बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वार्षिकोत्सव विशेष

विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?

मङ्गलबार, २७ जेठ २०८२, ०० : ००
मङ्गलबार, २७ जेठ २०८२

सारांश

  • १९९७ देखि २०१२ बीच जन्मेका युवा पुस्ता 'जेन-जी' को नेपालको विकास सम्बन्धी सोच बुझ्न पुल्चोकका विद्यार्थीसँग कुराकानी गरियो।
  • विद्यार्थीहरूले प्रविधिको प्रयोगबाट विकासको गति बढाउन सकिने धारणा राखे, डिजिटल बैंकिङ र अनलाइन शिक्षालाई सजिलो माने।
  • पूर्वाधार विकासमा जोड दिँदै, युवा पुस्ताले सडक, यातायात र प्रविधिलाई अझै उन्नत बनाउनुपर्ने र दिगो विकासमा जोड दिनुपर्ने धारणा राखे।

काठमाडौँ । सन् १९९७ देखि २०१२ का बिच जन्मिएको पुस्तालाई ‘जेन–जी’ भनिन्छ । प्रविधिसँगै हुर्किएको यो पुस्ताको सोच र बुझाइ अन्यको भन्दा भिन्न छ ।

नेपालको विकासबारे यो पुस्ताको बुझाइ र अपेक्षा कस्तो छ भन्ने जान्नका लागि हामीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत केही विद्यार्थीसँग कुराकानी गरेका छौँ । उनीहरूसँग १२ वर्ष यता भएको विकासबारे हामीले जान्ने प्रयास गरेका छौँ । यसका अतिरिक्त उनीहरूको विकासको मोडेल कस्तो हो भन्ने पनि हामीले बुझ्ने प्रयास गरेका छौँ ।

कम्प्युटर इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी अशोक विक ‘जेन–जी’ पुस्ताका युवा हुन् । उनी अहिलेको युगमा प्रविधिको भरपुर प्रयोग गरेरै विकासको गतिलाई बढाउन सकिने तर्क गर्दछन् ।

आफूभन्दा अघिल्लो पुस्ता युवा छँदा इन्टरनेटबारे थाहै नपाएको जिकिर गर्दै विकले भने, ‘अहिले इन्टरनेटको युग आइसकेको छ । सबैजसो काम इन्टरनेटको माध्यमबाट हुन्छ ।’

डिजिटल बैंकिङ, अनलाइन पढाइ, अनलाइनबाटै धेरैजसो काम हुने भएकाले सजिलो भएको उनको भनाइ छ ।

नेपालको सन्दर्भमा आईटी (सूचना प्रविधि) क्षेत्रले छोटो समयमै ठुलो फट्को मारेको विक सुनाउँछन् । ‘अन्य क्षेत्रमा यति छिटो विकास भएको छैन,’ उनले भने, ‘तर आइटी सेवाको निर्यातबाट नेपालमा ठुलो रकम भित्रिएको छ ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसमै अध्ययनरत असिम नेपाल पनि आइटी क्षेत्रको विकासले थोरै समयमा निकै फट्को मारेको सुनाउँछन् ।

शिक्षामा पनि अब पुस्तक मात्र नभएर सिकाइका लागि अनलाइनमा विभिन्न सन्दर्भ सामग्री र जानकारी पाइने विकले बताए । ‘पहिला बैंकमा पुगेर घण्टौँ कुरेरमात्र पैसा निकाल्न पाइन्थ्यो, तर अहिले मोबाइलबाट एकैछिनमा आर्थिक कारोबार हुन्छ,’ उनले भने ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमै अध्ययनरत असिम नेपाल पनि आइटी क्षेत्रको विकासले थोरै समयमा निकै फट्को मारेको सुनाउँछन् । कम्प्युटर इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत उनी १२ वर्ष यता अधिकांश नागरिकको हातमा मोबाइल पुगेको र सूचना प्रविधिसँग जोडिन सफल भएको तर्क गर्छन् ।

‘यो अवधिमा प्रविधिले फट्को मारेको छ । अब त लोकल भाषामा एआईले जबाफ दिन्छ । हरेक क्षेत्रको समस्याको समाधान दिन्छ,’ उनले भने ।

पहिला हलो जोतेर खेती हुने गरेकोमा अहिले विभिन्न उपकरण आइसकेको नेपालले बताए । कृषि, स्वास्थ्य, शिक्षामा प्रविधिको प्रभाव गहिरिँदै गएको उनको भनाइ छ ।

रिसर्च, अन्वेषण, र एक्सपर्टिजमा आधारित ‘सेल्फ इम्प्लोइड’ मानसिकता विकास भइरहेको चर्चा गर्दै नेपालले भने, ‘प्रविधि भनेको अब सफ्टवेयरमात्र होइन, सम्भावनाको संसार हो ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कन्स्ट्रक्सन म्यानेजमेन्ट विषय लिएर स्नातकोत्तरमा अध्ययनरत काठमाडौँ, बबरमहलका बिराज अर्याल १२ वर्ष अघिको तुलनामा अहिले प्रविधि मात्र नभएर पूर्वाधारमा समेत निकै विकास भएको बताउँछन् । यद्यपि, आफूहरूको पुस्ताका लागि त्यो विकास पर्याप्त नभएको उनको बुझाइ छ ।

‘मैले थाहा पाउँदा माइतीघरमा सडक विस्तार हुँदै थियो,’ अर्यालले भने, ‘सवारी चाप अत्यधिक थियो । धुलो र जामले जनजीवन कष्टकर थियो । आज अधिकांश सडक कालोपत्रे छन्, करिडोर बनिसकेका छन् ।’

पहिला कालोपत्रे भएको थोरै समयमै सडकमा खाल्डो पर्ने गरेको तर अहिले त्यो दर पनि घटेर १०–२० प्रतिशतमा झरेको अर्यालले बताए । ‘काठमाडौँभित्रका सडक पूर्वाधारका काम गुणस्तरीय हुँदै गएको पाइन्छ,’ उनले भने, ‘काठमाडौँ बाहिर पनि सडक पूर्वाधारको विकास भएको छ । बझाङ, बाजुराजस्ता विकट मानिने जिल्लामा समेत वडा–वडासम्म सडक पुगेका छन् ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह चौथो वर्षमा सिभिल इन्जिनियरिङ विषय लिएर अध्ययनरत आदर्श कँडेल पछिल्लो ५–६ वर्षमा पूर्वाधार विकासले गति लिएको बताउँछन् ।

सडक पूर्वाधारमा मात्र नभएर यातायातका अन्य क्षेत्रको विस्तारमा ध्यान दिनुपर्ने समय आइसकेको अर्यालले बताए । ‘नेपाल अहिले पनि सडक र पुलको विकासमै सीमित छ,’ उनले भने, ‘छिमेकी मुलुक भारत, चीनलगायतमा बुलेट ट्रेन, मानोरेल, पोडवे जस्ता अत्याधुनिक प्रविधिको विकास भइसकेको छ । हामी अझै बाटो कालोपत्रे भएकोमै खुसी हुनुपर्ने अवस्था छ ।’

उनले नेपालका सहरी क्षेत्रमा मोनोरेल, मेट्रो, फ्लाईओभर, स्मार्ट ट्राफिक सिस्टम आवश्यक भएको बताए । ‘विभिन्न मुलुकमा ६–लेन सडक, फ्लाईओभर, मोनोरेल, मेट्रोरेल, पोडवे जस्ता यातायातका साधन देख्छौँ तर हाम्रोमा छैन,’ उनले भने, ‘नेपालमा पनि त्यस्ता ट्रान्सपोर्टेसन माध्यमहरूको विकास हुनुपर्छ ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह चौथो वर्षमा सिभिल इन्जिनियरिङ विषय लिएर अध्ययनरत आदर्श कँडेल पछिल्लो ५–६ वर्षमा पूर्वाधार विकासले गति लिएको बताउँछन् । दाङको तुल्सीपुर घर भएका उनी सडक, हाइड्रोपावरमा लगानी, सुरुङमार्ग र काठमाडौँ–तराई फास्ट ट्रयाकजस्ता परियोजना सुरु भएको तर्क गर्छन् । ‘जनताका माग अनुसार भएन होला, त्यो अर्कै कुरा हो । कामचाहिँ भएको छ,’ उनले भने ।

कँडेलले काम ढिलो सुरु हुने, समयमा नसकिने, कमजोर प्रविधि र व्यवस्थापन, स्थानीयको विरोध, अव्यवस्थित मुआब्जा जस्ता समस्यालाई औँल्याए । विकासको गतिलाई बजेटको अभाव र आयात निर्भर अर्थतन्त्रले प्रभावित गरेको उनको भनाइ छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहको सिभिल इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत अल्बर्ट ढकाल चितवनमा सबैभन्दा छिटो विकासको प्रभाव देखिएको अनुभव सुनाउँछन् । चितवनमै जन्मिएका उनले भने, ‘१० वर्ष अगाडि चितवनका शाखा सडक कालोपत्रे थिएनन् । अहिले लगभग सबै क्षेत्रमा कालोपत्रे सडक पुगेको छ ।’

यद्यपि, विकासको यो रफ्तार उत्साहजनक भने नरहेको उनले बताए । अन्य देशमा प्रविधियुक्त विकासले फट्को मारिसकेको तर्क गर्दै उनले नेपालका धेरै ठाउँमा अझै सडक नपुगेको बताए । यसलाई विकासको असमानताका रूपमा उनी चित्रण गर्छन् । कतै सबैजसो सडक पक्की बनिसक्नु, कतै कच्ची सडकको अवस्थासमेत राम्रो बनाउन नसक्नुलाई असमान विकासको नमुना मान्नुपर्ने उनले बताए ।

विकासले जनताको स्तरमा सुधार ल्यायो कि ल्याएन भन्ने नै प्रमुख सूचक रहने उनले बताए ।
  • के हो विकास ?

विकास केवल ठुला पुल, सडक वा भवन निर्माणमा सीमित नहुने अशोक विक बताउँछन् । उनले भने, ‘विकास भन्नाले कसैलाई बाटो, कसैलाई रोजगारी, कसैलाई खाने–लाउने सुविधा हुन सक्छ । विकास भनेको अवसर हो । त्यो पनि सहज, सुलभ र सबैका लागि पहुँचयोग्य अवसर ।’

असिम नेपाल पनि विकास भन्ने बित्तिकै अधिकांशको ध्यान सडक, पुल, भवन, विद्युत्, खानेपानीतर्फ जाने गरेको बताउँछन् । अहिलेको पुस्ताले विकासलाई त्यसरी नहेर्ने उनले बताए । उनले भने, ‘भौतिक पूर्वाधारमात्र विकास हो भन्ने बुझाइ एक किसिमको सीमित सोच हो । विकास भनेको क्षमता अभिवृद्धि, पारिवारिक सिपको समुन्नति र त्यसको प्रविधिमार्फत बजारमा रूपान्तरण हो ।’

बिराज अर्याल पनि सडक बनाउनुमात्र विकास नहुने तर्क गर्छन् । ‘विकासले जनताको जीवनमा सहजीकरण ल्याउनुपर्छ,’ उनले भने, ‘विकास भनेको संरचनामात्र होइन, त्यसको प्रभाव र उपयोगिता पनि हो ।’

विकासले जनताको स्तरमा सुधार ल्यायो कि ल्याएन भन्ने नै प्रमुख सूचक रहने उनले बताए । सडक विस्तार, कालोपत्रे र करिडोर निर्माणलाई विकासका दृष्टिले सकारात्मक माने पनि गुणस्तर, दीर्घकालीन योजना र समावेशी सोचको अभाव रहेको उनको भनाइ छ ।

आदर्श कँडेल ‘विकास’ शब्द आफैँमा फराकिलो भएको तर्क गर्छन् । ‘यसको अर्थ केवल भौतिक पूर्वाधारमा सीमित हुँदैन,’ उनले भने, ‘भौतिक पूर्वाधार विकासको एक पक्ष हो, तर अर्कोतर्फ जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सफा वातावरण र सामाजिक सुरक्षालाई पनि समेट्नुपर्छ ।’

सय मुरी धान फलाउने किसानको छोराछोरीले एग्रिकल्चर इन्जिनियरिङ विषयमा ‘एआई इन एग्रिकल्चर’ जस्ता अनुसन्धान गर्नुपर्ने र रिसर्चमार्फत उसले डेढ सय मुरी धान फलाउन सक्ने व्यवस्था सरकारले गरिदिनुपर्ने नेपालको तर्क छ ।

जनताको आधारभूत आवश्यकता पूरा हुने र उनीहरूको जीवन सहज तथा सुरक्षित बन्ने खालको व्यवस्था नै वास्तविक विकास हुने कँडेलको भनाइ छ । ‘भौतिक संरचना त देखिने विकास हो, तर जनतालाई प्रत्यक्ष लाभ पुग्ने सेवा र सुविधा समेटिएको विकास नै दिगो र सार्थक विकास हो,’ उनले भने ।

अल्बर्ट ढकाल पनि नेपालमा विकास भनेको सडक बनाउनुमात्र रहेको बुझाइ व्याप्त देखिएको बताउँछन् । ‘त्यो बुझाइ अधुरो हो,’ उनले भने, ‘विकास केवल सडक, भवन वा पुलमात्र नभएर व्यक्तिको आवश्यकता पूरा हुनु हो । व्यक्तिको दक्षता प्रयोग गरेर काम गर्नु पनि विकास हो । सडक आफैँमा विकास होइन, सडकबाट जनताले के पाए  भन्ने विकास हो ।’

  • पूर्वाधार विकासमा जेन–जीको अपेक्षा

अबको शिक्षा प्रणालीमा सानैदेखि आईटीको ज्ञान दिनुपर्ने विकको तर्क छ । उनको बुझाइमा, बालबालिकालाई डिजिटल युगका लागि तयार पार्न प्रारम्भिक तहमै डिजिटल साक्षरता र साइबर सुरक्षाजस्ता विषय सिकाउन आवश्यक छ ।

‘अहिले पनि केही स्कुलले कम्प्युटर पढाउँछन्, तर त्यो अझै व्यापक छैन । अब त कक्षा ८ देखिमात्र होइन, झन् तल्लो तहदेखि नै डिजिटल साक्षरताको सुरुवात हुनुपर्छ,’ उनले भने, ‘अहिलेको डिजिटल वर्ल्डमा पढ्न, काम गर्न, सेवामा पहुँच पाउन सबैतिर डिजिटल माध्यम चाहिन्छ । त्यसैले यसतर्फ सरकारले नीतिगत रूपमै कार्यान्वयन गर्नुपर्छ ।’

असिम नेपाल भने विद्यार्थीलाई रिसर्च बेस्ड बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउँछन् । ‘हाम्रो शिक्षाले अझै पनि थ्यौरीलाई महत्त्व दिइरहेको छ । अबचाहिँ सोचाइ फेरिनुपर्छ । विद्यार्थीले आफ्नो विषयमा गहिरो अनुसन्धान गरून् । त्यसको प्रयोगबाट सिधा देशको उत्पादनशीलता बढोस्,’ उनले भने ।

सय मुरी धान फलाउने किसानको छोराछोरीले एग्रिकल्चर इन्जिनियरिङ विषयमा ‘एआई इन एग्रिकल्चर’ जस्ता अनुसन्धान गर्नुपर्ने र रिसर्चमार्फत उसले डेढ सय मुरी धान फलाउन सक्ने व्यवस्था सरकारले गरिदिनुपर्ने नेपालको तर्क छ ।

उनकाअनुसार नेपालका सांस्कृतिक सम्पदा, लोक संगीत, पारम्परिक सिप र हस्तकलामा डिजिटल रूपान्तरणले विश्व बजारमा नयाँ सम्भावना खोल्न सक्छ । अहिलेको टेक प्रविधि वेबसाइट बनाउन, सफ्टवेयर बनाउनमै सीमित रहेको उनको गुनासो छ । पर्यटन प्रवर्द्धनमा ‘टेक’लाई भरपुर प्रयोग गर्न नसकिएको उनले बताए । उनले भने, ‘डिजिटल प्रेजेन्सले टुरिजममा इन्फ्लुएन्स गर्छ । हेरिटेजहरू थ्रीडीमा देखाउने, भर्चुअल टुर बनाउने, एआई गाइडमार्फत जानकारी दिन सम्भव छ ।’

कँडेलको विचारमा नेपालले उत्तर–दक्षिण कोरिडोरलाई प्राथमिकता दिनुपर्छ, जसले भारत–चीनबिचको व्यापारलाई नेपालमार्फत सम्भव बनाइ आर्थिक फाइदा दिलाउन सक्छ ।

आईटी क्षेत्र सिकेको कुरा कार्यान्वयन गर्ने अवसर नेपालमा अभाव रहेको असिम बताउँछन् । ‘हामीले जीपीयू, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स जस्ता कुरा पढेका छौँ, तर जब प्रयोगमा लैजान खोज्छौँ, महँगो पर्छ । अन्तर्राष्ट्रिय सर्भरहरू प्रयोग गर्नुपर्छ । सरकार वा निजी क्षेत्रले यस्तो आधारभूत पूर्वाधार उपलब्ध गराएमा मात्र स्टार्टअपहरू मौलाउने छन्,’ उनले भने ।

बिराज अर्याल भने देशभर सडक सञ्जाल भए पनि त्यसबाट लाभ लिन नसकेको बताउँछन् । ‘हामी अझै पनि जाममै अड्किएका छौँ । ट्राफिक व्यवस्थापनमा सुधार देखिँदैन । सडकहरू बनाए पनि गुणस्तरको समस्या, डिजाइनविना डोजर लगाउने प्रवृत्ति, वातावरणीय प्रभाव मूल्याङ्कन नगरी आयोजना थाल्ने अभ्यास र बजेट अभावका कारण धेरै समस्या पैदा भएका छन्,’ उनले भने ।

काठमाडौँमा कार्यालय समयमा १० किलोमिटर पार गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने जिकिर गर्दै उनले भने, ‘ ‘आज विद्यार्थीको समय अमूल्य छ । सिप सिक्न, काम गर्न, पढ्न, सबै कुराको सन्तुलन मिलाउनुपर्छ । बाटोमै अनावश्यक समय खर्चिनुपर्छ ।’

मेट्रो, पोड, लामो फ्लाईओभर जस्ता संरचनाले मात्रै यो समस्या समाधान गर्न सकिने उनको तर्क छ ।

कँडेलको विचारमा नेपालले उत्तर–दक्षिण कोरिडोरलाई प्राथमिकता दिनुपर्छ, जसले भारत–चीनबिचको व्यापारलाई नेपालमार्फत सम्भव बनाइ आर्थिक फाइदा दिलाउन सक्छ।

उनले पूर्व–पश्चिम रेलमार्गभन्दा साना–साना सहर जोड्ने परियोजनाबाट रेल यातायात सुरु गर्नुपर्ने बताए । काठमाडौँ उपत्यकामा मेट्रो आवश्यक भएको जिकिर गर्दै उनले पहाडी भूभागका लागि केबलकार उपयुक्त विकल्प हुने प्रस्ट पारे ।

ढकालचाहिँ नेपालको विकासलाई प्रविधियुक्त बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताउँछन् । स्वदेशी जनशक्ति प्रयोग गरेर विकास निर्माण अघि बढाउनुपर्ने उनको तर्क छ ।

‘इन्टर्नसिप, टेन्डर र सरकारी परियोजनामा नेपाली इन्जिनियरहरूलाई पहिलो प्राथमिकता दिनु पर्दछ । यदि प्रविधिको अभाव छ भने विदेशबाट सिकाएर नेपालमै कार्यान्वयन गरौँ । त्यो नै क्षमताको विकास हो,’ उनले भने, ‘विदेशी कन्स्ट्रक्सन कम्पनीलाई काम दिनुभन्दा नेपालकै कम्पनीलाई दिनुपर्छ । हामी यहाँ पढेका छौँ । हामीलाई अवसर दिएर सिक्न, काम गर्न दिइयो भने हामीले पनि अन्तर्राष्ट्रिय लेभलको काम दिन सक्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप