एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको एनआरएनएको सर्वोच्चको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गराएको ‘एकता महाधिवेशन’बाट नयाँ नेतृत्व चयन गरिएसँगै विवाद रोचक मोडमा पुगेको हो ।
समितिका संयोजक शेष घलेले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । यसअघि नै ११ औँ महाधिवेशनबाट एमाले समर्थित भनिएका डा बद्री केसी अध्यक्ष छन् ।
एनआरएनएको आधिकारिकता हालसम्म डा बद्री केसी नेतृत्वको एनआरएनएसँगै रहेको छ भने सोही कमिटीले संघको बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको छ । एनआरएनएको विवादका कारण १० औँ महाधिवेशनमा दुई कार्यसमिति चयन भएसँगै आधिकारिकता पाउन नसकेका विनोद कुँवर अदालत गएका थिए । उक्त मुद्दामा सर्वोच्चले २०८० चैत २१ गते एकताको महाधिवेशन गराउन परमादेश दिएको थियो ।
सोही परमादेशअनुसार शनिबार एकताको महाधिवेशन उद्घाटन भएको थियो भने आइतबार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति बनाइएको हो ।
२०८० चैत २१ को परमादेशअनुसार एनआरएनएको गतिविधि २०८७ माघ १ को बिन्दुबाट सुरु गर्न सर्वोच्चले परमादेश दिएको थियो । तर, सो परमादेश आउनुअघि नै एनआरएनएको एकता महाधिवेशनबाट बद्री केसी अध्यक्ष चयन भइसकेका थिए । उक्त परमादेशसँगै परराष्ट्र मन्त्रालयले केसीलाई काम गर्न रोक लगाउँदै पत्राचार गरेपछि उनी अदालत गएका थिए । उक्त मुद्दामा अदालतले २०८१ साउनमा परराष्ट्रको पत्र बदर गर्दै कामकाज गर्न बाटो खुला गरिदिएको थियो ।
सोही आदेशअनुसार केसीले घले नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएपनि घलेले उनको सहभागिता बिनै एकता महाधिवेशन गराएको हो ।
केसीमाथि एमाले नेतृत्वको सरकारको आडमा गतिविधि गरेको आरोप समेत लाग्दै आएको छ । यस्तो पृष्ठभूमिमा अहिले पनि सत्ता निकटकै महेश श्रेष्ठ अध्यक्ष चयन भएपछि एनआरएनएको विवाद रोचक मोडमा पुगेको अभियन्ताहरूको भनाइ छ । अहिले नेपालको सत्ता गठनबन्धनमा कांग्रेस र एमाले प्रमुख साझेदार रहेका छन् । एनआरएनएको विवाद यहाँसम्म आइपुग्दा दुई अध्यक्ष नै सत्ता निकटका हुन पुगेका हुन् । एनआरएनए गैरराजनीतिक संस्था भनिएपछि पछिल्लो पटक चरम राजनीतिकरण हुँदै आएको छ ।
स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको दबाबमा सर्वसम्मत्तिको नाममा कांग्रेस निकट श्रेष्ठलाई अध्यक्ष बनाइएको हो । उनले एकता महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि आफ्नो पार्टी निकटका श्रेष्ठलाई अध्यक्ष बनाउन अन्य आकांक्षीहरुलाई बाध्य पारेको बताइएको छ ।
शनिबारको उद्घाटनत्रिमा समेत उनले सबैले मिलेर नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएकाले आफू कार्यक्रममा आएको समेत भन्न भ्याइन् । ‘मेरो आज तपाईँहरु मिल्ने भएमात्रै कार्यक्रममा आउँछु भन्ने सर्त थियो । तपाईँहरुले इज्जत गरिदिएर एकताबद्ध हुन्छौँ भन्नु भएको छ । आरकेजी (आरके शर्मा), महेशजी (महेश श्रेष्ठ), शेषजी (शेष घले) सबैजनाले अर्गनाइजेसन भन्दा ठुलो देश हो भनेर आइदिनु भएको छ, धन्यवाद भन्नु चाहन्छु’, उनले भनेकी थिइन् ।
तर, एनआरएनएको आगामी बाटो सहज भने नरहेको बताइन्छ । घलेले गराएको एकता महाधिवेशन अवैधानिक भएको भन्दै अझैपनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । यस्तै घलेले गराएको महाधिवेशनलाई नै परराष्ट्रले वैधानिकता दिने सो पक्षको जिकिर रहेपनि सहज नभएको बताइन्छ। यदि परराष्ट्रले महेश नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएमा कानुनी झमेला त भइनै हाल्नेछ सत्ता गठबन्धनमा समेत खटपट आउन सक्ने बताइन्छ । केसी समूहलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको बलियो साथ रहेको एनआरएनहरूको बुझाइ छ ।
स्मरणीय के छ भने सर्वोच्चको परमादेशअघि भएको ११ औँ महाधिवेशनमा श्रेष्ठ केसीसँग पराजित बनेका थिए । ११ औँ महाधिवेशन समेत विवादित भएपछि श्रेष्ठ र आरके शर्मा समूह एक ठाउँमा भएर आरके शर्माको नेतृत्वमा केसीविरुद्ध गतिविधि हुँदै आएको थियो । विवादकै बिचमा परमादेशअनुसार घलेले गराउने एकता महाधिवेशन गराउने भएपछि कांग्रेस र माओवादी निकट एनआरएनएहरुले घलेलाई साथ दिएका थिए । जसअनुसार मध्यपूर्वबाट एकता महाधिवेशनमा आरके शर्मा अध्यक्ष पदको दाबेदार भएको टिप्पणी हुँदै आएको थियो । तर, परराष्ट्रमन्त्रीसमेतको दबाबमा महेशलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिएको हो ।
मध्यपूर्वबाट ठुलो संख्यामा प्रतिनिधि सहभागी भएपनि खासै प्रतिनिधि नभएका महेशलाई नै अध्यक्ष बनाइएको एक प्रतिनिधिले बताए ।
श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिल कुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन हुँदा महासचिवमा बाबुराम लामा चयन भएका छन् ।
यस्तै सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएका छन् ।
यस्तै युवा संयोजक, क्षेत्रीय संयोजक, उपसंयोजकलगायतका पदमा पनि निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
यसैबीच एकता महाधिवेशनबाट अध्यक्षका दाबेदार आरके शर्माले संस्था बचाउनका लागि एकता महाधिवेशनबाट आफूले त्याग गरेको प्रतिक्रिया दिएका छन् ।
एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएसँगै रातोपाटीसँग कुराकानी गर्दै उनले संस्था बचाउनका लागि आफूले त्याग गरेको प्रतिक्रिया दिएका हुन् ।
‘एकता महाधिवेशनमा ८० प्रतिशत डेलिगेट्स मध्यपूर्वबाटै हुँदाहुँदै पनि संस्था बचाउनका मैले त्याग गरेको हुँ’, उनले भने । यद्यपि मध्यपूर्वका एनआरएनए यस पटक पनि निराश भएको उनले बताए ।
‘एनआरएनएमा सधैँ मध्यपूर्व नै मारमा पर्दै आएको छ’, उनले भने, ‘संस्था बचाउनका लागि जित्ने पद पनि साथीभाइलाई दिएर सर्वसम्मत बनाउन सहयोग गरेँ ।’
यसअघि शनिबार उद्घाटन समारोहमा शर्माले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका थिए । शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताएका थिए ।
कतिपयले भने एकता महाधिवेशनबाट अध्यक्ष बनेका श्रेष्ठ समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्ति भएकाले आगामी दिनमा एकताबद्ध एनआरएनए निर्माणको अवसर बन्न सक्नेमा आशावादी समेत देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग