बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...

सोमबार, २९ वैशाख २०८२, १४ : ०६
सोमबार, २९ वैशाख २०८२

चेन्नई । तमिल सुपरस्टार विशाल कृष्ण रेड्डी हालै एक कार्यक्रममा सहभागी हुँदा अचानक स्टेजमै बेहोस भएका छन् । अभिनेतालाई तुरुन्तै स्टेजबाट तल झारेर नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। हाल अभिनेताको अवस्था स्थिर रहेको बताइएको छ।

अभिनेता विशाल ट्रान्सजेन्डर समुदायका लागि आयोजना गरिएको ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता मिस कुवागम २०२५ को लागि विल्लुपुरम नजिकैको कुवागम गाउँ पुगेका थिए। उनी कार्यक्रमको प्रमुख अतिथि थिए भने  पूर्वमन्त्री के. पोनमुडी पनि उपस्थित थिए । 

कार्यक्रम चलिरहेको बेला विशाल अचानक बेहोस भए। उनलाई उनको टोलीले स्टेजमै प्रारम्भिक उपचार गराएको थियो। अभिनेता होसमा आएपछि, उनलाई नजिकैको अस्पताल लगियो।

बेहोस अवस्थामा अभिनेताको तस्बिर भाइरल भएपछि उनको टोलीले आधिकारिक नोट जारी गर्दै उनको स्वास्थ्यको बारेमा अपडेट दिएको छ। नोटमा भनिएको छ, ‘हामी अभिनेता विशालको स्वास्थ्य सम्बन्धी हालैको समाचारलाई स्पष्ट पार्न चाहन्छौँ। ट्रान्सजेन्डर समुदायले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका अभिनेता विशाल थकित महसुस गरे। पछि पुष्टि भयो कि उनले त्यो दिउँसोको खाना खाएका थिएनन्। उनले जुस मात्र पिएका थिए, जसका कारण उनको उर्जा कम हुँदै गयो। उनलाई अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनको जाँच गरे। भाग्यवश चिन्ता लिनुपर्ने केही छैन। मेडिकल टोलीले विशाल ठिक रहेको पुष्टि गरेको छ र उनलाई नियमित रूपमा खाना खान सल्लाह दिइएको छ। उनी आराम गर्दै छन् र निको हुँदै छन्।

विशाल केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । यस वर्षको जनवरीमा उनलाई डेंगु भएको थियो। फिल्म माध गज राजाको रिलिज पूर्व कार्यक्रममा पनि उनलाई उच्च ज्वरो आएको थियो। कार्यक्रमभरि नै उनी अस्वस्थ थिए, अभिनेता माइक समातेर काँपिरहेको देखिन्थ्यो।

विशाल कृष्ण रेड्डी तमिल सिनेमाका एक प्रसिद्ध अभिनेता हुन्। उनी सत्यम, वेदी, अम्बाला, एक्सन, चक्र, खलनायक, रत्नम जस्ता फिल्महरूमा देखा परेका छन्। उनको चलचित्र माध गज राजा यसै वर्ष रिलिज भएको थियो। यो फिल्म २०१२ मा बनेको थियो, जुन १२ वर्षपछि २०२५ मा रिलिज भएको छ। 

आगामी समयमा, अभिनेता फिल्म थुप्परिवलम २ मा देखिनेछन्, जुन २०१७ को फिल्म थुप्परिवलमको सिक्वेल हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप