शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘अर्ग्यानिक कर्णाली’को आधार नै बनेको छैन

बुधबार, २१ जेठ २०८२, १० : ५२
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • कर्णाली प्रदेशमा सञ्चालित विषादी परीक्षण प्रयोगशालाको अध्ययनले स्थानीय उत्पादनमा अत्यधिक विषादी प्रयोग भएको देखाएको छ।
  • वीरेन्द्रनगरको तरकारी बजारमा विषादी भेटिएको, सल्यान, सुर्खेत र दैलेखबाट आएका तरकारीमा पनि विषादी भेटिएको पाइएको छ।
  • अर्ग्यानिक कर्णालीको आधार तयार नभएको र किसानलाई विषादी प्रयोगबारे सचेत गराउनुपर्ने कुरामा जोड दिइएको छ।

कर्णालीमा ०८१ कार्तिकमा केन्द्रको कृषि तथा पशुपंक्षी मन्त्रालयले वीरेन्द्रनगर नगरपालिका–६, बुलबुले नजिकै विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइयो । विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि हामीले गरेको अध्ययन अनुसार कर्णालीको स्थानीय उत्पादनमा अत्यधिक मात्रामा विषादीको प्रयोग भएको पाइएको छ ।

अन्य प्रदेशको तुलनामा कर्णालीका कृषि उपजमा विषादीको मात्रा कम होला, त्यो अर्को पाटो भयो । यद्यपि, कर्णालीलाई जुन रूपमा अर्ग्यानिक प्रदेश भनेर चर्चा–परिचर्चा भएको छ, त्यसको हकमा यहाँका कृषि उपजमा भेटिएका विषादी धेरै हो भन्ने मलाई लागेको छ । अहिलेसम्म गरेको १३ वटा नमुना परीक्षणमा ८ वटा त सुर्खेत जिल्लाभित्रकै कृषि उपजमा शतप्रतिशत विषादीको प्रयोग भएको पाइएको छ । यो निकै गम्भीर विषय हो ।

वैशाख ८ गते वीरेन्द्रनगरस्थित तरकारी बजारमा ८७० केजी काउलीमा अर्गानोफस्फेट नामक विषादी भेटियो । उक्त काउली कर्णालीकै सल्यान जिल्लाबाट ल्याइएको थियो । गत चैत २८ गते सुर्खेतको रहरपुरबाट ल्याइएको ४२ केजी फर्सी र सोही दिन वीरेन्द्रनगरकै झुप्रा खोलाबाट आएको ९० केजी काँक्रामा पनि पूर्ण रूपमा विषादी भेटियो । यस्तै वैशाख ३० गते कर्णालीकै प्रमुख तरकारी हब मानिने दैलेखकोे गुराँसे क्षेत्रबाट आएको फर्सीमा पनि शतप्रतिशत विषादी भेटियो । जेठ ७ गते सुर्खेत जिल्लाभित्रै उत्पादन भएको २२५ केजी काउलीमा पनि पूर्ण रूपमा विषादी भेटियो । यो हामीले छिटपुट गरेको नमुना परीक्षणमा मात्रै भेटिएको हो ।

प्रदेशमा भित्रिने सबै कृषि उपजमा परीक्षण गर्ने हो भने विषादी फेला पर्ने दर बढ्न सक्छ । सबै कृषि तथा तरकारी बजारहरूमा यसैगरी परीक्षण गर्ने हो भने छ्यापछ्याप्ती रूपमा विषादी भेटिने देखिन्छ । भन्ने वेलामा हामी अर्ग्यानिक छौँ, शुद्ध छ भन्ने गरिन्छ, तर त्यस्तो छैन भन्ने कुरा पछिल्ला रिपोर्टहरूले देखाउँछ ।

  • अर्ग्यानिक प्रदेशको आधार बनेको छैन

जहाँ पनि कर्णालीबारे धेरै सुनिने भनेको अर्ग्यानिक नारा हो । कर्णाली प्रदेश अर्ग्यानिक प्रदेश हो भनेर सबैतिर चर्चा भइरहेको छ । मेरो अनुभवमा अहिलेसम्मको अवस्था हेर्दा अर्ग्यानिक कर्णालीको आधार अझै तयार हुन सकिरहेको छैन ।

कात्तिक ४ गते हाम्रो कार्यालय उद्घाटन भएको थियो । हाम्रो एउटा समिति हुन्छ, त्यो समिति गठन गर्न केही ढिलाइ भयो । जसका कारण सचेतना सम्बन्धी कार्यक्रमहरू अझै गर्न सकिएको अवस्था छैन । अहिले राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरिरहेका छौँ । संयुक्त अनुगमनका काम पनि भइरहेका छन् । अहिलेसम्म फिल्ड र छड्के नमुना भनेर बराहताल, भेरीगंगा तथा दैलेखको गुराँसेबाट लिएका छौँ । त्यस बाहेकका अन्य ठाउँहरूमा अनुगमन गर्न सकिएको छैन । स्रोत–साधन सीमित भएकाले चाहेर पनि कतिपय काम गर्न नसकिने अवस्था छ ।

अर्ग्यानिक प्रदेश बनाउन सबैभन्दा पहिला किसानको तहदेखि नै अभिमुखीकरण कार्यक्रम तथा सचेतनामूलक गतिविधि गर्नुपर्छ । अर्ग्यानिक भनेको के हो भन्ने विषयमा सबै किसान जानकार नहुन पनि सक्छन् । उत्पादन स्थानीय नै गर्ने तर त्यसको प्रयोगबारे उनीहरू बेखर हुन सक्छन् । यो विषयमा किसानलाई जनचेतना फैलाउनुपर्छ । अहिले पनि धेरैजसो किसानमा विषादी नहालिकन कृषि उपजको उत्पादन राम्रो हुँदैन भन्ने सोच छ । यसलाई चिर्नका लागि पहिलो काम भनेकै जनचेतना फैलाउने हो ।

अर्को मुख्य कुरा, विषादी प्रयोगबारे पनि किसानहरू जानकार नभएको पाइन्छ । कति मात्रामा विषादी प्रयोग गर्ने ? समय कार्यतालिका कस्तो बनाउने भन्ने विषयमा उनीहरू सचेत नभएको देखिन्छ । यो कुरामा मात्रै सचेतना फैलाउन सकेको खण्डमा अहिलेको अवस्थामा भइरहेको विषादी प्रयोगको मात्रालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ कि भन्ने मेरो अनुभवले भन्छ ।

अर्को विषय भनेको कडा नीति अवलम्बन गर्नुपर्छ । कर्णाली प्रदेशमा भित्रिने नाकाहरूमा विषादीको अनुगमन गर्ने, धेरै प्रयोग भएकोलाई त्यहीँबाट फिर्ता गर्न सक्ने गरी कडाइ गर्न सकियो भने केही हदसम्म कम हुन्छ । अहिले हामीले नाकामा गएर अनुगमन गर्ने गरेको छैन । किनकि हामीसँग उपयुक्त मेसिनहरूको अभाव छ । नमुनाहरू सङ्कलन गरेर ल्याबमै लैजानुपर्ने अवस्था छ ।

कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने हो भने जैविक मलको प्रयोग गर्न किसानलाई सिकाउनुपर्छ । गोठेमल उत्पादन गर्ने तौरतरिका सिकाउने, किसानलाई प्रोत्साहन गर्ने काम गर्नुपर्छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तरर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ प्रमुख धनसिंह धामीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धनसिं धामी
धनसिं धामी
लेखकबाट थप