आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा वैशाख १४ गते काठमाडौँको नयाँ बानेश्वर सडकखण्ड एकाएक रणमैदान बन्यो । आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि प्रहरीले बल प्रयोग गर्दा एक जना पत्रकारसहित ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भए ।
पानीको फोहोराका कारण प्राईम टिभीकी पत्रकार सबिना कार्कीको दुवै आँखामा गम्भीर चोट लाग्यो । त्यस्तै ६२ शिक्षक तथा कर्मचारी पनि घाइते भए । तीमध्ये केहीलाई गम्भीर चोट लागेको थियो भने अधिकांशचाहिँ सामान्य उपचारपछि घर फर्किए ।
घाइतेमध्ये हाल तीन जना उपचाररत छन् । पत्रकार कार्कीसहित जाजरकोटको जनप्रिया आधारभूत विद्यालयका शिक्षक रेशम सुनार र रानीपोखरीमा रहेको दरबार हाईस्कुलका सहप्रधानाध्यापक पदम बटाला अहिले पनि उपचारकै क्रममा छन् ।
आन्दोलनपछि वैशाख १७ गते शिक्षा मन्त्रालय र शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको थियो । सहमतिको ८ नम्बर बुँदामा नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ।
यद्यपि घाइते शिक्षकहरू आफ्नै खर्चमा उपचार गराउन बाध्य छन् । झडपपछि घाइते भएका सबैलाई विभिन्न अस्पताल लगिएको थियो । त्यतिबेला नेपाल शिक्षक संघ, तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।
त्यसबाहेक घाइते शिक्षकहरूले आफ्नै खर्चमा उपचार गराएको जनाएका छन् । शिक्षक सुनार हाल वीर अस्पतालमा उपचाररत छन् । उनले सरकार तथा नेपाल शिक्षक महासंघबाट कुनै प्रकारको सहयोग नपाएको बताए ।
आफू घाइते भएको विषयमा महासंघका नेताहरूलाई जानकारी भए पनि अहिलेसम्म उनीहरू लामो समय भेट्नसमेत नआएको सुनारको गुनासो छ ।
उपचार गराउन आर्थिक अभाव भएको विषय सञ्चारमाध्यममा आएपछि शिक्षक नेताहरूले उनलाई भेटेर वीर अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाउने आश्वासन दिएका छन् । आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराका कारण उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो ।
‘श्वास फेर्न गाह्रो हुन्छ । बस्न र उठ्न सकिँदैन । छातीको ४ वटा करङ भाँचिएका छन् । हातखुट्टामा चोट लागेको छ । वीरमा उपचार गराइरहेको छु । अहिलेसम्म साथीभाइले आर्थिक सहयोग गरिरहेका छन्,’ सुनारले भने ।
महासंघ र सरकारबिच भएको सहमतिमा निःशुल्क उपचार गराउने भनिएको आफूले सुने पनि उपचार खर्च नपाएको उनको गुनासो छ । उनलाई समेत तनहुँका अध्यक्ष भट्टराईले सुरुमा सात हजार रुपैयाँ सहयोग गरेका थिए । शनिबार थप १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुनारको भनाइ छ ।
आफू घाइते भएको विषयमा महासंघका नेताहरूलाई जानकारी भए पनि अहिलेसम्म उनीहरू लामो समय भेट्नसमेत नआएको सुनारको गुनासो छ । आफ्नो अवस्थाबारे सार्वजनिक भएपछि शनिबार महासंघका महासचिव तुला बहादुर थापा लगायतका नेताहरू भेट्न आएको उनले बताए ।
दरबार हाइस्कुलका सहप्रधानाध्यापक बटालासमेत गम्भीर घाइते भएका थिए । उनको खुट्टा, टाउको आँखा लगायतका भागहरूमा गम्भीर चोट लागेको थियो । उनीसमेत नियमित चेकअपका लागि अस्पताल जाने गरेका छन् । हालसम्म सबै खर्च आफैँले बेहोर्दै आएको उनले बताए ।
उनको बायाँ आँखामा गम्भीर चोट लागेको छ । आँखाको रेटिनामा चोट लागेकाले निको हुन २/३ महिना लाग्ने चिकित्सकहरूले बताएका छन् । उनलाई समेत सुरुमा भट्टराईले आर्थिक सहयोग गरेका थिए । त्यसपछि भने सबै आफैँले बेहोर्दै आएको बटालाको भनाइ छ ।
निःशुल्क उपचारका सम्बन्धमा भएको सहमतिबारे आफूलाई जानकारी नभएको बटाला बताउँछन् । ‘हिजो महासंघका नेताहरूलाई फोन गरेको थिएँ । कुन हस्पिटलमा उपचार निःशुल्क हो भनेर सोधेँ । उपचार गराउँदा सबै आफैँले पैसा तिर्दै आएका छौँ । सबैजसो घाइते शिक्षकहरूले आफैँले नै खर्च गरेर उपचार गराइरहेका छौँ । निःशुल्क गर्ने भनेको विषयमा जानकारी छैन,’ बटालाले भने ।
सम्झौतामा उल्लेख भएका विभिन्न बुँदामध्ये सबैभन्दा पहिला घाइतेको उपचार निःशुल्क भन्ने बुँदा नै कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म कसैले वास्ता नगरेको उनको भनाइ छ । ‘सबैभन्दा पहिला यो बुँदा लागु हुनुपर्ने हो । आजसम्म पनि भएको छैन । औषधि उपचार त अहिले नै चाहिने हो । सन्चो भएपछि निःशुल्क भनेर के काम ?’ बटालाले भने ।
बटाला महासंघको आन्दोलनमा स्वयंसेवक थिए । स्वयंसेवक भएकाले आन्दोलनको अग्रपङ्क्तिमा उनी थिए । त्यो दिन अन्य दिनझैँ शिक्षकहरू निषेधित क्षेत्रमा नाराबाजी गर्दै पुगेका थिए ।
‘अन्य दिनझैँ त्यो दिन पनि शिक्षकसाथीहरू नाराबाजी गर्दै अघि बढेका थिए । जहिले पनि निषेधित क्षेत्रमा शिक्षक साथीहरूले नाराबाजी गरेकै थिए । त्यो दिन हामीले नचिनेका मान्छेले बार निकालेछन् । स्वयंसेवकले नगर्नुहोस् भन्दा मानेनन्,’ बटालाले भने, ‘प्रहरीले एकाएक पानीको फोहोरा, लाठी तथा बुटले बजार्न थाले । ढुंगासमेत हानियो । बानेश्वरतिरबाट शिक्षकहरूलाई ढुंगासमेत हानेको थियो । मलाई पानीको फोहोरा, लाठी र बुट लागेको थियो ।’
आफ्नो उपचारमा हालसम्म ५० हजार जति खर्च भएको र अझै कति हुने हो भन्ने यकिन हुन नसकेको उनले बताए ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले घाइते सबैको उपचार खर्च सरकारले नै बेहोर्ने बताए । सम्पर्कमा नआएकाहरूको हकमा समस्या देखिएको बताउँदै सम्पर्कमा आएपछि उपचार निःशुल्क हुने उनले प्रस्ट पारे ।
वीर अस्पतालमा सबैको उपचार भएको उनको भनाइ छ । गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भनेर घाइते सबैको उपचार खर्च सरकारले बेहोर्ने गरी कार्यान्वयनमा गएको उनको भनाइ छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले अधिकांश घाइते उपचारपछि घर फर्किसकेको बताए । दुई जना शिक्षकको हकमा उपचार जारी रहेको बताउँदै उनले अन्य घाइतेको समेत उपचार निःशुल्क नै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर