शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पर्यटनकर्मी तुलाचन र गुरूङ सम्मानित

बिहीबार, २२ जेठ २०८२, २० : ५२
बिहीबार, २२ जेठ २०८२

पोखरा । यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी सम्मानित भएका छन् । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले बिहीबार अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङलाई सम्मान गरेको हो ।

उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे ।

सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो । पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उनकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गत वर्ष ५ लाख ५१ हजार १११ प्रदान गरेकी थिइन् ।

यस वर्ष १ लाख थपेकी छन् । सोही अक्षयकोषबाट बर्सेनि पुरस्कार दिँदै जाने योजनाअनुरूप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले जानकारी दिइन् । ड्रागन होटलका सञ्चालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका अग्रज हुन् ।

यस्तै, दक्षिण एसियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन् । कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने बताए । उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको सुनाए । यस्तै, पाण्डेले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गरिने जानकारी दिए ।

पाण्डेको नेतृत्वमा नयाँ समिति

यसैबिच, टेवानको चौथो अधिवेशनबाट शोभा न्यौपाने पाण्डे सर्वसम्मत निर्वाचित भएकी छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे होटल एड्मायरकी सञ्चालक हुन् । उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्ष शारदा लम्साल चयन भए ।

वरिष्ठ सदस्यमा कमला गुरुङ छन् भने सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की सर्वसम्मत चयन भए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । पोखराका पर्यटन व्यवसायी महिलाहरूको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप