बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै

बुधबार, २४ वैशाख २०८२, २० : ००
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव बुलेटको बाटो छाडेर ब्यालेटमार्फत एकीकृत क्रान्ति सफल बनाउने रणनीतिमा लागेका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद लक्ष्य साथ अगाडि बढेका उनी १२ वर्षपछि संसदीय यात्रामा निस्कन लागेका हुन् ।  

२०८४ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि विप्लवले वैशाख १५ गते निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा अद्यावधिक गरिसकेका छन् । आयोगमा  दल दर्ता प्रक्रिया पनि अन्तिम चरणमा पुगेको निर्वाचन व्यवस्थापन समितिका प्रमुख कर्णजित बुढाथोकी बताउँछन् ।

‘निर्वाचन अयोगमा दल दर्ता प्रयोजनका लागि नेकपाले आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको विधान, नियमावली, घोषणापत्र तयार भइसकेको छ । अन्तिम प्रक्रिया टुंग्याउन जेठको दोस्रो साता केन्द्रीय समिति बैठकले थप निर्णय गर्नेछ’, रातोपाटीसँग उनले भने ।

पार्टीको नाम, दल दर्ता तथा आवश्यक प्रक्रिया केन्द्रीय समिति बैठकले नै टुंग्याउने बुढाथोकीले जानकारी दिए । दल दर्ता भएपछि वामपन्थी शक्तिबिच ध्रुवीकरण, समाजवादी मोर्चाको सुदृढीकरण तथा पार्टी एकतासम्मका लागि पहल गर्ने उनले बताए ।

‘केन्द्रीय समिति बैठकले दल दर्ता सम्बन्धमा आवश्यक निर्णय गरेपछि हामी निर्वाचन अयोग जान्छौँ । त्यसपछि वामपन्थीबिच ध्रुवीकरण, एकताका लागि पहल गर्छौँ’, बुढाथोकीले भने ।

तत्कालीन एकीकृत नेकपा माओवादीका मुख्य नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्धको भावना विपरीत माओवादी आन्दोलनलाई समाप्त पारेको आरोप लगाउँदै विप्लवले २०६९ साल असारमा मोहन वैद्य किरणसँग मिलेर पार्टी विभाजनका लागि मुख्य भूमिका खेलेका थिए । 

तर वैद्यबाट पनि राजनीति पार नलाग्ने देखेपछि उनले २०७१ साल मंसिर ८ गते आफ्नै नेतृत्वमा नेकपा पुनर्गठन गरी एकीकृत जनक्रान्तिको कार्यदिशा अँगाले ।

२०७४ सालमा सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । भूमिगत  बाटोबाट जनक्रान्तिलाई अगाडि विप्लवको योजनामा ठुलो धक्का लाग्यो । भूमिगत बाटोलाई निरन्तरता दिँदा पार्टीले ठुलो क्षति बेहोर्ने देखेपछि नेकपाले २०७७ फागुन २१ गते सरकारसमक्ष तीन बुँदे सहमति गर्‍यो । 

त्यसयता विप्लवले एकीकृत जनक्रान्ति र आर्थिक उत्पादनलाई सँगसँगै लैजाने नीति लिँदै आएको छ । २०८१ वैशाखमा कपिलवस्तुमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्‍यो ।

गएको मंसिरमा बसको केन्द्रीय समिति बैठकले निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्धको आंशिक उपलब्धि भए पनि अहिलेको व्यवस्थाबाट निकास ननिस्कने विप्लवको बुझाइ छ । अब देशको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले मात्र गर्न सक्ने भएकाले एकपटक राज्यसत्तामा पुगेर देशको नेतृत्व गर्न चाहेको स्पष्ट पारे । 

केही दिनअघि कुपन्डोलमा भएको अनौपचारिक कुराकानीमा उनले भनेका थिए–‘एकपटक राज्यसत्तामा बसेर फरक ढंगले देशको नेतृत्व गर्ने चाहना छ । देश बनाउने क्रान्तिकारीले नै हो । हामीले एकीकृत जनक्रान्ति छोडेका छैनौँ । क्रान्तिकारीहरूको नेतृत्वमा देश कस्तो बन्छ भनेर राज्यसत्तामा बसेर देखाउने चाहना छ । आर्थिक उत्पादन र राजनीति सँगसँगै लैजाने गरी पार्टीले कार्यदिशा तय गरेको छ । जनक्रान्तिको भिन्न रूपमा हामीले आगामी निर्वाचनमा भाग लिने निर्णय गरेका हौँ ।’

विप्लवले नेपालमा यान्त्रिक खालको समाजवादको सम्भावना नभएको बताउँछन् । गणतन्त्र स्थापनापछि पनि विदेशीकै नक्कल गर्दा राष्ट्रियता कमजोर हुँदै गएको उनको मत छ ।  

‘लेनिन वा माओको जस्तो समाजवाद नेपालमा सम्भावना छैन । यान्त्रिकताले  कम्युनिस्टहरूलाई बढी दिग्भ्रमित गरेको छ । नेपालमै निर्णय गर्न सक्ने सामर्थ्य राजनीतिक दलहरूमा हुन जरुरी छ,’ उनले भने ।

  • सत्ताको खालमा नपसेका विप्लवको परीक्षा

२०२४ साल फागुन ११ गते रोल्पामा उनी जन्मेका थिए । २०४५ सालमा उनको परिवार कपिलवस्तु बसाइँ सरेको थियो । विद्यार्थी राजनीतिमा सक्रिय रहेका विप्लव २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भए । २०५४ मा ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए । २०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट उनी माओवादी केन्द्रीय सदस्य बन्न सफल भए । २०५९ सालमा पोलिटब्युरो सदस्य भए ।

२०६१ सालमा जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति त्यतिवेला विप्लवले खरो रूपमा विरोध गरेका थिए । २०६४ साल साउनको तेस्रो साता सम्पन्न बालाजु विस्तारित बैठकमा विद्रोहको कार्यदिशा अँगाल्न नेतृत्वसमक्ष दबाब बढाए । उनलाई किरण, बादल, सिपी गजुरेल लगायतले साथ दिएका थिए ।

पार्टीभित्र अन्तर्विरोध बढ्दै जाँदा २०६९ साल असारको पहिलो साता प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष सम्पन्न महाधिवेशनले मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिव भए । नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो ।

यद्यपि वैद्यको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै नेकपा–माओवादी पनि फुटाए । २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेका विप्लवले २०७३ फागुनमा पार्टीको नाम परिवर्तन गरी नेकपा राखेका थिए ।

२०७९ साल वैशाखमा बसेको केन्द्रीय समिति बैठकमा उनले आवधिक निर्वाचन उपयोग गर्ने नीति लिएपछि असन्तुष्ट हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला समूहले पार्टी विभाजन गरेका थिए । यता माओवादीसँग एकता गर्ने निर्णय एक वर्ष पुगिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन । 

तर वामपन्थीबिच ध्रुवीकरण र एकताको निर्णय यथावत् रहेको उनी बताउँछन् । शान्ति प्रक्रियामा आएको १८ वर्षमा संसदीय राजनीतिको खेलमा प्रचण्ड नेतृत्वको माओवादी बदनाम भइरहेका वेला विप्लवले के गर्छन् भन्ने राजनीतिक वृत्तमा निकै  चासोपूर्वक  हेरिएको छ । 

प्रचण्ड नेतृत्वको माओवादीले प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक नियुक्तिको पटक–पटक लाभ लिइसक्दा विप्लवले भने अहिलेसम्म कुनै राजकीय पदको लाभ लिएका छैनन् । २०८४ को निर्वाचन विप्लवका लागि राजनीतिक परीक्षा अवसर र चुनौती दुवै देखिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप