आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, २५ जेठ २०८२, ०४ : ५९
आइतबार, २५ जेठ २०८२

जेष्ठ २५ गते आईतबारदेखी जेष्ठ ३१ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । धार्मिक यात्राको योग रहेको छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । मङ्गलवार बुधबारको समय मध्यमय रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार, शेयर बजारमा सुझबुझका साथ लगानी गदा नाफा कमाउन सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यमय रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार, शेयर बजारमा साना लगानीकर्ताको लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । साताको अन्ततिर सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको अधिकांश समय राम्रो रहेकोले उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । व्यापार, शेयर बजारमा लगानी गर्दा प्रशस्त आम्दानी हुने महत्त्वपूर्ण कामहरू सम्पादन गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने यात्रा, भेटघाट तथा खानपानमा समय व्यातित हुनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । तर पनि घरजग्गा सम्बन्धी काममा मन्दी आउनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो समयदेखि थाती रहेको काम बन्नेछ । विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । सोमबार र मङ्गलवारको समय मध्यमय रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्न असहज हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग, शेयर बजार तथा व्यापारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । बिहीबार र शुक्रबार विशेष तथा गोप्य योजनाहरू केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको समय राम्रो रहेकोले कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरूमा सुधार भएर जाने योग रहेको छ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । विशिष्ट व्यक्तिबाट सम्मान पाइने ग्रहयोग रहेको छ । तर पनि जग्गासम्बन्धी विवादमा फस्ने योग रहेको छ । सवारी साधनमा यात्रा गर्दा मौसमको ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ । विदेशी सामानको व्यापार उल्लेख्य मात्रामा वृद्धि हुनेछ भने विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरण गतिलो योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको साथ तथा समर्थन रहनेछ । तर पनि स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा शेयर बजारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । मङ्गलवार र बुधबारको समय मध्यमय रहेकोले दैनिक खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले  मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बिहीबार र शुक्रबार स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ ।  आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाझिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ । साताको अन्ततिर सवारी साधनमा यात्रा मौसम तथा स्वास्थ्यको ध्यान दिनुहोला । लामो दुरीको यात्रा हुने भएपनि कष्टकर नहोला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु अर्थात सोमबार बिहानसम्मको समय मध्यमय रहेकोले हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने ग्रहयोग रहेको छ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्ने तथा काम गर्दा होस पुर्‍याउनु जरुरी देखिन्छ खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । सोमबार मध्यान्हबाट सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप