चितवनमा गर्मीको असर : ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

चितवन । जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार बुधबार चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो ।
गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ । गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन् ।
दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन् । विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ ।
भरतपुर महानगरपालिका वडा १०स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुनमगर मकै पोलेर बिक्री गर्ने काम गर्छन् । उनले भनिन्,“दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै सिथिल हुन्छ । ग्राहक नै छैनन्, अहिले रु ५० मा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ ।” सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको सङ्ख्या घटेको देखिन्छ ।
सोही स्थानमा भेटिएका अटो चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ । उनले भने,“रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन । तर के गर्ने, घर चलाउनु नै छ । अहिले मान्छे हिँड्नै छाडे जस्तो छ ।”
त्रिचोकतर्फबाट पैदल आउँदै गरेका ४८ वर्षीय भगवान शाहीले त गर्मीले थाकेर समयमै काममा पुग्न नसकेको गुनासो गरे ।
“गर्मीले हिँड्नै सकिएन । केही दिनदेखि समयमा काममा पुग्न सकिएको छैन”, उनले भने,“अब त गर्मीमा हिँड्दा दुई जोर कपडा लिएर हिँड्नुपर्छ, पसिना भिजेपछि फेर्न ।”
गर्मीका कारण स्वास्थ्यमा पनि असर देखिन थालेको छ । अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा.गोविन्द कँडेलले बताए ।
उनका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ । यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ ।
अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले बताए । तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन् ।
त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र सङ्क्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उहाँले बताउनुभयो । अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ । यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ ।
फिजिसियन डा.कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताए । उनले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिए ।
मौसमविद लामिछानेका अनुसार आज रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ । यसले तापक्रम केही घटाउने आशा गरिएको छ ।
तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश