आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पले फेड अध्यक्षलाई गाली गरेपछि अमेरिकी शेयर बजारमा पहिरो, घट्यो डलरको भाउ

मङ्गलबार, ०९ वैशाख २०८२, १२ : १२
मङ्गलबार, ०९ वैशाख २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्षलाई गाली गरेपछि यसको असर शेयर बजार र अमेरिकी मुद्रा डलरमा देखिएको छ । ब्याजदर नघटाएको भन्दै ट्रम्पले फेड अध्यक्ष जेरोम पावेललाई हरुवा भनेका थिए । 

सामाजिक सञ्जालमा एउटामा पोष्टमा ट्रम्पले पावेललाई आर्थिक गतिविधिलाई बढाउन  ब्याजदर घटाइदिन अनुरोध गरेका थिए । तर पछिल्ला आर्थिक घटनाक्रमप्रति प्रतिक्रिया जनाउन पावेल अति नै सुस्त भएको उनको भनाइ थियो । 

‘मिष्टर अति ढिलो, मुख्य हरुवाले ब्याजदर नघटाउँदासम्म अहिलेका लागि अर्थतन्त्र सुस्त नै रहनेछ ।’ पावेललाई इंगित गर्दै ट्रम्पले भने । ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलका कारण महँगी बढेर अमेरिकी अर्थतन्त्र नै मन्दीमा जान सक्ने भन्दै अर्थशास्त्री र बजार विश्लेषकहरूले चेतावनी दिइरहेको छन् । 

यसैबीच ट्रम्पले भने पावेललाई गाली गरिरहेका छन् । पावेललाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा फेड अध्यक्ष बनाएका थिए । पावेलसँग ट्रम्पको चर्काचर्कीका कारण शेयर बजारमा पहिरो गएको छ । सोमबार बजार बन्द हुँदा एसएन्डपी ५०० करिब २ दशमलव ४ प्रतिशतले घटेको थियो । यो वर्ष सुरु भएयता एसएन्डपी १२ प्रतिशतले घटिसकेको छ । 

दाउ जोन्स इन्डष्ट्रियल पनि सोमबार साढे २ प्रतिशत तल आएको थियो भने नाष्डाक पनि सोही अंकले घटेको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा दाउ जोन्स र नाष्डाक क्रमशः १० प्रतिशत र १८ प्रतिशतले घटेका छन् । 

शेयर बजारमा पहिरो गएको समयमा अमेरिकी डलर र सरकारी ऋणपत्रलाई लगानीका लागि सुरक्षित माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय बजारमा देखिएको उथलपुथलले यी दुबैलाई पनि अछुतो राखेका छैनन् । 

सोमबार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राहरूका तुलनामा डलरको मूल्य मापन गर्ने डलर सूचक २०२२ यताकै न्यून बिन्दुमा ओर्लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप