आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
भारत–पाकिस्तान तनाव

युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ

बिहीबार, २५ वैशाख २०८२, १९ : ००
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । प्रतिस्पर्धात्मक समाचार ब्रिफिङहरू, भिन्न–भिन्न दाबीहरू र आफू अनुकूलका परस्पर विरोधी भाष्यहरूको दुनियामा तपाईंलाई स्वागत छ । युद्धहरू खास गरी युद्ध मोर्चाहरुमा लडिन्छ तर सूचना प्रविधिले संसारलाई नै छपक्कै छोपेसँगै युद्धहरू– धारणा, भाष्य र मनोविज्ञानमा पनि लडिन्छ ।

७ मेको मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतले आक्रमण गरेसँगै आणविक हतियार सम्पन्न दुई छिमेकी सम्भावित सैन्य द्वन्द्वको डिलमा उभिएका छन् । यससँगै सूचना र भाष्य निर्माणमा को अघि हुने भनेर छुट्टै समानान्तर युद्ध सुरु भएको छ । यसैलाई आधुनिक शब्दमा ‘इन्फरमेशन वार’ भनिन्छ ।

यस्तो युद्ध तपाईँको मोबाइल, टेलिभिजनको स्क्रिन, पत्र–पत्रिकामार्फत आधिकारिक र अनधिकृत सूचनामार्फत लडिन्छ । भारतीय आक्रमणको केही घण्टामै दुबै पक्षका अधिकारीहरूले दाबी र प्रतिदाबीहरू राखे, जुन प्रत्येक देशले आफ्नो पक्षमा भाष्य नियन्त्रण गर्ने प्रयास गर्दा सामाजिक सञ्जालमार्फत बढाइएको हुन्छ ।

उदाहरणका लागि, पाकिस्तानले पाँचवटा भारतीय जेट विमान खसालेको बतायो । भारतले अहिलेसम्म उक्त दावीको जवाफ दिएको छैन, तर नाम प्रकाशित नगर्ने सर्तमा भारतीय सैन्य अधिकारीहरूले भारत प्रशासित कश्मीरमा तीनवटा जेट विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । तर, ती विमान भारतीय हुन् वा पाकिस्तानी भन्ने समाचार तयार पार्दासम्म स्वतन्त्र पुष्टि भइसकेको थिएन ।

भारत र पाकिस्तान दुवैले अहिलेसम्म के दाबी गरेका छन् भन्ने बारेमा यहाँ एक नजर राखिएको छ । र, कसरी उनीहरू प्रतिस्पर्धात्मक भाष्य निर्माणमा आफूलाई अब्बल साबित गर्न लागि परेका छन् भन्ने पनि केही उदाहरण हामीले हेर्नेछौँ ।

भारत–पाकिस्तानको सन्दर्भमा आफू अनुकूल भाष्य निर्माणको इतिहास पुरानो छ, जसले प्रायः सत्यको स्वतन्त्र प्रमाणीकरण गर्ने कामलाई झनै कठिन बनाउँदै लगेको छ । यसले आ–आफ्नो घरेलु दर्शक, पाठक, स्रोतालाई एकअर्कामाथि विजय हासिल गरिएको मनोविज्ञानमा निर्लिप्त पारिहेको हुन्छ ।

Interaxctive_Indian_strikes_Pakistan_May7_2025-1746589716

  • लक्ष्य के थियो ?

गत महिना भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणको प्रतिक्रिया स्वरूप भारतले आफ्नो सेनामार्फत नौँवटा स्थानमा ‘आतंकवादी पूर्वाधार’ मा हमला गरेको बताएको छ । भारतले पहलगाम आक्रमणको लागि पाकिस्तानलाई दोष लगाएको छ, जसमा एक नेपालीसहित २६ जना सर्वसाधारण मारिएका थिए ।

इस्लामाबादले आरोप अस्वीकार गर्दै भारतलाई आफ्नो दाबीलाई पुष्टि गर्ने प्रमाण उपलब्ध गराउन भन्यो । यसका साथै बुधबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ६ शहरहरू र एक स्वास्थ्य केन्द्रमा भारतले आक्रमण गरेको पाकिस्तानले भनेको छ । पाकिस्तानका अनुसार तीन वर्षीया बालिकासहित ३१ जना सर्वसाधारणको मृत्यु भएको छ ।

भारतले पाकिस्तान भित्र सैन्य हमला गरेपछि आणविक हतियार सम्पन्न दुई एसियाली छिमेकीहरू आफू अनुकूलको भाष्य निर्माणमा पनि त्यति नै प्रतिस्पर्धा गरिरहेका छन्, जति युद्ध मैदानमा गर्दैछन् ।

तर, भारतीय रक्षामन्त्री राजनाथ सिंहका अनुसार भारतीय सेनाले सर्वसाधारणलाई हानि नपुर्‍याई ती ‘आतंकी ठेगानाहरू’ माथि हमला गरिएको छ । भारतको सैन्य हमलापछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय वायुसेनाकी विङ कमाण्डर व्योमिका सिंहले भनिन्, ‘आक्रमणमा सर्वसाधारणलाई क्षति पुर्‍याइएको छैन किनभने हमला सटिक ढंगले गरिएको थियो ।’

  • भारतीय सेनाले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको थियो ?

पाकिस्तान सरकारले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा एउटा ट्विट गर्दै लेखेको छ, ‘भारतीय सैनिकहरूले भारत–प्रशासित र पाकिस्तान–प्रशासित कश्मीरलाई विभाजन गर्ने वास्तविक सीमा नियन्त्रण रेखामा रहेको सैन्य चौकीमा सेतो झण्डा (आत्मसमर्पणको प्रतीक) फहराएका छन् ।’

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले एक्समा यसै दाबीलाई दोहोर्‍याउँदै लेखे, ‘पहिले उनीहरू अनुसन्धानबाट भागे, अब उनीहरू युद्ध मैदानबाट भाग्दै छन् ।’

भारतीय अधिकारीहरूले अहिलेसम्म औपचारिक रूपमा यो दाबीलाई सम्बोधन गरेका छैनन् । तर भारत–पाकिस्तान आधिकारिक रूपमा युद्धमा नहोमिएकाले नयाँ दिल्लीले किन आत्मसमर्पण गर्ने आवश्यकता महसुस गर्न सक्छ भन्ने विषय स्पष्ट छैन ।

AFP__20250507__44R97ZR__v1__HighRes__PakistanIndiaKashmirUnrest-1746609808

  • के युद्धक विमानहरू खसालिएका हुन् ?

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले पाँचवटा भारतीय जेट विमान खसालेको बताए । तर, हालसम्म तीनवटा युद्धक विमान दुर्घटनाग्रस्त भएको पाइएको छ । ती पनि भारतीय सीमा भित्र । हालसम्म ती विमान कसका हुन् ? कसले खसालेका हुन् ? वा ती आफै दुर्घटनामा परेका हुन् भन्नेबारे केही आधिकारिक जानकारी छैन ।

दुबै पक्षका विमानहरू अर्को पक्षको हवाई क्षेत्रमा प्रवेश नगरीकनै ती कसरी दुर्घटनाग्रस्त भए र ती युद्धक विमान कसरी खसालिए भन्नेबारे पनि केही थाहा छैन । तर, पाकिस्तानी सेनाका प्रवक्ता चौधरीले नै दाबी गरेपछि त्यसले पाकिस्तानी भाष्यलाई बढावा दिनु स्वभाविक हो ।

अल जजीरासँग कुरा गर्ने भारतीय सुरक्षा स्रोतहरूका अनुसार, भारत नियन्त्रित क्षेत्रमा तीन लडाकु विमान खसेको पाइएको छ । यद्यपि, ती युद्धक विमान कुन देशका हुन् भन्नेबारे उनले केही पनि बताउन चाहेनन् । केन्द्र सरकारले यसबारे कुनै टिप्पणी गरेको छैन ।

AP25127091958421-1-1746611527

तर, चीनस्थित भारतीय दूतावासले भारतीय जेट विमान खसालेको दाबीलाई खारेज गर्दै चिनियाँ सरकारी मिडिया आउटलेट ग्लोबल टाइम्सको रिपोर्टलाई ‘मिथ्या सूचना’ भनेर आलोचना गरेको छ ।

भारत–पाकिस्तानबिचको विगतको बढ्दो तनावले पनि परस्पर विरोधी दाबी र आरोपहरू उत्पन्न गरेको छ, जसले गर्दा पर्यवेक्षकहरूलाई प्रायः कुन विवरणले सत्यलाई प्रतिविम्बित गर्छ भनेर सोच्न बाध्य पारिदिएको छ ।

फेब्रुअरी २०१९ मा, भारतीय सेनाले पाकिस्तान प्रशासित कश्मीरको बालाकोटमा ठूलो संख्यामा ‘जैश–ए–मोहम्मद” आतंककारी, प्रशिक्षक, वरिष्ठ कमाण्डर र जिहादी समूहहरू’ लाई मारेको बताएको थियो । कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणमा सुरक्षा बलका ४० सदस्यको मृत्यु भएको केही हप्तापछि भारतीय सेनाले उक्त आक्रमणको घोषणा गरेको थियो ।

सन् २००० मा गठन भएको जैश–ए–मोहम्मदले कश्मीरमा भारतीय सेनामाथि आक्रमण गर्ने गर्छ । भारत–पाकिस्तान दुबैले यो सशस्त्र समूहलाई ‘आतंकवादी संगठन’ का रूपमा व्यवहार गर्ने गर्छन । तर, यसका नेता मसूद अजहरलाई पाकिस्तानमा बस्ने अनुमति दिइएको छ । उनको हालको ठेगाना भने अज्ञात छ ।

पुलवामा आक्रमणमा आफ्नो भूमिका अस्वीकार गर्ने पाकिस्तानले सन् २०१९ मा भारतीय हवाई आक्रमणले बसोबास नभएको जंगलमा क्षति पुर्‍याएको बताएको थियो । त्यस्तै, सन् २०१६ मा भारत प्रशासित कश्मीरको उरीमा भारतीय सेनाको अखाडामाथि भएको आक्रमणमा १८ सैनिकको मृत्यु भयो ।

आक्रमण लगत्तै भारतले पाकिस्तान प्रशासित भू–भागमा सैन्य हमला गर्दै ‘आतंकवादी एकाइहरू’ विरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको बतायो । तर, भारतको दाबीलाई पाकिस्तानले अस्वीकार गर्‍यो ।

पाकिस्तानी सेनाले ती दाबीहरूलाई ‘भारतीय भ्रम’ बताएको छ भने भारतले ‘सीमापारीबाट गोलाबारी विरुद्धको कारबाही’ बताएको छ । वासिङ्टन डीसीस्थित ब्रुकिङ्स इन्स्टिच्युटकी विद्वान् मदिहा अफजलले भारत–पाकिस्तानबिचको ७७ वर्ष पुरानो द्वन्द्वमा आफू अनुकूलको भाष्य निर्माणलाई दुबै देशको ‘आधारभूत तत्त्व’ भएको बताइन् ।

‘सजिलै पहुँचयोग्य हुन पुगेको सामाजिक सञ्जालको युगमा यस्तो भाष्य निर्माण गर्न झनै सजिलो भएको छ भने सत्य पत्ता लगाउन झनै गाह्रो भएको छ’, अफजलले भनिन् ।

तथापि, उनले थपिन्, ‘यदि स्थानीय मिडियाले भारत–पाकिस्तान दुवैमा राज्यको मनपर्ने भाष्यलाई मात्र बोक्ने हो भने यसले राज्यलाई सजिलैसँग आफ्नो फाइदाका लागि काम गर्ने र आफू अनुकूलको भाष्य निर्माणमा जनतालाई भुल्याई राख्ने ठाउँ दिन्छ ।’

त्यसैले यस्तोमा तपाईँसँग आइरहेको सूचना भरपर्दो, विश्वास योग्य सूचना हो वा कुनै पनि पक्ष प्रायोजित सूचना हो भनेर आफैले गम्भीरतापूर्वक केलाउनु पर्ने हुन्छ । अनि बल्ल तपाईँ ‘ग्रयान्ड न्यारेटिभ’ को आभातन्त्रबाट बाहिर निस्कन सक्नु हुन्छ र आफैले सहि–गलतको निर्णय गर्न सक्नु हुन्छ ।

अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप