण कांग्रेस, एमाले, जसपाका नेता–कार्यकर्ताका साथ ती दलको झण्डा बोकेर हिँड्न आफूलाई अप्ठ्यारो नभएको तुलाचनले बताइन् ।
रुकुम पूर्वका सहायक निर्वाचन अधिकृत ईश्वर सुवेदीका अनुसार अहिले पुथामा ५ हजार ६७१ पुरुष र ५ हजार ५०९ महिला गरी ११ हजार १८० मतदाता छन् ।
चुनाव प्रचार प्रसारको अन्तिम दिन रातोपाटीले पालिका उपाध्यक्ष पदका दुवै उम्मेदवारसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरूसँग गरिएको कुराकानीको सम्पादित अंश–
प्रमुख दल एकै ठाउँ हुनु नै मेरो जित्ने आधार हो : केशकुमारी तुलाचन
- तपाईंका एजेन्डा के–के छन् ?
म नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साझा उम्मेदवार हुँ । मेरो एजेन्डाभन्दा पनि हाम्रो टिमले यहाँ विकास तथा जनतालाई केन्द्रमा राखेर बनाएका एजेन्डालाई अगाडि बढाउने हो । खासगरी पहिलो प्राथमिकता नै सुशासन स्थापना गर्ने हो । यहाँ निकै बेथिति छ, त्यसलाई सुधार्ने हो ।
पुथा उत्तरगंगा गाउँपालिका उपभोक्ता समितिको काम प्रक्रिया र भुक्तानीलाई छिटो छरितो बनाउन पहल गर्ने हो । यो गाउँपालिकालाई भ्रष्टाचार मुक्त र नमुना बनाउन संघीय, प्रदेशबाट आएको योजनाहरू छिटो छरितो बनाउन पहल गर्नेछु ।
यस्तै यहाँका सडक, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारसँगै गुणस्तरमा पनि ध्यान दिने काम हुनेछ । यहाँ हिमाल, ताल, तातोपानी जस्ता पर्यटन क्षेत्रहरू प्रवर्द्धन गर्ने योजना छ । उत्तर गङ्गा खोलाबाट विद्युत् उत्पादन गरी जनताको सेयर राख्नेजस्ता एजेन्डा लिएर मतदाता माझ गएको छु ।
- घरदैलो अभियानमा मतदाताबाट कस्तो अपेक्षा पाउनु भयो ?
हामीले आजसम्म मतदातालाई भेट्दा यहाँ सडक, खानेपानी, विद्यालयमा करार शिक्षकले ८/९ महिनासम्म तलब नपाएको गुनासो आएका छन् । सानो सडक पनि मर्मत नहुँदा यातायात समस्या देखिएको छ । ती समस्यालाई छिटो र सहज रूपमा समाधान गर्नुपर्ने स्थानीयको माग छ ।
- तपाईंका एजेन्डा र मतदाताका अपेक्षामा केही फरक भेट्नुभयो कि ?
मतदाताहरूले हामीले भन्दै आएका विषयलाई नै राखेका छन् । बाटो, सुशासन, सेवा प्रवाह छरितो बनाउनुपर्ने साझा एजेण्डा नै हुन् । यसबाहेक केहीले शिक्षकले तलब नपाएको, विद्युत पोल भए पनि बत्ती नआएका, सडक मर्मत गर्न ढिला भएकोजस्ता विषय राख्नुभएको छ ।
- यो माओवादीको जनाधार भएको पालिका हो, तपाईंले जित्ने आधार के छ ?
यो माओवादीले पटकपटक जित्दै आएको ठाउँ हो । यहाँबाट संघ, प्रदेशमा माओवादीले जिते पनि विकास धेरै कम भएको छ । अर्कोतिर पालिकामा निकै बेथिति छ । यो पालिकाको करोडौँ रकम बेरुजु देखिएको छ । सुशासन कमजोर रहेको ठाउँ हो यो ।
त्यस कारण हामीले सुशासन कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छौँ । यहाँ गाउँपालिकामा हुने बेथितिलाई रोक्नुपर्ने आवश्यकता टड्कारो छ । अर्कोतिर यहाँका जनताको समस्या समाधान गर्न नेतृत्व जिम्मेवार हुनुपर्ने छ । विगतमा हामी कांग्रेस–एमाले छुट्टाछुट्टै लड्यौँ, अहिले हामी एकै ठाउँ भएर अगाडि बढेका छौँ । जनताले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् । यो नै हाम्रो जित्ने आधार हो ।
अघिल्लो निर्वाचनको तुलनामा माओवादीको भोट बढ्ने देखिन्छ : नरपुरा बुढा पुन
- चुनाव प्रचार कस्तो रह्यो ?
हामी अहिलेसम्म पालिकाका सबै ठाउँमा पुगिसकेको अवस्था छ । बिहीबार वडा नम्बर १४ को राँका भन्ने ठाउँमा कार्यक्रम गरियो । धेरै ठाउँका मतदाताहरूसँग भेटघाट भएको छ । मैले भेट्न नपाएका ठाउँमा हाम्रो पार्टीका साथीहरूले मतदातासँग भेटघाट गर्नुभएको छ ।
- तपाईंका चुनावी एजेन्डा के हुन् ?
मेरो चुनावी एजेन्डा भनेकै नेकपा माओवादी केन्द्रको एजेन्डा हो । सोही अनुसार हामीले एजेन्डा सार्वजनिक गरेका छौँ । खासगरी यो गाउँपालिकाको उपाध्यक्ष मेरी बहिनी भुपेन्द्रा बुढाले आफ्नो कार्यकालमा बनाएका योजना र अधुरा काम पूरा गर्ने योजना छ ।
समाज विकासको पहिलो आधार शिक्षा भएकाले यहाँका विद्यालयको पढाइको गुणस्तर राम्रो बनाउन प्रदेशका उत्कृष्ट विद्यालयका प्रधानाध्यापक ल्याएर अनुभव आदान प्रदान र तालिम दिने मेरो योजना छ । न्यायिक समितिमा आउने विवाद र मुद्दामा अन्यायमा परेका पीडित पक्षलाई न्याय दिन कुनै सम्झौता नगरी निर्णय गर्ने मेरो सङ्कल्प छ ।
अर्कोतिर यहाँ भौतिक पूर्वाधार सुधार गर्नुपर्ने छ । प्रदेशभित्रका कुनै मेडिकल कलेजसँग समन्वय गरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर ल्याउन पहल गर्ने योजना छ ।
यहाँ सडक बनाउन प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने हो । हाम्रो पालिका कृषि, पर्यटन र मगर कला संस्कृतिको धनी ठाउँ भएकाले पर्यटन विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्ने एजेन्डा छन् ।
गाउँपालिकाको अध्यक्ष हाम्रै पार्टीको भएको र कार्यपालिकामा पनि हाम्रो बहुमत हुँदा निर्वाचित भइसकेपछि उहाँहरूसँग सल्लाहमा हरेक वडाको आवश्यकतामा आधारमा नयाँ योजना र कार्यक्रम बनाउन ध्यान दिनेछु । सङ्घ र प्रदेश पार्टी र हाम्रा सांसदसँग सहकार्य गरेर पुथा उत्तरगंगाको विकासमा कटिबद्ध हुने योजना छ ।
- मतदाताको अपेक्षा कस्तो पाउनु भयो ?
अहिले मतदाताहरूसँग भेट्दा शिक्षा, स्वास्थ्य र सडक सञ्जालको विषय अलि छिटो काम गर्नुपर्छ भन्ने आशय आएको छ । स्थानीय विकासमा केन्द्रित रहेर मैले आफ्नो एजेण्डा अघि सारेका कारण जनताका धेरै कुरा त्यसमा समेटिएको छ ।
- तपाईंको जितका आधार के–के हुन् ?
यो माओवादीको आधार इलाका हो । यहाँबाट हामीले पटकपटक जितेका छौँ । अहिले पनि संघ, प्रदेशमा हाम्रै जित भएको छ । यस्तै गाउँपालिका अध्यक्ष र धेरै वडामा हामीले नै जितेका छौँ । काम गर्ने क्षमता, माओवादी पार्टीको राष्ट्रिय एजेन्डाले पनि यहाँ मलाई चुनाव जित्न सहज हुने अपेक्षा गरेको छु । किनभने यसअघिका स्थानीय तह निर्वाचनमा पनि कांग्रेस–एमाले एक भएर हाम्रोविरुद्ध उत्रिएका थिए । त्यति बेला हामीले जितेका छौँ ।
गत चुनाव यता अन्य पार्टीबाट सयौँ जना हाम्रो पार्टीमा प्रवेश गरेका छन् । पूर्वमाओवादी घटकहरू पनि एक ढिक्का भएको अवस्था छ । नेकपा एकीकृत समाजवादीले पनि मलाई समर्थन गरेको छ । यसरी हेर्दा गत चुनावमा भन्दा अहिले हाम्रो मत बढ्ने देखिन्छ । यो नै मेरो जित्ने आधार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर
-
शेयर बजार र अन्य क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, कस्तो छ राशिफल हेर्नुहोस्
-
फर्ममा फर्कियो रियाल मड्रिड
-
‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई