आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चिनीको चक्रव्यूह : के चिनी साँच्चै विष हो ?

बुधबार, ०४ असार २०८२, १७ : १४
बुधबार, ०४ असार २०८२

फलफूल र महजस्ता प्राकृतिक स्रोतबाट पाइने चिनी स्वास्थ्यका लागि आवश्यक भए पनि पछिल्ला दशकमा प्रशोधित चिनीको प्रयोगले चिन्ताजनक मोड लिएको छ । औद्योगिक क्रान्तिपछि प्रशोधित चिनीको व्यापक प्रयोग हुन थालेको छ । विशेष गरी विकासोन्मुख देशहरूमा चिनीको वर्चस्व यति व्यापक भइसकेको छ कि आजको दिनमा हामीले दैनिक रूपमा प्रयोग गर्ने प्रशोधित खाद्यवस्तुहरूको झन्डै ७५ देखि ८५ प्रतिशतमा प्रशोधित चिनी मिसाइएको पाइन्छ (जर्नल अफ् क्लिनिकल डायबिटिज, २०२१) । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुल क्यालोरीको १० प्रतिशतभन्दा कम मात्र चिनी उपभोग गर्न सुझाव दिएको छ । पाँच प्रतिशतभन्दा कम क्यालोरीको उपभोग गर्दा अझ फाइदाजनक हुने ‘डब्लुएचओ’को निष्कर्ष छ । लगभग सबैजसो मानिसले यो मात्रालाई अत्यन्तै बेवास्ता गरेर जथाभावी चिनीजन्य खाद्य तथा पेय पदार्थको सेवन गरिरहेका छन् ।

स्वाद बढाउन चिनी प्रयोग गरिए पनि यो हाम्रो शरीरका लागि आवश्यक पोषक तत्त्व होइन । पछिल्ला ५० वर्षमा चिनीको खपतमा तीव्र वृद्धि भएको विभिन्न समयमा भएका अध्ययनले देखाउँछन् । अमेरिकी वैज्ञानिक तथा पोषणविद् रोबर्ट एच लस्टिग, फिजियोलोजिस्ट तथा पोषण विशेषज्ञ जोन यड्किन लगायत विश्वप्रसिद्ध वैज्ञानिकले चिनीको असरलाई लगातार ‘नयाँ विष’ को संज्ञा दिँदै आएका छन् । चिनीलाई मदिराको असरसँग तुलना गरिएको उनीहरुको अध्ययनमा देख्न पाइन्छ ।

  • मोटोपनदेखि क्यान्सरसम्म

सन् १९८० देखि २०१३ सम्म विश्वभरि मोटोपना (बडी मास इन्डेक्स २५ वा सोभन्दा बढी) भएका व्यक्तिहरूको अनुपात २८.८ प्रतिशतबाट ४३ प्रतिशतमा पुगेको थियो । आजको मितिमा यो झनै भयावह बनिसकेको छ । सन् १९९० यता हालसम्म विश्वभर वयस्कमा मोटोपनको दर दोब्बरभन्दा बढी बढेको छ । चिन्ताजनक कुरा त के छ भने बालबालिका र किशोर–किशोरीमा समेत उस्तै प्रवृत्ति देखिएको छ । यसको अर्थ के भने हालको तथ्यांक अनुसार, विश्वभर प्रत्येक आठ जनामध्ये एकजना व्यक्ति मोटोपनको समस्याबाट ग्रस्त छन् । मोटोपन अब व्यक्तिगत नभई सामूहिक र विश्वव्यापी जनस्वास्थ्य संकटको रूपमा उभिएको छ ।

सामान्यतया हामीलाई के लाग्छ भने ‘गुलियोले असर गर्ने भनेको मोटो मान्छेलाई मात्र हो’ तर वास्तविकता फरक छ । सन् २०२२ मा ‘फ्रन्टियर्स इन् न्युट्रिसन’ नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार अत्यधिक चिनीको सेवनले मोटोपन मात्र होइन डायबिटिज, हृदयघात, क्यान्सर, मस्तिष्कसम्बन्धी समस्या, चञ्चलता, डिप्रेसनजस्ता मानसिक समस्या समेत निम्त्याउन सक्छ ।

स्वाद बढाउन चिनी प्रयोग गरिए पनि यो हाम्रो शरीरका लागि आवश्यक पोषक तत्त्व होइन । पछिल्ला ५० वर्षमा चिनीको खपतमा तीव्र वृद्धि भएको विभिन्न समयमा भएका अध्ययनले देखाउँछन् ।

‘न्युट्रिएन्ट्स’ नामक जर्नलमा सन् २०२३ मा प्रकाशित एक समीक्षात्मक लेखले तथा ‘ब्रिटिस मेडिकल जर्नल’मा प्रकाशित सन् २०२३ को समीक्षात्मक अध्ययनहरूले विशेषतः ‘सुक्रोज’ र ‘फ्रक्टोज’ जस्ता प्रशोधित चिनीहरूले हाम्रो शरीरलाई सुन्निने बनाउने, ‘मेटाबोलिक डिसअर्डर’ निम्ताउने र रोग प्रतिरोधात्मक प्रणालीमा असर पुर्‍याउने विभिन्न जैविक मार्गहरू सक्रिय गराउने तथ्य पुष्टि गरेका छन् । अझै पनि धेरै मानिसले सोच्ने गर्छन् ‘म दुब्लो छु, मलाई के असर गर्छ र ?’ तर तथ्य त्यस्तो छैन । तौल सामान्य भए पनि चिनीको सेवनले दीर्घकालीन असर गर्छ, यसमा दुईमत छैन ।

  • के चिनी साँच्चिकै विष हो ?

वैज्ञानिक प्रमाणहरूमा आधारित रही प्रशोधित चिनीका असरहरूलाई गम्भीर रूपमा विश्लेषण गर्दा चिनी साँच्चिकै विष रहेको निष्कर्षमा पुग्न सकिन्छ तर त्यसअघि केही सूक्ष्म अध्ययन आवश्यक छ ।

क्यान्सरसँग चिनीको सम्बन्ध : चिनी र क्यान्सरबिचको सम्बन्ध सामान्य मोटोपनमा मात्र सीमित छैन । अध्ययनहरूले देखाएका छन् कि प्रशोधित चिनी विशेष गरी ‘सुक्रोज’ र ‘हाई फ्रुक्टोज कर्न सिरप’ले मानव शरीरमा क्यान्सरको विकास र फैलावटलाई टेवा पुर्‍याउँछ । 

पछिल्ला केही अध्ययन (ब्रिटिस जर्नल अफ क्यान्सर, २०२४ तथा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन, २०२३) अनुसार अत्यधिक चिनी सेवनले बालबालिकामा क्यान्सरको जोखिम बढाउँछ । चिनीजन्य पेयको अधिक सेवनले लिभर क्यान्सर र सम्बन्धित दीर्घरोगबाट मृत्युको सम्भावनामा उल्लेख्य रूपमा वृद्धि गराउने प्रशस्त प्रमाणहरू देखिएका छन् ।

चिनी र मधुमेह लगायत मेटाबोलिक समस्या : नियमित रूपमा प्रशोधित चिनीको अत्यधिक सेवनले मुटु रोग र टाइप २ मधुमेहको जोखिम उल्लेखनीय रूपमा बढाउने देखिएको छ । विशेष गरी फ्रुक्टोजले कलेजोमा बोसो जमाउने प्रक्रिया (लिपोजेनेसिस) तीव्र बनाउँछ, जसका कारण ‘नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज’को जोखिम बढ्छ । साथै फ्रुक्टोजले शरीरमा इन्सुलिन प्रतिरोध (इन्सुलिन रेसिस्टेन्स) उत्पन्न गर्छ जुन अत्यन्तै भयावह स्थिति हो । यस्ता असरहरूले मधुमेह, कलेजोको समस्या र मुटु रोगजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छन् ।

मानसिक स्वास्थ्यमा असर : सामान्य जनसंख्यामा आहारमा चिनीको कुल मात्रा बढ्दै जाँदा डिप्रेसनको जोखिम उल्लेखनीय रूपमा बढ्ने देखिएको छ । यद्यपि चिनीको सेवन र चिन्ताको जोखिमबिचको सम्बन्ध खासै महत्त्वपूर्ण थिएन । यस अध्ययनमा थप उच्च गुणस्तरीय अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ, ताकि सम्बन्धको यथार्थ पुष्टि गर्न सकियोस् (ब्रिटिस मेडिकल जर्नल, २०२३) ।

त्यस्तै ‘युरोपियन जर्नल अफ पेडियाट्रिक डेन्टिस्ट्री’मा प्रकाशित अर्को अध्ययनमा अत्यधिक चिनी तथा चिनीजन्य पदार्थको लामो समयसम्मको सेवनले बालबालिकाहरूमा ‘एडीएचडी– एटेन्सन डेफिसिट हाइपरेक्टिभिटी डिसअर्डर’ अर्थात् एक मानसिक समस्या विकास गर्न सक्ने सम्भावनाहरूको चर्चा गरिएको छ । 

यस्ता प्रमाणहरूले मानसिक स्वास्थ्य सुधारका लागि चिनीको सेवन नियन्त्रण एक महत्त्वपूर्ण रणनीति हुन सक्ने संकेत गरेका छन् । विशेष गरी बालबालिका, किशोर–किशोरी र मनोविकारमा संवेदनशील व्यक्तिहरूलाई लक्षित गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।

समयभन्दा छिटो बुढो : ‘ब्रिटिस जर्नल अफ क्यान्सर’ मा सन् २०२३ मा प्रकाशित एक अध्ययन अनुसार चिनीजन्य पेय पदार्थ र प्रशोधित खानेकुरा सेवन गर्ने बानीले मोटोपन वा मधुमेह मात्र होइन छिटो बुढ्यौली आउने खतरा पनि निम्त्याउन सक्छ । पछिल्ला अनुसन्धानले चिनीको अत्यधिक सेवनले छालाको चाउरीपन र मेटाबोलिक क्रियाकलापमा गम्भीर अवरोध ल्याउनुका साथै कोशिकाहरूको मर्मत क्षमतामा अवरोध ल्याएर छिटो बुढ्याउने प्रक्रिया बढाउने देखाएका छन् ।

ब्राजिलमा सन् २०२३ मा गरिएको एक अध्ययनले चिनीयुक्त पेय पदार्थको अत्यधिक सेवन गर्ने १८ देखि २३ वर्ष उमेर समूहका युवायुवतीमा हाडको खनिज घनत्व (बोन मिनरल डेन्सिटी) मा नकारात्मक प्रभाव परेको देखाएको छ । ६ हजार ६२० जनामाथि गरिएको सो अध्ययन अनुसार प्रशोधित चिनी मिसिएका पेय पदार्थ बढी मात्रामा सेवन गर्ने युवाहरूको हाड कमजोर हुन्छ । हाडको खनिज घनत्व कम हुनु भनेको हाडको दीर्घकालीन समस्या ‘अस्टेओपोरोसिस’ को खतरा बढ्नु हो । यस समस्याका कारण सामान्य चोटपटकबाट समेत शरीरको हाड भाँचिन सक्छ ।

यति धेरै नकारात्मक असर पार्छ भन्ने थाहा हुँदाहुँदै पनि हामीले किन चिनी छोड्न सक्दैनौँ ? के चिनी छोड्न भनेजस्तो सजिलो छ ? यहीँबाट सुरु हुन्छ चिनीको वास्तविक लतबारेको बहस ।

  • किन चिनी छोड्न सकिन्न ?

चिनी छोड्नु इच्छाशक्तिको मात्र कुरा होइन यो न्युरोलोजिकल र जैविक जटिलता को विषय हो । अनुसन्धानहरूले के देखाएका छन् भने चिनीले हाम्रो मस्तिष्कको रिवार्ड सिस्टम (यो सिस्टमले खुसी वा तृप्तिको अनुभूति गराउँछ) लाई प्रभावित गर्छ । जस्तो कि कोकिन, निकोटिन वा अन्य लत लाग्ने पदार्थहरूले पनि हाम्रो रिवार्ड सिस्टमलाई सक्रिय पार्ने गर्दछन् । समयसँगै शरीरले त्यो स्तरको डोपामिन प्रतिक्रिया पाउन अझ बढी चिनीको माग गर्न थाल्छ, जसले गर्दा चिनीको ‘लत’ जस्तै अवस्था उत्पन्न हुन्छ । यसबाट यो स्पष्ट हुन्छ कि चिनीको अत्यधिक सेवन केवल बानी होइन यो न्युरोसाइन्स र मेटाबोलिजम्को गहिरो चक्रमा फस्ने अवस्था पनि हो, जसबाट मुक्त हुन सचेत प्रयास, समय र रणनीति आवश्यक हुन्छ । 

चिनी आजको आधुनिक जीवनशैलीमा यति गहिरो रूपमा गाँसिएको छ कि त्यसलाई पूर्ण रूपमा त्याग्नु प्रायः अव्यावहारिक जस्तै देखिन्छ । यो लगभग सबै प्रशोधित खाना (जस्तै : बिस्कुट, जुस, चाउचाउ, केचप, ब्रेड, सस आदि) मा मिसाइएको हुन्छ । चिनी सस्तो, सजिलो र स्वादिलो स्रोत भएकाले हाम्रो दैनिक खानपानमा सजिलै घुलमिल भएको छ । यति धेरै स्थानमा यसको उपस्थिति हुँदा चिनीबाट टाढा रहनु चुनौतीपूर्ण लाग्न सक्छ । यही कारणले चिनी त्याग्नु इच्छाशक्तिको मात्र होइन रणनीति र विकल्प चयनको कुरा पनि हो ।

यति धेरै वैज्ञानिक प्रमाणहरू हुँदाहुँदै पनि जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू, नीति–निर्माताहरू र विज्ञहरू चिनीको असरप्रति आश्चर्यजनक रूपमा मौन छन् । यथार्थ के हो भने चिनी अब एक मौन जनस्वास्थ्य संकट बन्न थालिसकेको छ ।

नेपालमा चिनीजन्य उत्पादनहरू (विशेष गरी बच्चाहरूलाई लक्षित चकलेट, जुस, प्रशोधित खाना, बिस्कुट आदि) को अत्यन्तै व्यापक प्रचार–प्रसार भइरहेको छ । टेलिभिजन, युट्युब, पोस्टर, स्कुल आसपासको पसल— जहाँ जहाँ बच्चाहरूको पहुँच पुग्छ वा छ त्यहाँ त्यहाँ चिनीले भरिएका उत्पादन सहजै उपलब्ध छन् । विडम्बना, यसको कुनै स्पष्ट नियमन छैन । लेबलिङ अस्पष्ट छ, चेतावनी छैन र शिक्षा प्रणालीमै पोषणसम्बन्धी चेतनाको गम्भीर अभाव छ । 

चिनी आफैँमा कुनै तात्कालिक विष होइन तर हाम्रो शरीरमा यसले पारेका दीर्घकालीन प्रभावहरूलाई केलाउँदा भने यो विष नै साबित हुन पुग्छ । 

चिनीको सेवन घटाउनु अब केवल भन्न र सुन्नजस्तो सजिलो रहेन, यसका लागि प्रभावकारी रूपमा विभिन्न आहारजन्य, व्यवहारजन्य तथा अन्य बहुआयामिक उपाय अपनाउन आवश्यक हुन्छ । जनस्वास्थ्यको क्षेत्रमा सदियौँदेखि प्रभावकारी रूपमा प्रयोग हुँदै आइरहेका विभिन्न सिद्धान्तले यो प्रमाणित गरिसकेका छन् कि व्यवहारमा परिवर्तन सधैँ आकस्मिक रूपमा सम्भव नहुन सक्छ । त्यसैले सबैभन्दा पहिला हामीले समुदायलाई प्रशोधित चिनीका विभिन्न हानिकारक प्रभावबारे गम्भीर भएर शिक्षित गर्नु आवश्यक छ । यसका लागि मानिसहरूलाई थपिएको चिनी कसरी चिन्ने भन्ने सिकाउनु अत्यन्त आवश्यक हुन्छ, विषय कुनै पनि प्रशोधित खाद्य पदार्थको पोषण विवरणमा यसबारे उल्लेख गरिएको हुन्छ । यसबारे साना–साना नानीबाबुमा समेत बुझाउन उत्तिकै लागु हुन्छ । ‘क्लिनिकल डायबिटिज’मा प्रकाशित आफ्नो एक लेखमा वार्सा र एडल्म्यानले भनेका छन् कि स्वास्थ्यकर्मीले समेत स्वास्थ्य परामर्श दिँदा यी विषय बुझाउनुपर्छ । थपिएको चिनीको सट्टा कम क्यालोरी वा शून्य क्यालोरीयुक्त पदार्थको प्रयोग गर्नु महत्त्वपूर्ण रणनीतिमध्ये एक हो, जसले कुल क्यालोरी सेवन घटाउन र रगतमा चिनीको मात्रा सुधार गर्न मद्दत पुर्‍याउँछ ।

विश्व क्यान्सर अनुसन्धान कोषले प्रकाशन गरेको एक प्रतिवेदनमा विश्वभरि बढ्दो चिनीको उपभोग र यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गरिएको छ । त्यसमा चिनीको सेवन घटाउने अर्को प्रभावकारी रणनीतिका रूपमा नीतिगत हस्तक्षेपलाई प्रस्तुत गरिएको छ । यस अन्तर्गत चिनीयुक्त पदार्थहरूको उपलब्धता, पहुँच र स्वीकार्यता कम गर्न व्यावहारिक र कार्यान्वयनयोग्य नीतिहरू आवश्यक पर्छन् ।
विश्व क्यान्सर अनुसन्धान कोषले सुझाव दिए अनुसार चिनीको अत्यधिक उपभोगलाई नियन्त्रण गर्न विद्यालय, सरकार र नागरिक समाजले समन्वय गरेर निम्न नीतिगत उपाय लिनुपर्छ :
विद्यालयहरूमा बच्चाहरूलाई दिइने खानपानमा चिनीयुक्त खाद्य तथा पेय पदार्थलाई सीमित गर्नुपर्छ ।

स्कुलका क्यान्टिनहरूले ताजा फलफूल, सब्जी, दूध र स्वस्थ खाजाको विकल्प प्रदान गर्नुपर्छ । विद्यालयमा चिनीयुक्त पेय र खाजा निषेध गर्नुपर्छ । 

खाद्यवस्तुका प्याकेटमा चिनीको मात्रा उल्लेख गर्नुपर्छ । प्रशोधित खाद्य पदार्थहरूको प्याकेटमा ‘हाई इन सुगर’, ‘रातो रङ’ अथवा ‘चेतावनी’ लेबल लगाएर उपभोक्तालाई सचेत बनाउनुपर्छ ।
डब्लुएचओको सुझाव अनुसार दैनिक आवश्यकताको १० प्रतिशतभन्दा बढी चिनी भएको खाद्यलाई अस्वस्थ खानाको रूपमा चिनाउनुुपर्छ ।

यस्तै चिनी कर लागु गर्न सकिन्छ । मिठो पेय तथा खाद्य पदार्थमा अतिरिक्त कर लगाएर यसको खपत घटाउन सकिन्छ । मेक्सिको, युके र केही अमेरिकी राज्यहरूमा यस्तो कर लागु भएपछि चिनीयुक्त पेयको खपत १० देखि २० प्रतिशतले घटेको अध्ययन छ ।

नेपालमा बच्चा तथा युवाहरूले मिठाई, कोल्ड ड्रिंक्स र प्याकेटबन्द जुसलाई बढी सेवन गरेको देखिन्छ । त्यसैले हामीकहाँ विद्यालयमा जङ्क फुड तथा चिनीजन्य पदार्थलाई निषेध गर्ने नीति बनाइनुपर्छ ।

यस्तै खाद्य पदार्थमा स्पष्ट लेबलिङ अनिवार्य गर्नुपर्छ । चिनीयुक्त पेय तथा खाद्य पदार्थमा ‘अतिरिक्त कर’ लगाउनुपर्छ ।

नजानिदो तरिकाले समाजलाई रोगको चक्रव्यूहमा पार्दै गरेको चिनीलाई विद्यालय, परिवार र सरकारी नीतिहरूले नियन्त्रण गर्न सहयोग गरेमा हामी एउटा स्वस्थ समाज निर्माण गर्न सक्छौँ । 
(लेखक पब्लिक हेल्थ विषयमा स्नातकोत्तर हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण चापागाईं
कृष्ण चापागाईं
लेखकबाट थप