बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की

मङ्गलबार, २० जेठ २०८२, १९ : ३३
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • माइक्रोबस चालकहरूले साझा यातायातलाई ललितपुरको गोदावरीसम्म सञ्चालन गर्न नदिन धम्की दिए।
  • यातायात व्यवसायीहरूको अनिश्चितकालीन बन्दका कारण सार्वजनिक यातायात अझै सञ्चालनमा आउन सकेको छैन।
  • गण्डकी प्रदेश सरकारको नियमावली स्थगन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडान छ।

काठमाडौँ । जमल हुँदै ललितपुरको गोदावरीसम्म सञ्चालन हुने साझा यातायातलाई बन्द पक्षधर माइक्रोबस चालकहरूले धम्की दिएका छन् ।

मंगलबार लगनखेल र हात्तीवनमा बसेका केही माइक्रोबस चालकले यातायात नचलाउन भन्दै साझा बस चालकलाई धम्की दिएका हुन् ।  

माइक्रोबस चालकले धम्की दिएसँगै उक्त स्थानहरूमा प्रहरी प्रहरी परिचालनका लागि अनुरोध भएको साझा यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले जानकारी दिए । 

सोमबारदेखि यातायात व्यवसायीले देशभर अनिश्चितलीन सार्वजनिक यातायात बन्दको घोषणा गरेसँगै आजपनि सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालनमा आएका छैनन् ।

सोमबार सरकारसँगको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भए पनि कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडानका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसकेको हो ।

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछिमात्रै आफूहरूका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरूले जनाएका छन् ।

यातायात समिति मातहतका सार्वजनिक यातायात बन्द भए पनि मंगलबार राजधानीमा साझा यातायात, मयुर यातायात र केही विद्युतीय बसहरू भने सञ्चालन भएका छन् । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठमाडौँमा निःशुल्क बस सञ्चालन गरेका छन् । 

यस्तै सार्वजनिक यातायात चल्न नसकेपछि सर्वसाधारणहरूले राइड सेयरिङ पनि व्यापक प्रयोग गरेका छन् । तर  सार्वजनिक सवारी साधन नचल्दा राइड सेयरिङले बढी भाडा लिने गुनासो प्रयोगकर्ताको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?