मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?

सोमबार, ०१ वैशाख २०८२, १४ : ४४
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । एक वर्षको अवधिमा नेपालमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएको थियो । जसबाट ७८ जनाको मृत्यु हुनुका साथै ३०९ जना घाइते भएको प्राधिकरणको भनाइ छ । 

नेपालमा खासगरी  प्रि–मनसुनको समयमा चट्याङ पर्ने गर्छ । अर्थात् मध्य फागुनदेखि मध्य ज्येष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।

  • चट्याङ के हो ?  

अकासमा बिजुली चम्केर गड्याङ–गुडुङ पारेर आवाज आउनु नै चट्याङ पर्नु हो । चट्याङ पर्नका लागि आकाशमा बादल हुनैपर्छ । बादलभित्र रहेको पानीको गह्रौँ कण तलतिर झर्दा र हलुका कर्ण माथितिर जाँदा ती कर्णहरू एक अर्काबिच घर्षण हुन्छ । सो घर्षणबाट विद्युतीय चार्ज उत्पन्न हुने मौसमविद् डेभिड ढकाल बताउँछन् । 

‘यो क्रम चलिरहँदा बादलभित्र धेरै चार्ज जम्मा हुन थाल्छन्, विद्युतीय चार्ज धनात्मक (पोजिटिभ) वा ऋणात्मक (नेगेटिभ) हुन सक्छ,’ उनले भने, ‘बादल वा जमिनको जुन वस्तु यो चार्जले मेल खान्छ । बादलमा जम्मा भएको चर्च तीव्र गतिले त्यो वस्तुमा बग्दछ । जसलाई हामी चट्याङ परेको वा बिजुली चम्केको भन्दछौँ ।’

मौसमविद् ढकालका अनुसार चट्याङ पर्दा ३५ हजार डिग्री सेल्सिसियसम्म ताप उत्पन्न हुने गर्छ । यो तापक्रम भनेको सूर्यको सतहभन्दा पाँच गुण तातो हुन्छ । यो तातोले गर्दा वायु मण्डलमा रहेको हावा एक्कासि फैलिने र खुम्चने हुन्छ । जसबाट विस्फोटको आवाज निस्कन्छ । यो आवाज नै चट्याङको अथवा मेघा गर्जन रहेको ढकालको भनाइ छ ।

  • कस्तो ठाउँमा पर्छ चट्याङ ?

चट्याङ जस्तोसुकै ठाउँमा पनि पर्न सक्छ । तर विषेशगरी अग्लो ठाउँमा पर्ने विज्ञ बताउँछन् । मौसमविद् ढकालका अनुसार चट्याङ प्रायः पर्ने भनेको अग्ला वस्तुमा हो । जस्तै, अग्ला टावर र भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरा इत्यादिमा चट्याङ पर्दछ ।

चट्याङ अपराह्न १२ बजेपछि प्राय पर्ने मौसमविद् ढकाल बताउँछन् ।

  • चट्याङ पर्दा के गर्ने, के नगर्ने ?

चट्याङबाट जोगिने व्यक्ति स्वयम् सचेत हुनुपर्ने हुन्छ । चट्याङबारे चासो र जानकारी राखेमा ज्यान जोगाउन सकिन्छ । घर र भवनहरूमा बनाउँदा राम्ररी अर्थिङ गर्नुपर्छ । टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल बन्द गर्नु पर्छ । बन्द गरेर विद्युत्बाट अर्थात् प्लगबाट पनि निकाल्नु पर्छ ।

चट्याङ परिरहेको छ भने विद्युतीय सामाग्री चलाउनु हुँदैन । मौसमविद् हरि प्रसाद दाहालका अनुसार चट्याङ परेको समयमा भित्ता, सिमेन्टको भुईँ र झ्यालमा टाँसिनु हुँदैन । सुख्खा ठाउँमा बस्नु पर्छ । झ्याल, भर्‍याङ र धोकामा लगाइएका धातुका वस्तु छुन नहुने उनी सुझाउँछन् ।  चट्याङ परेको आधा घण्टासम्म बाहिर नजानु हुँदैन ।

विज्ञहरूका अनुसार घर बाहिर रहेको अवस्थामा बिजुली चम्की रहेको छ भने घरभित्र जानुपर्छ । जङ्गलमा भएको अवस्थामा होचो ठाउँ र ओडार भए त्यहाँ बस्नुपर्छ ।

यस्तै बिजुली र रुखमा ओत लाग्नु हुँदैन भने खोला, पोखरी, तरबार गरिएको ठाउँभन्दा टाढा बस्नु पर्ने हुन्छ ।

यस्तै सवारी साधनभित्र रहेको अवस्थामा धातुलाई नछोई बस्नुपर्छ  भने आफू सुरक्षित ठाउँमा पुग्न नपाउँदै चट्याङ परिहालेमा दुवै हात टाउकोमा राखी थचक्क बस्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप