ओली सरकार आफ्नै भारले ढल्छ : अग्निप्रसाद सापकोटा

नेकपा माओवादी केन्द्रले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेको छ । अभियानबाट निकै उत्साहित भएको नेतृत्वपंक्ति २०८४ को निर्वाचनमा ठुलो दल बन्ने आधार तय भएको दाबी गर्दैछ ।
केपी शर्मा ओली नेतृत्वको गठबन्धन लामो समय नजाने निष्कर्ष माओवादीले निकालेको छ । पार्टी निर्माण, विचारको संश्लेषण, आन्तरिक गुटबन्दीको अन्त्य लगायत विषयमा अभियानले कस्तो भूमिका खोल्यो ? अब मुलुकको राजनीति कता जान्छ ? यसैमा केन्द्रित रहेर माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटासँग रातोपाटीका सम्वाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश-
- पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सम्पन्न भयो । पार्टी कहाँ चुकेको रहेछ ? सुधार गर्नुपर्ने अवस्था के–के रहेछन् ?
जागरण अभियान सञ्चालन गर्नुको मुख्य उद्देश्य जनसम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने, जनताका दैनन्दिन समस्याबारे अध्ययन अनुसन्धान, अन्वेषण गर्ने थियो । त्यस्तै, विकास निर्माणका कामहरूमा हाम्रो पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिलाई निर्देशन दिने, पार्टी बाहेकका जनप्रतिनिधिलाई सहजीकरण गरिदिने उद्देश्य थिए । यसमा हामीले सोचेको भन्दा बढी सफलता हासिल गरेका छौँ ।
हामीले जनतालाई प्रस्ट भाषामा भनेका छौँ– जनतालाई बेवास्ता गर्यौँ, वर्गसँग पार्टीको सम्बन्ध अलिकति कमजोर रह्यो भनेर आत्मसमीक्षा गर्यौँ, आत्मालोचना पनि गर्यौँ । जुन हामीले केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेका थियौँ ।
यी कुरा भनिसकेपछि जनता, सहिद, घाइते तथा बेपत्ता परिवार सबैले दिल खोलेर आफ्ना भनाइ राखे । हामीले पनि आफ्ना कुरा प्रस्टसँग राख्यौँ । आत्मालोचना तथा आत्मसमीक्षा सहित आफ्ना कुरा राखेपछि उहाँहरूको अनुहारमा एक प्रकारको खुसी देखिन्थ्यो ।
हामीले सहिद, अपाङ्गता तथा घाइते परिवार, बेपत्ता परिवारका लागि केही काम गरेर गएका थियौँ । त्यो भनेको सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन पास भएको छ । त्यसमा पहिलो कुरा, युद्धकालमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गरेका छौँ । दोस्रो, त्यसरी घोषणा भएकालाई प्रमाणपत्र वितरण गरेका थियौँ । यसले उहाँहरूलाई आत्मसम्मान भएको छ । त्यसपछि उहाँहरूलाई परिपूरण दिइन्छ ।
दर्दनाक र संवेदनशील पक्ष भनेको बेपत्ता परिवारको देखिन्छ । किनकि सहिद त घोषणा भइसक्यो । उहाँहरू फर्केर आउनुहुन्न भन्ने भयो । बिस्तारै मनलाई बाँध्दै लाने कुरा हुन्छ । बेपत्ताको पीडा कति दर्दनाक हुन्छ भने उहाँहरू फर्केर आउनु हुन्छ कि भन्ने हुन्छ । लास भने लास, सास भने सास घोषणा गर्नुपर्यो भन्ने हुन्छ । सबैभन्दा राम्रो सम्बन्ध सहिद, बेपत्ता, घाइते परिवारसित भएको छ ।
साथसाथै मधेसमा अलि बढी नै शोषण, दमन, अत्याचार, महिला हिंसा, दलितमाथि अत्याचारको सीमा नाघेको रहेछ । पहाडमा भन्दा सयौँ गुणा अत्याचार भएको देखिन्छ । मुसहर, डुम समुदायमाथि बढी दमन भएको छ । मानवताको व्यवहार नै भएको देखिँदैन । यी सबै कुरा हामीले थाहा पायौँ ।
अभियानको क्रममा समाजमा अपहेलित भएका समुदायसँग हामी बस्यौँ । हाम्रो प्राथमिकता सर्वहारा वर्ग, दलित समुदायमा रह्यो । त्यसकारण चाहे राष्ट्रियता सुदृढ गर्ने, राष्ट्रिय एकता प्रवर्द्धन सम्वर्द्धन गर्ने कुरा होस्, चाहे लोकतन्त्रलाई सुदृढ गर्ने, त्यसका मूल्य र आदर्शलाई स्थापित गर्ने तथा विकास निर्माणका कामहरू गरेका छौँ । हामीले जनतासँग औपचारिक कुरामात्र गरेका छैनौँ, अन्तरङ्ग कुरा गर्यौँ । मनका कुरा गर्यौँ । उहाँहरूले पनि गर्नुभयो । हामीले पनि गर्यौँ ।
अर्को सबैभन्दा ठुलो कुरा, संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनेका छौँ । प्रारम्भिकमा समाजवादउन्मुख राज्यव्यवस्था भनेका छौँ । समाजवादले मात्रै सबै असमानता, अभाव, अन्याय, अत्याचार, शोषण र दमनको अन्त्य गर्न सक्छ । समाजवाद र सबैका निम्ति समृद्धि हो । अर्थात् समाजवादभन्दा सुसंस्कृत युक्त व्यवस्था अर्को छैन । यसका लागि हामीले धेरै ठुलो आधार तयार गरेका छौँ । विकास निर्माणका लागि पनि ऐतिहासिक कोसेढुंगा अगाडि आएको छ भन्ने हामीलाई लागेको छ । त्यसकारण अभियानबाट पार्टी निर्माणको एउटा मजबुत आधार तय भएको छ ।
- २०८४ मा माओवादी पुनरोदयका लागि कांग्रेस–एमाले गठबन्धन र आन्तरिक गुटबन्दी प्रमुख चुनौती रहेको विश्लेषण भइरहेको छ नि ?
पछिल्लो चरणमा कार्यालयको बैठक बस्यो । त्यसपछि स्थायी समिति बैठक बस्यो । यी बैठकमा व्यापक र बृहङ्गम रूपमा तीन वटा विषयमा छलफल गर्यौँ । इतिहासमै सायद यस्तो खालको बहस भएको छ । न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, न त नेपाली कम्युनिस्ट आन्दोलनमा यसखालको बहस भएको थिएन । कार्यालय बैठकमा एउटा कार्यालय सदस्यले दुई घण्टासम्म बोल्ने वातावरण बन्यो । स्थायी समिति बैठकले परामर्श बैठकको निर्णय गर्यो । सबै प्रदेशमा गएर सबैका भावना सुन्यौँ । परामर्श बैठकपछि सबै तहमा प्राप्त भएका सुझावका आधारमा केन्द्रीय समिति बैठक बस्यो । त्यहाँ व्यापक छलफल, बहस गर्यौँ । संयोग कस्तो भयो भने हाम्रो र एमालेको बैठक एकै दिन बसेर एकै दिन सकियो । सामान्य मानिस, मजदुर, किसानले छर्लङ्ग देखे कि माओवादीको बैठक कस्तो र एमालेको बैठक कस्तो हुन्छ भनेर ।
एमालेको बैठकमा सामान्य कुरा उठाउनेमाथि निष्कासन र निलम्बनको निर्णय पहिलो बुँदामै भयो । सात दिन पछाडि केन्द्रीय समितिको बैठक बस्दैथ्यो तर सात दिन अगाडि नै विपक्षमा रहेकालाई कारबाही गरेर केन्द्रीय समिति बैठकमा जानबाट रोकियो । कम्तीमा आफ्नो कुरा राख्न दिएको भए पनि उनीहरूले केपी ओलीलाई हटाउने अवस्था थिएन । अर्को कुरा, एमालेले हाम्रो आलोचनामा बढी समय खर्च गर्यो । हामीले आन्तरिक समस्या, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा बहस गर्यौँ । कांग्रेस, एमाले वा अन्य कुनै पार्टीको आलोचना गरेनौँ । किनकि आन्तरिक बैठकमा जहिले पनि आन्तरिक कुरा निर्णायक र महत्त्वपूर्ण हुन्छ । आन्तरिक एकतालाई मजबुद पार्नेगरी छलफल र बहस गर्यौँ ।
त्यसकारण परम्परागत भन्दा यो नितान्त नयाँ प्रयोग भएको छ । हुलाकी मार्ग अभियान न भुतो न भविष्यो भनेजस्तो भयो । पहिला कहिल्यै यस्तो भएको थिएन । झण्डै एक करोडको हाराहारीमा सबैभन्दा उत्पीडित, उपेक्षामा परेका जनतासँग भेटघाट र छलफल गर्यौँ ।
हुलाकी मार्ग निर्माणको पहलकदमी पनि हाम्रा अध्यक्षले लिनुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मार्ग बनाउने भए बनाइदिनोस्, नभए प्रस्टसँग भन्नोस्, हामी नै बनाउँछौँ भनेपछि उनी सहमत भए र बाटो बनेको हो । अहिले पनि कतिपय ठाउँमा बाटो कच्ची र धुलाम्य छ । यी सबै छिचोलेर हामी गरिबका बस्ती–बस्तीमा पुग्यौँ । त्यसकारण पहिलेभन्दा अहिले आन्तरिक एकता बलियो भएको छ ।
तर गुटबन्दी पूरै निमिट्यान्न भयो भनेर दाबाका साथ म भन्दिनँ । अहिले गुटबन्दी अलिकति निस्तेज भएको छ । आन्तरिक गुटबन्दी मुख्य चुनौतीका रूपमा छैन । गुटबन्दी खराब रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै छन् । पूरा तागतका साथ पहलकदमी लिइरहँदा गुटबन्दी प्रोत्साहन होइन, निरुत्साहन भएको छ ।
अर्को, दुई तिहाइको जुन सरकार छ, त्यो चुनौती थियो । अब चुनौती होइन, आफ्नै भारले थिचिएर समाप्त हुँदैछ । किनभने यो सरकार जनताको घेराबन्दीमा परिरहेको छ । कुनै पनि गतिविधि देखाउन सकेको छैन । सेवा प्रवाह पनि गर्न सकेको छैन । सुशासन कुशासनतिर छ । अघिल्लो सरकारले गरेका भ्रष्टाचारका कारबाहीका अभियानलाई उल्ट्याउने कुरा गरेको छ । गहिरिएर बुझ्दै जाँदा आफैँ प्रधानमन्त्री हुने, आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्ने । योभन्दा भ्रान्तिकारी, योभन्दा लज्जास्पद कुरा अरु केही हुन्छ ? यो हदसम्म काम ! के भन्नु ! यसको शब्दावली नै छैन । यति निकृष्ट कुरा इतिहासमा कहिल्यै भएको थिएन ।
दुई तिहाइको शक्तिशाली सरकारले के गर्न खोजेको ? अझै पनि हाम्रा प्रधानमन्त्रीलाई मनोगत भ्रम छ । यी अपर्याप्त ज्ञान, विचार विहीनताले पैदा हुने कुरा हुन् । देशका प्रबुद्ध वर्गलाई होच्याउने, हेला गर्ने, राम्रो काम गर्नेलाई निष्कासन गरेका छन् । त्रिविका उपकुलपति प्राडा.केशरजंग बरालले केही काम गर्न खोज्नुभयो, उहाँलाई राजीनामा दिन बाध्य पार्नुभयो । आफ्नै पार्टीको मन्त्रीलाई बाध्य बनाएर राजीनामा दिन लगाउनुभयो । विद्याजी (तत्कालीन शिक्षा मन्त्री)ले शिक्षकका आन्दोलनलाई रोक्न एउटा सीमा देखाउनुभयो । अचम्मको कुरा शिक्षकहरूसँग वार्ता गर्दा अर्थमन्त्री र गृहमन्त्रीलाई राख्दा शिक्षामन्त्री नै नबोलाउने दुनियाँमा कहीँ हुन्छ ? त्योभन्दा अपमान र उपेक्षा केही पनि हुँदैन । त्यसकारण प्रधानमन्त्री अहिले एक प्रकारले दिग्भ्रमित भइराख्नुभएको छ । एउटा सुप्रसिद्ध भनाइ छ– ‘स्टुपिट कार्पेन्टर क्वाइरलर्स विथ टुल्स’ अर्थात् एउटा मुर्ख सिकर्मीले हतियारसँग झगडा गर्छ । गर्नुपर्ने चाहिँ हतियारमा धार लगाउनुपर्ने हो । उहाँ (प्रधानमन्त्री) आफ्नै पार्टीका नेताहरूसँग रिसाइराख्नु भएको छ । कर्मचारीसँग रिसाइराख्नुभएको छ । क्याबिनेटका मन्त्रीहरूसँग रिसाइराख्नुभएको छ । सबैसँग रिसाइराखेका छन् ।
म सुन्दैछु– प्रधानमन्त्रीले नियुक्त गरेका मान्छेहरू आतङ्कित भइराखेका छन् । कति बेला के गर्ने हो ? के भन्न दबाब दिने हो ? एउटा मानिसलाई अलिकति स्वाभिमानसँग बाँचौँ, पूरै नाङ्गिन नपरोस्, कुनै विवेकहीन कुरा गर्न नपरोस्, जनहितविपरीत काम गर्न नपरोस्, राष्ट्रहितविपरित काम गर्न नपरोस् भन्ने हुन्छ नि । जे पनि गर्ने गराउने भएको हुनाले आतङ्कित छन् । साँच्चै भन्ने हो भने निवर्तमान गर्भनरलाई सिफारिस समितिमा राख्न मिल्दैन । पूर्वगर्भनर मिल्छ, निवर्तमान मिल्दैन । ओलीलाई मूल्य मान्यताको केही मतलब नै छैन । यो सरकारले नराम्रोसँग संविधानको धज्जी उडाएको छ । कानुनको धज्जी उडाएको छ । नियमावली, मूल्य मान्यता सबैको धज्जी उडाएको छ । एक प्रकारले जनतालाई अपमान गरेको छ । जनतालाई अपमान गरेको कुरा ओलीजीले सामान्य ठानेका छन् । यो सामान्य छैन, असामान्य छ । कुनै पनि बेला विष्फोट हुन सक्छ ।
हामीले निकै सुझबुझपूर्वक ठोस स्थितिको ठोस विश्लेषण गरेका छौँ । कम्युनिस्टहरूको मार्गदर्शक सिद्धान्तमा आधारित भएर हामीले निष्कर्ष निकालेका छौँ । एकातिर प्रतिगमनकारी छन् । इतिहासको कुनामा मिल्काइएकाहरू सरकारको कुशासन र नालायकीले गर्दा सलबलाउन थालेका छन् । अर्कोतिर ओलीको कुशासन छ । जनता आक्रोश र विस्फोट हुने अवस्थामा छन् । यो बेलामा हामी अलिकति दायाँतिर ढल्किऔँ भने अराजकतावादी, प्रतिगमनकारीलाई फाइदा हुने । अलिकति बायाँतिर ढल्किऔँ भने ओलीलाई फाइदा हुने देखिन्छ । त्यसकारण देश र जनतालाई ध्यानमा राखेर हामीले कुशासनविरुद्ध खबरदारी पनि गरेका छौँ । जनघात, राष्ट्रघातविरुद्ध खबरदारी गरेका छौँ । साथसाथै प्रतिगमनकारीविरुद्ध पनि हामीले भण्डाफोर गरिराखेका छौँ । यति हुँदाहुँदै पनि जनसाधारणले हेर्ने भनेको एक्सन हो । भाषण त जसले पनि गर्छ । म फेरि पनि भन्छु, ठोस स्थितिको ठोस विश्लेषण गरेर समाजवादी मोर्चाले चैत २४ मा तय गरेको खबरदारी सभा विचार गरेर नै १५ गते गर्यौँ । त्यो दिन सबैभन्दा बढी नवयुवा, नवयोवनाहरू सबैलाई धेरै राम्रो प्रशिक्षण भयो कि राजावादीहरू कस्ता हुँदारहेछन् ? कति अराजक, उद्दण्ड हुँदा रहेछन् ? मण्डले भनेको उनीहरूले इतिहासमा सुनेका थिए । अहिले आफ्नै नजरले देखे– कति खतरनाक र विध्वंसकारी रहेछन् ?
यता लाखौँ हाराहारीमा जम्मा भएका समाजवादी मोर्चाको मास बढो संयमित, शालिन, व्यवस्थित, अनुशासित देखियो । त्यो त्यतिकै रातारात भएको होइन । हामीले अनगिन्ती तयारीका साथ गरेका थियौँ । जनयुद्धको तयारी, युद्ध सुरु भइसकेपछि, शान्ति प्रक्रियामा परिणत भइसकेपछि पनि १० औँ हजारको संख्यामा कार्यक्रम गरिसक्यौँ । त्यसबाट पारंगत भएर कार्यक्रम गरेको हो । राजावादीहरूको न ताल छ, न सुर, न लय छ । त्यो बेलुन फुटेको जस्तो भयो ।
त्यसकारण अहिले हामीलाई सकारात्मक चुनौती छ । जनताको आकर्षण अभूतपूर्वक रूपमा बढेको छ । हामी जहाँ जान्छौँ, त्यहीँ २०६४ को झल्को आइराखेको छ । त्यसलाई हामीले संगठनमा रुपान्तरण गर्नुछ । सफलतापूर्वक संगठनमा रुपान्तरण गरियो भने हाम्रो पार्टीलाई २०८४ को चुनावमा पहिलो हुनबाट कसैले रोक्न सक्दैन । तपाईंले भनेजस्तै सबै गुट उपगुटलाई निस्तेज गर्दै पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । यसका लागि सबैभन्दा पहिला सही विचार हो । सही राजनीतिक कार्यदिशा हुनुपर्छ । कचनकवलदेखि महेन्द्रनगरसम्म आइपुग्दा के कुरा थाहा भयो भने हाम्रो काल्पनिक स्तर पनि धेरै माथि गयो । जसमा दर्शन, दर्शनको आधारमा विचार, विचारको आधारमा सिद्धान्त, सिद्धान्तको आधारमा दृष्टिकोण, दृष्टिकोणको आधारमा रणनीति, रणनीतिको आधारमा कार्यनीति, कार्यनीतिको आधारमा कार्ययोजना, कार्ययोजनाको आधारमा योजना, योजनाको आधारमा कार्यक्रम बनाउनका लागि धेरै राम्रो, प्रस्ट दृष्टिकोण पाएका छौँ । वैज्ञानिक समाजवादको लागि कसरी काम गर्नुपर्छ भन्ने कुरा थाहा भयो । साथै हामीले जितेका १२३ पालिकाका प्रमुख र पार्टीका प्रमुख ल्याएर तालिम र प्रशिक्षण पनि दियौँ ।
दुई तिहाइको जुन सरकार छ, त्यो चुनौती थियो । अब चुनौती होइन, आफ्नै भारले थिचिएर समाप्त हुँदैछ । किनभने यो सरकार जनताको घेराबन्दीमा परिरहेको छ । कुनै पनि गतिविधि देखाउन सकेको छैन ।
अब हामीले विस्तारै समाजवादको भ्रुण तयार पारेका छौँ । अहिले नै समाजवादी विचारधाराको धेरै विकास भएको छैन तर विकास गरेको कुरा जनतालाई भन्यौँ । जनताको कुरा पनि सुन्यौँ । समाजवादी विचारधारा निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा अन्तरसम्वाद, अन्तरक्रिया, राजनीतिक विश्लेषक, उद्योगपति, व्यवसायी, बुद्धिजिवीहरू यी सबैसँग ठुल्ठुला अन्तरक्रिया २० वटै जिल्लामा भए । राम्रा इतिहास बनाएका एमाले, कांग्रेस, मधेसी दलहरूबाट ठुलो संख्यामा सांसद जितेका, मन्त्री भएका हाम्रो पार्टीमा प्रवेश गरेका छन् ।
- अहिलेकै सत्ता गठबन्धन मिलेर चुनाव लड्यो भने माओवादीको स्थिति के हुन्छ ? त्यसका लागि माओवादीसँग पूर्वतयारी के छ ?
पहिलो कुरा कार्यनीति रूपमा २०८४ को चुनाव हो । रणनीतिक रूपमा समाजवादको आधार तयार पार्ने नै हो । सुझबुझ ढङ्गले कार्यनीति र रणनीतिबिच तालमेल हुनुपर्छ । अर्को कुरा, स्थानीय तहको उपनिर्वाचन पनि गर्यौँ । त्यतिबेला दुई ठुला दल मिल्दा पनि हामीले हरायौँ । कतिपय प्रदेशमा हाम्रो पार्टी पहिलो भयो । हामीले निकै कठिन मेहनत गर्नुपर्छ । युवाहरूलाई प्रशिक्षित गर्न, संगठित गर्न हामी निकै उत्सुक थियौँ । तर स्ववियुको निर्वाचनमा धेरै ठुलो सफलता हासिल भयो । गठबन्धन गरेर लड्दा पनि कतिपय क्याम्पसमा उनीहरूलाई हामीले पराजित गर्यौँ । जस्तै महेन्द्र मोरङ क्याम्पसमा ऐतिहासिक जित भयो । त्यहाँ ३० वर्षसम्म उनीहरूले नै जितेका थिए । विराटनगरकै डिग्री क्याम्पसमा पनि जित्यौँ । पूर्व भनेको चेतनाको अग्रणी नै हो । कीर्तिपुरमै हाम्रा उम्मेदवार झिनो मतले मात्र पराजित भए । यो भनेको ठुलो कुरा हो । यद्यपि २०८४ को निर्वाचनमा कांग्रेस र एमाले मिल्न पनि सक्छन् । त्यसका लागि तयारी गर्नुपर्छ । नीति, कार्यदिशा, विचार सबै चाहिन्छ । साथै जनताको दैनन्दिन कुरामा विशेष ध्यान दिनुपर्छ । विकास निर्माणका कामहरू, उनीहरूको जीवनस्तर उठाउने कुरामा हामी आफैँले रोजगारी सिर्जना गर्नुपर्छ । १२३ तहमा हामीले जितेका छौँ, त्यहाँ रोजगारी सिर्जना गर्छौं । हामीले नसक्ने कुरामा प्रतिपक्ष दलको हैसियतले रोजगारी सिर्जना गर्न राज्यलाई दबाब दिन्छौँ । बजेट पनि आउँदै छ । त्यहाँ असाधारण खालको पहलकदमी लिन्छौँ । रोजगारीसँगै जनताको जीवनस्तर उठ्दै जान्छ । जीवनस्तर उठ्दै जाँदा गरिबी हट्दै जान्छ । गरिबी हटेसँगै जनतामा सकारात्मक ऊर्जा पैदा हुन्छ । सकारात्मक ऊर्जा प्राप्त भएपछि समाज सामूहिक प्रगतितिर जान्छ । सामूहिक प्रगतितिर जानुभनेको समाजवाद हो ।
त्यसकारण जनताले प्रत्यक्ष बुझ्ने भनेको सेवा प्रवाह, सुशासन, दैनिक कुरा हो । मुख्य त आर्थिक विकास हो । आर्थिक विकासले मात्र जनताको मन जित्न सकिन्छ । जनता अभावले छटपटिरहेका छन् । त्यसलाई मलमपट्टी लगाउन स्थानीय तह छन् । त्यसका लागि हामीले अभियानभरी निर्देशित गर्दै आएका छौँ ।
- चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै विशेषताको समाजवाद लागु गरेर आधुनिक चीन निर्माण गरिसक्यो । हरेक महिनाजस्तो प्रशिक्षण लिन तपाईंहरू चीन जानुहुन्छ तर नेपालको एयरपोर्टमा ओर्लेपछि नेताहरूले चीनको विकास र कार्यशैली बिर्सिन्छन् । कहिले आफ्नै विशेषताको आधुनिक नेपाल बनाउनुहुन्छ ?
पहिलो कुरा, आफ्नै विशेषताको समाजवाद ल्याउनका लागि अझै गहन विश्लेषण गर्नुपर्छ । हामीले चाहेको वैज्ञानिक समाजवाद नै हो । नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो । यसमा सहयोग चीनबाट लिन सक्छौँ । खासगरी समाजवादको कुरा गर्दा चीन, भियतनाम, क्युवा आदि देशबाट लिन सकिन्छ । यद्यपि देश बनाउने आइडिया अन्य देशबाट पनि लिन सकिन्छ । आफ्नै विशेषताको समाजवाद लागु गर्न गम्भीर अध्ययन गरी निचोड निकाल्नुपर्छ । निष्कर्षमा पुग्न यो अभियानले एउटा आधार दिएको छ ।
जनताकै जीवनस्तरको कुरा गर्दा सम्भवतः खानै नपाउने मानिस नेपालमा छैन । काम गर्यो भने ज्याला राम्रै पाउँछन् अहिले । गणतन्त्र ल्याउन जुन रगत बगाइयो, तर यतिमात्रै जनताको अपेक्षा होइन । यसलाई गुणात्मक फट्को मार्नुपर्छ । विकासमा छलाङ मार्नुपर्छ । विचारमा छलाङ हान्नुपर्छ ।
दोस्रो, चीनले समाजवाद स्थापना गरेको भनेको धेरै पहिले हो । सन् १९७८ देखि धेरै मेहनत गरेर लागे । ४७ वर्ष अनवरत रूपमा लागेका छन् । शासन व्यवस्था पनि कमाण्ड कन्ट्रोलका साथ गरेका छन् । नेतृत्व केन्द्रीयकरणको एउटा अद्वितीय स्थिति छ । तर हामी पनि हाम्रै मौलिकता र विशेषताका आधारमा लागिपरेका छौँ । चीनको नक्कल गरेर पनि हुँदैन । जनयुद्ध पनि हाम्रै विशेषतामा गरेका हौँ । युद्ध सञ्चालन गर्न माओको सिद्धान्तको फिडब्याक लिए पनि हाम्रै हिसाबले गर्यौँ । जनयुद्ध जसरी भयो, जनआन्दोलन र जनयुद्धको बेजोड संयोजनद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । ठिक त्यसैगरी समाजवाद स्थापना गर्न हाम्रो पार्टी अगाडि बढ्छ । मेहनत गरिराखेका पनि छौँ । यद्यपि केही भएन भन्ने छैन । जनताले अपेक्षा गरेबमोजिम भएको छैन तर धेरै भएको छ ।
जनताकै जीवनस्तरको कुरा गर्दा सम्भवतः खानै नपाउने मानिस नेपालमा छैन । काम गर्यो भने ज्याला राम्रै पाउँछन् अहिले । गणतन्त्र ल्याउन जुन रगत बगाइयो, तर यतिमात्रै जनताको अपेक्षा होइन । यसलाई गुणात्मक फट्को मार्नुपर्छ । विकासमा छलाङ मार्नुपर्छ । विचारमा छलाङ हान्नुपर्छ । आत्मविश्वासका साथ नयाँ अभियानका लागि सबै हामी तयार हौँ ।
- वर्तमान गठबन्धन सरकारको भविष्य कस्तो देख्नुहुन्छ ? सत्ता समीकरण बदल्न कांग्रेसका नेताहरूसँग सम्पर्क बढाइराख्नु भएको हो ?
अध्यक्षको लेबलमा कुराकानी भइराखेको होला । नेपाली कांग्रेसका नेताहरू, कतिपय एमालेका नेताहरूसँग पनि कुराकानी भइरहेको होला । तर अध्यक्षले राजनीतिक विश्लेषण र त्यहाँबाट प्राप्त सूचनाको आधारमा भन्नुभएको हो । जनतालाई पनि सुसूचित गर्नुपर्यो । यो सरकार आफ्नै भारले ढल्दै छ । जे–जे भए पनि, अहिले टालटुल पारे पनि यो सरकार रहँदैन । एउटा गर्भनर नियुक्ति गर्न दाउपेच गरिराखेको छ । सरकार सञ्चालनको विषयमा पनि कुरा मिलिराखेको छैन । कांग्रेसभित्रै अन्तरविरोध चर्किरहेको छ । मुख्य कुरा जनतालाई सेवा प्रवाह दिन नसकेपछि, सुशासन कायम गर्न नसकेपछि, जनतालाई विश्वासमा लिन नसकेपछि जतिसुकै प्रयास गरे पनि केही दिन सत्ता लम्बिएला, टाकनटुकन होला तर यो सरकार ढल्ने कुरा निश्चित छ । विश्लेषणका आधारमा भन्नुपर्दा यो सरकार आफ्नै भारले ढल्छ ।
- नेकपा स्थापना दिवसको दिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी मधेसमा छ, ध्यान काठमाडौँको सत्तामा छ भनेर आरोप लगाउनु भएको थियो । अध्यक्ष प्रचण्डको अभिव्यक्ति भुसालले आरोप लगाएको जस्तै सत्ता केन्द्रितमात्रै देखिन्छ नि ?
त्यो बेठिक कुरा हो । उहाँको फोस्रो आरोप हो । उहाँको दृष्टिकोणले बुझ्नै सक्नुभएको छैन । हाम्रो ध्यान अहिले सत्तामा होइन, जनतामा छ । वर्ग समुदायमा छ । अध्यक्षले प्रस्ट भन्नुभएको छ– २०८४ यता सत्तामा जाँदैनौँ भनेर ।
- वामपन्थी एकता किन रोकियो ?
वामपन्थी एकता पनि हुन्छ । २०८४ मा चुनाव पनि जित्छौँ । यी सबैमा सफल हुन पहिला पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरा मुख्य हो । त्यो एकताबद्ध भएपछि सबै कुरा ठिक भएर जान्छ ।
- पार्टीको महाधिवेशन निर्वाचनअघि हुन्छ कि पछि ?
त्यो ठोस परिस्थिति हेरे पछि निर्धारण हुन्छ । अहिले नै भन्ने कुरा होइन ।
- त्यसोभए २०८४ मा माओवादी ठुलो दल बन्न पाँच वटा चुनौती र पाँच वटा अवसर के–के हुन् ?
बुँदागत रूपमा भन्नुपर्दा चुनौतिभन्दा अवसर बढी छ ।
चुनौती
१.पार्टीलाई एकताबद्ध गर्न
२. संगठन विस्तार
३. वैचारिक रूपमा गुणात्मक प्रशिक्षण गर्न
४. रणनीति र कार्यनीतिबिच तालमेल मिलाउन
५. समाजवादको भु्रण तयार गरी आधार तयार पार्न
अवसर
१. दुई दलीय सरकार करिबकरिब असफल भएको छ । सरकारको कुशासनका कारण हामीप्रति जनताको आकर्षण बढेको छ । यो हाम्रा लागि अवसर हो ।
२. अभियानबाट समाजवाद निर्माणका लागि फाउन्डेसन तयार गरेका छौँ
३. हामीसँग अन्यको तुलनामा सबैभन्दा अग्रगामी कार्यदिशा छ
४. अहिले पनि पार्टीप्रति पूरै समर्पित भएर मर्न र मार्न तयार कार्यकर्ताको ठुलो पंक्ति छन्
५. नेतृत्व बिचमा धमिलधमिल जस्तो भएको थियो । अहिले विचार र नेतृत्व धेरै माथिबाट स्थापित भएको छ । राष्ट्रिय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत हामीप्रति समर्थन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची