अन्तै बिहे पक्का भएपछि प्रेमी मार्ने युवतीलाई यस्तो सजाय

नयाँ दिल्ली । भारतको केरला राज्यको तिरुवनन्तपुरमस्थित अदालतले आफ्नो प्रेमीको हत्या गरेको आरोपमा एक युवतीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
तिरुवनन्तपुरमको जिल्ला अदालतले सोमबार २४ वर्षीया युवतीलाई फाँसीको सजाय सुनाएको हो । २०२२ को अक्टोबरमा ती युवतीले आयुर्वेदिक टोनिकमा विष मिसाइ खुवाएर आफ्नो प्रेमी शेरोन राजको हत्या गरेकी थिइन् ।
युवतीको बिहे अन्तै तय भइसकेको थियो । प्रेमीबाट छुटकारा पाउन उनले उसको हत्यै गरिन् । हत्यामा सघाएको प्रमाण नष्ट गरेको आरोपमा युवतिको काका निर्मलाकुमारन नायरलाई पनि दोषी ठहर गरी अदालतले ३ वर्षको जेल सजाय सुनाएका छ । प्रमाणको अभावमा उनकी आमाले भने सफाइ पाइन् ।
‘यो दुर्लभ घटनाहरूमध्ये सबैभन्दा दुर्लभ हो,’ अदालतले भनेको छ । युवतीले आफूलाई माया गर्ने व्यक्तिलाई धोका त दिइन् नै उनको व्यवहारले समाजमा राम्रो सन्देश पनि नगएको बताइएको छ ।
युवती शिक्षित र आफ्ना आमाबाबुकी एक्ली छोरी भएको अनि यसअघि अपराध गरेको कुनै रेकर्ड नभएको भन्दै ग्रीष्माको वकिलले चाहिँ उनको सजाय घटाउनुपर्ने बताएका थिए । अपराधको गम्भीरतालाई ध्यानमा राख्दा दोषीको उमेर र अन्य परिस्थितिहरूलाई विचार गर्न आवश्यक नभएको आफ्नो ५८६ पृष्ठको फैसलामा अदालतले भनेको छ । ग्रिष्मा नाम गरेकी युवतीले योजना बनाएर प्रेमीको हत्या गरेकी थिइन् । पक्राउ परेपछि अनुसन्धानलाई बिथोल्न उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
- सम्बन्ध अन्त्य गर्न नचाहेकोले प्रेमीको हत्या
विशेष सरकारी वकिल वीएस विनीत कुमारका अनुसार दोषी ग्रिष्माको नगरकोइलका एक सैनिक जवानसँग इन्गेजमेन्ट भएको थियो । यसै कारण उनले आफ्नो प्रेमीलाई सम्बन्ध तोड्न भनिरहेकी थिइन् । तर शेरोन सम्बन्ध तोड्न चाहँदैनथे । २०२२ को अक्टोबर १४ मा ग्रीष्माले शेरोन राजलाई कन्याकुमारीको रामवर्मान्चिरईमा रहेको आफ्नो घरमा बोलाइन् ।
त्यहाँ आयुर्वेदिक टनिकमा प्याराक्वाट (खतरनाक झारनाशक) मिसाएर शेरोनलाई खान दिइन् । ग्रिष्माको घरबाट निस्कने बित्तिकै शेरोनको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई लगातार बान्ता भयो । परिवारका सदस्यहरूले उनलाई तुरुन्तै अस्पताल भर्ना गरे । यो घटनाको ११ दिनपछि अक्टोबर २५ मा २३ वर्षीया शेरोनको अस्पतालमा मृत्यु भयो । शेरोन तिरुवनन्तपुरमको पारासलाका बासिन्दा थिए ।
- पहिला पनि गरेकी थिइन् मार्ने प्रयास
ग्रिष्माले धेरै पटक शेरोनलाई मार्ने प्रयास गरेकी थिइन् । ग्रिष्माले जुसमा प्यारासिटामोल ट्याब्लेट मिसाएर शेरोनलाई दिएकी थिइन् । तर जुसको स्वाद निकै तितो भएपछि उनले त्यसलाई थुके । जसको कारण उनलाई कुनै प्रभाव परेन । शेरोनका आमाबाबुले अदालतको निर्णयको स्वागत गरेका छन् । यद्यपि, ग्रिष्माकी आमालाई दिएकोमा चाहिँ उनीहरू निराश छन् । शेरोनको मृत्युमा उनी पनि उत्तिकै जिम्मेवार रहेको भन्दै सफाइ दिने फैसला विरुद्ध अपील गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री