बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?

बुधबार, २४ वैशाख २०८२, १७ : ३४
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणलाई ’खेदजनक’ भनेको छ ।

भारत र पाकिस्तानबिच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति ‘चिन्तित’ रहेको बताएका  हुन् ।

चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैं रहनेछन्। उनीहरू दुवै चीनका छिमेकी पनि हुन् । 

चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ।’ मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ‘शान्ति कायम राख्न, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न’ अपिल पनि गरेका छन् ।

उता टकीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलाले युद्धको जोखिम बढाएको बताएको छ। टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भारत र पाकिस्तानमा भइरहेको घटनाक्रमप्रति चिन्तित रहेको र त्यसमाथि नजर राखेको बताएको छ ।

‘हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनहरूमा आक्रमणको निन्दा गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौं कि तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिनेछ ।’

विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न पनि आग्रह गरिएको छ। विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको अनुसन्धानको लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि बताएको छ।
बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ’अपरेशन सिन्दूर’ चलाएको बताइन् । 

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले नियन्त्रण रेखामा भारतको हवाई आक्रमण र गोलाबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन् । 

यसैबिच, एक वरिष्ठ भारतीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै भएको गोलीबारीमा भारतीय पक्षमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप