विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?

नेपाली राजनीतिक इतिहासको अध्ययन गर्दा एउटा तथ्य सधैँ दोहोरिन्छ, त्यो के हो भने जब जब मुलुकले परिवर्तनको आवश्यकता महसुस गर्छ, त्यहाँ विद्यार्थीको उपस्थिति रहेकै हुन्छ ।
२००७ सालमा राणाशासनविरुद्धको आन्दोलन होस्, २०४६ सालमा बहुदलीय व्यवस्थाका लागि भएको आन्दोलन होस्, २०६२/०६३ मा लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलन होस्, वा अन्य परिवर्तनका आन्दोलन हुन्— यी सबै आन्दोलनमा विद्यार्थीहरुको अहं भूमिका रहेको थियो ।
विद्यार्थी राजनीति केवल संगठन चलाउने अभ्यास मात्र होइन सामाजिक परिवर्तनको मेरुदण्ड पनि हो । आज यो राजनीति आन्तरिक रूपमै उमेर कि विचार भन्ने बहसमा रुमलिन पुगेको छ । पछिल्लो समय नेकपा (एमाले) ले अनेरास्ववियुमा ३२ वर्षे उमेरको सीमा तोक्ने भनेर गरेको निर्णयले बहस चर्किएको छ । सतही रूपमा हेर्दा यो निर्णय संगठन व्यवस्थापन र पुस्तान्तरणका नाममा गरिएको देखिन्छ, तर वस्तुतः यसले विद्यार्थी राजनीतिमा नेतृत्वको मूल्य के हो भन्ने बृहत् प्रश्नचिह्न खडा गरेको छ ।
नेतृत्वको मापदण्ड के ? उमेर कि वैचारिक स्पष्टता, वा शैक्षिक योग्यता भन्नेतर्फ बहस केन्द्रित देखिन्छ । हामीकहाँ विद्यालय र विश्व विद्यालयसम्मको पहुँचमा गहिरो असमानता छ । आर्थिक, सामाजिक, भौगोलिक कारणले कसैले ढिला गरी अध्ययन थाल्छन् त कसैले छिटै अध्ययन सकाउँछन् । यस्तो अवस्थामा उमेरलाई कठोर रूपमा लागु गर्नु न्यायसंगत नहुन सक्छ । नेपालमा थुप्रै विद्यार्थीले २३–२५ वर्षको उमेरमा स्नातक सुरु गर्छन् । विद्यावारिधिसम्मको अध्ययन पूरा गर्दा कतिपयले ३०–४० नाघ्न पुग्छन् । उनीहरु विद्यार्थी हुन्, संगठनप्रति प्रतिबद्ध छन् र वैचारिक वा ज्ञानका हिसाबले खारिएका पनि छन् तर उमेर हदका कारण उनीहरुले विद्यार्थी राजनीति गर्न नपाउने अवस्था आउँछ । उमेर नै अन्तिम मापदण्ड हुन्थ्यो भने संसारका क्रान्तिकारी परिवर्तन ल्याउने धेरै आन्दोलन नेतृत्वविहीन हुने थिए । नेतृत्व उमेरको होइन, दृष्टिकोण, गहिराइ र संघर्षको उपज हो ।
विद्यार्थी राजनीति कुनै प्रतिस्पर्धात्मक खेल होइन जहाँ कसैलाई जिताउन वा हराउनकै लागि उमेरलाई कारक तत्त्व घोषणा गरिन्छ । यो त विचार निर्माण गर्ने थलो हो; जोसँग नीतिगत हस्तक्षेप गर्ने क्षमता, संगठनलाई संकटबाट जोगाउने दृष्टि र शैक्षिक तथा सामाजिक मुद्दामा बोल्ने साहस हुन्छ उही नेता हो । पार्टीका कतिपय नेतृत्व संरचना आफैँ ७० वर्ष नाघेका छन्, उनीहरु नै विद्यार्थी नेताको उमेर तोक्दै छन् ।
विद्यार्थी संगठनहरू राजनीतिक चेतना निर्माणको आधार हुन् । उनीहरूको नीति, नेतृत्व र आन्तरिक निर्णयमा दलहरूको प्रत्यक्ष हस्तक्षेप हुनु स्वायत्तताको उपहास हो । विद्यार्थी राजनीतिमा सबैभन्दा शक्तिशाली थलो भनेको महाधिवेशन नै हो, जहाँबाट विद्यार्थी नेता चयन हुन्छन् । आफू चयन हुनका लागि उनीहरुले नेतृत्व क्षमता प्रदर्शन र विचार तथा योजना प्रदर्शन गर्नुपर्ने हुन्छ ।
यति भन्दै गर्दा पुस्तान्तरण अपरिहार्य तत्त्व हो । नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ, ताकि संगठन गतिशील रहोस् तर यो पुस्तान्तरण विचार, योगदान र अनुभवको निरन्तरतासहित हुनुपर्छ । यस्ता नेतृत्वकर्ताहरू आवश्यक छन् जसले विचार हस्तान्तरण गर्छन्, संगठनको इतिहास सम्झाउँछन्, संघर्षको स्मृति बोकेर अघि बढ्छन् । पुस्तान्तरण चाहियो तर त्यसको आधार संघर्ष, योगदान, निष्ठा र वैचारिक सामथ्र्य हुनुपर्छ ।
विद्यार्थी राजनीतिमा मेरुदण्ड भनेको उमेर हुँदै होइन । यो एकाग्रता हो, प्रतिबद्धता हो र संघर्षको निरन्तरता हो । विद्यार्थी संगठनलाई सुदृढ बनाउनु छ भने मातृ पार्टीको नीतिगत राजनीतिक हस्तक्षेप अन्त्य गरिनुपर्छ; नीति निर्माणको अधिकार महाधिवेशनले पाउनुपर्छ; वैचारिक, शैक्षिक र नेतृत्व विकासका आधारमा प्रतिनिधित्वको ढोका खोलिनुपर्छ । उमेरका नाममा विचार मार्ने कार्य हुनु हुँदैन । विचारले खारिएको, समाज र देशको समग्र अवस्था बुझेको नेता आज आवश्यक छ । यस्तो नेता उत्पादन हुने विद्यार्थी राजनीतिबाटै हो । त्यसैले उमेरको बन्देज हुनु हुँदैन । विद्यार्थी राजनीतिमा माथिको निर्देशनभन्दा पनि महाधिवेशन प्रक्रिया स्वस्थ हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक
-
राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक
-
फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा
-
जातपात मान्ने कानुन र संविधानदेखि जातपात हटाउने कानुन र संविधानसम्म