शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कृष्णपक्ष थापा

इजरायल–इरान युद्धलाई नियाल्दा...

सोमबार, ०९ असार २०८२, १४ : ०३
सोमबार, ०९ असार २०८२

केही वर्षदेखि इजरायलको जेरुसलेममा छु । जुनको दोस्रो हप्ता, सब्बातको रात इजरायलले इरानको आणविक प्रशोधन केन्द्रहरूमा आक्रमण सुरु गरेको जानकारी गराइयो, उच्च सतर्कता र सुरक्षाका लागि इजरायलका नागरिकलाई निर्देश जारी गरियो । प्रधानमन्त्रीको सम्बोधनसँगै सुरु भएको सो निर्देशपछि हामी सतर्क भयौँ ।

जेरुसलेमको पहाडी इलाका हारनोफ भन्ने स्थानमा थिएँ म, यो ठाउँ नेपालकै डाँडापाखा र पहाडजस्तै लाग्छ । अति धार्मिकहरूको बाक्लो बसोबास रहेको छ यस गाउँमा । इजरायलमा हरेक घरमा बंकर बनाइएका हुन्छन् । ठुला भवनहरूमा प्रत्येक तलामा एउटा बलियो कोठा हुन्छ, त्यसैलाई नै बंकरका रूपमा प्रयोग गरिन्छ मेरो कार्यस्थलमा यस्तै प्रकृतिको सेल्टर थियो ।

यसपटकको युद्ध अलि भीषण हुने कुरामा दुईमत थिएन । इरानद्वारा प्रक्षेपित ‘ब्यालेस्टिक मिसाइल’हरूले पूरै भवन ध्वस्त पार्न सक्ने सम्भावना रहेको हुँदा अन्डरग्राउन्ड बंकरमा मात्र शतप्रतिशत सुरक्षित हुन्छ भन्दै मेरो इम्प्लोयर र म यस्तै सुरक्षित घरमा सर्‍यौँ ।

इरानबाट एकैपटक धेरै क्षेप्यास्त्र प्रहार हुन्थे तर खुसीको कुरा त्यसको जानकारी १५ मिनेटअगाडि नै मोबाइलमा आउँथ्यो र हामी सेल्टरमा सुरक्षित रूपमा जान सक्थ्यौँ । यो आक्रमणको पूर्वजानकारी सबैलाई हुन्थ्यो तर वास्तविक साइरन बजेपछि भने हामीसँग सुरक्षित स्थानमा पुग्नका लागि ९० सेकेन्डको समय रहन्थ्यो ।

दशकौँदेखि यस्ता रकेट युद्धहरू देख्दै र भोग्दै आएका हामीहरू सुरक्षाको विषयमा निकै अभ्यस्त थियौँ । इजरायलको यो अप्रत्याशित आक्रमण यस्तो समयमा भएको थियो, जुन बेला इरान र अमेरिका आणविक निशस्त्रीकरणका सम्बन्धमा ओमनमा वार्ता गरिरहेका थिए । इजरायलको आक्रमणलगत्तै वार्ता भाँडियो ।

मध्यपूर्वको भूराजनीतिमा एक नयाँ अध्याय कोरियो । इजरायल र इरानबिचको परम्परागत शत्रुता अब प्रत्यक्ष सैन्य द्वन्द्वमा परिणत भएको थियो, जसले विश्वको ध्यान खिचेको छ । चिन्ता र चासो बढेको छ, कतै यसले तेस्रो विश्वयुद्धको सलाई त कोरेको छैन ? आम मानिसहरूमा प्रश्न र आशंका उब्जिएका छन् ।

युद्धग्रस्त देश इजरायलमा १५ वर्षदेखि बस्दै आएको मैले हरेक आक्रमण र युद्धलाई नजिकबाट भोगिरहेको र नियालिरहेको छु । यहाँको राजनीतिक मनोविज्ञानमा आधारित रहेर इरान र इजरायल युद्धलाई मेरो दृष्टिकोणमा यसरी केलाउन चाहन्छु । 
 

इजरायलमा हरेक घरमा बंकर बनाइएका हुन्छन् । ठुला भवनहरूमा प्रत्येक तलामा एउटा बलियो कोठा हुन्छ, त्यसैलाई नै बंकरका रूपमा प्रयोग गरिन्छ मेरो कार्यस्थलमा यस्तै प्रकृतिको सेल्टर थियो ।

इजरायलले इरानमाथि किन हमला गर्‍यो ? 

यसको प्रश्नको एउटै स्पष्ट कारण छ, इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन । उसको नक्सामा ‘इजरायल’ भन्ने देश छैन, उसले हालको इजरायललाई ‘अकुपाइड ल्यान्ड’ (कब्जा गरेको जमिन) भन्ने गरेको छ । उसले स्वतन्त्र देशको रूपमा इजरायलको अस्तित्व स्वीकार नगर्ने मात्र होइन इजरायलको विनाश गर्ने लक्ष्य लिएको छ । विभिन्न समयमा इरानबाट आउने यस्ता धम्कीहरूले इजरायलले आफूलाई इरानबाट निकै ठुलो खतरा महसुस गरेको छ ।

इजरायलको नामनिसान मेट्ने उद्देश्यका लागि इरानले आधुनिक हतियार र तालिमसहित विभिन्न मुलुकमा आफ्ना छद्मसैन्य सञ्जाल (प्रोक्सी)हरूको स्थापना गरेको छ । जस्तै ः हमास, हिजबोल्लाह तथा हुथी विद्रोही । विगतमा इरानले इजरायलविरुद्ध प्रत्यक्ष रूपमा नलडे पनि उसका ‘प्रोक्सी’ले इरानी स्वार्थ बमोजिम इजरायलविरुद्ध आक्रमण गरिरहेका छन् । अक्टोबर ७ पछि हमास–इजरायल युद्धमा हुथीहरूले इरानी हाइपरसोनिक क्षेप्यास्त्रहरूको प्रयोग गरेर यमनदेखि तेल अभिभसम्म आक्रमण गर्दै आएका छन् ।

इजरायली सैनिकले इरानविरुद्ध आणविक निशस्त्रीकरणको सैन्य अभियानलाई ‘राइजिङ लायन’को नाम दिएका छन् । राइजिङ लायन अपेक्षाभन्दा तीव्रताका साथ अघि बढिरहेको इजरायलले जनाएको छ । यो कारबाहीले क्षेत्रीय शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्ने निश्चित छ ।

‘इजरायल डिफेन्स फोर्स’ (आईडीएफ) अनुसार इजरायलले यो अभियान इरानबाट उत्पन्न ‘अस्तित्वगत आणविक खतरालाई निष्क्रिय पार्न’ सुरु गरेको हो, यसको मुख्य लक्ष्य इरानको आणविक क्षमता र ‘ब्यालिस्टिक मिसाइल’ भण्डारलाई नष्ट गर्नु हो, अभियानको सुरुवाती दिनमै इजरायलले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ ।

एक हप्ताको कारबाहीमा इजरायली सैनिकले इरानले प्रहार गरेका कम्तीमा पचास प्रतिशतजति मिसाइल लन्चरहरू नष्ट गरिसकेको बताएका छन् । आईडीएफले सुरुमा करिब ४० प्रतिशत नष्ट भएको बताए पनि प्रधानमन्त्री नेतन्याहुले त्यो आँकडा पार गरिसकेको संकेत दिएका छन् । 

इजरायलले इरानका प्रमुख सैन्य नेताहरूलाई सफाया गरेको र ‘ब्यासिज’ अर्धसैनिक बलजस्ता सैन्य समूहहरूलाई निशाना बनाएको छ । इरानी शासनको आन्तरिक सुरक्षा र असन्तुष्टि दबाउन प्रयोग गरिने एक करोड सदस्य रहेको बल हो ब्यासिज ।

इजरायलले इरानका सबै आणविक केन्द्रहरूमा आक्रमण गर्ने घोषणा गरेको छ, जसमा कडा सुरक्षा घेराभित्र रहेको फोर्डो आणविक सुविधा पनि पर्छ । नातानजको ‘फ्युल इनरिचमेन्ट प्लान्ट’ ध्वस्त पारिएको र इस्फाहानका चार महत्त्वपूर्ण भवनहरू विस्फोट गरिएका छन् । इजरायलले ‘ज्ञानका स्रोत’ अर्थात् आणविक वैज्ञानिक र सैन्य कमान्डरहरूलाई पनि निशाना बनाएको छ, जस अन्तर्गत कम्तीमा नौजना अणु वैज्ञानिकहरू मारिएका छन् । इजरायलले यसअघि नै हिजबुल्लाहलाई ‘घुँडा टेकाएको’ छ भने हमासको ‘इरानी अक्ष’ भत्काएको छ । 

इरानको फोर्डो आणविक सुविधा हरमुज पहाडमुनि निकै गहिरो र रहस्यमय स्थानमा रहेको र यसलाई अमेरिकाको ‘बङ्कर–बस्टर’ बमबाहेक अरू कसैले निशाना बनाउन नसक्ने मानिदै आएको थियो । 
यद्यपि इजरायलले अमेरिकाको सहयोगबिनै फोर्डो ध्वस्त पार्न इजरायलसँग ‘क्षमता छ’ भन्ने दाबी गरेको छ । यसले द्वन्द्वमा अमेरिकी संलग्नताको सम्भावनालाई समेत उजागर गरेको छ ।

इरानबाट एकैपटक धेरै क्षेप्यास्त्र प्रहार हुन्थे तर खुसीको कुरा त्यसको जानकारी १५ मिनेटअगाडि नै मोबाइलमा आउँथ्यो र हामी सेल्टरमा सुरक्षित रूपमा जान सक्थ्यौँ । यो आक्रमणको पूर्वजानकारी सबैलाई हुन्थ्यो तर वास्तविक साइरन बजेपछि भने हामीसँग सुरक्षित स्थानमा पुग्नका लागि ९० सेकेन्डको समय रहन्थ्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर मिश्रित संकेतहरू देखिएका छन् । अमेरिकाले इजरायललाई ‘रोक्न’ प्रयास नगरेको र आत्मरक्षाको अधिकारलाई मान्यता दिएको बताएको छ ।
इजरायली अधिकारीहरूले यस अभियानका लागि अमेरिका या कतैबाट पनि ‘ग्रिन सिग्नल’ नमागेको र विकल्प नभएकाले जे भए पनि अगाडि बढ्ने बताएका छन् । इजरायलले ‘३,५०० वर्षको यहुदी इतिहास’ मेटिन नदिने अडान लिएको छ ।

  • एक्लो इरान 

दशकौँपहिले जब एसएलसी दिएर खाली समयमा कम्प्युटर सिक्न थालेको थिएँ, त्यसबेला कम्प्युटरमा एउटा गेम खेलिन्थ्यो ‘प्रिन्स अफ् पर्सिया’ (इरानका राजकुमार) । त्यस बेलादेखि नै पर्सियन इतिहास र साहित्यका बारेमा थाहा पाइयो । फारसी भाषा–सभ्यता यति समृद्ध थियो कि खुसरु शिरी, लैला मजनु, शाहनामेजस्ता कृतिहरू अथवा रुमी, खैयाम, निजामी, फिरदोसजस्ता लेखकहरू आजसम्म आदर्श र प्रेरणाका रूपमा गनिन्छन् ।

भारतीय उपमहाद्वीप र इरानका पात्रहरूले भरिएका कथाहरू भएको ‘अरेबियन नाइट्स’का अनेक शृंखला पनि पत्रपत्रिकामा छापिएका हुन्थे ।

जब म इजरायल आएको थिएँ, संयोगवश फारसी परिवारमै हेरचाहकर्ताको रूपमा काम गर्ने संयोग जुरेको थियो । उनीहरू दोस्रो विश्वयुद्धपछि इरानबाट भागेर इजरायल आएका यहुदीहरू थिए, त्यसो त इस्लामिक राष्ट्र इरानमा अहिले पनि हजारौँ यहुदी छन् ।

इजरायल आउँदा सुरुमा मलाई भाषाको समस्या थियो । इजरायलमा बोलिने हिब्रु भाषा पटक्कै आउँदैनथ्यो तर पनि मेरो एजेन्सीले मलाई सोध्यो, ‘तिमीलाई हिन्दी भाषा आउँछ कि ?’ मैले आउँछ भने ।

‘त्यसो भए तिमी जुन घर जाँदै छौ, त्यहाँ फारसी बोलिन्छ, तिमीले एक हप्तामै सिक्ने छौ ।’ एजेन्सीले भनेको थियो । हुन पनि इरानी भाषा इन्डियनसँग धेरै मिल्दो रहेछ । दिनभरि फारसी टीभी चल्थ्यो । इरानी सिनेमा, फारसी साहित्य आदिले मलाई केही दिनमै फारसी बोल्न सक्ने बनायो । 

मैले त्यसबेला अझ धेरै थाहा पाएँ, इरानी सभ्यता र संस्कृतिले हजारौँ वर्षपहिले नै समृद्धिको उचाइ लिइसकेको रहेछ । यति सम्पन्न पूर्वीय दर्शन बोकेको राष्ट्रमा अहिले किन मासा अमिनी जस्ता युवतीहरूको बुर्का खोलेको निहुँमा हत्या हुन थाल्यो ? धार्मिक पाखण्डपन, अतिवाद र घृणा कसरी विस्तार हुँदै गयो ?

भूगोल वा प्राकृतिक स्रोत–संसाधनमा मात्र होइन इतिहास, भाषा, साहित्य, कला, संस्कृति र सभ्यतामा साँच्चिकै सम्पन्न देश हो इरान । ‘कट्टर धार्मिक विचार र शासन’का कारण इरान पश्चिमाहरूको आँखामा मात्र होइन आफ्नै छिमेकी इस्लामिक राष्ट्रहरूबाट समेत तिरष्कृत हुँदै आएको छ ।

इरानले आफ्नो विचारधारा अन्य देशहरूमा निर्यात गर्ने र इराक, लेबनान, यमन, प्यालेस्टाइन, सिरियाजस्ता देशहरूमा सशस्त्र समूहहरू खडा गरेर अस्थिरता फैलाउने अभ्यास गरिरहेको छ । जसले छिमेकीहरूलाई चिन्तित र असुरक्षित बनाएको छ । त्यो डर–चिन्ता इजरायलमा मात्र सीमित छैन सिरिया, लेबनान, साउदी अरब, यमनजस्ता देशहरू इरानी प्रोक्सीको ऐँजेरुबाट आजित भएका छन् । ती देशका कतिपय सरकार निकम्माजस्तै भएका छन् भने कतिपय देश गृहयुद्धमा होमिन बाध्य छन् । इराकमा मात्रै उसका लाखौँ मिलिसिया छन् । यी समूहलाई इरानको ‘रक्षा कवच’ मानिन्छ र यिनीहरूलाई अत्याधुनिक हतियार उपलब्ध गराइएको छ । आजको विश्वको चिन्ता भनेकै इरानको आणविक हतियार यी आतंकवादी समूहहरूसम्म पुग्छ कि भन्ने हो । 

आन्तरिक रूपमा समेत इरान चरम भ्रष्टाचार, प्रणालीगत समस्या र जनताको असन्तुष्टिबाट पीडित छ । उच्च मुद्रास्फीति, बेरोजगारी, पानी र बिजुलीको अभाव तथा महिला स्वतन्त्रता माथिको प्रतिबन्धका कारण निरन्तर विरोध प्रदर्शन भइरहेका छन् ।

तुलनात्मक रूपमा अति सानो राष्ट्र इजरायलको आक्रमणले इरानलाई लगभग ‘आत्मसमर्पणको स्थिति’मा पुर्‍याइसकेको छ, किनकि धेरैजसो उच्च सैनिक कमान्डरहरू, वैज्ञानिक तथा आणविक कार्यक्रमका उच्च पदस्थ व्यक्तिहरू मारिएका छन् र क्षेप्यास्त्र भण्डार तथा लन्चरहरू ध्वस्त भइरहेका छन् ।

इजरायलले इरानको हवाई क्षेत्रमा कब्जा गरेको छ । उसको निशाना यति सटीक र प्रभावकारी छ कि उसले चाहेको स्थान तथा चाहेका व्यक्तिहरूमाथि लक्षित प्रहार गर्न सफल भइरहेको छ । यता इरानसँग इजरायललाई धुलोपिठो पार्न सक्ने ‘ब्यालेस्टिक मिसाइल’को भण्डार भएर पनि इजरायलको सैन्य सुविधामा लक्षित प्रहार गर्न सकिरहेको छैन ।

अब के होला ?

युद्ध चर्किंदै गर्दा मध्यपूर्वको आकाशमा एउटा गहिरो प्रश्न मडारिएको छ ः ‘इरान किन यति निरीह बन्यो र अब उसको भविष्य के होला ?’

इतिहासका पानाहरू पल्टाउँदा, शक्ति र साम्राज्यको खेलमा इरान कुनै बेला अजेय किल्लाजस्तो देखिन्थ्यो तर आज त्यो किल्ला भित्रबाटै मक्किएको एउटा कथा बन्दै गएको छ । यो बाह्य आक्रमणको परिणाम मात्र होइन बरु भित्री क्षय र अदृश्य कमजोरीको प्रतिविम्ब हो ।

युद्धको सुरुवातमै यसो भन्नु अतिशयोक्ति हुनेछ कि ‘इरानको निरीहता आत्मघाती संघारमा छ ।’ इरानको वर्तमान निरीहतालाई बुझ्न त्यसको जगमा रहेका अदृश्य धागाहरू केलाउनुपर्छ । वास्तवमा इरानको शक्ति विस्तारको शैली, छिमेकी देशमा सैन्य समूह खडा गरेर र उनीहरूलाई रकेटदेखि ब्यालेस्टिक मिसाइलसम्मका अत्याधुनिक हतियार दिएर प्रभुत्व जमाउने अभ्यास आफैँमा एउटा खतरनाक खेल थियो ।

आफैँ युद्धमा होमिनुनपर्ने र ‘थर्ड पार्टी’मार्फत स्वार्थसिद्ध गराइने यो तरिकालाई इजरायलले सफल हुन दिएन । सुरक्षाको घेरा ‘रिङ अफ डिफेन्स’ भनिए पनि यसले इरानलाई ‘प्रोक्सी युद्ध’को अनन्त दुष्चक्रमा फसायो । हमास, हुथी, हिजबुल्ला लगायत थुप्रै इराकी सैन्य ग्रुपहरूलाई पाल्न इरानले ठुलो लगानी र खर्च गरेको छ । यसको गोप्य प्रकृतिका कारण ठुलो भ्रष्टाचार पनि मौलाएको छ । यो आन्तरिक क्षयले इरानको जरा नै खोक्रो बनाएको छ ।

कठोर वास्तविकता त यो हो कि इरान आफ्नै आन्तरिक कमजोरीको भारीले थिचिएको छ । देशका सम्पूर्ण महत्त्वपूर्ण सूचना आन्तरिक भ्रष्टाचार र दमनका कारण बेचिएका छन् । ट्याटु बनाएको आरोपमा, महिलाले अलिकति कम लुगा लगाएको ‘अपराध’मा समेत मृत्युदण्ड दिने कट्टर शासनसँग जनमतको समर्थन पनि छैन । जब कुनै देशको जनमत नै सरकारको विरुद्धमा हुन्छ तब त्यसको जग स्वतः कमजोर हुन्छ ।

यस्तो अवस्थामा तेल, ग्यास लगायत पूर्वाधार र सुरक्षामा पुगेको ठुलो क्षतिले इरानलाई थप खोक्रो बनाइदिएको छ । सैनिक संख्यामा इजरायलभन्दा तेब्बर भएर पनि देशका उच्च सैनिक कमान्डरहरू छानीछानी मारिएका छन् । मिसाइल भण्डार र लन्चरहरू ध्वस्त भएका छन् । इजरायललाई ध्वस्त बनाउन पुग्ने मिसाइल भए पनि तिनलाई एकै साथ लन्च गर्ने क्षमता छैन । यो विडम्बनापूर्ण दृश्यले इरानको सैन्य शक्तिको बाहिरी खोल मात्र बलियो देखिए पनि भित्री रूपमा त्यो खोक्रो भएको यथार्थलाई उजागर गर्छ ।

यता पश्चिमी देशहरूको समर्थन समेत पाएको इजरायल आफैँमा वायुसेना र प्रविधिको उच्चतम विन्दुमा छ । उता इरानलाई लामो नाकाबन्दी र चरम भ्रष्टाचारले त्यसै कमजोर बनाएको छ । त्यसमाथि ऊ एक्लोजस्तो देखिएको छ । एक्लै विश्वभरका शक्तिसँग लडिरहेको अवस्था छ । यसरी इरानको निरीहता केवल इजरायलको हवाई शक्तिको अगाडि मात्र देखिएको होइन यो आफ्नै भित्री क्षय, जनमतको अभाव र अन्तर्राष्ट्रिय एक्लोपनको एक दुःखद परिणति हो ।

अब इरानको भविष्य कता मोडिएला ? यो प्रश्न निकै जटिल छ । इजरायलले यस आक्रमणलाई ‘सेल्फ डिफेन्स’ मानेको छ किनकि उसले इरानलाई आफ्नो ‘अस्तित्वको सङ्कट’ नै ठानेको छ । इरानका सर्वोच्च नेताहरूले इजरायललाई मध्यपूर्वको ‘क्यान्सर’ भन्दै नक्साबाटै हटाउने उद्देश्य रहेको बताउँदै आएका छन् । बेलाबेला अभिव्यक्त हुने यस्ता वक्तव्यबाजीले क्षणिक रूपमा उनीहरूलाई राष्ट्रवादी देखाए पनि इजरायलको दृढतालाई थप बलियो बनाउँदै लग्यो । यो परस्पर ‘अस्तित्वको द्वन्द्व’ले परिस्थितिलाई अरु संवेदनशील बनायो ।

मुख्य डर त आणविक हतियारको हो । धेरै देशसँग आणविक हतियार भए पनि इरानसँग धार्मिक सर्वोच्चता भएकाले एकल व्यक्तिको निर्णयले आणविक हतियार प्रयोग हुने जोखिम छ तर सबैभन्दा ठुलो चिन्ता त्यस्तो आणविक हतियार हमास, हुथी, हिजबुल्ला या अन्य इराकी सैन्य समूहसम्म पुग्न सक्ने भन्ने हो । इरानले यसअघि अत्याधुनिक मिसाइल र प्रविधि उनीहरूलाई दिँदै आएकाले पनि यो डर बढेको हो ।
यस्तो भयो भने त्यसको परिणाम के होला भन्ने कल्पना मात्र पनि भयावह छ । इरानसँग आणविक हतियार भएमा त्यसकै बलमा कट्टर धार्मिक विचारधाराको विस्तार हुने र शक्ति सन्तुलन बिग्रने डर उसकै इस्लामिक छिमेकी देशहरूलाई पनि छ । त्यसकारण पनि इरान एक्लियो ।

इजरायलको स्पष्ट योजना अमेरिकालाई जबर्जस्ती युद्धमा तान्ने र इरानको भूमिगत आणविक केन्द्रलाई ध्वस्त पार्ने देखिन्छ । यसो हुँदा यो द्वन्द्व द्विपक्षीय नरहने डर छ । अमेरिकाले इरानलाई निःसर्त आत्मसमर्पण गर्न भनिरहेको छ, जबकि रुसले प्रशोधित युरेनियम जिम्मा लिने र मध्यस्थता गर्ने प्रस्ताव समेत राखेको छ ।

मेरो व्यक्तिगत अनुमानमा केही दिनभित्रै आणविक साइटमा अमेरिकी बम खस्ने वा इरानले युरेनियम बुझाउन सहमत हुने सम्भावना छ । 

इरान आज एउटा दोबाटोमा उभिएको छ : कि त उसले अन्तर्राष्ट्रिय दबाबमा झुकेर आफ्नो आणविक कार्यक्रमलाई नियन्त्रणमा ल्याउनुपर्छ, कि त उसले थप सैन्य र आर्थिक क्षति बेहोरेर पूर्ण आत्मघाती र एक्लोपनको बाटो रोज्नुपर्छ ।

इजरायल इरानको सत्ता नै परिवर्तन होस् भन्ने चाहन्छ । यो टकराबले इरानको आन्तरिक राजनीतिक परिदृश्यमा ठुलो परिवर्तन ल्याउन सक्छ, जसले क्षेत्रीय र विश्वव्यापी शक्ति सन्तुलनमा दीर्घकालीन असर पार्नेछ । इरानको भविष्य, त्यसका लागि पर्खिरहेका विकल्पहरूमध्ये कुन बाटो उसले रोज्छ भन्नेमा निर्भर गर्छ । उसका विकल्प हुन्— समर्पण, विनाश वा अप्रत्याशित पुनरुत्थान । हालको निरीहता र आन्तरिक क्षयलाई हेर्दा उसका लागि आगामी दिनहरू निकै चुनौतीपूर्ण र अनिश्चित देखिन्छन् ।

(लेखक विगत १५ वर्षदेखि इजरायलमा कार्यरत छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णपक्ष थापा
कृष्णपक्ष थापा
लेखकबाट थप