सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
सारांश
- चलचित्र ‘दो बिघा जमिन’ गरिबी र त्यसको क्रूरताको बारेमा बनेको फिल्म हो ।
- विमल रोयले सन् १९४८मा इटालीमा बनेको नव–यथार्थवादी प्रसिद्ध चलचित्र ‘द बाइसाइकल थिफ’बाट प्रेरणा लिएर यो फिल्म बनाएका हुन् ।
- यो फिल्मले ग्रामीण ऋण, विस्थापन, गरिबी र सहरको त्रासदी जस्ता विषयवस्तुहरूलाई नलुकाई प्रस्तुत गर्छ ।
दृश्यमा प्रेमी–प्रेमिकाबिच सानोतिनो झगडा चले जस्तो देखिन्छ । एकाएक प्रेमिका सडकमा रहेको टाँगा चढ्छिन् । टाँगा मान्छेले हातले तान्ने खालको हुन्छ । उनको प्रेमी त्यस्तै अर्को हाते टाँगा चढ्छन् । दुबै जना आफू चढेको टाँगा तान्ने मान्छेलाई छिटो–छिटो दौडाउन आदेश गर्छन् । उनीहरूको आदेश मुताबिक मान्छेले तानिरहेको टाँगाको वेग बढ्दै जान्छ ।
शम्भु त्यही टाँगा तान्ने मध्ये एक हुन्छन् । उनी यति छिटो टाँगा तान्दैछन्, वेग बढ्दै जाँदा उनी घोडाले तानेर दौडाइरहेको टाँगालाई पनि पछि पार्छन् । दृश्यहरू छोटा छोटा हुँदै जान्छन् । दृश्य जति नजिक हुँदै जान्छ त्यति नै दर्शकको मुटु ढुक–ढुक बनाउने खालको हुँदै जान्छ ।
केही मिनेटमै शम्भुको मुटुले काम गर्न छोडे जस्तो देखिन्छ । तर उता टाँगामा बसेका प्रेमिल जोडिहरु भने यो अवस्था हेरेर असाध्यै रमाएको देखिन्छ । मानौँ उनीहरू कुनै खेल खेल्दैछन् । उनीहरू खित्का छोडेर हाँसेको दृश्य टाँगा तानिरहेको कुनै जनावरलाई कोर्रा हाने जस्तो प्रतीत हुन्छ । त्यही कोर्राको सहायतामा उनीहरू मान्छेलाई दास बनाइरहे जस्तो देखिन्छ ।

कलकत्ताको सडकमा देखिएको टाँगा दौडको दृश्य चलचित्रको इतिहासमै निराशा र उदासी मिश्रणको सर्वाधिक अविष्मरणीय संयोजनको उदाहरण हो । सिनेमा हो– दो बिघा जमिन ।
यो फिल्म विमल रोयले बनाएका हुन् । माथि वर्णित दृश्य गरिबी र त्यसको क्रूरताको बारेमा बनेको फिल्म दो बिघा जमिनको मुख्य अंश हो ।
दो बिघा जमिनले ‘धेरै ढंगले मेरा आँखा रसाइदिन्छ’ । यो भनाई श्याम बेनेगलको हो । उनले यो फिल्मबारे कुरा गर्दै कुनै समय भनेका थिए ‘विमल रोयले फिल्मलाई साँच्चै धरातलीय यथार्थसँग जोडेका छन्, समय र स्थानको शृङ्खलालाई जीवनमा ठम्याउन सकिने तरिकाले राखेका छन् ।’
विमल रोयबारे एउटा पुस्तक छ, ‘अ म्यान अफ साइलेन्स’ । त्यही पुस्तकका लागि विमल रोयकी छोरी रिंकी भट्टाचार्यसँग कुरा गर्दै बेनेगलले त्यसो भनेका हुन् ।
केही समय अघि ‘क्राइटेरियन कलेक्सन फिल्मस’ र ‘फिल्म हेरिटेज फाउन्डेसन’ ले दो बिघा जमिन फिल्मलाई पुनः अहिलेको प्रविधि अनुरूप अद्यावधिक गराए । गत सेप्टेम्बर महिनामा यो सिनेमा भेनिस फिल्म महोत्सवमा पुनः देखाइयो । अहिलेको प्रविधिको शैलीमा पुनर्स्थापित फिल्मको प्रिमियरका लागि इटालीमा चलेको महोत्सव गज्जबको अवसर बनेको थियो ।
विमल रोयले दो बिघा जमिन बनाउँदा सन् १९४८मा इटालीमा बनेको नव–यथार्थवादी प्रसिद्ध चलचित्र ‘द बाइसाइकल थिफ’बाट प्रेरणा लिएका थिए । भिट्टोरियो डे सिकाको फिल्म द बाइसाइकल थिफले यस्तो बाबुछोराको कथा भन्छ जो आफ्नो हराएको साइकल खोज्न दिलोज्यान लगाएर भौँतारिरहेका हुन्छन् ।
दो बिघा जमिनमा पनि त्यस्तै हताश अवस्थालाई शम्भु र उसको छोराले कलकत्तामा आफ्नो जीवन धान्न गरेको दौडधुपमार्फत देखाइएको छ ।
भर्खरै केही दिनअघि अर्थात् जुन ११ तारिखमा पनि फिल्म हेरिटेज फाउन्डेसनले मुम्बईको रिगल सिनेमा हलमा ‘दो बिघा जमिन’ देखाएको छ । फिल्ममा आज पर्यन्त मानिसहरूलाई बिझाइरहने अनेक दृश्य छन् । त्यसमध्ये पनि शम्भुको भूमिकामा नायक बलराज सहनीले खेलेको जीवन्त भूमिका भने सबैको मनमा अमिट छाप बनेर बसेको छ ।

रिंकी रोयले ‘विमल रोय–अ म्यान अफ साइलेन्स’मा उल्लेख गरे अनुसार फिल्मको नाम रविन्द्रनाथ टैगोरले लेखेको सोही शीर्षकको कविताबाट लिइएको हो । फिल्मको कथा सलिल चौधरीले लेखेका हुन भने गीतहरूमा सङ्गीत भर्ने काम पनि उनैको हो । पटकथा र सम्पादनको काम ऋषिकेष मुखर्जीले गरेका हुन । मुखर्जी आफै पनि पछि गएर फिल्म बनाएका छन् ।
फिल्मको सुरुवात खडेरीले आहत भएको जमिनको दृश्यबाट हुन्छ । खडेरी लगातार दुई वर्ष चल्छ । दुई वर्षपछि बल्ल गाउँमा वर्षा हुन्छ । गाउँलेहरू खुसीले नाच्न थाल्छन् । हर्ष विभोर शम्भु वर्षाले जम्मा भएको पानीमा आफ्नो श्रीमती अर्थात् कलाकार निरुपा रोयलाई भिजाउँछन् । जताततै किसानहरू खुसी देखिन्छन् ।
तर शम्भु दम्पतीको खुसी धेरै समय टिक्दैन । शम्भुले धूर्त जमिनदारसँग केही पैसा ऋण लिएको हुन्छ । जमिनदारले तत्काल ऋण चुक्ता गर्न वा शम्भुको स्वामित्वमा रहेको दुई बिघा जमिन नामसारी गर्न जोड दिन थाल्छ । शम्भु कुनै हालतमा जग्गा साहुलाई नदिने अडान लिन्छन् । त्यसका लागि उनले छोटो समयमै आवश्यक पैसा जम्मा गर्नुपर्ने हुन्छ । पैसा कमाउनका लागि शम्भु आफ्नो छोरा (रतन कुमार) सँग कलकत्ता जान्छन् ।
हिजोको कलकत्ता अर्थात् आजको कोलकाता दौलतले भरिपूर्ण छ । तर धनको अपार थुप्रो भएको सहर आफैमा अनौठो र क्रूर छ । गाउँ देहातबाट आएका गरिबहरूको न्यून ज्यालामा सहरले मस्ती गरिरहेको हुन्छ ।
शम्भु र उसको छोरा कन्हैयाले सडक र झुपडीपट्टिमा आफूजस्तै मानिसहरू भेट्छन् । त्यहाँ उनीहरूले सहयोग, आत्मीयता र ऐक्यबद्धता पाउँछन् । सहरमा बाँच्ने कला सिक्न पाउँछन् । घरभन्दा धेरै टाढा पनि घर जस्तै वातावरण पाउँछन् ।
झुपडीपट्टिमा बस्ने श्रमिकहरू आफूले ठुला–ठुला दरबार बनाउँदा तथा ठुला पहाडहरू पन्छाउँदा पनि रित्तो हात रहनुपरेको गीत गाउँछन् । त्यो गीत शैलेन्द्र आफैले लेखेका हुन् ।
‘परिणीता’ तथा ‘मधुमति’ लगायत विमल रोयका अन्य धेरै फिल्महरू अन्याय सिर्जना गर्ने सामन्ती संरचनाप्रति आलोचनात्मक देखिन्छन् ।
‘के जमिनदार वर्गप्रति देखाइएको नकारात्मक प्रस्तुति केवल संयोग मात्रै थियो त ?’ रोय भट्टाचार्य पुस्तकमा आश्चर्य व्यक्त गर्दै प्रश्न गर्छिन् । ‘वा आफूले अविश्वास गरेको सामन्ती विरासतको बन्धनबाट आफैँलाई मुक्त गर्नका लागि अचेतन इशारा पो थियो कि ?’

विमल रोयको जीवनकाल छोटो रह्यो । उनी सन् १९६६ मा ५६ वर्षको उमेरमा क्यान्सरबाट बिते । उनको छोटो जीवन पनि यताउता भौतारिइरहने बाध्यता तथा पुनः उठ्ने प्रयासले भरिएको थियो । उनी सन् १९०९मा हालको बङ्गलादेशमा पर्ने सुआपुरको एउटा जग्गावाला खानदानमा जन्मिएका थिए ।
सन् १९३०को दशकमा परिस्थितिले रोयको परिवारलाई कलकत्ता आउन विवश बनायो । कलकत्ताको ‘न्यु थिएटर’ मा रोय फोटोग्राफीको काम गर्न थाले । पछि त्यही स्टुडियोले बनाउने चलचित्रमा छायाङ्कन गर्न लागे । सरतचन्द्र चट्टोपाध्यायको कृतिमा आधारित रहेर सन् १९३६मा बनाइएको फिल्म देवदासको छायाङ्कन पनि उनैले गरेका हुन् । पछि सन् १९५५मा रोयले आफ्नै संस्करणको देवदास पनि बनाएका थिए । उनले सन् १९५५ मा आएको हिन्दी फिल्म ‘हमराही’ पनि खिचेका हुन् ।
रोयले आफ्नै निर्देशनमा ल्याएको पहिलो सिनेमा भने सन् १९४४मा आएको बंगाली भाषाको ‘उदयेर पथे’ हो । यो फिल्म एक जना श्रमिक वर्गका आदर्शवादी लेखकको कथा हो । ती लेखकले आफ्नै केटी साथीको धनाढ्य दाजु विरुद्ध आन्दोलनको कार्यक्रम आयोजना गर्छन् । यो फिल्म धेरै सफल रह्यो । कलकत्तामा एक वर्षसम्म हलमा चलिरह्यो ।
यो सन्दर्भ उल्लेख गर्दै ‘विमल रोयः अ म्यान अफ साइलेन्स’मा रिंकी भट्टाचार्याले उल्लेख गरे अनुसार रोयको कथा वाचन शैलीलाई सत्यजीत रेले पनि प्रशंसा गरेका थिए ।
पुस्तकमा सत्यजीत रेले ‘उदयेर पथे’बारे चर्चा गर्दै फिल्मले पुराना परम्पराको जालो पन्छाएको साथै नयाँ खालको यथार्थवादको सुरुवात गर्दै फिल्मलाई भनेका छन् ।
सत्यजीत रे अझै थप्छन्, ‘विमल रोयले थालेको काम त्यो फिल्ममा पुगेपछि आफ्नो चरमचुलीमा पुग्यो जुन फिल्म पहिलो पटक हेर्नेहरूलाई पनि आजसम्म दिमागमा उत्तिकै झङ्कृत भइरहेको छ...म दो बिघ जमिनकै कुरा गर्दै छु । त्यो फिल्म भारतीय सिनेमाको एउटा कोशेढुंगा नै हो’।
सन १९५०को दशको सुरुवाती कालमा रोय मुम्बई गए । सन् १९५२ मा त्यहाँ उनले ‘माँ’ नामको सिनेमाको निर्देशन गरे । पछि गएर उनले आफ्नै ‘प्रोडक्सन हाउस’ बनाए । त्यसको नाम ’विमल रोय प्रोडक्सन्स’ राखियो । आफ्ना समकक्षी राज कपुर र गुर दत्त जस्तै रोय पनि आफ्ना परियोजनाहरूमा आफ्नो सिर्जनात्मक नियन्त्रण कायम राख्थे । आफ्नो समयका अन्य निर्देशकहरू जस्तै उनी पनि ’जेनरा’ र विषयवस्तुको बिचमा भेद नछुट्टिने गरी काम गर्थे ।
दो बिघा जमिन र परिणीता एउटै वर्ष ’रिलिज’ भएका हुन् । परिणीताले सम्बन्धभित्रको कथा भन्छ ।जसमा अशोक कुमार र मीना कुमारीको अभिनय देख्न पाइन्छ । बलराज सहनीका छोरा परिक्षत सहनीले लेखेको पुस्तक ’ द नन–कन्फर्मिष्टः मेमोरिज अफ माई फादर बलराज स
हनीमा उल्लेख गरे अनुसार खासमा विमल रोय दो बिघा जमिनको लागी सुरुमा अशोक कुमारलाई लिन खोजेका थिए । तर पछि त्यसो हुन सकेन । सुरुमा रेडियो कार्यक्रम प्रस्तोता रहेका बलराज सहनी सन ४०को दशकमा फिल्ममा काम गर्ने मनसाय सहित मुम्बई आएका थिए । उनका लागि दो बिघा जमिनले धेरै ठुलो सफलता दियो । पछि गएर उनले सन् १९६१मा ‘काबुलिवाला’, सन् १९६५मा ‘वख्त’तथा सन् १९७४ मा ‘गर्म हवा’ जस्ता उल्लेखनीय फिल्ममा पनि काम गरे ।
परिक्षत सहनीका अनुसार अशोक कुमारले शम्भुको भूमिका बलराज सहनीले पाएकोमा आफूलाई राहत महसुस भएको बताएका थिए । यसै सन्दर्भमा अशोक कुमारले परिक्षत साहनीसँग भनेका थिए ‘कुनै पनि फिल्म हेर्दा म मुख्य त्यसमा अभिनेताको अभिनयलाई धेरै नजिकबाट नियाल्छु । र, सधैँ म त्यो भूमिका अझै धेरै राम्रोसँग गर्न सक्थेँ भन्ने निष्कर्षमा पुग्छु’। तर दो बिघा जमिन हेरेपछि भने अशोक कुमारले बलराज सहनीको जत्तिको ’राम्रोसँग गर्न सक्दैनथेँ’ भन्ने स्वीकार गरेका थिए ।
दो बिघा जमिनमा बलराज सहनीले शारीरिक हाउभाउको स्वभाविकता र भावनात्मक गहिराई दुवै पाटोमा असाध्यै उल्लेखनीय प्रस्तुति दिएका छन् । फिल्ममा सहनी आफ्नो दुई बिघा जग्गा जोगाउनका लागी एउटा किसानले भोग्नुपरेको दुःख र त्यसले निम्त्याउने आक्रोशलाई जीवन्त बनाउन पूर्ण रूपमा सफल छन् ।
आफै पनि एउटा मार्क्सवादी तथा राजनीतिक अभियन्ता हुनुको नाताले बलराज सहनीलाई कामदार वर्गका पिडा कुनै नौलो कुरा थिएनन् । तथापि सहरमा अभ्यासरत एउटा कलाकारका रूपमा उनलाई शम्भु बनेर जीवन्त प्रस्तुति दिन धेरै मेहनत गर्नुपरेको थियो । यो सन्दर्भ उनका भाई भिषम सहनीले आफ्नो संस्मरण ‘बलराज माई ब्रदर’मा उल्लेख गरेका छन् ।
भिषम सहनीले लेखे अनुसार दो बिघा जमिनमा काम गर्ने पक्का भएकै दिन बलराज एकजना दुधवाला किसानकोमा पुगेका थिए । त्यी किसान उत्तर प्रदेशबाट मुम्बई आएका थिए । बलराजले त्यसपछिका केही समय तीनै किसानसँग बिताएका थिए । किसानले कसरी बोल्छन्, शारीरिक हाउभाउ कस्तो छ तथा कसरी आफ्नो टाउकोमा तौली बेर्छन् भन्नेसम्म मसिनोगरी अध्ययन गरेका थिए ।
फिल्म सुटिङका लागि कलकत्ता जाँदा पनि उनी रेलको ‘अनरिजर्भ’ कोठामै बसेर गए । त्यहाँको रिक्सा चालक युनियनले उनलाई टाँगा तान्न सिकायो । यसैक्रममा उनले फिल्मको शम्भु पात्रसँग मिल्दो जीवन कथा भएका टाँगा तान्ने कामदार पनि भेट्टाए ।

त्यो घटनालाई सम्झिँदै बलराजले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मैले त अभिनयबारे पढाइने सिद्धानतहरुबारे सोच्नै छोडिदिएँ । बरु म त अधबैँसे उमेरको त्यही रिक्सावालाको मन मुटुमा छिरेँ । त्यसै कारण नै मैले सफलतापूर्वक आफूलाई दिएको भूमिका निभाउन सकेको हुँ ।’
विमल रोय र छाँयाकार कमल बोसले शम्भुको रिक्सासँग जोडिएका दृश्यहरू साँच्चिकै रिक्सातान्ने गरिएका तीनै स्थानमा खिचेका थिए । जसले गर्दा बालराजको प्रस्तुति अझै शक्तिशाली बन्न पुग्यो ।
फिल्म निर्माता तपन सिन्हा ‘विमल रोयः द म्यान हु स्पोक इन पिक्चर्स’ मा लेख्छन्, ‘रोयले कलकत्ताको सडकमा त्यसबेलाको नयाँ एरिफ्लेक्स क्यामेराबाट दो बिघा जमिनको छायांकन गरेका थिए...’ । एरिफ्लेक्स तौलमा हल्का थियो । त्यसअघि प्रयोग हुने गरेका अन्य क्यामेराहरू भन्दा ‘लोकेसन सुटिङ’ का लागि बढी उपयुक्त थियो । सिन्हा भन्छन्, ‘एउटा प्राविधिकका रूपमा रोयले यो नयाँ क्यामेराको सम्भावना ठम्याए तथा त्यसको व्यापक प्रयोग गरे ।’
प्रदर्शनमा आएसँगै दो बिघा जमिनले ठुलो प्रशंसा पायो । त्यो समयमा पाउने धेरै पुरस्कारहरू पायो । फिल्मको पुरानो संस्करणमा शम्भुकी श्रीमती पार्वती फिल्मको अन्त्यमा दुर्घटनामा मरेको दृष्य थियो । आफ्नो श्रीमान् र छोरा खोज्दै कलकत्ता आएकी पार्वतीको मृत्यु भएको दृश्य हटाएर उनी बाँचेको दृश्य राखेपछि ‘बक्स अफिस’मा पनि फिल्मले राम्रै कमाई गर्यो । नयाँ र संसोधित संस्करणमा शम्भु दम्पती र छोरा आफ्नो गाउँ फर्कन्छन् । त्यहाँ उनीहरूले अकल्पनीय परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।
अहिले पनि यथार्थवादी चलचित्रको अग्रणी उदाहरणका रूपमा दो बिघा जमिनलाई कसैले चुनौती दिन सकेको छैन । आजको दिनमा प्रदर्शन हुँदा पनि दो बिघा जमिनमा ग्रामीण ऋण, जबरजस्ती हुने विस्थापन, ग्रामीण गरिबी र ठुला सहरको त्रासदी जस्ता विषयवस्तुहरूलाई नलुकाई छर्लङ्ग देखाएको शैली साँच्चिकै मौलिक र अलग देखिन्छ ।
‘दो बिघा जमिन’ भारत स्वतन्त्रता लगत्तै देखिएको आशावादिताको सन्दर्भमा बनेको फिल्म हो । फिल्मले स्वतन्त्रताको उल्लासमा रमाउनुको सट्टा त्यसभित्रका कमजोर कडीहरू औँल्याएको छ । फिल्मले देखाएको शम्भु आज पनि हामीसँगै, हाम्रो वरपर हिँडिरहेको छ । कतै दैनिक ज्यालादारी मजदुरको रूपमा, कतै निर्माण कामदारका रूपमा त कतै ‘गिग वर्कर’का रूपमा । शम्भु आज पनि हाम्रो अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण