मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय
वार्षिकोत्सव विशेष

जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर

मङ्गलबार, २७ जेठ २०८२, ०० : ००
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • जेन-जी पुस्ताका कानुन व्यवसायीहरू अदालतमा सक्रिय छन् र उनीहरूले अदालती अनुभव र अध्ययन बीचको भिन्नता अनुभव गरेका छन्।
  • नयाँ अधिवक्ताहरूले वकालत सुरु गर्न कठिनाइ, न्यायाधीशको कम विश्वास, र किताबी ज्ञानमा सीमितता जस्ता चुनौतीहरूको सामना गर्छन्।
  • अधिवक्ता र विद्यार्थीहरूले रिट निवेदनमार्फत सार्वजनिक सरोकारका विषयहरूमा आवाज उठाएका छन्, तर उनीहरूले कक्षाकोठा र अदालतको अनुभवमा भिन्नता पाएका छन्।

काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका व्यक्तिलाई जेन–जी पुस्ताका रूपमा चिनिन्छ । यिनीहरूलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ, किनभने यो इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र प्रविधिसँगै हुर्किएको पुस्ता हो । प्रविधिमा निर्भर, सामाजिक सञ्जालमा सक्रिय र अतिरिक्त क्षमताका कारण यिनीहरू अघिल्ला पुस्ताभन्दा फरक मानिन्छन् ।

यो पुस्ता मतदान गर्न योग्य हुँदै गएकाले आगामी राजनीतिक परिदृश्य निर्धारणमा पनि भूमिका निर्वाह गर्नेछ । राजनीति, उद्यम, कला, स्टार्टअपसँगै न्याय सेवामा पनि यो पुस्ता सक्रिय हुँदै गएको छ । ३२ औँ अधिवक्ता परीक्षा उत्तीर्ण ९०० कानुन व्यवसायीले हालैमात्रै प्रमाणपत्र लिएका छन् । तीमध्ये धेरै जेन–जी पुस्ताका छन् । 

युवा अधिवक्तासहित कानुन पढिरहेका विद्यार्थीहरूसमेत विभिन्न सार्वजनिक सरोकारका विषयमा रिट निवेदनसहित अदालत पुगेर महत्त्वपूर्ण आदेश गराउन सफल भएका छन् । तिनै अधिवक्ता र कानुनका विद्यार्थीसँग अदालत अनुभवबारे हामीले कुरा गरेका छौँ ।

  • ‘नयाँलाई विश्वास गरिहाल्दैनन्’

अधिवक्ताको लाइसेन्स लिए लगत्तै फर्म सुरु गर्न कठिन हुने, आँट नआउने अधिवक्ता महेन्द्र भट्ट बताउँछन् । त्यसवेला आफूले पनि एक जना चिनेका दाइको फर्ममा काम गरेर वकालतको काम सिकेको उनले बताए । आफूले काम सुरु गरेको ६ महिनामै ती दाइ न्यायाधीश नियुक्त भएपछि फर्म सञ्चालनको जिम्मेवारी आफ्नो काँधमा आएको, त्यसवेला कठिन भएको उनी बताउँछन् ।

क्याम्पसमा अदालती अभ्यासका लागि नमूना बहस र पाठ्यक्रमको अभ्यासका लागि केही कानुनी छलफल हुने गर्छन्, तर तिनको सम्बन्ध वास्तविक अभ्याससँग नदेखिने उनको अनुभव छ ।

‘राम्रोसँग सिकिसकेको थिइनँ, सुरुमा केही कठिनाइ भयो,’ उनले भने ।

अदालतमा बहस गर्दा अध्ययनभन्दा निकै भिन्न महसुस गरेको भट्टको अनुभव छ । वकालतका लागि नयाँ तथ्य, खोज, नजिर, कानुनी व्यवस्था खोज्नुपर्ने उनको भनाइ छ । त्यसैले पनि अध्ययन र अदालतको अनुभव फरक हुने उनले बताए ।

यसबाहेक न्यायाधीशहरूले नयाँलाई त्यति विश्वास नगर्ने अनुभवसमेत आफूले गरेको भट्ट बताउँछन् । ‘तथ्यसहित हामीले भनेको कुरालाई न्यायाधीशहरूले त्यति विश्वास नगरेजस्तो महसुस भएको छ । तर, त्यही कुरा वरिष्ठ अधिवक्ताहरूले भन्दा विश्वास गरेजस्तो हुन्छ,’ उनले भने ।

  • ‘किताबी ज्ञानमै सीमित’

अधिवक्ता विवेक बख्रेलसहित कानुनका विद्यार्थीले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्दा कारबाही गरिएको जिकिरसहित यस्तो कार्य संविधानको प्रतिकूल हुने दाबी गर्दै रिट निवेदन दर्ता गराए । उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

हालै अधिवक्ताको लाइसेन्स प्राप्त गरेका बख्रेल ३२ औँ ब्याच हुन् । आफूले गरेको अध्ययन र अदालतमा हुने परिदृश्यमा फरक अनुभूति गरेको उनले बताए ।

बख्रेलले भने, ‘अध्ययनका क्रममा विभिन्न कानुन र कानुनी सिद्धान्तहरू पढिन्छ र त्यस विषयमा चर्चा तथा बहस पनि गरिन्छ । तर पढ्ने र पढाउने शैली मैले स्कुलभन्दा फरक भेटिनँ । पछि बुझ्दै जाँदा सबै कानुन पढाउने क्यम्पस तथा कलेजको शैली एकै प्रकारको रहेको थाहा पाएँ । किताबी ज्ञानमै सीमित रहेको पाइयो ।’

अधिवक्ता आँचल अधिकारी अन्याय, महिला हिंसा, बालश्रम, लैंगिक विभेद देखेर्र सानैदेखि आफ्नो मनमा प्रश्न उब्जिएको बताउँछिन् ।

क्याम्पसमा अदालती अभ्यासका लागि नमूना बहस र पाठ्यक्रमको अभ्यासका लागि केही कानुनी छलफल हुने गर्छन्, तर तिनको सम्बन्ध वास्तविक अभ्याससँग नदेखिने उनको अनुभव छ । ‘वकालत पेसाको वास्तविक ज्ञान र वास्तविक अभ्याससँग हामीहरूलाई सधैँ टाढा नै राखियो ।’

आफू अदालत पुग्न थालेपछि बल्ल कानुन व्यवसायको यथार्थ थाहा पाएको बख्रेल बताउँछन् । ‘वकिलहरूको ल फर्ममा काम गर्दामात्र मैले यो थाहा पाएँ कि कानुनी छलफल र अदालती बहस त वकालत पेसाको एउटा सानो हिस्सामात्र हो । त्यो बाहेक पनि धेरै कुरा छन्, जुन पेसामा उत्रेपछि मात्र थाहा हुने रहेछ ।’

अध्ययन र अभ्यास सँगै गरेकाले केही सिक्ने अवसर उनले पाए । उनले पाँचौँ वर्षमा अध्ययन गर्दा ३ वटा सार्वजनिक सरोकारको विषयमा मुद्दा पनि दर्ता गरे– कैदीबन्दीहरूलाई कानुन व्यवसायीहरूसँग गोप्य परामर्श लिन पाउने अधिकारको लागि, शाकाहारी व्यक्तिहरूको धार्मिक आस्थाको संरक्षणका लागि र फुटपाथ व्यवसायीहरूको स्वतन्त्रताको हकका लागि । अनि वकालतको प्रमाणपत्र पाउनुअघि विद्यालय परिसरमा नेपाली भाषा बोल्दा जरिवाना गराउने कार्यविरुद्ध संयुक्त रिट पनि उनले दायर गरे । 

अदालत अनुभवपछि उनी पेसाको बारेमा ज्ञान लिन पेसामै भिज्नुपर्ने निष्कर्षमा पुगेका छन् । किताबी अध्ययन पेसाको एक सानो हिस्सामात्रै भएको उनको बुझाइ छ । विश्वविद्यालयले आफ्नो पढाउने शैली परिवर्तन गर्न जरुरी रहेको र वास्तविक वकालत अभ्यास गराउन पनि जरुरी भएको उनी बताउँछन् ।

  • ‘चुनौती सामना गर्न वकालत’

अधिवक्ता आँचल अधिकारी अन्याय, महिला हिंसा, बालश्रम, लैंगिक विभेद देखेर्र सानैदेखि आफ्नो मनमा प्रश्न उब्जिएको बताउँछिन् । ‘यिनलाई कसरी रोक्ने ?’ भन्ने सोचेर नै आफू कानुनको विद्यार्थी बनेको उनको भनाइ छ ।

समाज त्यस्ता घटनामा मौन हुन सिकाउँथ्यो, तर उनको अन्तर्मन बोल्न चाहन्थ्यो । केही गर्न चाहन्थ्यो । यसैक्रममा उनले कानुन पढेर यस्ता घटना रोक्ने सङ्कल्प गरिन् । तर उनका लागि यो निर्णय सहज थिएन । किनकि उनी कुनै विरासतबाट यो क्षेत्रमा आएकी थिइनन्, परिवारमा कानुन पढ्ने उनी पहिलो सदस्य हुन् । 

अधिवक्ता स्वस्ति अधिकारीका लागि पनि अधिवक्तासम्मको यात्रा सहज थिएन । आफ्नो हजुरबुबाबाट प्रेरित भएर कानुन पढ्न आएको उनको भनाइ छ ।

कानुन पढ्दा उनी आफूलाई सबल र सचेत महसुस गर्न थालिन् । मोक ट्रायल, अदालत अवलोकन, अनुसन्धान लेखनजस्ता अभ्यासले व्यावहारिक ज्ञान दिलायो । अदालत अवलोकन गर्दा उनलाई पाठ्यक्रम भारी र अपूरा लाग्थ्यो । यसबिचमा केही पूर्वाग्रह पनि उनले सामना गर्नुपर्‍यो । 

आँचल भन्छिन्, ‘केटी भएर मुद्दा लड्न सकिन्छ र ? कानुन त पुरुषको क्षेत्र हो नि ! यस्ता वाक्यहरूले कहिलेकाहीँ मन दुखाउँथ्यो । तर ती शब्दलाई मैले चुनौतीको रूपमा लिएँ ।’

अदालत र अध्ययनको अनुभूति केही फरक भए पनि उनी परिवर्तनको हुटहुटी लिएर वकालत पेसामा प्रवेश गरेको बताउँछिन् । 

  • ‘अभियोजनको पाटो जटिल’

अधिवक्ता रोजिना आचार्य क्षेत्री नेपाल बार काउन्सिलद्वारा सञ्चालित ३२ औँ अधिवक्ता तहको परीक्षामा सर्वोत्कृष्टमा नाम निकाल्न सफल भइन् । उनको अदालत अनुभव पनि अध्ययनभन्दा केही भिन्न छ । बाहिरबाट हेर्दा अदालत रमाइलो देखिए पनि भित्र केही जटिलता हुने उनले बताइन् ।

विशेषगरी अभियोजन पाटो नै जटिल रहेको महसुस उनले गरेकी छन् । कोही पक्ष केही विषयमा बुझ्न आएमा अनुभवविना बोलिहाल्न कठिन हुने र यसका लागि अग्रज पुस्तालाई सोध्न आवश्यक हुने रोजिना बताउँछिन् । कतिपय अवस्थामा केही सहयोगी भए पनि केही भने सहयोग नगर्ने खालको पनि भेटेको उनको अनुभव छ । 

  • ‘सामाजिक सोच र दृष्टिकोणसँग जुध्नुपरेको छ’

अधिवक्ता स्वस्ति अधिकारीका लागि पनि अधिवक्तासम्मको यात्रा सहज थिएन । आफ्नो हजुरबुबाबाट प्रेरित भएर कानुन पढ्न आएको उनको भनाइ छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले थारू समुदायसँग सम्बन्धित ऐनको प्रावधानलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरे ।

लमजुङमा हजुरबुबा सेवानिवृत्त भएपछि गाउँमा कानुनी कागजात तयार पार्ने, वृद्धवृद्धालाई पेन्सन दिलाउन सहयोग गर्ने र समस्यामा परेकालाई निःशुल्क सहयोग गर्ने गरेको देखेर आफू कानुन विषयप्रति आकर्षित भएको अधिकारीले बताइन् । ‘कतिपटक त म आफैँसँग सोध्थेँ– के म सक्छु ?,’ उनले भनिन्, ‘किनकि मैले भोगेको सामाजिक व्यवहार, दृष्टिकोण र व्यावसायिक सङ्घर्ष अत्यन्त कठिन थियो ।’

परामर्शका क्रममा कतिपय पुरुष सहकर्मीले अनावश्यक टिप्पणी गर्ने, अनुचित दृष्टिकोण राख्ने र कहिलेकाहीँ पेसागत प्रतिबद्धतालाई गलत रूपमा व्याख्या गर्ने प्रयास गरेको अनुभव पनि उनको छ । कानुनी पेसामा सक्रिय भई सामाजिक सोच र दृष्टिकोणसँग जुध्नुपर्ने अवस्था पटक–पटक आएको उनले बताइन् । अदालतमा मात्रै नभएर यो क्षेत्रमा अन्य धेरै ठाउँमा उबडखाबड भएको उनले महसुस गरेकी छन् ।

हाल कानुनी अभ्यासमा सक्रिय उनले कुरा सिक्ने अवसर पाइरहेको बताइन् । अदालतमा प्रत्यक्ष रूपमा उपस्थित भएपछिमात्र आफूले अहिलेसम्म गरेको अध्ययन र अदालतका बिच के–कति भिन्नता छ भन्ने महसुस गरेको उनको भनाइ छ ।

  • ‘वकिलको लाइसेन्स नभए पनि बहस’

कानुनका विद्यार्थी विवेक चौधरीले थारू समुदायसँग सम्बन्धित ऐनको प्रावधानलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्च अदालतको इजलासमा हुने कारबाही प्रत्यक्ष प्रसारण गर्नुपर्ने, ट्राफिक प्रहरीले चाबी खोस्न तथा लाइसेन्स र ब्लुबुक कब्जामा लिन रोक लगाउनुपर्ने, संविधानलाई ब्रेल भाषामा प्रकाशन गर्नुपर्ने लगायतका मागसहित उनले रिट दायर गरे । उनले दायर गरेका सात वटा रिट अझै विचाराधीन छन् ।

साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरलगायत पढ्ने सोचेका चौधरीले कानुन पढ्ने योजना नै बनाएका थिएनन् । सार्वजनिक चासो र सरोकारका विषयमा रिट निवेदन लिएर न्याय क्षेत्रमा प्रवेश भएपछि बल्ल कानुन विषयको महत्त्व बुझेको उनी बताउँछन् । 

कानुनका विद्यार्थी विकास यादवले आफू हुर्किएको समाज र परिवेशबाट नै कानुनको विद्यार्थी बन्न प्रेरित गरेको बताए ।

रिट दायरकर्ताले अदालतमा विनालाइसेन्स आफ्नो कुरा राख्न पाउने व्यवस्थाअनुसार चौधरीले आफ्ना रिटहरूमाथि बहस गरे । पहिलो पटक अदालतमा बहस गर्दा अप्ठ्यारो अनुभव भएको उनले बताए ।

सुरुवातमा न्यायाधीशका प्रश्न सामना गर्न मनोवैज्ञानिक दबाब महसुस भएको चौधरीको भनाइ छ । आफूले गरेका तर्कको कानुनी आधार प्रस्तुत गर्नुपर्दा सुरुमा आत्मविश्वास कम भएको महसुस गरे । प्रारम्भिक दिनमा असहज अनुभव गरे पनि अदालतमा हुने सुनुवाइले आफूलाई परिपक्व बनाउँदै लगेको उनले बताए । समयसँगै न्यायको लडाइँमा दृढता आउने र अनुभवले आत्मविश्वास बलियो बनाउने उनी बताउँछन् ।

अदालतमा प्रवेश गरिसकेपछि न्यायाधीशहरूको निष्ठा, इमानदारी र न्यायप्रतिको प्रतिबद्धता अवलोकन गरेको चौधरी बताउँछन् । ‘कानुन पढ्दा यो केवल करियर बनाउने माध्यम होइन, समाज रूपान्तरण गर्ने साधन हो भन्ने बुझेँ,’ उनले भने, ‘अदालतको अनुभवले यो पेसा हैन, जनताको अधिकार हो । त्यसलाई बुझ्न र अभ्यास गर्न सकेमात्रै कानुनको सम्मान हुन्छ भन्ने बुझेँ ।’

  • ‘समाजलाई बुझ्ने मौका’ 

कानुनका विद्यार्थी विकास यादवले आफू हुर्किएको समाज र परिवेशबाट नै कानुनको विद्यार्थी बन्न प्रेरित गरेको बताए । ‘मैले सानैदेखि कसरी पैसा र शक्तिको छायामा न्याय दबिने रहेछ भन्ने देखेँ,’ उनले भने, ‘यो देखेपछि ठुलो भएर न्यायका क्षेत्रमा काम गर्ने सपना जागृत भयो ।’

कानुन आफ्ना लागि अध्ययनको एउटा विषयमात्र नभएर खोजको यात्रा भएको यादव बताउँछन् । 

यसैबिच उनले विभिन्न जनहितका विषयमा रिट दायर गरे । आफैँ अदालतमा उपस्थित भएर त्यसबारे तर्क पेस गरे । दुर्गम क्षेत्रमा शिक्षाको पहुँच विस्तार, वातावरणीय प्रदूषण नियन्त्रण, महिला हिंसा न्यूनीकरण र स्वास्थ्य सेवाको सुधारलगायत विभिन्न क्षेत्रमा जनहितका विषयमा उनले रिट दायर गरे । त्यसरी रिट लिएर अदालत पुग्दा आफूलाई कानुनी अनुभव मात्रै होइन, समाजलाई बुझ्ने मौका पनि दिएको उनको भनाइ छ ।  

न्यायप्रणालीको भित्री संरचना, प्रक्रियागत जटिलता र सार्वजनिक न्याय प्राप्तिको वास्तविक अवस्था बुझ्न कानुनी अभ्यास अत्यावश्यक रहेछ भन्ने विभिन्न रिटको अनुभवबाट थाहा पाएको बडालको भनाइ छ । 
  • ‘कक्षाकोठा र अदालतमा धेरै पृथकता छ’

कानुनका विद्यार्थी नारायण पोखरेल अदालतमा प्रत्यक्षरूपमा प्रस्तुत हुँदा आफूलाई पढाइएका, सिकाइएका र आफूले प्राप्त गरेको शिक्षा अपूर्ण महसुस गरेको बताउँछन् । उनले भने, ‘कक्षाकोठा र अदालतबिचको पृथकता हाम्रो ज्ञानपद्धतिमै देखिन्छ ।’

कक्षाकोठा धेरै सुन्ने, बुझ्ने र चिन्तन गर्ने थलो भएको र अदालतमा बहस गर्ने स्थान भएकाले दुवै अनुभव भिन्न हुने उनी बताउँछन् । ‘न्यायाधीशलाई स्पष्ट पार्ने र आफ्नो पक्षलाई राहत हुने गरी पैरवी गर्नुपर्ने भएकाले व्यवहारतः हामी एउटा ज्ञानपद्धतिबाट पढ्छौँ तर अर्कै पद्धतिमा अभ्यास गर्छौं भन्ने बुझेँ,’ उनले भने । 

क्रिटिकल भएर आलोचत्नामक रूपले कुनै पनि धारणालाई नियालेर अध्ययन गर्ने प्रचलन नेपालमा नभएर होला, अदालतमा जाँदा कताकता आफूमै स्पष्टता नभएकोजस्तो अनुभूति हुने पोखरेलको भनाइ छ ।

  • ‘पढाइले आदर्श सिकाउँछ, अदालतले यथार्थ’

कानुनका विद्यार्थी आयुष बडाल कानुनी शिक्षाका क्रममा विधिको शासन, मौलिक अधिकारको प्रत्याभूति, नागरिक स्वतन्त्रता र न्यायमा सहज पहुँचजस्ता विषयवस्तु पढाइनेमा व्यवहारतः अभ्यासमा भने केही फरक हुने अनुभूति सुनाउँछन् । त्यतिवेला कानुनको आदर्श र व्यावहारिक पक्षबिचको दूरी एकदमै स्पष्ट रूपमा अनुभव हुने उनले बताए ।

न्यायप्रणालीको भित्री संरचना, प्रक्रियागत जटिलता र सार्वजनिक न्याय प्राप्तिको वास्तविक अवस्था बुझ्न कानुनी अभ्यास अत्यावश्यक रहेछ भन्ने विभिन्न रिटको अनुभवबाट थाहा पाएको बडालको भनाइ छ । 

उनले कानुनी शिक्षाले तथ्य र सिद्धान्त सिकाउने तर अभ्यासले वास्तविकता, संयमता र सहनशीलता सिकाउने बताए । ‘विश्वविद्यालयले हामीलाई कानुनको आदर्श सिकाउँछ, तर अदालतले कानुनको यथार्थ देखाउँछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप