मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अनेरास्ववियु महाधिवेशन

अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर

के भन्छन् विद्यार्थी नेता ?
मङ्गलबार, ३० वैशाख २०८२, ०८ : २४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आफ्नो २४ औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । 

आगामी जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि विधान संशोधन मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, प्रतिनिधि छनोटलगायत कामका लागि गठन गरिएका उपसमितिहरूले गृहकार्य गरिरहेका छन् । 

उपाध्यक्ष नारायण घर्तीले महाधिवेशनका लागि ५/६ वटा उपसमिति बनाएर काम गरिरहेकाले भव्य बनाउन सम्पूर्ण पंक्ति खटिरहेको बताए । 

यो पटकको महाधिवेशनमा नेतृत्वका लागि उमेरहद लागु गर्नुपर्ने विषय जोडदार रूपमा उठिरहेको छ । नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरूमा उमेरहद छ । तर अनेरास्ववियुमा अहिलेसम्म छैन । पटक–पटक उमेरहद लागु हुनुपर्ने नेता तथा विद्यार्थी पंक्तिबाटै कुरा उठिरहेको छ । 

यस पटक संगठनको नयाँ नेतृत्वका लागि आकांक्षी धेरै देखिएका छन् । जसमा हालका चारै जना उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी तथा महासचिव नरेश रोकाया छन् । 

रोचक कुरा के छ भने, उमेरहद लागु भए यीमध्ये कोही पनि उम्मेदवार बन्न पाउने छैनन् । अनेरास्ववियुमा ३० कि ३२ वर्षे उमेरहद लगाउने भन्ने विषयमा चर्चा चलिरहेको छ । 

संगठन र माउ पार्टी नेकपा एमालेभित्र यसप्रति मत बाँडिएको छ । एकथरीले अन्तिम पटकका लागि उमेरहद लागु हुन नहुने बताउँदै आएका छन् भने अर्काथरीले अन्य संगठनमा लागु भइसक्दा सुरु गरिहाल्नुपर्ने जिकिर गरिरहेका छन् । 

३२ वर्षे उमेरहद लागु भए पाँच जना सचिवहरू मात्रै अध्यक्षका लागि उम्मेदवार बन्न योग्य देखिन्छन् । १७ जनाको कमिटीमा ५ जना मात्रै ३२ वर्षमुनिका छन् । ती हुन् सचिव अञ्जना सिवाकोटी, दीपक धामी, आरती भट्टराई, डाक्टर सुजन कडेरिया र प्रकाश पौडेल । 

३२ वर्षे उमेरहद लागु नभए चार उपाध्यक्ष र महासचिवसहित ५ जनाको दाबेदारी रहनेछ । 

अध्यक्षको प्रमुख दाबेदार हुँ : घर्ती 

Narayan 1

उपाध्यक्ष नारायण घर्तीले आफू अध्यक्षका लागि प्रमुख दाबेदार रहेको बताएका छन् । २३ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीले भनेअनुसार सल्लाहमै उपाध्यक्षमा नोमिनेसन दिएकाले यो पटक अध्यक्षका लागि आफू बलियो दाबेदार रहेको जिकिर गरे । 

२३ औँ महाधिवेशनमा समिक बडालसँग आरसी लामिछाने पराजित भएका थिए । त्यसअघिका महाधिवेशनमा भने सहमतिको आधारमा नेतृत्व चयन गरिएको थियो । यो पटक पनि सर्वसम्मत रूपमै चयनको प्रयास हुने र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने उनले बताए । 

आफू अध्यक्ष भए सार्वजनिक शिक्षाको गुणस्तर खस्किँदै गएकाले यसको सुधारमा आफ्नो ध्यान जाने उनले बताए । 

‘अहिले कक्षा १२ पास गर्ने बित्तिकै विदेश जाने लहड चलेको छ । यो पुस्तालाई नेपालम केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ,’ उनले भने, ‘पढ्दै, कमाउँदै जुन नीति हामीले अख्तियार गरेका थियौँ । त्यो अहिले नेपाल सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ । सही ढंगले कार्यान्वयन गर्न र बाहिर जाने मनसाय भएको पुस्तालाई नेपालमै रोक्ने काम हुनेछ ।’ 

राजनीतिक हिसाबले सिनियर हुँ : गोविन्द गिरी 

Govind

अर्का उपाध्यक्ष गोविन्द गिरीले पनि आफू बलियो दाबेदार भएको बताए । राजनीतिक हिसाबले अन्य दाबेदारभन्दा आफू सिनियर भएको र हालका अध्यक्ष बडालसँगै सचिवालय सदस्यमा काम गरेको आफूसँग अनुभव भएको उनको भनाइ छ । 

बडाल महासचिव हुँदा उनी उपमहासचिव थिए भने बडाल अध्यक्ष भएपछि उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । 

‘अहिलेसम्म प्राविधिक क्षेत्रको मानिस फस्ट मेन भएको अवस्था छैन । अर्को कुरा अहिलेसम्म त्रिविबाट मात्रै हुने गरेको थियो । अब त्यो बाहिरबाट पनि हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘मैले पोखरा र त्रिभुवन विश्वविद्यालय दुवै पढेको हुँ,’ गिरीले भने । 

त्रिविभन्दा बाहिरको समेत बुझेकाले कसरी काम गर्ने भन्ने विषयमा आफूलाई अनुभव भएको उनको भनाइ थियो । 

‘पार्टीले नै उमेरहद लगायो भने त्यसलाई मान्नुको विकल्प छैन,’ भने, ‘छुट्टै विधान महाधिवेशन गरेर त्यसबाट लगाउनुपर्छ भन्ने पनि त देखिएको छ ।’

२३ औं राष्ट्रिय महाधिवेशनले मनोनित गर्दा ३० वर्ष माथिलाई नगर्ने र जिल्ला र क्याम्पस कमिटीले पनि २८ भन्दा माथिकालाई नगर्ने भनेर निर्णय संगठनले गरेको थियो । 

अन्य विद्यार्थी संगठनमा लामो समयदेखि अधिवेशन नहुने अवस्था थियो । जसले गर्दा उमेरहद लागु गरेका थिए । अनेरास्ववियुमा नियमित रूपमा महाधिवेशन भइरहेकाले त्यो अवस्था आएको उनले बताए । र अहिले छलफल भइरहेकाले केही दिनमा यसबारे टुंगोमा पुगिने पनि उनले बताए । 

उमेर हदमा खुला भए आफु प्रमुख दाबेदार हुने गिरीको भनाइ थियो । 

पछिल्लो समय विद्यार्थी आन्दोलन वर्गीय मुद्दाविमुख भएकोमा पनि उनले चिन्ता व्यक्त गरे । 

अध्यक्षको स्वतः दाबेदार : विष्ट 

Maryada

अनेरास्ववियुको उपाध्यक्षमा निर्वाचित भएकी एक मात्र महिला मर्यादा विष्टले उमेरहद लागु नभए आफु स्वतः दाबेदार रहेको बताइन् । उमेरहदले अन्योल सिर्जना गरेकाले पार्टीले समेत यसबारे कारण सोधेको उनको भनाइ थियो । 

‘३२ वर्षे उमेरहद लाग्यो भने ५ जना सचिवहरू मात्रै योग्य हुन्छन्, उनले भनिन्, ‘तीमध्ये २ जना महिला छन् ।’ 

स्ववियुमा उमेरहद लागु भएदेखि आफ्नो संगठनमा पनि यसबारे व्यापक चर्चा भएको उनले बताइन् । 

उमेरहद लागु भएन भने अध्यक्षमा लड्छु : धर्म गिरी 

dharma giri

अर्का उपाध्यक्ष धर्म गिरीले उमेरहद लागु नभए आफु अध्यक्षको उम्मेदवार बन्ने बताए । 

उमेरहदको विषय पार्टी र संगठन दुवैबाट उठिरहेकाले एक पटकका लागि उमेरहद नराख्ने विषयमा समेत चर्चा भइरहेको उनको भनाइ थियो । यसबारे प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छलफल गरिएको र पार्टीभित्र पनि आवश्यक छलफल भइरहेको उनको भनाइ थियो । 

उमेरहद भएन भने उठ्छु : रोकाया

Naresh rokaya

अनेरास्ववियु महासचिव नरेश रोकायाले उमेरहद लागु नभए आफू अध्यक्षको दाबेदार रहेको बताए । आफूहरू अहिले महाधिवेशन कसरी भव्य बनाउने भन्नेतर्फ केन्द्रित भइरहेको उनको भनाइ थियो । 

उनले विधान संशोधन मस्यौदा उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमितिलगायतको बैठक बसिरहेको र १४ गतेसम्म देशैभरि प्रतिनिधि छनोट भइसक्ने बताए । जेठ १० गते क्याम्पसको, १२ गते जिल्लाको र १४ गते प्रदेश कमिटीको प्रतिनिधिहरू छनोट गर्ने कार्यतालिका रहेको पनि उनले जानकारी दिए ।

‘१४ गतेपछि को–को उठ्ने भनेर थाहा हुन्छ,’ उनले भने, ‘म अध्यक्षका लागि उठेँ भने सार्वजनिक शिक्षाको सबलीकरणका लागि महाअभियान चलाउँछु ।’ त्यसका लागि राष्ट्रसेवक, जनप्रतिनिधिका छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने व्यवस्था गर्न दबाबमूलक कार्यक्रम गर्ने पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप