राजधानीका डन र मोफसलका गुरुजी

दुर्घटना जुर्मुराउँछन् विवेकहीन चालकसामु ।
जिन्दगी जोखिमहरूको शृङ्खला हो । धेरै जोखिममध्ये कम जोखिम खोज्ने हो जिन्दगीले । जोखिमविनाको जिन्दगी हुरी नसहेको वृक्षजस्तै हो । सबैभन्दा ठुलो जोखिम सहन नसकेपछि मृत्युले झम्टन्छ जीवनलाई ।
हिमाल आफैँ सौन्दर्य हो, जोखिम हो र हो, रहस्यको स्रोतस्विनी । तिब्बती पठारमा टाँसिएको लोमान्थाङमा खतराका शृङ्खलाहरूसँग जुध्नुपर्छ भन्ने मानसिकता बनाएरै यात्रा आरम्भ गरेका थियौँ हामीले । पैदल, बस, जिप, ट्रक, हवाईजहाज जे–जस्तो भेटिन्छ त्यसैमा बढ्नुपर्छ भन्ने मान्यता बनायौँ यात्रारम्भपूर्व नै ।
यात्राका लागि योजना बनाउनुपर्छ, तर पूर्ण योजनामा चल्दैन यात्रा । जीवन पनि कहाँ चल्छ र निर्धारित योजनामा । ‘जो हात सो साथ’ भन्ने सिद्धान्तमा गति दिइयो भने मात्र आनन्द बन्छन् यात्रा र जिन्दगी ।
म्याग्दीको बेनीबाट जोमसोमसम्म गाडी चल्न थालेको पाँच–सात वर्ष मात्र भयो । जोमसोमबाट लोमान्थाङ गाडी चल्न थालेको त झन् दुई वर्ष पनि पूरा भएको छैन । गाडी चल्ने भन्ने मात्र, मृत्युरेखाजस्ता छन् सडकहरू । एकपटक गाडीमा यात्रा गरेपछि जो–कोही पनि गाडीभन्दा पैदल यात्रा नै उत्तम भन्ने निष्कर्षमा पुग्छ ।
बेनीबाट सवारी–साधनमा लोमान्थाङ पुगेर फर्कनु पुनर्जीवन पाउनुजस्तै हुन्छ । पाइला–पाइलामा ठोकठाक पारिरहनुपर्ने गाडीहरू, आफ्नाबाहेक अरूका गाडी प्रवेश गर्नै नदिने स्थानीय यातायात व्यवसायीहरूको सिन्डिकेट, आफूलाई राजा र यात्रुलाई पत्रु ठान्ने चालकहरूको मानसिकता देख्दा घरी–घरी त्यस्तो यात्रा बित्थामा गरियो भन्ने पनि मान्दछ यात्रुले ।
‘जस्तो रङ्ग उस्तै सङ्ग’ सार्थक देखिन्छ मुस्ताङ यात्रामा । ‘जस्तो घरबार, उस्तै बच्चाको व्यवहार’ भन्ने प्रमाणित हुन्छ त्यताको यात्रामा । देशको राजनीतिक व्यवस्थाजस्तै गाडीहरू पनि कहिल्यै कन्डिसनमा नरहने । जनताको नाममा जनताकै हुर्मत लिने देशका नेताजस्ता छन् चालकहरू । जसरी देश चलाउने कुरामा नेताको विश्वास गर्न सकेका छैनन् जनताले र पनि नेताकै भर नगरी भएको छैन, त्यसै गरी विश्वास र भरोसा नहुँदानहुँदै पनि गाडीमा यात्रा नगरी सुखै छैन मुस्ताङमा ।
गुरुजीको रुखो बोली सुनिन्छ, ‘यो मान्छे होइन, गाडी हो बुझ्नु भो । मान्छे त दह्रो गरी टेकेन भने लड्छ, गाडी त खुर्मुरिन कतिबेर ? आत्तिने भए ओर्लिनुस् यतै ।’ बेनीबाट गलेश्वर नाघ्न खोज्दै छ हामी चढेको गाडी । सडकमा होइन पहिरामा पुतपुत धुँवा फ्याँक्दै कुलेलम ठोक्दै छ । अप्ठेरामा झन् धेरै एस्सिलेटर दबाउँदै छन् गुरुजी । झन्डै झन्डै कालीगण्डकीमा हामफाल्न आँटेको थियो गाडीले । हामी सबैको सातोपुत्लो उडेको थियो । आत्तिएर एउटी बहिनीले चिच्याउँदा गुरुजी कड्किए, ‘सहरमा चल्ने गाडी होइन यो । पहाडमा गाडी चढ्ने, मरिन्छ कि भनेर आत्तिने ।’ कुरा सुन्दा लाग्थ्यो उनी चालक होइन, मृत्युको टिकट काटिदिने अधिकारी हुन् ।
पत्यौल धुलो उडोस् कि गज–गज हिलोमा चक्का धसिएर ठेल्न परोस्, ढुङ्गामा ठोकिएर पत्ता भाँचियोस् कि भित्तामा कोल्टिएर गाडी कुच्चियोस्— गति सीमित छैन कुनै गाडीको । चक्का गाडियो कि यात्रु ओर्लेर उचाल्ने र धकेल्ने गरिहाल्नुपर्ने । चालकले जे–जस्तो श्लील–अश्लील बोले पनि यात्रुले जी–हजुरी गरिरहनुपर्ने । कसैले तर्क र मर्मको कुरा गर्यो भने गाडी रोकेर बिचैमा ओरालिदिने— गाडी चालक त युगान्डाका दादा इदि अमिनभन्दा क्रूर, इराकका सद्दाम हुसेनभन्दा निरङ्कुश र लिबियाका कर्णेल गद्दाफीभन्दा मनमौजी देखिए ।
यो देशमा नेताले जनताको मानमर्दन गरेका छन् । प्रशासकले सेवाग्राहीको हुर्मत लिएका छन् । व्यापारी ग्राहकको सेवा होइन ठगी गर्न तम्सिएका छन् । धर्माधिकारीहरू नाटक रचेर भक्तहरूलाई बलात्कार गर्ने र उनका श्रीसम्पत्ति कुम्ल्याउँदै मक्ख परिरहेछन् । अनि के अछुतो रहन्थे र ड्राइभर पनि । मुठीमा परेको जति, एक रती बाहिर नचुहाउने संस्कार बसिसकेको छ हाम्रो ।
डाँडाहरू हरिया सिरक ओडेर उठिरहेछन् । दुध बोकेका झरनाहरू मध्यम सङ्गीतमा उर्लिइरहेछन् । बालीका बयेलीले रसिला र जाँगरिला देखिँदै छन् गाउँहरू । कमसे कम त्यो दृश्य हेर्दै गुड्न पाए पनि अलि बिर्सिइन्थ्यो होला गाडीको पीडा । झ्याउँकिरी र चराचुरुङ्गीका अनवरत आवाजमा रम्न पाए कति खुसी बन्थ्यो मन । धोत्रे स्पिकरहरूबाट फुल भोलुममा बजिरहेछन् विरसिला सङ्गीत । चर्को आवाजले कानको जाली नै फाट्ला कि भन्ने आशङ्का जुर्मुराईरहेछ ।
‘भाइ, त्यो स्पिकरको आवाज अलि सानो पार्न मिल्दैन,’ विनय पोख्नुहुन्छ मित्र । गाडीमा बस्ने सबै यात्रुको मनको आवाज थियो त्यो ।
‘ए, गीत पनि सुन्न सक्नुहुन्न होइन, तपाईंहरू । नसुन्ने भए रुमाल कोच्नुहोस् कानमा । सानो सुन्ने भए आफ्नै मोबाइलमा सुने भइहाल्यो नि । गीत सुन्न गाह्रो भए हिँडेर जानुहोस्, रोकिदिऊँ ? तिप्लिङको मोडमै झन् तमतमिलो बने ड्राइभर ।
‘ए अङ्कल, तपाईंलाई बस्न पनि आउँदैन कि कसो, अलि खुम्चिएर बस्नुहोस्, कति मोटाउन परेको तपाईंलाई ?’ ड्राइभरका भाइले थपे त्यहीँनेर । बँदेलका दाह्रा र बाघको झाप्पु एकैपटक सहन परेपछि के भयो होला हबिगत । यात्रुहरू चुप छन् । उसै त मान्छे र भारीतारीले उकुसमुकुस भइरहेथ्यो गाडीमा, झन् तिप्लिङबाट तेलका ग्यालेन, चाउचाउका कार्टुन, चुरोटका बिटा र चामलका बोरा थपिदिए चालक र उपचालकले । मेरा दुवै घुँडामाथि चाउचाउ विराजमान भो । सँगैको मित्रकहाँ खुर्सानीको बोरा ढसमस्सियो, पारिपट्टिको सिटधारीकहाँ चिउरा र मट्टीतेल मजमस्त भो । अघिल्तिर प्लास्टिक र सिल्भरका भाँडाहरू भन्भनिन थाले ।
जोमसोमबाट लोमान्थाङ गाडी चल्न थालेको त झन् दुई वर्ष पनि पूरा भएको छैन । गाडी चल्ने भन्ने मात्र, मृत्युरेखाजस्ता छन् सडकहरू । एकपटक गाडीमा यात्रा गरेपछि जो–कोही पनि गाडीभन्दा पैदल यात्रा नै उत्तम भन्ने निष्कर्षमा पुग्छ ।
हामी मान्छे त सरसामान अड्याउने स्टयान्ड र थाम्ने जीव पो भयौँ गाडीभित्र ।
‘लौ न मेरो त जिउभरि खुदो पो पोखियो, कसरी जानु यो सकस सहेर,’ पोखरामा परीक्षा दिएर फर्केकी एउटी चेली बोलिन् । उनको बोली खस्न नपाउँदै सहचालक बोले, ‘गाडीमा सकस मान्ने भए ओर्लेर लुरुलुरु बाटो तताए भइहाल्यो नि ! सामान मात्र बोके पनि हामीलाई भारी नपुग्ने होइन क्यारे । बरु मान्छेको साटो मालताल मात्र बोकुँ भोलिदेखि । कमसे कम गनगन त सुन्नुपर्थेन । पुर्पुराको पसिना पैतालामा पुर्याएर खुई–खुई गर्दै पहाड चढ्नुपर्नेले गाडी चढ्न पाएका छन् । अझ सुन्नुपर्छ उनीहरूकै गुनासो । ‘कुकुरलाई घिउ नपचेको भनेको यही हो नि ।’ भएभरको बल झिकेर भुतभुताए कन्डक्टर ।
‘छोड्दे, गुलाई चलाएर गन्ध, बरु एक कानले सुन्यो, अर्को कानले उडायो । पेसिन्जरको कुरा सुन्ने हो भने गाडी नचलाए हुन्छ । पेसिन्जर भनेका कुराका पोका, बुद्धिका बोका हुन्,’ उल्टै पेसिन्जर त कबाडीभन्दा तल्लो दर्जामा दर्शाए ड्राइभरले ।
‘ए, भाइ मुख सम्हालेर बोल, पेसिन्जर नभए केलाई चलाउँथ्यौ गाडी । जसले फाइदा दिएको छ उसैको अपमान भनिदिउँ जस्तो लागेको हो । ‘अजानु भएर बस्नुभन्दा मसान हुनु जाती’ भन्ने लागेको पनि हो । तैपनि गुहु र गोबर छ्यान पहिचान नभएकालाई के कराउनुजस्तो लाग्यो ।
माथितिर निलो आकाश छेड्दै उभिएका छन् डाँडाहरू । तलतिर डाँडा नै थर्काउने गरी उर्लिइरहेछ कालीगण्डकी । सतह नमिलेका ढुङ्गाहरू, बगेको लेदो, ठाउँ छोडेको पहिरो, बाटाभरि बगिरहेका पानीका जरुवा र बाटै ढाकेर जमेको पोखरीमा हेलिँदै हुइकिँदै छ गाडी । तातोपानी बजार देखिँदै छ आँखाको पल्लो सिमानामा ।
तीन आमाहरू र दुई बहिनीहरू माथितिरबाट झर्दै थिए । गाडी देखेर आत्तिए बिचराहरू । दुईवटी माथिल्लो कान्लातिर र तीनवटी छेउतिर तर्किए बरा । सडक फराक नै थियो । हाम्रा गुरुजीले किचुँला जस्तो गरेर छेउतिरै हुत्याए गाडी । खाल्टामा जमेको धमिलो पानीले निथ्रुक्क भिजे कपालदेखि पाइतालासम्म । भिरको घँघारुको बोटमा झुन्डिएर धन्न ज्यान बचाए बरा । उनीहरूमध्ये दुई वटीले काखी च्यापेका कुखुरा क्वाँ... क्वाँ... गर्दै भिर नै भिर कता खुस्किए कुन्नि ! बाघसँग जम्काभेट भएझैँ गाडीलाई हेरिरहे बिचराहरूले । हाम्रो ड्राइभर भने भन्दै थिए, ‘यी सोल्टिनीहरूलाई भिरबाट खुर्मुर्याइदिऊँ भनेको, धन्न बाँचे । आयु त लिएरै आएका रहेछन् मोरीहरूले ।
के बोल्ने के नबोल्ने— केही ठेगान थिएन चालक र सहचालकको । गाडीमा महिलाहरू थिए । बाउ र काका उमेरका हामी पनि थियौँ । उनीहरू मात्तिएर जे पनि फोहोर ओकल्ने, पात्तिएको जँड्याहाजस्ता भइरहेथे । आमाचकारी बोल्नु, आमिषे ठट्टा गर्नु— सामान्य थियो उनीहरूका लागि । गाडी होइन मात्तिएर कान्ला नाघिरहेको गोरुमाथि चढेर यात्रा गरेझैँ लाग्दै थियो । गाडीमा सवार जसले त्यस्तो व्यवहार नगर्न भन्थ्यो ऊ नै फोहोरी बाघेझापुमा पथ्र्यो चालकदलको ।
ड्राइभर र कन्डक्टर बन्नेबित्तिकै डनको रूप धारण गरिहाल्नुपर्ने संस्कार बसेको छ हाम्रो देशमा । गाडीमा यात्रु नचढुन्जेल पाउमै परुँला जसरी ज्यू–ज्यू गर्ने, चढ्नेबित्तिकै घचेट्ने, अँचेट्ने, चिमोट्ने, जथाभावी बोल्ने, बढी भाडा असुल्ने, इज्जत–हुर्मतको ख्याल नगर्ने बानी–व्यहोरा भएको छ जनता चढ्ने सवारीहरूमा ।
भोट नपाउन्जेल जनताका खुट्टामा तेल मालिस गरुँला झैँ गर्ने, चुनाउ जित्नेबित्तिकै जनता र सुकेका जरामा केही फरक नदेख्ने नेता र ड्राइभरमा केही फरक देखिएको छैन । दुवैको हातमा स्टेरिङ छ, तर कहाँ लगेर लडाइदिने हुन् ! यात्रु र जनताको ढुकढुकी अस्वाभाविक बढिरहेछ ।
बस, टेम्पु, ट्याक्सी, माइक्रो, टिपर, ट्रक कुनै पनि सार्वजनिक साधनका सञ्चालक सम्झनेबित्तिकै अमिलो बन्छ मन धेरैको ।
संजोगले मात्र बाँचिरहेछ जिन्दगी । मौजुदा प्रणालीहरू क्षण–क्षणमा मृत्युपत्र बकिरहन्छन् ।
एकपटक दिल्ली भ्रमणमा थिएँ म, एक मित्रलाई भेट्नु थियो । मित्र बस्ने ठाउँ मात्र थाहा थियो— चाँदनी चोक । सजिलै पुगिएला नि भनेर परियो ट्याक्सीको सहारा । ट्याक्सीले फनफनी घुमाइरह्यो पैँतालिस मिनेट र माग्यो पाँच सय । साथीलाई भेटेपछि पो थाहा भयो, त्यो बाटो पैदल नै पाँच मिनेटमा पार गर्न सकिने रहेछ । ट्याक्सी भाडा पनि ३० रुपैयाँभन्दा बढी नलाग्ने रहेछ । नयाँ यात्रु चिनेपछि गल्ली–गल्ली घुमाएर ‘घुम्दै फिर्दै रुम्जाटार’ गराउने चलन विदेशमै पनि कहाँ कम छ र ?
रुप्से झरनासम्म पुगेपछि बदल्नुपर्ने रहेछ गाडी, बदलियो । चालक दलको व्यवहार बदलिएन । झन् कठोर, झन् भालुकाँडे शैली ।
भएभरका राँगा र भैँसी कोचिएका छन् ट्रकमा । कसैको बाँधिएको नत्थी चुँडिएको छ, कसैको जिउभरि घाउ नै घाउका पहिरा छन्, कोही थिचिएर मर्नै आँटेका छन्, कोही प्यासले भलभली बगेको आफ्नै रगत चाटिरहेछन् तैपनि ट्रक उकालो लागेको लाग्यै छ थानकोटमास्तिर । रगतका धाराले बाइस धारा बनेको छ ट्रकमा । हो त्यस्तै भयो रुप्सेबाट घासा हुँदै जोमसोम पुग्दा । भेलमा बगेको ढुङ्गाले भन्दा बढी गोता पाइरहेछन् यात्रुहरूले ।
अझैसम्म सवारी–साधन ‘आवश्यकता’ भन्दा ‘विलासी’ रूपमा छ हाम्रोतिर । सडक बनाउने होइन, ट्र्याक मात्र खोल्ने काम गर्छ सरकार । ट्र्याक भेटेपछि जनतालाई ठग्ने मेसिनका रूपमा सवारी–साधन तेस्र्याउँछ व्यापारी । ‘खाए खा नखाए घिचको परिस्थिति बुझेर सवारी–साधनमा चढ्न बाध्य छ जनता । औँलाले स्टेरिङ छोएपछि आफैँलाई महानायक सम्झन्छ ड्राइभर । जाने हो, बाँच्ने–मर्नेको केही ठेगान छैन । जिन्दगीजस्तै बिल्कुल अनिश्चित छ यात्रा । पाङ्ग्रा गुड्ने सडकको वास्ता गरिँदैन, सवारी–साधनको भारवहन क्षमताको मतलब गरिँदैन, नियमित मर्मतको सम्झनासम्म गरिँदैन । लहडमा तुजुक देखाउने चालकहरूको हातमा स्टेरिङ परेपछि र दुर्घटनामा ज्यान स्वाहा भए त्यसको क्षतिपूर्ति सिन्डिकेटवाला समितिले व्यहोर्ने संस्कार बसेपछि चालक र गाडी त भक्कुको राँगोजस्ता, जसलाई पनि हान्ने र मार्नेमा माहिर भइहाले ।
गाडी हुइँक्याउन जानेपछि कसैलाई गन्दैन ड्राइभर । उसैको भरमा जानुपर्ने, उसैले पैसा असुल्ने, उसले चाहे जहाँतहीँ रोक्ने, नचाहे बिसौनीमा पनि नरोक्ने, इच्छा लागे सिटभन्दा बढी यात्रु कोच्ने, नलागे खाली सिटमै दौडाउने, बाख्रा हालेर बस कुदाए पनि ठिक, मान्छे कोचेर ट्रकलाई कुलेलम ठोकाए पनि ठिक । नेपालका ड्राइभर जतिको स्वतन्त्र अरू कोही छैन संसारमा । अधिक स्वतन्त्रताले अधिनायक बनाउन सक्छ कसै कसैलाई— यही रोगले ग्रसित छन् नेपाल हाँक्नेहरू पनि ।
अधिकार भेट्नेबित्तिकै हुकुम प्रमाङ्गी प्रक्षेपण गर्ने संस्कार छ हाम्रो । सहजकर्ता होइन अवरोधक बन्न लालायित बन्छ अधिकारी । सरल बनाउन होइन काम नगर्ने सूचीको सूत्र बनेका छन् ऐन–कानुन । ढोकेदेखि कुर्सीधारीहरूसम्म सबै हप्काउन, दप्काउन र लप्काउन लालायित छन् ।
गति तान्नेहरू नै गजक्क पर्न थालेपछि गन्हाउने नै भयो अरूको हबिगत । गाडी हाँक्ने मात्र होइन हर क्षेत्रका गुरुजीहरूबाट पीडित छ नेपाल । गुरुजी अर्थात् डाडु पन्युधारीहरू ।
रुप्सेबाट हिँडेको बस एक घण्टामा घासा पुग्यो र रोकियो । यात्रुसँग लिएको चार सय दस चट् । त्यही बसले कमसे कम जोमसोम पुर्याइदिएको भए पनि बल्ल–बल्ल सिट पाउनेले छाड्नुपर्ने त थिएन । फेरि अर्को बसको सिट पाउन ठेलमठेल, फेरि सिटका लागि नाना किसिमको मोलमोलाइ ।
‘यस्तो नगरेको भए हुन्थ्यो नि भाइ,’ सिन्डिकेटका नाइके समितिका कर्मचारीलाई सानो गुनासो मात्र गर्यौँ हामीले ।
‘एउटा गाडीले मात्र कमाएर हुन्छ, सबै गाडीले कमाउनुपर्यो, सबै ठाउँका होटल, पसल र कर्मचारी पालिनुपर्यो नि !’ कर्मचारी र अर्को बसका गुरुजीले एकैपटक मुक्याउँलाझैँ गरे । उनीहरूका लागि यात्रुहरू हरेकको बल्छीमा छिरिदिनुपर्ने रहेछ ।
‘त्यतिको भाडा तिरियो, न बस्न सिट पाइयो न त झ्याल ढोकामा सिसा छन् । धुलो नै धुलाले अनुहार र आङमा भिरेको कपडा उस्तै भो । योभन्दा त बरु हिँडेकै भए राम्रो हुन्थ्यो,’ जोमसोम बस स्टपमा बसबाट ओर्लनेबित्तिकै ढुङ्गामा थुचुक्क बसे मुक्तिनाथ रानीपौवाका हरि गुरुङ ।
‘यो देश नै यस्तै हो, यहाँ सेवा प्रदायक ठालु ठहरिन्छन् सेवाग्राही रैती । ख्वै, कर र मालपोत तिर्नेले के पाएको छ त राज्यबाट ! घर बनाउनेबाट घर कर त उठाउँछ सरकार तर न खानेपानीको बन्दोबस्त मिलाइदिन्छ, न विद्युत्को, न बाटोघाटो र ढलको ।’ आक्रोशित बने अर्का भाइ ।
गोठालाको लाठी खाएको गोरुझैँ कुलेलम ठोकिरहेछ बस । ढुङ्ग्याने डाँडाहरूबाट गुल्टेका गोल–गोल ढुङ्गाहरू र बलौटे माटाको पहिरोजस्तो छ सडक । गाडीका पाङ्ग्राहरू सन्तुलित छैनन् । बसमा गीत बजिरहेछ— ‘मलाई हङ्कङ पनि यहीँ, मलाई बैंकक पनि यहीँ । मलाई बियर पनि यहीँ, मलाई ह्विस्की पनि यहीँ ।
सवारी साधनहरूले भाषिक एकता भने मज्जाले ल्याएको देख्छु म । मेचीदेखि कालीसम्म जहाँका सडकहरूमा पनि नेपाली भाषाकै लोक दोहोरीहरू बजेको सुनिन्छ । भाषिक एकताको नाममा स्थानीय भाषा मर्नु भनेको जून वरिपरिका पिलपिले तारा मार्नुजत्तिकै हो ।
ड्राइभर र कन्डक्टर बन्नेबित्तिकै डनको रूप धारण गरिहाल्नुपर्ने संस्कार बसेको छ हाम्रो देशमा । गाडीमा यात्रु नचढुन्जेल पाउमै परुँला जसरी ज्यू–ज्यू गर्ने, चढ्नेबित्तिकै घचेट्ने, अँचेट्ने, चिमोट्ने, जथाभावी बोल्ने, बढी भाडा असुल्ने, इज्जत–हुर्मतको ख्याल नगर्ने बानी–व्यहोरा भएको छ जनता चढ्ने सवारीहरूमा ।
‘भाइ, मलाई बान्ता चल्लाजस्तो छ, क्यासेट अलि सानो पारिदेऊ न,’ बसभित्रकी एउटी दिदीले पोख्नुहुन्छ दुःखेसो ।
‘गीत सुनेर बान्ता हुन्छ, धेरै खाएर पो हुन्छ बान्ता, अर्काले पाँच सय तिरेर ल्याएको सीडी सुन्न पनि नपाउने, तपाईंलाई बहुला कुकुरले टोकेको छ कि क्या हो ?’ ड्राइभरको विष वमनमा केही बोल्न सक्नुभएन दिदीले । बरु वाक्न थाल्नु भो तारन्तार ।
‘ए वाक्न पो चढेको गाडी, त्यस्तो वाक्नेले किन चढ्नु यो बसमा । लौ पुछ,’ दिदीले मजेत्रोले बान्ता नपुछी सुखै पाउनुभएन बरा ।
विकसित देशमा सार्वजनिक गाडीमा सकेसम्म गीत बजाइँदैन । गाडीभित्रको ध्वनि र आवाजले बाहिर स्पर्श गर्नुहुँदैन भन्नेमा सचेत हुन्छन् सबैजना । हाम्रामा भने अरिङ्गालको गोलाझैँ मान्छे कोच्नु र कानको जाली नै फुट्ने गरी गीत–सङ्गीत घन्काउनु बहादुरी मानिन्छ ।
बल्ल बसले नाघेको छ कागबेनी । मसँगैको सिटमा एकजना बुढाबा बस्नुभएको थियो । दम, खोकी र ज्वराले निकै सताएथ्यो उहाँलाई । उहाँलाई सिटमा अड्न पनि गाह्रो भइरहेको महसुस हुन्थ्यो । बेला–बेला समाइदिन्थेँ म । ‘के गर्नु बाबु रोग र कमजोरीले सताएपछि असाध्यै अप्ठेरो बन्दो रहेछ बुढेसकाल ।’ बोल्न सकेका बेला बताउनुहुुन्थ्यो बाबाले ।
‘ओई, तिम्लाई बस्न नि आउँदैन, के हल्ली–हल्ली बसेको ! जाउ पछाडि गएर उभिउ,’ एक हातले स्टेरिङ अर्को हातले बुढाको हात तानेर उठाउन थाल्छन् गुरुजी । स्टेरिङ विपरीततिर मोडिएर गाडी नै पुल्टुङबाजी खाला भन्ने बढ्छ पिर ।
‘भाइ बुढो जो पनि हुन्छ, गाडी भनेकै सुविस्ताका लागि चाहिने हो । यस्तो अशक्त मान्छेलाई त माया पो गर्नुपर्छ, त्यसरी घुच्याउने हो ?’ म बोलेँ ।
‘त्यस्तो माया भए ओर्लेर बोकेर लैजानुस् न, के हिरो पल्ट्या ?’ राता–राता आँखा पल्टाए उनले ।
‘यो ड्राइभर त साह्रै रिसाहा पो छ । पेसिन्जरले रिस उठायो भने पल्टाउन बेर लगाउँदैन गाडी,’ पछिल्तिरबाट एक जना बोलेको सुनियो । त्यो सुनेपछि झन् गमक्क गम्किए गुरुजी । गलत कुरालाई गम्भीरतापूर्वक लिनुभन्दा झन् हाँसोको रूपमा लिने प्रवृत्ति बढिरहेछ समाजमा ।
ताङ्वे गाउँनजिकै गुडिरहेछ बस । तलतिर फिँजारिएर बग्दै छ कालीगण्डकी । माथितिर आकाश नै नदेखिने पहाड छ । पहाडकै पटुकीमा निस्फिक्री दौडिरहेछ बस ।
‘यो ड्राइभर त रक्सीको सुरमा जस्तो छ, आँखा हेर्नुस् त सर,’ कानेखुसी गर्नुहुन्छ मित्र ।
‘कि ओर्लेर हिँडौँ,’ कानमै फुसफुसाउनुभयो अर्को मित्रले पछिल्लो सिटबाट ।
गुरुजीका आँखा गोलभेँडाजस्ता छन् । बेलाबेला गाडी हाँक्दाहाँक्दै आँखा लोलाउँछन् । ‘लौ अब गन्न मिल्ने गरी हाडखोर छरिदिने भए यतै भिरमा,’ कालोनिलो छ तिनै जनाको अनुहार ।
बिग्रेर सडकमै रोकिराखेको रहेछ एउटा मुस्ताङ गाडी । ‘लौ अब हाम्रो बस रोकिनेभयो, बरु ठिकै भयो ।’ सोच्यौँ हामीले । के रोकिन्थ्यो बरु गुटुट्ट गुडिरह्यो हाम्रो बस ।
‘लौ न अब भने गुल्टिने भयो हाम्रो बस । बाटा नै नभएको ठाउँमा किन लगेको होला’— हामीले आपसमा हात अँठ्यायौ र भिरतिर हेर्यौँ । छेउतिरका दुई चक्का धुलो माटोबाट चिप्लन ठिक्क परेका छन् । बोलुँ गुरुजी रिसाएर बस भिरबाट गुल्ट्याइदिएर आफू फाल हाल्लान् भन्ने डर । ‘बोल् बोल् माछा मुखभरि पानी’ को स्थितिमा ढुक–ढुक गरेको मुटु माडिरह्यौँ ।
जेनतेन हाम्रो बस पार गर्लान् भनेको त बिग्रेको गाडी सँगै भिरको मुखमै टक्क रोके गाडी गुरुजीले । बिग्रेको गाडी मर्मत गर्दै थिए दुई जना । उनीहरूसँगै हात हल्लाइहल्लाई गफिन थाले गुरुजी । मानौँ गाडी पल्टाउन पाए सफलता मान्नेछन् उनले । अब भने पक्का पल्टन्छ बस । रक्तचाप बढेर राताम्य बनेको छ यात्रुको अनुहार ।
‘ए ड्राइभर, बस गुल्टिन आँटिसक्यो, कहाँ रोकिराखेको ?’ मर्नुभन्दा बहुलाउनु निकोको स्थितिमा पछिल्तिरबाट उठ्यो एउटा आवाज ।
‘ओइ, को हो त्यसो भन्ने । बस हाँक्ने म हो कि तँ, भन् को हो ?’ प्रहरीले चोर खोजेझैँ कुर्लिए गुरुजी । कसैले पनि ‘म हुँ’ भन्ने साहस गरेन ।
‘बढ्ता नकरा, अहिले बस गुल्ट्याएर कालीका माछाका आहारा बनाइदिन्छु, अनि !’ जुध्न ठिक्क परेको साँढेको जस्तो देखियो गुरुजीको अनुहार ।
‘छिटो आइज है छुक्साङमा, बेस्सरी मात्नुपर्छ आज,’ बल्ल बस स्टार्ट गरे गुरुजीले ।
‘अहिल्यै त्यस्तो मातेको छस्, अझै कति मात्तिने ?’— उताबाट आवाज आयो । अब भने हाम्रा गुरुजी सोमरसमा मग्न छन् भन्नेमा शङ्का रहेन कुनै ।
बसले गति त लियो । बसको भन्दा अझ द्रूत गतिमा चलिरहेछ हाम्रो मुटु ।
जिन्दगी बित्थामा बित्नेभयो । एउटा हुँडलो चलिरह्यो ।
बेला बेलामा लाग्छ गुरुजीको असामान्य व्यवहार देश अनुसारको भेष भएको छ । सडकजस्तो छैन सडक, बसजस्तो छैन बस । समिति, सिन्डिकेटहरू बनाएर पैसा कुम्ल्याउन उद्यत छन्, व्यापारीसँग कपाल कन्याएर सपना पूरा गर्दै छन् नेता र अधिकारकर्मी । प्रणाली नभएको ठाउँमा ‘प्रणाली’ भनेको असफल यन्त्र हो । असन्तुलित र मूर्ख मानसिकताले मात्र हाँक्न सक्छ केही कुरा । हरेक कुरा अनियन्त्रित भएपछि मात्र निस्कन सक्छ नौलो गति र परिणाम । ठुलो प्राप्ति खोज्नेले खतरा त मोल्नैपर्छ । आँखा चिम्लेर मात्र हिँडिन्छ भने कुनै न कुनै बेला अनपेक्षित नतिजा अवश्यम्भावी छ ।
बसको गति झन्झन् बढ्दो छ, बाटो भने भरथिलो छैन । चारजना गोरा पर्यटक लुखुरलुखुर हिँडिरहेछन् । सायद छुक्साङतिर जाँदै थिए होलान् । अलि वरैबाट कान नै पड्कने गरी हर्न बजाए, बजाइरहे । उनीहरू भित्ता पट्टिको धुपीको हाँगा समातेर अडिए । गुड्दागुड्दैको बसबाट पछिल्लो गोरेको ह्याट नै थुते टाउकाबाट । सबैभन्दा अगाडिको गोरेको पिठ्युँमा भने ड्याम्म पड्काए । दुवै आत्तिए र रिसाउँदै लखेटे । बस भने कुदेर निकै पर पुगिसकेको थियो । पत्यौल धुलोमा रङ्गिँदै ठुलो ठुलो स्वरमा कराउँदैथे ती पर्यटकहरू । हाम्रा गुरुजी भने लुटेको रातो ह्याट पहिरेर हेय दृष्टिले हेर्दै थिए हामीलाई ।
उपहासका पात्र होइनन्, पाहुना हुन् भन्ने सबैले नबुझेसम्म कहाँ आउँछन् पर्यटक घुमफिर गर्न । हेपाहा र लुटाहाहरूको चपेटामा रहेछ देश भनिदिए उनीहरूले भने कसरी आउलान् थप पर्यटकहरू ।
पर्यटन उद्योग एउटा मात्र राम्रो चलाउन सकियो भने पूरै परिवर्तन हुन्छ देशको अनुहार, तर हामी भने टोक्ने कुकुरहरू ढोकामा उभ्याएर पाहुना बोलाउने ललनी गाइरहेछौँ ।
अलि परैबाट देखियो छुक्साङ । अब १० मिनेट बाँच्न पाइयो भने त जितिन्थ्यो होला जिन्दगीको ठुलै युद्ध ठान्यौँ हामीले ।
भिरालो तर मोडमा छ बस । बल लगाएर मोड्न खोज्दै छन् गुरुजी । अलिकति नमोडिए खोलामै खुर्मुरिन ठिक्क छ बस । रक्सीको मातले ज्यान र मन नियन्त्रणमा छैन गुरुजीको, मोड्न खोज्छन् । निदाएजस्तो गर्छन् । जिन्दगी सकिएकै हो रहेछ— फेरि सोच्दै छौँ हामी ।
‘अलि यताबाट मोड्नुपर्छ कि ?’ ठुलै साहसका साथ बोल्नुभयो मित्र ।
‘म ड्राइभर कि तिमी ? ड्राइभरलाई सिकाउने तिमी को हौ ? कि तिमीले नै किनेका हौ बस ? छोडिदिउँ ब्रेक र स्टेरिङ ? हातै छोडेर निकाल्न थाले कर्कशा स्वर ।
‘भो भो उहाँको गल्ती भो,’ ड्राइभर साहेब, जसरी चलाउनुपर्ने हो त्यसै गरी चलाउनुहोस् हजुरले । हामीजस्ता केही थाहा नपाएका पेसिन्जरको कुरा नसुन्नुहोस्, प्रभु,’ हातै जोडे हामीभन्दा दुई सिट पछाडि बस्ने लामा दाइले ।
गुरुजीले भएभरका आमाचकारी गाली जोडेर भुतभुताइरहे । गौतम बुद्ध पनि रिसाउँथे होला त्यस्तो व्यवहारले । हामी चुप रहनुबाहेक केही उपाय थिएन ।
बल्ल मोडियो बस । ठाउँ कुठाउँ रोकिरहने, दौडाउँदा आँखा नै नहेर्ने राष्ट्रिय रोग हो, सार्वजनिक सवारीका गुरुजीहरूको ।
छुक्साङको झोलुङ्गे पुलनजिकै बिसौनीमा रोकियो बस । बस रोकिनु के थियो हराइसकेको सुनौला जिन्दगी भेटिएको महान् उत्सव मनाइरहेझैँ लागिरहेथ्यो हामी सबैलाई । बसबाट ओर्लनेबित्तिकै लमतन्न परेर लड्यौँ हामी खोलाकै किनारमा ।
‘हामी त दाइ कुन बेला आइपुग्छ भनेर कुरिरहेको, तताउने होइन त ज्यान ?’ दुई प्रहरीले दुईतिरबाट छाँद हाले गुरुजीलाई ।
‘जाऔँ जाऔँ डोल्माको भट्टीमा, म भएपछि केको चिन्ता छ र !’ अघि अघि लागे गुरुजी ।
राजधानीका डन र मोफसलका गुरुजी उस्तै–उस्तै रहेछन् । अख्तियारी पाएको प्रत्येक नेपाली त्यस्तै बन्दै गएको देख्दै छु म अचेल । स्थान पाउनेबित्तिकै अरूलाई लखेटिहाल्नुपर्ने मानसिकता । पदेन विद्वान् बन्ने प्रवृत्ति । त्यस्तो किन नहुन् बरा— राजधानीका डनहरूले नेता र पार्टी पालिरहेछन्; राजधानीइतरका डनहरूले प्रहरी, प्रशासन र शक्तिकेन्द्रलाई सुमसुम्याइरहेछन् ।
बिचरा जनताहरूको प्रत्येक क्षण मृत्युका पन्जाहरूबाट फुत्कने प्रयास जारी छ ।
मान्छे भएर मान्छेजस्तो निर्धक्क बाँच्न कहिले पाइएला ख्वै ?
थिलथिलो भएर थाकेको शरीर सुमसुम्याउँदै तर्दै छौँ हामी छुक्साङको झोलुङ्गे पुल । आफ्नै खुट्टाले हिँडेका प्रत्येक क्षण आधार क्षेत्र हुँदा रहेछन् विजयको ।
पैदल यात्राले जगाउँदै छ बरु आशाको पिलपिले दियो । परबाट खुर्मुरिँदै आएको एउटा गाडीलाई हेर्न पनि मन लागेन र विपरीत दिशातिर मोडेंँ मलिन अनुहार ।
‘बाँचियो, धन्न बाँचियो, थकित शरीरमा पलायो बाँचेको मिठो उमङ्ग । तनभन्दा धेरै थाकेको छ मन ।