बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

बिहीबार, २५ वैशाख २०८२, १६ : १८
बिहीबार, २५ वैशाख २०८२

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म त्यो सङ्ख्या दोब्बरले बढेको जानकारी दिए । उनका अनुसार नगरभित्र पनि अन्यत्रबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । 

गत आर्थिक वर्षमा १३ परिवारका २७ जना सुन्दरबजार आएका थिए भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९ परिवारका एक सय २० जना नगरमा बसाइँसराइ गरी आएका पोख्रेलले बताए । 

एघार वडा रहेको सुन्दरबजार नगरपालिकाका केही वडामा बजार विस्तार तीव्र गतिमा भइरहेका छन् भने केही वडा अझै ग्रामीण र दुर्गम अवस्थामा छन् । 

ग्रामीण वडाबाट बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो रहेको पोख्रेलले बताउनुभयो । बजार क्षेत्रबाट ठूला सहरतर्फ बसाइँसराइको गति तुलनात्मक रूपमा केही कम रहेको उनको भनाई छ । 

चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुन्दरबजार–३ बाट १४ परिवारका ४१ जना र सबैभन्दा कम वडा नम्बर ५ र १० बाट दुई–दुई परिवारका छ–छ जना बसाइँ सरेका पोख्रेलले जानकारी दिए । 

बसाइँसराइ बढ्नुका मुख्य कारण शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीको खोजी रहेका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितले बताए । 

“बसाइँसराइ रोक्ने स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्नु, प्राविधिक शिक्षालय सञ्चालन तथा लगानीको वातावरण बनाउनेतर्फ पालिकाको प्राथमिकता हुनुपर्छ”, उनले भने । 

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजारबाट बाहिरिनेको सङ्ख्या भित्रिनेको भन्दा बढी हुनु नगरका लागि चिन्ताको विषय बनेको बताए । पालिकाले रोजगारी तथा सेवा प्रवाह सहज हुने कार्यक्रम लागू गरिरहेको उल्लेख गर्दै उनले बसाइँसराइको कारण पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दै अगाडि बढिरहेको बताए । 

उनका अनुसार आर्थिक सम्पन्नता, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसाय, पारिवारिक सम्पर्कलगायत विविध कारणले नगरवासी ठूला सहरतिर बसाइँ सरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप