बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल

सायदै तोडिएलान् आईपीएलको इतिहासमा बनेका यी कीर्तिमान

सोमबार, १९ जेठ २०८२, १४ : ५५
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा पुगेका छन्, जसले नयाँ च्याम्पियन पाउने निश्चित छ।
  • ब्रेन्डन म्याककुलमले आईपीएलको पहिलो खेलमा बनाएको कीर्तिमान र सुनिल नरेनको सर्वाधिक मूल्यवान् खेलाडीको उपाधि जित्ने कीर्तिमान चर्चामा छन्।
  • रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले लिग चरणका सबै अवे खेल जितेको र सनराइजर्स हैदराबादको कम अंकका साथ प्लेअफमा पुगेको कीर्तिमान पनि यस लेखमा उल्लेख छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १८औँ संस्करण उत्सर्गमा छ । एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । 

यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि चुम्न सकेका छैनन् । त्यसैले यो सिजन आईपीएलले नयाँ च्याम्पियन पाउने निश्चित छ । फाइनल खेल मंगलबार अहमादाबादस्थित विश्वकै सबैभन्दा बढी दर्शक क्षमता भएको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेलिने छ ।

बेंगलुरु पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । पञ्जाब किङ्स भने दोस्रो क्वालिफायर भिडन्तमा बलियो प्रतिद्वन्द्वी पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । 

यसअघिका संस्करणजस्तै आईपीएलको यो संस्करणमा पनि विभिन्न टोलीका खेलाडीले अब्बल प्रदर्शन गर्दै कीर्तिमानहरू बनाएका छन् । सन् २००८ देखि सुरु भएको आईपीएलको इतिहासमा हालसम्म केही यस्ता कीर्तिमान पनि बनेका छन्, जसलाई तोड्नु निकै कठिन देखिन्छ । यस्तै केही कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ । 

  • ब्रेन्डन म्याककुलमको यो कीर्तिमान 

आईपीएलको इतिहासमा पहिलो खेल सन् २००८ को अप्रिल १८ तारिखमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिएको थियो । बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको उक्त खेलमा कोलकाताका ब्याट्सम्यान ब्रेन्डन म्याककुलमले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

McCullum_KKR_BCCL01

म्याककुलमले आईपीएलको आफ्नो ‘डेब्यू’ खेलमा केवल ७३ बलमा एक सय ५८ रन बनाएका थिए । यस क्रममा उनले १३ छक्का र १० वटा चौका पनि प्रहार गरेका थिए । हालसम्म आईपीएलमा कुनै पनि ब्याट्सम्यानले आफ्नो ‘डेब्यू’ खेलमा यति धेरै रन बनाउन सकेको छैन । 

उनको यो कीर्तिमान तोडिन निकै कठिन पनि छ । आईपीएलको इतिहासमा आफ्नो ‘डेब्यू’ खेलमा दोस्रो ठुलो स्कोर बनाउने ब्याट्सम्यान माइकल हसी हुन् । उनले सन् २००८ को आईपीएलमा चेन्नई सुपर किङ्सको तर्फबाट पञ्जाब किङ्सविरुद्ध अविजित एक सय १६ रन बनाएका थिए । 

यद्यपि, आईपीएलको इतिहासमा कुनै पनि खेलाडीले बनाएको उच्च स्कोर भने अविजित एक सय ७५ रन हो । यो स्कोर सन् २०१३ को आईपीएलमा पुणे वारियर्स इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरुका क्रिस गेलले बनाएका थिए । उनले केवल ६६ बलमा अविजित एक सय ७५ रन बनाएका हुन् ।

  • सुनिल नरेनले बनाएको यो कीर्तिमान 

आईपीएलको इतिहासमा सर्वाधिक मूल्यवान् खेलाडी (मस्ट भ्यालूएबल प्लेयर) पुरस्कारको कीर्तिमान वेस्ट इन्डिजका खेलाडी सुनिल नरेनको नामसँग जोडिएको छ । उनले सन् २०१२, सन् २०१८ र सन् २०२४ को आईपीएलमा यो पुरस्कार जितेका थिए । 

त्यतिबेला पनि आईपीएलमा ‘इम्प्याक्ट प्लेयर’ को नियम लागू थियो । खेलाडीले प्राप्त गरेको अंकका आधारमा मूल्यवान् खेलाडी चयन गरिन्थ्यो । सुनिल नरेनले एक सिजन त चार सय ५० एमभीपी अंकसहित यो अवार्ड हात पारेका थिए । उनी आईपीएलको इतिहासमा एउटै सिजनमा चार सयभन्दा बढी एमभीपी अंक हासिल गर्ने एक मात्र खेलाडी हुन् । 

  • आरसीबीसँग जोडिएको यो कीर्तिमान

आईपीएलको इतिहासमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)सँग पनि एउटा गतिलो कीर्तिमान जोडिएको छ । खासमा, बेंगलुरु आईपीएको एउटै सिजनमा खेलिएको लिग चरणको आफ्नो सबै अवे (विपक्षी टोलीको मैदानमा खेलिएको) खेल जित्ने एक मात्र टोली हो ।  

बेंगलुरुले आईपीएलको १८औँ संस्करणको लिग चरणमा यस्तो सफलता हात पारेको हो । यो सिजनको आईपीएलको लिग चरणमा बेंगलुरुले सातवटा टोलीलाई उसेको घरेलु मैदानमा हरायो । 

बेंगलुरुले विपक्षी टोलीको घरेलु मैदान कोलकाता, चेन्नई, मुम्बई, जयपुर, मुल्लनपुर, दिल्ली र लखनउमा खेल जितेको हो । यसका अतिरिक्त बेंगलुरुले पहिलो क्वालिफायर खेलमा पनि पञ्जाब किङ्सलाई उसैको घरेलु मैदान मुल्लनपुरमा हराएको थियो ।

यदि, मंगलबार हुने पञ्जाब किङ्सविरुद्धको फाइनल खेलमा पनि विजयी भए बेंगलुरुले अर्को कीर्तिमान बनाउने छ । यस्तो स्थितिमा बेंगलुरु आईपीएलको एउटा सिजनमा आफूले खेलको सबै ‘अवे’ खेल जित्ने एक मात्र टोली बन्नेछ । फाइनल खेल अहमदाबादमा खेलिँदैछ । बेंगलुरुको यो कीर्तिमान तोडिन पनि कठिन छ । 

  • सनराइजर्स हैदराबादको यो कीर्तिमान

सन् २०१९ मा आयोजित आईपीएलमा सनराइजर्स हैदराबाद केवल १२ अंकसहित प्रतियोगिताको प्ले–अफ चरणमा पुगेको थियो । आईपीएलको इतिहासमा हैदराबादका अतिरिक्त अन्य कुनै पनि टोली यति कम अंकसहित प्ले–अफ चरणमा पुग्न सकेको छैन । 

118910-yasswgsqkt-1556934134

आईपीएलको उक्त संस्करणमा लिग चरणको समाप्तिपछि कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्सको अंक १२–१२ रहेको थियो । त्यसपछि राम्रो नेट रेटका आधारमा हैदराबाद प्ले–अफ चरणमा पुगेको थियो । आईपीएलमा हैदराबादको नामसँग जोडिएको यो कीर्तिमान पनि तोडिन कठिन देखिन्छ । 

  • सुनिल नरेनको बलिङले बनाएको अर्को कीर्तिमान

आईपीएलको इतिहासमा क्यारेबियन खेलाडी सुनिल नरेनको नामसँग अर्को एउटा कीर्तिमान पनि जोडिएको छ । खासमा उनी आईपीएलको तीनवटा संस्करणमा ६ भन्दा पनि कमको इकोनोमी रेटमा बलिङ गर्ने एक मात्र बलर हुन् । 

सुनिल नरेनले सन् २०१२ को आईपीएलमा ५.४८ को इकोनोमी रेटमा बलिङ गरेका थिए । सन् २०१३ को आईपीएलमा उनले ५.४७ को इकोनोमी रेटमा बलिङ गरेका थिए । त्यसपछि सन् २०२२ को आईपीएलमा पनि उनले ५.५७ को इकोनोमी रेटमा बलिङ गरेका थिए । 

आईपीएलको इतिहासमा लासिथ मालिंगा, डेल स्टेन, मुथैया मुरलिथरन, राशिद खान र अनिल कुम्बलेजस्ता विश्व चर्चित बलरले एक सिजनमात्र ६ भन्दा कमको इकोनोमी रेटमा बलिङ गर्न सकेका छन् । त्यसैले सुनिल नरेनको यो कीर्तिमान तोडिन पनि निकै कठिन छ ।

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप