मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुखानी हत्याकाण्डबारे अन्तरवार्ता

‘ओली सुध्रिन्छन् कि भनेर सचिव बनाइयो, सुखानी हत्याकाण्डपछि फरार भए’

सीपी मैनालीले यसरी सम्झिए ५२ वर्षअघिको सुखानी हत्याकाण्ड
बुधबार, २१ फागुन २०८१, १२ : ०७
बुधबार, २१ फागुन २०८१

५२ वर्षअघि २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती शासकद्वारा इलाम र झापाको सिमाना रहेको सुखानी जंगलमा झापा किसान आन्दोलनका चर्चित पाँच जना योद्धालाई  गोली दागेका थिए । २०२८ सालको अन्त्यतिर नेकपा झापा समितिले सञ्चालन गरेको ‘वर्गशुत्र सफाय’ अभियानका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको हत्या भएको थियो ।

यसका प्रमुख नेताहरू वर्तमान प्रधानमन्त्रीसमेत रहेका केपी ओली, राधाकृष्ण(आरके) मैनाली, चन्द्रप्रकाश(सीपी) मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशी लगायत नेताहरू थिए । विद्रोहका प्रमुख नेता आरके मैनाली क्षयरोगले ग्रसित भएपछि २०२९ साल फागुनतिर नेतृत्वबाट अलग भए । आरकेको ठाउँमा गफ गर्ने तर काम नगर्ने प्रवृत्तिका ओलीलाई सुधार्ने हिसाबले सचिव बनाइएको सीपी मैनाली सम्झन्छन् । ओलीकै कमजोरीका कारण झापा आन्दोलनले ठुलो क्षति व्यहोरेको उनी दाबी गर्छन् ।

सुखानी हत्याकाण्डपछि ओली फरार रहेकाले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएको उनी बताउँछन् । हाल मालेका महासचिव समेत रहेका मैनालीसँग रातोपाटीकर्मी गणेश पाण्डेले झापा विद्रोह, सुखानी हत्याकाण्ड, पार्टी पुनर्गठन र कम्युनिस्ट आन्दोलनको भविष्यबारे कुराकानी गरेका छन्–

  • सुखानी हत्याकाण्डलाई तपाईंले कसरी सम्झिनुभएको छ ?

झापा विद्रोहमा सक्रिय रहेका कार्यकर्तालाई मारेर विद्रोहको सन्देशलाई रोक्न सकिन्छ भन्ने तत्कालीन पञ्चायती सत्ताको निरङ्कुश र निर्लज्जतापूर्ण कार्य हो । त्यसमा आफ्नो जीवन उत्सर्ग गर्ने कमरेड रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई २१ फागुनको सन्दर्भमा मभित्रै दिलदेखि सम्झन्छु । सम्मान व्यक्त गर्छु, उहाँहरूलाई श्रद्धाञ्जली दिन्छु । उहाँहरूको सहादतबाट निश्चित जुन शिक्षा छ– समाजलाई परिवर्तन गर्ने, देशलाई पूर्ण स्वतन्त्र बनाउने, जनसत्ता स्थापना गर्ने, समाजवादी बाटो खोल्ने, त्यसमा निरन्तर क्रियाशील भइराख्ने कबुल गर्छु ।

  • झापा विद्रोह राजनीतिक विद्रोह नभएर व्यक्ति हत्या थियो भन्ने आरोप छ नि ?

तत्कालीन सत्ता, जमिनदार, दलाल पुँजीपति वर्ग, निरङ्कुश सत्ताविरुद्ध बल प्रयोगको एउटा आन्दोलन थियो । त्यसका सन्देशलाई देशभित्र समान्ती दलाल, पुँजीपति, उत्पीडितलाई समाप्त गरेर जनतालाई अधिकार सम्पन्न गरी मुक्त गर्ने, देशबाहिरका प्रत्यक्ष र परोक्ष हस्तक्षेप बन्द गरी देशलाई साँचो अर्थमा स्वतन्त्र, सार्वभौम र अखण्ड राख्ने उद्देश्य हुन् । ती नै उद्देश्य जनताका सन्देश हुन् । यी नै सन्देश र उद्देश्यलाई मार्नका निम्ति वर्ग शत्रुकै पक्षधरता लिने शासक र शोषकहरूले त्यसको राजनीतिक पक्षलाई अनदेखा गर्नु वा विरोध गर्नु उनीहरूको वर्ग चरित्र अनुसारको कुरा हो ।

  • तर त्यो विद्रोह उग्रवामपन्थी भड्काव थियो भनेर २०३५ सालमा माले पुनर्गठन गर्दा रियलाइज गर्नुभयो होइन ?

झापा विद्रोह तत्कालीन सत्ताविरुद्ध थियो । त्यस हदसम्म त्यो विद्रोह उपयुक्त थियो । अन्धकारलाई चिर्ने एउटा ज्योति थियो । अहिलेसम्म त्यसको औचित्य रहिरहेको छ । तर विद्रोह गर्ने क्रममा निरङ्कुश पञ्चायती समाप्त भएर तत्कालै देशमा जनतन्त्र वा जनगणतन्त्र स्थापना भइहाल्छ भन्ने मेरो पनि सोच थियो । आन्दोलनकै सोच थियो । तर त्यो बढी आदर्श प्रेरित र मनोगतवादी थियो । राजनीति उग्रवामपन्थी थियो भनेर महसुस गर्‍यौँ । पार्टीले त्यसलाई सच्यायो । सशस्त्र आन्दोलनलाई पनि सच्याउँदै राजनीतिक आन्दोलनबाट अगाडि बढ्ने र जनताको गणतन्त्र ल्याउने रणनीतिक लक्ष्यमा क्रमिक रूपमा पुग्ने कार्यदिशा लिएर हामीले काम गर्‍यौँ ।

  • विद्रोहका योद्धामध्ये एक वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा आएपछि आन्दोलनले धक्का खाएको, सुखानी हत्याकाण्डपछि फरार रहेको आरोप कत्तिको सत्य हो ?

२०२७ सालको चैततिर पुरानो कम्युनिस्ट पार्टी कोशी प्रान्तीय कमिटीको अध्यक्ष मनमोहन अधिकारी हुनुभयो । त्यसका सचिव भरतमोहन अधिकारी थिए  । त्यति वेलासम्म नेतृत्वमा रहेका किसान नेता मदन खपाङ्गीले नेतृत्व त्याग्नुभयो । पार्टीले सशस्त्र विद्रोह र जनगणतन्त्र स्थापनाको नीति लियो । पछि भूमिगत आन्दोलन सुरु भयो । विद्रोहको नेतृत्व(सचिव) आरके मैनालीले गर्नुभएको थियो । दुःख कष्ट, हन्डर ठक्कर, जेलनेल, खाना र सुत्ने व्यवस्था नमिल्दा बिरामी हुनुभयो । उहाँलाई क्षयरोगले समातेको थियो । यही कारण उहाँले २०२९ साल भदौतिर बिदा माग्नुभयो ।

त्यतिबेला ओली पनि पहाडबाट झापामा झर्नुभएको थियो । उहाँका परिवार २०२०/२२ तिर झापामा आएर बसोबास गरेका हुन् । उनी वामपन्थी नेता तथा प्रगतिशील साहित्यकार रामनाथ दाहालको घरमा बसेका थिए । रामनाथले नै उहाँको बसोबास, खानपान तथा पढाइको व्यवस्था मिलाइदिएका थिए । ओली विद्यार्थीमा प्रगतिशील विचार लिएर क्रियाशील थिए । २०२५ सालमा जिल्ला कमिटी सदस्य बनेपश्चात् रामनाथ जिल्ला कमिटी सदस्य भइसकेका थिए । झापाको चारपाने क्षेत्रमा पनि इलाका कमिटी बनेको थियो । त्यसको सचिव ओली हुनुहुन्थ्यो । सोही क्षेत्रमा संगठित भएर विद्यार्थीमा काम गर्नुहुन्थ्यो ।

म २०२७ सालमा आइएससी टुंगिएपछि भद्रपुरको डिग्री कलेजमा बीएमा इकोनमिक्स लिएर पढ्न त्यहीँ गएँ । त्यसपछि म भूमिगत पार्टी नेकपामा संगठित भएँ । म पढ्दै गरेको हुनाले विद्यार्थी क्षेत्रमा काम गर्ने जिम्मा दियो । विद्यार्थी संगठनको इन्चार्ज द्रोणाचार्य क्षत्री हुनहुन्थ्यो । अर्का एक जना बलराम भन्ने विद्यार्थीलाई समेटेर एउटा फ्याक्सन बनेका थियो । 

त्यसरी मेरो भेट ओलीसँग भेट भयो । ओलीको फुर्तीफार्ती निकै थियो । काम केही गर्दैनथे । तर सबै आफैले गरेजस्तो गफ लगाउँथे । २०२८ साल असारतिर म जिल्ला कमिटी सदस्य भएँ । त्यतिबेला आरके (राधाकृष्ण मैनाली) सचिव भइसक्नुभएको थियो । ओली चारपाने इलाका कमिटी सदस्य थिए । प्रेम ओली त्यसको सचिव थिए । सोही सालको फागुनतिर ओलीले जिल्ला कमिटीमा जाने इच्छा व्यक्त गरे । पार्टीले जिल्ला कमिटी सदस्य बनायो ।

चैतबाट हिंसात्मक आन्दोलन पनि सुरु भयो । किसान, विद्यार्थी, उत्पीडित क्षेत्रबाट प्रशासनविरुद्ध आन्दोलन हुँदै थियो । तर आरके बिरामी भएपछि केही साथीले गफ गर्ने काम नगर्ने प्रवृत्तिका ओलीलाई सचिव बनाइदियौँ, उनी सुध्रिन्छन् कि भन्ने मत राखे । संगठनको जिम्मेवारी दिए भने ओलीले आफूलाई सुधार्लान् भन्ने सोचेर सचिव बनाइयो । त्यसपछि राजनीतिक रूपमा चर्चित एक्सन ओरिन्टेट (वर्ग सफाय) कारबाही पनि भए । तर ओली सचिव भए पनि निश्चित क्षेत्रमा मात्रै सीमित भएर बसे । पार्टी सञ्चालन गर्न सकेनन् । साथीहरूसँग सम्पर्कविहीन भएर बसे । वर्ग शत्रुमाथिको प्रहार भयो । २०२९ साल मंसिरमा रामनाथ चारपानेबाट समातिनुभयो । अन्य चर्चित नेताहरू पनि समातिए । राजवंशी समुदायको बाहुल्यता रहेको क्षेत्रका चर्चित वीरेन राजवंशी पञ्चायत कालमा अधिकृत भइसकेका व्यक्ति हुन् । कृष्ण कुइँकेल विद्यार्थी आन्दोलनका चर्चित व्यक्ति हुन् । नेत्र घिमिरे हट्टाकट्टा तथा किसान आन्दोलनमा सक्रिय थिए । नारायण श्रेष्ठ सक्रिय व्यक्ति थिए । यसरी अलगअलग पृष्ठभूमि भएका व्यक्तिलाई सामूहिक हत्या गर्दा आन्दोलन समाप्त हुन्छ । विद्रोहको बाटो कसैले अङ्गाल्दैनन् भन्ने पञ्चायती शासकले ठानेर उहाँहरूलाई इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा राति गोली हानी निर्ममतापूर्वक हत्या गरियो । 

ओलीको कमजोरीका कारण झापा विद्रोहमा ठुलो क्षति व्यहोर्न पर्‍यो । यस हत्याकाण्डपछि ओलीसँग एक पटक मेरो भेट भयो । त्यतिबेला झापाको पश्चिमतिर बसेर उहाँले काम गर्नुहुन्थ्यो । त्यसपछि सम्पर्कविहीन भएका ओली विराटनगर हुँदै लखनौमा मोहनचन्द्र अधिकारी भएको ठाउँमा लुकेर बस्नुभएछ । २०३० सालमा नेपाल फर्किने क्रममा कात्तिकतिर माधव नेपालको घर रहेको रौतहटमा आएर बसेछन् । माधवले नै व्यवस्था गरेको क्षेत्रमा बस्नुहुन्थ्यो । मधेसी बाहुल्यता रहेको गाउँमा पहाडिया मानिसहरू देखिएपछि शंका गरेर उहाँहरूलाई पक्राउ परे । २०४४ सालसम्म ओली जेलमा परे ।

विद्रोहको बाटो कसैले अङ्गाल्दैनन् भन्ने पञ्चायती शासकले ठानेर उहाँहरूलाई इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा राति गोली हानी निर्ममतापूर्वक हत्या गरियो । ओलीको कमजोरीका कारण झापा विद्रोहमा ठुलो क्षति व्यहोर्न पर्‍यो । 

२०३० साल साउन २० गते नयाँवारिमा पञ्चायती सुरक्षाकर्मीद्वारा ठुलो घेराउ र दमनमा आरके मैनाली, लिला कट्टेल, सीता खड्का, हर्क खड्का, चन्द्र डाँगी, नारद वाग्ले लगायतका धेरै साथीहरू भित्रकै सुराकीका आधारमा घेराउमा परे । गरामनीका प्रधानपञ्च शिव न्यौपाने सरकारसँग मिलिसकेका रहेछन् । चन्द्र डाँगी घेराउ छिचोल्ने क्रममा पुलिसले गोली हानी हत्या गर्‍यो । धेरै साथीहरू समातिए । हाम्रो जनशक्ति घट्यो । त्यस्तो स्थितिमा ममाथि ठुलो प्रेसर थियो । चिनेजानेको मान्छेले तँ पनि भाग । जुनसुकै वेला मारिन सक्छ भन्थे ।

विद्रोहमा त्यत्रा साथीहरू कोही मारिए, कोही जेल परे । यस्तो स्थितिमा गाउँ र जिल्ला छोडेर विदेशमा पनि जानुपर्ने स्थिति भएपनि मैले पलायनको बाटो लिन उचित ठानिन । आफ्नो निष्ठामा कायम रहँदै विद्रोहको सन्देश जोगाउन र अन्य जिल्लामा प्रचार गर्न मोरङमा काम गर्ने विश्वनाथ भट्ट लगायत साथीहरूसँग मिलेर झापा–मोरङको एउटै पार्टी बनाउने अपिल गर्‍यौं । सोही अपिलको आधारमा २०३२ साल जेठ २४ गते मोरङमा को–अडिसन केन्द्र(माले) गठन गर्‍यौं । त्यसको सचिवको जिम्मेवारी मलाई सुम्पियो । यसरी सुखानी हत्याकाण्डपछि ओली जिल्लाबाट भागिसकेपछि पार्टीको जिम्मेवारी मेरो काँधमा आयो ।  जेलभित्र परेपनि उहाँ आन्दोलनमा अडिनै रहनुभयो । त्यसैले जेलभित्रका साथीहरू पनि धन्यवादको पात्र हुनुहुन्छ । र, बाहिरका साथीहरू ठुलो त्याग, तपस्या र सक्रियता देखाए । पार्टी पुनर्गठन गरी २०३५ सालमा माले बनाइयो । २०३७  सालमा जनमतसंग्रह भयो । सुधारीएको पञ्चायतलाई सूर्यबहादुर नेतृत्वको सरकारले शक्तिको दुरुपयोग र धाधली गरेर जितायो ।

  • सुखानी हत्याकाण्डपछि कम्युनिस्ट आन्दोलन नै शिथिल भएको अवस्थामा पार्टी पुनर्गठन गरी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुभयो । तर २०३९ सालमा तपाईंलाई नै कारबाही भयो नि ?

निरङ्कुश पञ्चायतीविरुद्ध वाममोर्चा र कांग्रेस मिलेर आन्दोलन गर्नुपर्ने प्रस्ताव मैले गरेको थिएँ । सशस्त्र विद्रोहबाट तत्काल जनगणतन्त्र ल्याउने कार्यदिशा पार्टीले करेक्सन गर्‍यो । तर माधव नेपाल लगायत मुक्ति मोर्चाबाट आएका साथीहरूले लामो समयसम्म अल्झाए । मैले अघि सारेको जनक्रान्तिद्वारा बहुदलीय व्यवस्था ल्याउनुपर्ने प्रस्तावलाई २०३९ साल कात्तिकमा बसेको केन्द्रीय समिति बैठकले अस्वीकार गरी वामदेव गौतमले प्रस्ताव गरेको पुँजीवादी बुर्जुवा गणतन्त्रको कार्यदिशा पास भयो ।

मदन भण्डारी र माधव नेपालले पञ्चायत व्यवस्था ढाल्ने र बहुदलीय व्यवस्था ल्याउन संयुक्त वाममोर्चा बनाएर कांग्रेससँग मिलेर आन्दोलन गर्ने प्रस्ताव अस्वीकार गरे । यो प्रक्रिया २०४६ साल कात्तिकसम्म रह्यो । भदौमा मालेको चौथो राष्ट्रिय  महाधिवेशन सिराहाको जङ्गलमा भएको थियो । मलाई कारबाही गरेपछि झलनाथ खनाल महासचिव भएका थिए । खनालको ठाउँमा मदन भण्डारी महासचिव भए । मदन महासचिव भएपछि बसेको दोस्रो बैठकमा निर्दलीय पञ्चायतीविरुद्ध आन्दोलन गरौँ, वाममोर्चा बनाउँ । कांग्रेससँग सहकार्य गरौँ भनेर प्रस्ताव राखेँ । त्यही प्रस्तावमा पार्टीले निर्णय गर्‍यो । मैले त्यतिबेला र अहिले त्यति तात्त्विक अन्तर पाएको छैन । यही प्रस्ताव तपाईंले नबुझेर सङ्कीर्ण भएर मलाई दक्षिणपन्थीको आरोप लगाएर कारबाही गर्नुभयो । तर अहिले हामी सबै त्यसको पक्षमा छौँ । त्यतिबेला मैले लिएको कार्यनीति गलत थिएन भन्ने कुरा अहिले आएर पुष्टि भएको छ । त्यसकारण ममाथि लगाएको आरोप हटाइदिन प्रस्ताव गरेको थिएँ । महासचिव तपाईं नै रहनुहोस्, त्यसमा मेरो कुनै विरोध छैन । तर ममाथिको कालो टोपी हटाउनोस् भन्दा मदनले नै मानेनन् । अन्य कसैले पनि एक शब्द चुइँक्क बोलेनन् ।

  • तपाईंको प्रस्ताव किन मानेनन् जस्तो लाग्छ ?

किन चाहेनन् भने यो उनीहरूको आन्तरिक मात्रै निर्णय थिएन । उनीहरूले आफ्नो मनले गरेको भए त्यो आरोपलाई फिर्ता लिनुपर्ने हो । बाहिरी शक्तिको प्रभावमा ममाथि कारबाही गरिएको थियो भन्ने मलाई लाग्छ । सीपी मैनाली देशभक्तिपूर्ण छ । बहिरी शक्तिको प्रभावमा यसले काम गर्दैन भन्ने बुझेर मजस्तो मान्छे उदीयमान पार्टी मालेको नेता भइरह्यो भने विदेशीप्रति कम्फर्टेबल नहुने भएर नै कारबाही गरियो । मलाई उठ्नै नदिने गरी उनहरूले अनुचित पूर्वाग्रही र उद्देश्यमूलक ढङ्गले कारबाही गरे । जबकि म अल्पमतमा परेपछि राजीनामा दिइसकेको थिएँ । तत्कालीन कार्यनीति र कार्यक्रममा अल्पमतमा परेपछि नैतिकताको आधारमा राजीनामा दिएको थिएँ ।  

  • एमाले नेतृत्वहरूले सहिदको सपनालाई धोका दिँदै आउनुभयो भन्ने तपाईंको निष्कर्ष हो ?

२०४९ सालदेखि मदनले अगाडि सारेको जनताको बहुदलीय जनवाद(जबज) सिद्धान्त हो । हामीले अपनाउँदै आएको जनवादी सिद्धान्त हो । ती सिद्धान्तलाई विस्थापित गरी जबज पारित गर्न बहुमत जुटाउनुभयो । त्यसको उद्देश्य भनेको अहिले संसदीय अभ्यास छ, त्यसमा बहुमतको सरकार बन्ने, अल्पमत प्रतिपक्षमा बस्ने, चेक एन्ड ब्यालेन्सको नीति रहने स्वाभाविक नै हो । यसमा त्यतिवेला पनि मैले विरोध गरेको होइन । 

तर त्यही बाटो हिँडेर नै देशमा जनवादी क्रान्ति पूरा हुन्छ । जनसत्ता स्थापना हुन्छ, समाजवादी स्थापना हुन्छ भन्ने जुन नीति छ, त्यो मार्क्सवादमा नभएको सिद्धान्त हो । त्यस्तै विचार युरोपका कम्युनिस्टहरूले अँगालेका थिए । विकसित मुलुकमा चुनावबाट बहुमत ल्याएर समाजवाद स्थापना लागु गर्न सक्छौँ भनेर एउटा विचारधारा सन् १९७० को सुरुवाततिर युरोप कम्युनिस्ट भनेर चिनिन्थ्यो । तर उनीहरूको सिद्धान्त १० वर्ष पनि टिकेन । चुनावद्वारा बहुमत ल्याएर कुनै काम गर्न नसकिने रहेछ भनेर युरोप कम्युनिस्ट छिन्नभिन्न भयो । मदनले त्यही असफल युरोप कम्युनिजमबाट नक्कल गरेर नेपालमा जनवाद, समाजवाद र साम्यवाद आउँछ भनेर मार्क्सवाद प्रतिकूल वस्तुनिष्ठसँग मेल नखाने दुनियाँमा कहीँ प्रमाणित नभएको कुरालाई नेपालमा लादे । त्यसले गर्दा नाम कम्युनिस्ट पार्टी तर त्यसको मूल गुदी पुँजीवादी भयो । बिस्तारै बिस्तारै एमाले पुँजीवादी वर्गघाती पार्टी बन्दै गयो । चुनावबाट नै जनवादतिर लैजाने हो । संसदीय चुनाव नै सबै थोक हो । लुटेर, घुस खाएर, तस्करी गरेर जसरी भए पनि चुनाव जित्नु क्रान्तिकारी हो भन्ने दलाल पुँजीवादी सोच हाबी भयो । अहिले भूमाफियालाई पोस्ने गरी भूमिसम्बन्धी अध्यादेश ल्याएको छ । त्यसले भूमिहीन किसानलाई केही मद्दत गर्दैन । भूमाफियाबाट कमिसन खाएर उनीहरूलाई पोस्न ल्याएको अध्यादेश हो । यसरी माफियालाई सरकारी जग्गा बाँडेर अर्बौँ रकम कुम्लाउने र चुनाव जित्नु क्रान्तिकारी हो भन्ने कुरा एमालेका ओली र उनका नेताहरूले बुझ्दछन् । 

भूमि बाँडेर मात्र सुकुमबासीको समस्या समाधान हुँदैन । त्यसका लागि रोजगारी, शिक्षादीक्षा, सीप, तालिम, उत्पादन वृद्धि आदि इत्यादिमा राज्यले लगानी गर्नुपर्छ । एमालेकाे उद्देश्य देशलाई मरुभूमि बनाएर भए पनि विदेशीलाई बेचेर पनि चुनाव जित्नु छ । जनविरोधी र मार्क्सवादविरोधी कुरा तिनीहरूको दिमागमा घुसेको छ । 

अध्यादेश पारित गर्न उसले पार्टी नै फुटाउन विधेयक ल्याउन खोजेको छ । यस्तै चरित्रका कारण एमाले नाम मात्रको कम्युनिस्ट भएपनि विचार, चरित्र, सिद्धान्त मार्क्सवादबाट विचलित भएको छ ।

यता प्रचण्डले २०५२ सालदेखि सशस्त्र विद्रोह गर्‍यो । सशस्त्र आन्दोलनबाट तत्काल गणतन्त्र ल्याउने उग्रवामपन्थी बाटो लियो । विस्तारवादी र हैकमवादी शक्तिको पाहुना भएर माओवादीले १० वर्ष युद्ध गरे । जनयुद्ध भनिए पनि वास्तवमा त्यो जनयुद्ध होइन । यस्ता दुई प्रवृत्तिबाट नेपालका कम्युनिस्ट आन्दोलन दूषित भएका छन् । कम्युनिस्ट आन्दोलन नै भ्रमित भएको छ ।

  • अब देशले कसरी निकास पाउन सक्छ ?

राष्ट्रिय जनवादी क्रान्तिको क्रममा हामी छौँ । चार वटा त्यसका उपचरणहरू पार गरी पाँचौँ चरणमा प्रवेश गरेका छौँ । मुख्य दलहरू(एमाले, माओवादी) वर्गघाती र राष्ट्रघाती भए । कांग्रेस हिजोदेखि नै विदेशमुखी चरित्र भएको पार्टी हो । अहिले देश आन्तरिक रूपमा अधोगतितिर छ । आर्थिक, सामाजिक, राजनीति, सांस्कृतिक रूपले विचलित भएको छ । 

२००७ साल, ०४६ साल र ०६३ सालमा आएका हस्तक्षेपहरूलाई यी दलहरूले विरोध नगरेको, विस्थापित नगरेको र उल्टै बढाउँदै गएको हुनाले बाहिरी चर्को हस्तक्षेपको चरणमा छौँ । यी कारणले देश अहिले भड्खालोमा परेको छ । यो भुमरीबाट यो देशलाई निकाल्ने देशभक्त शक्ति, स्वतन्त्र व्यक्तिहरूको हो । देशभक्तहरू कोही स्वतन्त्र, कोही राजनीतिमा नलागेका, कोही कांग्रेस, कोही कम्युनिस्ट र कोही राजावादीमा छन् । 

यी सबै शक्तिहरू राजनीतिक सिद्धान्तका आधारमा नभई देश जोगाउने सिद्धान्तका आधारमा वैकल्पिक शक्ति बनाएर हाम्रो नीति, विचार, आचरण र राजनीतिमा आएका उपरी संरचना आएका विकृति र विसङ्गतिलाई परिवर्तन गर्ने सम्पूर्ण क्रान्ति आजको आवश्यकता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप