प्यालेस्टाइनी साहित्य : युद्धले जन्माएको प्रतिरोध चेतना
आऊ बाँकी बचेको मेरो जमिनको
अन्तिम टुक्रा पनि चोर
मेरो यौवनलाई जेलका कोठरीमा बन्द गर
मेरो विरासत लुट, मेरा पुस्तकहरू जलाऊ
मेरो थाललाई प्रयोग गर
आफ्ना कुकुरहरूलाई भात खुवाउन
जाऊ मेरो गाउँको छतमा र आतङ्कको जाल फैलाऊ
मनुष्यत्वका दुश्मनहरू तर मैले सम्झौता गर्नेछैन
लड्नेछु अन्तिमसम्म ।
(समिह अल कासिम, ‘एउटा टाट पल्टिएको मानिसको रिपोर्ट’)
आफ्ना जलिरहेका आँखा र रक्तिम हातहरूलाई भन
रात जानेछ, कुनै बन्धन, जन्जिर रहनेछैन
निरो मरेको थियो, रोम होइन
(महमुद दरबिस, ‘एउटा मानिसका बारेमा’)
केही वर्ष भयो, प्यालेस्टाइनी कविका माथिका कविताका पंक्तिहरू पढेको । कविताले प्यालेस्टाइनमाथि इजरायली अत्याचारका कथा भन्छन् । अचेल माथिका कविताका पंक्तिहरू पटकपटक स्मृतिमा आइरहन्छन् । गाजामा इजरायलको बर्बर आक्रमण सुरु भएको एक वर्षभन्दा बढी भयो । तर नरसंहार रोकिएको छैन । हजारौँ प्यालेस्टाइनी मारिएका छन् । मारिनेमा बालबालिका र महिला सबैभन्दा बढी छन् । पत्रकार, साहित्यकार, लेखक, मानव अधिकारकर्मी पनि हत्याको सिकार भएका छन् । लाखौँ विस्थापित छन् । विद्यालय, विश्वविद्यालय, अस्पताल, पुस्तकालय, सरकारी संरचना, आवासगृह आदि ध्वस्त पारिएका छन् । गाजा डरलाग्दो खण्डहरमा बदलिएको छ । हमासको आक्रमणपछि नरसंंहारमा ओर्लिएको इजरायल यतिबेला विध्वंशकका रूपमा संंसारका अगाडि छ, उसको विध्वंशलाई कुनै पनि मानेमा उचित ठहराउन सकिँदैन ।
प्यालेस्टाइनमा इजरालयको स्थापनापछि प्यालेस्टाइनीहरूले इजरायलको अत्याचार खेप्दै आएका छन् । हत्या, विस्थापन, निर्वासन, भूमि अतिक्रमण सामान्य भएका छन् । गाजामाथिको पछिल्लो आक्रमण यही सिलसिलाको डरलाग्दो कडी हो । रसिद खालिदीको शब्दमा, ‘यो भयावह घटना अनौठो होइन र इतिहासभन्दा बाहिर छैन ।’ इतिहासको निरन्तरताकै रूपमा गाजा नरसंहारलाई लिइन्छ । प्यालेस्टाइनीहरू यसविरुद्ध सङ्घर्षरत छन् । उनीहरूका आँखामा स्वतन्त्र प्यालेस्टाइनको पहिचान र सुन्दर भविष्यको स्वप्न छ । भूमि खोसिएको, आफ्नै भूमिमा पराई बनेको र पहिचान हराएको पीडासहित उनीहरू इजरायली बर्बरताको प्रतिरोध गरिरहेछन् । प्यालेस्टाइनी साहित्यले यही यथार्थलाई सात दशकभन्दा लामो समयदेखि अभिव्यक्ति दिँदै आएको छ । प्यालेस्टाइनी साहित्यलाई अरबी साहित्यकै हिस्साका रूपमा हेरिन्छ । सामान्य अर्थमा प्यालेस्टाइनी साहित्य अरबी साहित्यकै हिस्सा हो तर यसका आफ्ना विशेषता छन् । यी विशेषता प्यालेस्टाइनका विशिष्टताबाट निर्मित छन् । प्यालेस्टाइनी साहित्यको धेरै ठुलो भाग प्रतिरोध साहित्यका रूपमा छ ।
भूमि खोसिएको, आफ्नै भूमिमा पराई बनेको र पहिचान हराएको पीडासहित उनीहरू इजरायली बर्बरताको प्रतिरोध गरिरहेछन् । प्यालेस्टाइनी साहित्यले यही यथार्थलाई सात दशकभन्दा लामो समयदेखि अभिव्यक्ति दिँदै आएको छ ।
घासान कानाफानीले प्यालेस्टाइनी साहित्यलाई प्रतिरोध साहित्यका रूपमा अथ्र्याएका छन् । सन् १९५० पछिको प्यालेस्टाइनी साहित्यको मूल चरित्र प्रतिरोध बन्यो । आफ्नो निजतासहित प्यालेस्टाइनी साहित्यले आफ्नो विशिष्ट पहिचान बनाउन सुरु गरेको २०औँ शताब्दीको आरम्भदेखि हो । जायनवादीहरूले प्यालेस्टाइनमा यहुदी राष्ट्रनिर्माणको नीति लिएपछि र त्यसलाई बेलायत लगायत केही पश्चिमा राष्ट्रले सघाएपछि प्यालेस्टाइनीहरू त्यसका विरुद्ध उभिन सुरु गरेका थिए । साहित्य त्यसको प्रतिवादमा उत्रिएको थियो ।
कुनै बेला प्यालेस्टाइन प्यालेस्टाइनीहरूको सुन्दर भूमि थियो । प्यालेस्टाइनी, यहुदी, इसाई र अन्य आपसमा मिलेर बसेका थिए । प्यालेस्टाइनीको संख्या धेरै थियो, यहुदी र इसाईको निकै कम । यहुदीहरूको धार्मिक स्मृति यस क्षेत्रसँग जोडिए पनि उनीहरूमा प्यालेस्टाइनमा आफ्नो अलग राष्ट्र निर्माण गर्ने चाहना थिएन । यहुदीहरूको ठुलो संख्या युरोपमा छरिएर रहेको थियो । अटोमन साम्राज्यको अधिनमा रहेको प्यालेस्टाइनमा अलग यहुदी राष्ट्र निर्माण गर्ने कुरा १९औँ शताब्दीको उत्तराद्र्धतिरबाट सुरु भएको थियो । जायनवादीहरूबाट यसको आरम्भ गरिएको थियो । यो यहुदीहरू भित्रको चरम जातिवादी एवं सांस्कृतिक राष्ट्रवादी सोच राख्ने समूह थियो ।
अटोमन साम्राज्यको अन्त्यपछि प्यालेस्टाइन बेलायती साम्राज्यको अधीनमा गयो । इसाई राष्ट्रवाद र हिटलरको अत्याचारबाट पीडित यहुदीहरूलाई योजनाबद्ध रूपमा प्यालेस्टाइनमा पठाउन थालियो । जायनवादीहरू प्यालेस्टाइनमा अलग राष्ट्र निर्माणका निम्ति अझ सक्रिय भए । प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा अघि प्यालेस्टाइनमा १० प्रतिशत मात्र रहेका यहुदी सन् १९४७ सम्म आइपुग्दा ३० प्रतिशत पुगे । प्यालेस्टाइनमा यहुदी राष्ट्र निर्माणको योजनाले यहुदीहरूको विस्तारमा काम गरेको थियो । प्यालेस्टाइनमा यहुदीहरूको छुट्टै राष्ट्र निर्माण गर्ने जायनवादीहरूको योजनालाई वैधता प्रधान गर्ने गरी सन् १९१७ मा बेलायती सरकारले प्यालेस्टाइनमा यहुदीका निम्ति ‘राष्ट्रिय गृह’ निर्माण गर्ने घोषणा गर्यो । यसैलाई ‘बाल्फोर घोषणा’ भनिन्छ । सन् १९४७ मा बेलायतको सक्रियतामा प्यालेस्टाइनमा प्यालेस्टाइनी र यहुदीहरूको छुट्टाछुट्टै राष्ट्र निर्माण गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंङ्घबाट पारित भयो ।
दुई राष्ट्रको सिद्धान्त अनुसार एउटै भूमिमा यहुदीहरूको हिस्सामा ५५.४७ प्रतिशत भूभाग पर्यो, प्यालेस्टाइनीहरूलाई ४४.५३ प्रतिशत भूभाग छुट्ट्याइयो । यहुदीहरूले यसलाई स्वीकार गरे, प्यालेस्टाइनीहरूले अस्वीकार । सन् १९४८ मा इजरायलको स्थापना गरियो । यहीँबाट इजरायल र प्यालेस्टाइनीहरूका बिचमा गम्भीर द्वन्द्व आरम्भ भयो ।
प्यालेस्टाइनीहरूको सङ्घर्ष न्योयोचित छ र सङ्घर्ष गर्दा उनीहरूले खेप्नुपरेको इजरायली अत्याचार भयानक छ । प्यालेस्टाइनी साहित्य यही यथार्थबाट निर्मित छ ।
सन् १९४८ मा भएको अरब–इजरायल युद्धमा हजारौँ प्यालेस्टाइनी मारिए । लाखौँ विस्थापित र निर्वासित भए । हेर्दाहेर्दै उनीहरूको भूमि खोसिएको थियो । उनीहरू आफ्नै ठाउँमा बिराना भएका थिए । सन् १९४७ मा गरिएको बाँडफाँडबाट प्यालेस्टाइनीहरूको भागमा परेको जमिन पटकपटक इजरायली आक्रमणका कारण खुम्चिदै गयो । अतिक्रमित भूमिमा यहुदी वस्ती बसाइयो । अहिले १२ प्रतिशत भूमि पनि प्यालेस्टाइनीहरूसँग छैन भनिन्छ । गाजा र वेस्ट बैङ्कमा प्यालेस्टाइनी प्रशासन छ, तर उनीहरूसँग आफ्नो देश छैन । प्यालेस्टाइनीहरूले गाजा र वेस्ट बैङ्कमा युद्ध नभएका बेलामा पनि इजरायलका अनेक सास्ती खेप्दै आएका छन् । प्यालेस्टाइनी प्राधिकरण नाम मात्रको छ । इजरायलभित्रका प्यालेस्टाइनीहरूका पीडा पनि कम छैनन् ।
प्यालेस्टाइनी समस्यालाई समाधान गर्न सन् १९९३ मा ओस्लो सम्झौता गरियो । गाजा र वेस्ट बैङ्कमा प्यालेस्टाइनी प्राधिकरण निर्माण गर्ने घोषणा भयो । इजरायल र प्यालेस्टाइनीहरू दुई देश निर्माण गर्न सहमत भए पनि सम्झौतामा कैयौँ कुरा अस्पष्ट थिए । देशको सीमा कहाँसम्म हुने, निर्धारण कसरी गर्ने, जेरुसलम कोसँग रहने, प्यालेस्टाइनमा बसेका इजरायली र इजरायलबाट विस्थापित प्यालेस्टाइनीहरूलाई के गर्ने जस्ता विषयहरू स्पष्ट थिएनन् । प्यालेस्टाइनी प्राधिकरणको निर्माणपछि यी विषयलाई सम्बोधन गर्ने भनिए पनि सम्बोधन भएन । गाजा र वेस्ट बैङ्कलाई प्यालेस्टाइनी भूभाग मानिए पनि इजरायल यसप्रति कहिल्यै इमानदार रहेन । उसको उद्देश्य आफू नियन्त्रित प्यालेस्टाइन रह्यो । वास्तवमा इजरायल सेटलर उपनिवेशवादको नमिठो उदाहरण हो ।
बेलायत, अमेरिका लगायत अन्य केही पश्चिमा मुलुक र जायनवादीहरूको संयुक्त प्रयासको परिणाम थियो इजरायल । यसको निर्माणबाट मूलवासी विस्थापित र निर्वासित हुन थाले । सेटलर उपनिवेशवादको अत्याचारको शृङ्खला सुरु भयो । सेटलर उपनिवेशवाद उपनिवेशवादको एउटा प्रकार हो । शक्तिका आडमा मूलवासीलाई विस्थापित र निर्वासित गर्नु एवं देशविहीन बनाउनु यसको चारित्रिक विशेषता हो । इजरायल ऐतिहासिक तथ्य होइन, नयाँ निर्मिति हो । यहुदीहरूको पितृभूमिको कथनमा कुनै ऐतिहासिक तथ्य पाइँदैन । यहुदीहरूकै ठुलो संख्याले यसलाई स्वीकार गर्दैन । जायनवादी र पश्चिमा स्वार्थका कारण अस्तित्वमा आएको इजरायलको औपनिवेशिक उत्पीडन र अमेरिका, बेलायत आदिजस्ता मुलुकहरूले उसलाई गरेको सहयोग प्यालेस्टाइनी समस्या र पीडाका कारक रहेका छन् । इजरायल जायनवादी विचारधाराको प्रतीकका रूपमा रहेको छ ।
मोसादले घासान कानाफानीको हत्या उनको लेखकीय सामथ्र्य र भूमिकाबाट डराएरै गरेको थियो । उत्तर गाजाका कवि डा. रेफत अलारिर को हत्या उनको शब्द सामथ्र्यकै कारण गरिएको थियो ।
माथिको सन्दर्भलाई नबुझी प्यालेस्टाइनी साहित्यलाई बुझिन्न । ‘मुस्लिम आतङ्कवाद’ र ‘पितृभूमि’को भाष्यले कैयौँलाई अलमलाएको छ । प्यालेस्टाइनीहरूको सङ्घर्ष न्यायोचित छ र सङ्घर्ष गर्दा उनीहरूले खेप्नुपरेको इजरायली अत्याचार भयानक छ । प्यालेस्टाइनी साहित्य यही यथार्थबाट निर्मित छ । त्यहाँ आफ्नो सुन्दर भूमिप्रति प्रेम छ; भूमि गुमाउनुपर्दाको गहिरो पीडा छ; परम्परा र इतिहासप्रति गर्व छ; स्वतन्त्रता, समानता र सामाजिक न्यायका आकांक्षा छन्; गहन आशा, दृढ इच्छाशक्ति, गहिरो मानवीय भावना र परिवर्तनका स्वप्न छन्; क्रूरताको चित्रण, अत्याचारले बनाएका घाउहरूको अभिव्यक्ति र पहिचान गुमाउँदै जानुपर्दाका दुःख छन्; विस्थापन र निर्वासनबाट जन्मिएका पीडा र आक्रोश छन्; प्र्रतिरोध चेतना र न्यायको वकालत छ । मूलतः पहिचान, विस्थापन र प्रतिरोध प्यालेस्टाइनी साहित्यका प्रमुख विषय रहँदै आएका छन् ।
सलम मिर प्यालेस्टाइनी साहित्यलाई प्यालेस्टाइनी सङ्घर्षको हृदयका रूपमा लिन्छन् । प्यालेस्टाइनी साहित्यले प्यालेस्टाइनी जनतालाई प्रतिरोधका निम्ति दृष्टि, दिशा र शक्ति मात्रै प्रदान गरेको छैन, पीडा झेल्न सक्ने असीम सामथ्र्य पनि प्रदान गरेको छ । उत्साह, दुःख, खुसी, सङ्घर्ष, एकान्त सबै बेलामा साहित्यबाट उनीहरूले उत्तिकै ऊर्जा प्राप्त गरेका छन् र आफ्नो पहिचान र भूमिका निम्ति सङ्घर्षरत छन् । मिरले यही यथार्थलाई अभिव्यक्ति दिएका छन् ।
प्यालेस्टाइनी साहित्यको हृदयमा प्यालेस्टाइनी जनताको सङ्घर्ष छ र यसले प्यालेस्टाइनी हृदयलाई अझ फराकिलो, दृढ र संवेदनात्मक दृष्टिले अझ गहिरो बनाउने कार्य गर्दै आएको छ । स्विलेह प्यालेस्टाइनी साहित्यलाई इजरायलविरुद्धको विद्रोहका रूपमा लिन्छन् । विद्रोह प्यालेस्टाइनी साहित्यको खास चिनारी हो । मिरको ‘सङ्घर्षको हृदय’, स्विलेहको ‘इजरायल विरुद्धको विद्रोह’ र घासान कानाफानीको ‘प्रतिरोध साहित्य’को अभिव्यक्तिले प्यालेस्टाइनी साहित्यमा पाइने सङ्घर्ष चेतनालाई केन्द्रीय विशेषताका रूपमा प्रस्तुत गर्छन् । प्रतिरोध चेतना केन्द्रमा रहेको प्यालेस्टाइनी साहित्य कलात्मक मूल्यका दृष्टिले पनि उच्च छ । अतेह अल सायरको शब्दमा भन्दा प्यालेस्टाइनी साहित्य ‘आघातको सार्वभौमिक प्रतिध्वनि’ हो ।
हना अमित कोचाभी प्यालेस्टाइनी साहित्यलाई सन् १९४८ अघि र पछि गरेर दुई भागमा बाँड्छिन् । यो विभाजन मोटामोटी रूपमा ठिक भए पनि प्यालेस्टाइनी साहित्यलाई विभिन्न चरणमा बाँडेर हेरेको पाइन्छ । सन् १९४८ अघिको प्यालेस्टाइनी साहित्यमा आफ्नो इतिहास, परम्परा, साम्राज्य अधीन हुँदाका पीडा, दुर्दशाका साथै प्यालेस्टाइनमा छुट्टै यहुदी राष्ट्रको निर्माण गर्ने योजनाको विरोध पाइन्छ । यसै अवधिमा प्यालेस्टाइनी साहित्यमा पश्चिमा साहित्यको प्रभाव पर्यो । कविता, कथा र उपन्यास लेखिए । इब्राहिम तुकान यस अवधिका महत्त्वपूर्ण कवि हुन् । सलमा जययुसीले तुकानलाई प्यालेस्टाइनी साहित्यका अग्रदूत भनेकी छन् ।
सन् १९०० देखि १९४८ सम्मको अवधिलाई प्यालेस्टाइनी साहित्यको आरम्भका रूपमा लिइन्छ । सन् १९४८ पछिको साहित्य अरब–इजरायल युद्ध; प्यालेस्टाइनीहरूको नरसंहार, विस्थापन र निर्वासन; प्यालेस्टाइनी भूभागमाथिको अतिक्रमण; सन् १९६७ को युद्ध, प्यालेस्टाइनीहरूमाथिको अत्याचार र विस्थापन; इजरायलद्वारा प्यालेस्टाइनमाथि भएका अन्य आक्रमण; प्यालेस्टाइनीहरूको प्रतिरोध; उनीहरूका विश्वास, स्वप्न, मानसिक उहापोह, घात–प्रतिघात र आशा–निराशासँग सम्बन्धित छन् । निर्वासनमा रहेर साहित्य लेख्नेहरूले निर्वासित हुनुपर्दाका पीडा, मूल भूमिप्रतिको प्रेम र इजरायली बर्बरतालाई विषय बनाएका छन् । इजरायलमा रहेका प्यालेस्टाइनी साहित्यकारका रचनामा दोस्रो दर्जाको नागरिक हुनुपर्दाका पीडाको अभिव्यक्ति पाइन्छ । प्यालेस्टाइनी क्षेत्रका स्रष्टाका रचनामा इजरायली अत्याचारको कथा र त्यसको प्रतिवाद पाइन्छ । जहाँ रहेर लेखे पनि प्यालेस्टाइनी साहित्यको केन्द्रीय सरोकार पहिचान, विस्थापन र प्रतिरोध नै रहेका छन् ।
घासान कानाफानी, महमुद दरबिस, समिह अल कासिम, तौफिक जय्याद, फदवा तुकान, इब्राहिम नरसल्लाह, लियाना बद्र, सहर खलिफाह, मोरिद बरघौटी, महमुद सुकैर, एमिल अबिबी, एडवर्ड सइद, सुसन अबुलहवा, सुआद अमिरी, जकरिया मोहम्मद, नुर हिन्दी, रिफत अल अरिर, मय जियादे, हनान मिखाइल, तमिम बरघौटी, गस्सान जकतान, जैना अराफात, सहर मुस्तफाह, रसिद खालिदी, मोहम्मद अल कुर्द, इसाबेला हम्माद, सुद अमिरी, गदा कर्मी, लिन्डा सरसोर, मोसाब अबु तोहा, सुसन मुअदी दाराज, उमर सुलेमान अल अस्कर, इहसन अब्बास, समिर अबु हवास, अतिफ अबु सैफ, अब्दुल घानी अल कर्मी, हनान मिखाइल, इब्तिसाम बरकत, मोसान अबु तोहा, नजबान दरबिस आदि उल्लेखनीय प्यालेस्टाइनी साहित्यकार हुन् ।
प्यालेस्टाइनी साहित्यकारहरूको संख्या सयौँ छ । प्यालेस्टाइनी साहित्य कवितामा सबैभन्दा बढी समृद्ध छ । कथा, उपन्यास लगायत गैरआख्यानात्मक कृतिहरू पनि प्रशस्त लेखिएका छन् । अङ्ग्रेजी लगायत संसारका विभिन्न भाषामा प्यालेस्टाइनी साहित्यको अनुवाद भएको छ । प्यालेस्टाइनी साहित्यलाई ‘हृदयको सौन्दर्य’का रूपमा उल्लेख गरिन्छ । महमुद दरबिसलाई प्यालेस्टाइनी कविताको उदात्त प्रतीकका रूपमा लिइन्छ । जकरिया मोहम्मदले ‘कविताको काम आँसु पुछ्नु होइन’ भनेजस्तै प्यालेस्टाइनी साहित्य पीडाको आँसु पुछ्ने साहित्य मात्रै नभएर स्वर्णिम भविष्यका निम्ति सङ्घर्षको भावनाले भरिएको साहित्य हो ।
प्यालेस्टाइनी साहित्य समाह फादिलले भनेजस्तै ‘नरसंहारको गियरमा फाल्ने बालुवा’का रूपमा रहेको छ । प्रिसिला वाथिङगटनको ‘मानिसलाई प्रभावित गर्ने शक्ति हुँदैनथ्यो भने इजरायली सेनाले कवि र अन्य लेखकलाई गिरफ्तार गर्ने थिएन’ भन्ने भनाइले प्यालेस्टाइनी साहित्यको सामथ्र्यलाई उद्घाटन गर्छ । मोसादले घासान कानाफानीको हत्या उनको लेखकीय सामथ्र्य र भूमिकाबाट डराएरै गरेको थियो । उत्तर गाजाका कवि डा. रेफत अलारिरको हत्या उनको शब्द सामथ्र्यकै कारण गरिएको थियो ।
कतिले प्यालेस्टाइनी प्रतिरोध साहित्यमा कला मूल्य अलि कमजोर रहेको टिप्पणी गर्छन् । तर सोलमाज सरिफ ‘कविता सौन्दर्यानन्दको अभ्यास होइन, यो वास्तविक हिंसालाई नाम दिने, त्यसको निदान गर्ने र त्यस विषयमा ध्यानाकृष्ट गर्ने समय हो’ भन्छन् । प्रतिरोध साहित्यमा कतिले खोज्ने सौन्दर्य मूल्य र आनन्द नहुन सक्छ । तर प्रतिरोध चेतना नै प्यालेस्टाइनी साहित्यको सौन्दर्य हो । हाँसो, निद्रा, शान्ति, भूमि सबै खोसिएका प्यालेस्टाइनीहरूको साहित्यको भाषा प्रतिरोधको भन्दा अरु के हुन सक्छ र ? प्यालेस्टाइनी जनतामाथिको बर्बरताको प्रतिवाद र पहिचान, स्वतन्त्रता एवंं न्यायको खोजी प्यालेस्टाइनी साहित्यकारहरूको मात्र दायित्व होइन, स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यका पक्षमा उभिने संसारभरिका स्रष्टाको पनि दायित्व हो । प्यालेस्टाइनका पक्षमा उभिनु स्वतन्त्रता, न्याय र मानवीय गरिमाका पक्षमा उभिनु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने
-
हिज्जे बिग्रनुमा अखबार बढी जिम्मेवार
-
विराटनगरविरुद्ध देवको अर्धशतक
-
सीके राउतको पहिलो चीन भ्रमण, भन्छन्– चीनको विकास देखेर चकित भएँ
-
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा
-
इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त