मदन भण्डारीको जबज, विद्यादेवी भण्डारीको आवश्यकता
वैचारिक बहस, आन्तरिक लोकतन्त्र र संगठनात्मक गतिशीलतालाई आफ्नो शक्तिको स्रोत मान्दै आएको नेपालको राजनीतिक इतिहासमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुख्य शक्ति हो । राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने गरी यस पार्टीबाट बेलाबेला कैयौँ नीतिगत र सांगठनिक निर्णय भएका छन् ।
यस्तै एक महत्त्वपूर्ण र बहसयोग्य निर्णय हो, पार्टीको कार्यकारी पदमा रहनका लागि ७० वर्षको उमेर हद । यो निर्णय केवल अंकको खेल होइन न त यो कुनै सामान्य प्रशासनिक नियम हो । यो निर्णयको जरा पार्टीका मार्गदर्शक सिद्धान्त विशेष गरी जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को मर्मसँग जोडिएको छ ।
यो उमेर हदको प्रावधानले पार्टीभित्र र बाहिर एकैसाथ तरंग पैदा गरेको थियो र अहिले निस्किएको बहसले समेत सो तरंगलाई कायम नै राखेको छ । यसलाई एकातिर नेतृत्व हस्तान्तरण, युवा पुस्ताको सशक्तीकरण र पार्टीलाई जीवन्त राख्ने वैज्ञानिक विधिको रूपमा व्याख्या गरिएको छ भने अर्कोतिर यसले अनुभवी, परिपक्व र सक्षम नेताहरूको योगदानलाई निषेध गर्ने र गुटगत राजनीतिको हतियार बन्न सक्ने आशंका पनि व्यक्त गरिएको छ । यसै परिप्रेक्ष्यमा यस लेखले तीनवटा मूल प्रश्नमा केन्द्रित रहेर विषयको गहिराइमा पुग्ने प्रयास गरेको छ ।
प्रश्न छन्— नेकपा (एमाले) मा ७० वर्षे उमेर हदको प्रावधान किन आवश्यक छ र यसको वैचारिक सम्बन्ध जननेता मदन भण्डारीको दर्शनसँग कसरी जोडिएको छ ? यो वैचारिक र सांगठनिक संक्रमणको घडीमा पूर्वराष्ट्रपति तथा पार्टीकी नेतृ विद्यादेवी भण्डारीको भूमिका पार्टीका लागि किन र कसरी अनिवार्य छ ? यी दुई आयामलाई एकसाथ विश्लेषण गर्दा पार्टीको भविष्यको मार्गचित्र कस्तो देखिन्छ ?
- मदन भण्डारीको गतिशील पार्टीको सपना
कुनै पनि जीवन्त राजनीतिक संगठनका लागि नेतृत्वको पुस्तान्तरण एक अपरिहार्य र संवेदनशील प्रक्रिया हो । यही प्रक्रियालाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा विश्वका कैयौँ कम्युनिस्ट पार्टी या त इतिहासको गर्भमा विलीन भए या त पुरातन र अनुत्तरदायी संस्थामा परिणत भए । स्वर्गीय मदन भण्डारीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी सत्ताहरूको पतनलाई नजिकबाट नियालेका थिए । उनले कम्युनिस्ट आन्दोलनका विश्वव्यापी कमजोरीलाई गहिरोसँग केलाएर त्यसबाट पाठ सिक्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई मौलिक बाटोमा हिँडाउन जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन आफ्नो समयमा गरेका थिए ।
- जबज : नयाँ पुस्ता र प्रतिस्पर्धा
जनताको बहुदलीय जनवाद (जबज)को मूल आत्मा नै निरन्तरतामा क्रमभंगता र निरन्तर नवीकरण हो । मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई एक बन्द, रहस्यमयी र आजीवन नेतृत्वले चल्ने गिरोहका रूपमा नभई जनताप्रति उत्तरदायी, पारदर्शी, आवधिक रूपमा अनुमोदित हुने र आन्तरिक प्रतिस्पर्धाबाट खारिने एक लोकतान्त्रिक संगठनका रूपमा परिकल्पना गरेका थिए । गतिशीलता र संगठनमा लोकतन्त्र भएन भने कम्युनिस्ट पार्टी पनि बुर्जुवा पार्टीजस्तै सत्ताको खेलमा मात्र सीमित हुन्छ भन्ने मदन भण्डारीको बुझाइ रहेको थियो ।
यसै वैचारिक धरातलमा ७० वर्षे उमेर हदको सान्दर्भिकता खोज्नुपर्छ । यो प्रावधान मदन भण्डारीको त्यही गतिशील पार्टीको सपनालाई साकार पार्ने एक सांगठनिक औजार हो ।
मदन भण्डारीले नेतृत्वमा आजीवन रहने प्रवृत्तिलाई कम्युनिस्ट आन्दोलनको एउटा प्रमुख रोगका रूपमा चित्रण गरेका थिए । जब एउटै व्यक्ति वा पुस्ता लामो समयसम्म नेतृत्वमा रहन्छ तब नयाँ विचार, नयाँ कार्यशैली र नयाँ ऊर्जाले संगठनमा प्रवेश पाउँदैन । संगठन एउटा व्यक्तिको वरिपरि घुम्ने झुन्डमा परिणत हुन्छ । ७० वर्षे उमेर हदले यो जडतालाई तोडेर नेतृत्वमा रहने व्यक्तिलाई उसको भूमिका समय–सीमित छ र उसले आफ्नो कार्यकालमा नयाँ पुस्तालाई तयार पार्नुपर्छ भन्ने बोध गराउने विश्वास लिएका थिए । पार्टीलाई जमेको पोखरीजस्तो दुर्गन्धित हुनबाट बचाई बगेको नदीजस्तै सधैँ ताजा र जीवन्त राख्नुपर्ने उनको धारणा थियो ।
नेतृत्व हस्तान्तरण आकस्मिक र अराजक हुनुहुँदैन, यो योजनाबद्ध र सहज हुनुपर्छ । उमेर हदको प्रावधानले पार्टीलाई एउटा निश्चित समयतालिका दिन्छ । कुन नेता कहिले कार्यकारी भूमिकाबाट बाहिरिँदै छ भन्ने पूर्वानुमानले नयाँ आकांक्षीलाई तयारी गर्ने अवसर दिन्छ र पार्टीले पनि भविष्यको नेतृत्वको योजना बनाउन सक्छ । यसले अन्तिम घडीमा हुने अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दी र विभाजनको खतरालाई न्यूनीकरण गर्छ । मदन भण्डारीले पार्टीलाई विधि र प्रणालीमा चलाउनुपर्ने कुरामा जोड दिन्थे । ७० वर्षे प्रावधान त्यही विधिको शासनको एक महत्त्वपूर्ण पक्ष हो ।
कुनै पनि पार्टीको भविष्य त्यसको युवा पंक्तिमा निर्भर गर्छ । युवाहरूले पार्टीभित्र आफ्नो भविष्य देखेनन् र उनीहरूलाई सधैँ पर्ख र हेरको अवस्थामा राखियो भने उनीहरूमा निराशा पैदा हुन्छ । तिमीहरूको पालो आउँदै छ, तयारी गर भनेर पछिल्लोपटक निर्णय भई निलम्बन भएको ७० वर्षे उमेर हदको नयाँ बहस र विधान अधिवेशनको केही महिनाअगाडि चलेको मसिनो आवाजले युवा पुस्तालाई स्पष्ट सन्देश दिएको छ । यसले पार्टीमा नयाँ रगतको सञ्चारलाई सुनिश्चित गर्छ । नयाँ पुस्ताले आफूसँगै नयाँ प्रविधि, नयाँ दृष्टिकोण र समयको नयाँ चुनौतीलाई सामना गर्ने ऊर्जा लिएर आउँछ, जसलाई मदन भण्डारीको समय–सापेक्ष कम्युनिस्ट पार्टीको परिकल्पनासँग तुलना गर्न सकिन्छ ।
जब नेतृत्व परिवर्तन निश्चित हुन्छ तब नीति र विचारको बहसले प्राथमिकता पाउँछ । यदि नेतृत्व परिवर्तन अनिश्चित भए बहस व्यक्ति केन्द्रित र गुट केन्द्रित हुन जान्छ । वर्तमान नेतृत्वले एक निश्चित समयपछि अवकाश लिन्छ भनी पूर्वनिर्धारण गर्न सक्ने हो भने भावी नेतृत्वका लागि प्रतिस्पर्धा गर्नेले आफूलाई विचार र कार्यक्रमका आधारमा श्रेष्ठ साबित गर्ने प्रयास गर्छन् । यसले पार्टीलाई जबजले परिकल्पना गरेजस्तै विचारहरूको प्रतिस्पर्धा को मञ्च बनाउँछ ।
७० वर्षे उमेर हदको प्रावधानका आलोचकले अनुभवी नेताको ज्ञान, सीप र दूरदर्शिता खेर जाने तर्क गर्छन् । तर ७० वर्ष कार्यकारी पदका लागि तोकिएको उमेर हद हो राजनीतिक जीवनका लागि होइन भन्ने वर्तमान नेतृत्वले बुझ्न जरुरी छ । पार्टीले आफ्ना अनुभवी र सम्मानित नेताहरूलाई संरक्षक, सल्लाहकार वा अन्य विभिन्न सम्मानित भूमिकामार्फत उनीहरूको ज्ञान र अनुभवको लाभ लिन सक्छ । कार्यकारी नेतृत्वमा नयाँ ऊर्जा र संरक्षक भूमिकामा पुरानो अनुभवको संयोजनले पार्टीलाई अझ सन्तुलित र शक्तिशाली बनाउन सक्छ ।
७० वर्षे उमेर हद मदन भण्डारीको नाम जप्ने कर्मकाण्ड नभई उनको गतिशील, लोकतान्त्रिक र जीवन्त पार्टीको सपनालाई व्यवहारमा उतार्ने एक साहसिक र वैज्ञानिक कदम रहनेछ, जुन जबजको सांगठनिक कार्यान्वयनको एक अनिवार्य सर्त पनि हो ।
मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई एक बन्द, रहस्यमयी र आजीवन नेतृत्वले चल्ने गिरोहका रूपमा नभई जनताप्रति उत्तरदायी, पारदर्शी, आवधिक रूपमा अनुमोदित हुने र आन्तरिक प्रतिस्पर्धाबाट खारिने एक लोकतान्त्रिक संगठनका रूपमा परिकल्पना गरेका थिए ।
- राष्ट्रिय एकताकी प्रतीक : विद्यादेवी भण्डारी
पार्टी वैचारिक र सांगठनिक रूपमा एउटा नयाँ चरणमा प्रवेश गर्दै गर्दा त्यसलाई सही दिशामा डोर्याउन र त्यसको मौलिक पहिचानलाई जोगाइराख्न केही यस्ता धरोहरको आवश्यक पर्छ, जसको भूमिका पदीय राजनीतिभन्दा माथि हुन्छ । नेकपा (एमाले) का लागि आज त्यस्तै एक अविवादित, सम्मानित र अनिवार्य धरोहरको नाम हो, विद्यादेवी भण्डारी । उहाँको आवश्यकतालाई केवल मदन भण्डारीकी जीवनसंगिनीका रूपमा मात्रै हेर्नु उहाँको राजनीतिक व्यक्तित्व, संघर्ष र क्षमताप्रतिको ठुलो अन्याय हुनेछ । ‘जबज’को जीवन्त साक्षी र वैचारिक संरक्षक, पार्टीभन्दा माथिको एकीकृत पहिचान, राष्ट्रिय र अन्तर्राष्ट्रिय उचाइ, संकटको मध्यस्थकर्ता र सहजकर्ता र महिला सशक्तीकरण र प्रेरणाको स्रोतका रूपमा आत्मसात् गर्नु आजको आवश्यकता हो ।
मदन भण्डारीले जबज सिद्धान्तको प्रतिपादन गर्दै गर्दा विद्यादेवी भण्डारी केवल एक पारिवारिक सदस्य मात्र हुनुहुन्थेन, उहाँ एक सहयोद्धा र वैचारिक सहकर्मी पनि हुनुहुन्थ्यो । भण्डारीले जबजको जन्म, विकास र त्यसपछिका व्याख्याहरूको प्रक्रियालाई सबैभन्दा नजिकबाट देख्नुभएको छ, भोग्नुभएको छ । आज जबजलाई आ–आफ्नो सुविधा अनुसार व्याख्या गर्ने होडबाजी चल्दै गर्दा यसको मूल मर्म र भावनालाई जीवित राख्न विद्या भण्डारी एक वैचारिक वक्ताका रूपमा खडा हुन सक्नुहुन्छ । उहाँले पार्टीलाई वैचारिक रूपमा विचलित हुनबाट जोगाउन र मदन भण्डारीको सपनाको सही अर्थलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।
नेकपा (एमाले) को आन्तरिक राजनीतिमा गुटबन्दी एउटा तीतो यथार्थ हो । विभिन्न नेताहरूले आ–आफ्ना गुट र उपगुटहरू बनाई पार्टीलाई समय–समयमा कमजोर बनाएको छ । दुई कार्यकालसम्म देशको राष्ट्रपतिजस्तो गरिमामय पदमा रहेर काम गरिसकेपछि विद्यादेवी भण्डारीको व्यक्तित्व कुनै एउटा गुटमा सीमित छैन । उहाँले पार्टीका सबै पक्ष, सबै नेता र सबै कार्यकर्तालाई समान दृष्टिकोणले हेर्न सक्ने एउटा अभिभावकीय उचाइ प्राप्त गर्नुभएको छ । पार्टीभित्रका अनेकौँ दरारहरूलाई पुर्न र सबैलाई एकताको सूत्रमा बाँध्न उहाँको भूमिका महत्त्वपूर्ण हुन सक्छ । उहाँ एक व्यक्ति नभई एमालेको एकीकृत पहिचानको प्रतीक बन्न सक्नुहुन्छ ।
लगातार दुई कार्यकालसम्म गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति हुनु कुनै सामान्य कुरा होइन । यसले उहाँलाई एउटा असाधारण राष्ट्रिय र अन्तर्राष्ट्रिय कद प्रदान गरेको छ । उहाँको नामसँग राष्ट्रको सर्वोच्च संस्थाको गरिमा जोडिएको छ । यो उचाइ पार्टीका लागि एउटा ठुलो पुँजी हो । पार्टीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो धारणा बनाउँदै गर्दा वा अन्तर्राष्ट्रिय सम्बन्धहरू विस्तार गर्दा उहाँको सल्लाह, अनुभव र सम्पर्कले पार्टीलाई ठुलो लाभ पुग्न सक्छ । उहाँको उपस्थिति मात्रले पनि पार्टीको छविलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप सम्मानजनक बनाउँछ ।
राजनीतिक दलहरूमा संकट आउनु स्वाभाविक हो । नेकपा (एमाले) ले पनि विगतमा ठुल्ठुला संकट र विभाजनको सामना गरेको छ । यस्तो संकटको घडीमा सबै पक्षले विश्वास गर्न सक्ने र सबैको कुरा सुन्न सक्ने एक मध्यस्थकर्ता आवश्यक पर्छ । विद्यादेवी भण्डारीले आफ्नो सन्तुलित र परिपक्व व्यक्तित्वका कारण यो भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्नुहुन्छ । उहाँले पार्टीभित्रका आकांक्षा र अन्तर्विरोधहरूलाई व्यवस्थापन गर्न र एउटा सहज निकास दिन मध्यस्तकर्ताका रूपमा काम गर्न सक्नुहुन्छ ।
विद्यादेवी भण्डारी स्वयंमा नेपाली महिला आन्दोलनको एक सफल उत्पादन र प्रेरणाको स्रोत हुनुहुन्छ । एउटा सामान्य कार्यकर्ताबाट पार्टीको उपाध्यक्ष हुँदै देशको राष्ट्रपतिसम्मको उहाँको यात्राले लाखौँ महिलालाई राजनीतिमा आउन प्रेरित गरेको छ । पार्टीले महिला सशक्तीकरणको नारालाई व्यवहारमा उतार्न र महिला कार्यकर्ता तथा मतदातालाई आकर्षित गर्न उहाँको प्रतीकात्मक र वास्तविक भूमिकालाई उपयोग गर्न सक्छ ।
यसको अर्थ यो होइन कि उहाँले कुनै कार्यकारी पद नै लिनुपर्छ । पार्टीले उहाँको उचाइ र गरिमा सुहाउँदो एउटा सम्मानित भूमिका सिर्जना गर्नुपर्छ, जहाँबाट उहाँले पार्टीलाई वैचारिक मार्गदर्शन, सांगठनिक एकता र नैतिक बल प्रदान गर्न सक्नुहुनेछ । उहाँको भूमिका पार्टीको दैनिक राजनीतिमा हस्तक्षेप गर्ने होइन बरु पार्टी आफ्नो सही बाटोमा हिँडिरहेको छ कि छैन भनेर निगरानी गर्ने एक अभिभावकको हुनुपर्छ ।
- निष्कर्ष
नेकपा (एमाले) का लागि ७० वर्षे उमेर हदको प्रावधान र विद्यादेवी भण्डारीको अनिवार्य भूमिका परस्पर विरोधी होइनन्, बरु एकअर्काका परिपूरक हुन् । यी दुवै तत्त्व मदन भण्डारीको सपनाको एउटै सिक्काका दुई पाटा हुन् । यी दुवै तत्त्व मदन भण्डारीको सपनाको एउटै सिक्काका दुई पाटा हुन् जसले पार्टीको गतिशीलता र स्थायित्वबिचको द्वन्द्वात्मक सम्बन्धलाई सन्तुलनमा राख्छ ।
७० वर्षे उमेर हद मदन भण्डारीको गतिशील पार्टीको सांगठनिक हार्डवेयर हो । पार्टीलाई जडताको दलदलमा फस्नबाट रोकी निरन्तर नयाँ रगत सञ्चार गर्दै संगठनलाई समयको गतिसँगै अघि बढ्न बाध्य तुल्याउने संरचनागत इन्जिन हो । पार्टीभित्रको शक्ति सन्तुलनलाई स्वतः ‘रिसेट’ गर्ने एउटा वैज्ञानिक प्रणाली हो । पार्टी नेतृत्वमा आजीवन रहने र व्यक्ति पूजामा आधारित सामन्ती प्रवृत्तिको अन्त्य गर्छ । यसले निश्चित उमेरपछि नेतृत्वको कुर्सीमा बसेका व्यक्तिलाई पदमुक्त गर्दै त्यस पदसँग जोडिएको शक्ति, पहुँच र स्रोतको केन्द्रीकरणलाई पनि तोड्छ । यो प्रणालीले प्रतिस्पर्धात्मक लोकतन्त्रलाई साँचो अर्थमा संस्थागत बनाउँदै हरेक पुस्तालाई कुनै नेताको आशीर्वादले नभई उनीहरूको समय आउनेछ र उनीहरूले आफूलाई विचार र क्षमताका आधारमा प्रमाणित गर्नुपर्छ भन्ने बोध गराउँछ ।
विद्यादेवी भण्डारी त्यही पार्टीको वैचारिक र भावनात्मक सफ्टवेयर हुन् । उमेर हद हार्डवेयर हो भने विद्या भण्डारी त्यो अपरेटिङ सिस्टम हो, जसले हार्डवेयरलाई अर्थपूर्ण बनाउँछ । हार्डवेयर (प्रणाली) एक्लैले चल्दैन । त्यसलाई दिशानिर्देश गर्न, त्यसको सही उपयोग गर्न र त्यसलाई मूल्य–मान्यताको फ्रेमवर्कभित्र राख्न सफ्टवेयर (विचार र संस्कृति) चाहिन्छ । विद्या भण्डारीले पार्टीको आत्मा अर्थात् ‘जबज’को मूल मर्मलाई सुरक्षित राख्दै पार्टीलाई एकताको भावना प्रदान गर्दै सोही भूमिका निर्वाह गर्नुहुन्छ । प्रणालीको दुरुपयोग हुनबाट रोक्ने विद्यादेवी भण्डारी पार्टीको नैतिक शक्ति हो । ७० वर्षे प्रावधानले नयाँ पुस्तालाई अवसर दिँदै गर्दा त्यो पुस्ता वैचारिक रूपमा स्खलित नहोस्, गुटबन्दीमा नफसोस् र पार्टीको ऐतिहासिक योगदानलाई नबिर्सियोस् भनेर सुनिश्चित गर्ने काम उहाँजस्ता अभिभावकले गर्न सक्नुहुन्छ । उहाँको भूमिका जबजको सही व्याख्याता र पार्टीको सामूहिक विवेकको संरक्षकका रूपमा हुँदा पार्टीलाई गन्तव्यबाट विचलित हुन दिँदैन ।
७० वर्षे प्रावधानले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई सुनिश्चितता गर्दै गर्दा यो प्रक्रिया आफैँमा जोखिमरहित भने छैन । एउटा पुस्ता बाहिरिँदा त्यसले सिर्जना गरेको खाली ठाउँमा वैचारिक विचलन, अवसरवाद र अराजकताले टाउको उठाउने खतरा रहन्छ । नयाँ पुस्ता ऊर्जावान् हुँदाहुँदै पनि अनुभव, ऐतिहासिक ज्ञान र वैचारिक गहिराइको कमी हुन सक्छ । यहीँनेर विद्या भण्डारीको भूमिका सेतुका रूपमा प्रकट हुन्छ । उहाँले नयाँ र पुरानो पुस्ताबिचको खाडल पुर्न, अनुभव र ऊर्जाको समिश्रण गराउन र नेतृत्व हस्तान्तरणलाई सहज, व्यवस्थित र वैचारिक रूपमा सही दिशामा अघि बढाउन सक्नुहुन्छ । उहाँले नयाँ पुस्तालाई जबजको किताबी ज्ञान मात्र नभई त्यसको व्यावहारिक प्रयोग र मर्म पनि सिकाउँदै पुराना नेताहरूको अनुभव र योगदानको सम्मान गर्ने संस्कृतिलाई निरन्तरता दिन सक्नुहुन्छ ।
नेकपा (एमाले) को भविष्यको बाटो नवीकरण र निरन्तरताको सैद्धान्तिक बहसमा मात्र सीमित नभई राष्ट्रिय आकांक्षालाई पूरा गर्ने एक ठोस र रणनीतिक मार्गनिर्देशन गर्न सक्नुपर्छ । यस परिप्रेक्ष्यमा संरक्षक वा अभिभावकजस्तो अमूर्त भूमिकामा मात्र सीमित राख्नुभन्दा पार्टीलाई एकताबद्ध गर्दै र नयाँ पुस्ताको आशा र भरोसालाई केन्द्रमा राख्दै आसन्न २०८४ को निर्वाचनमा विद्यादेवी भण्डारीको नेतृत्वमा चुनावमा जानु एक अपरिहार्य विकल्प हुन सक्छ । उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि, वैचारिक स्पष्टता र संकटको घडीमा राष्ट्रलाई दिएको नेतृत्वको अनुभवलाई पुँजीकृत गर्दै उहाँको नेतृत्वमा निर्वाचनमा जाँदा समृद्ध नेपाल, सुखी नेपालीको मुर्झाएको सपनालाई पुनर्जागृत गर्न र आवश्यक दुईतिहाइ बहुमत हासिल गर्न सकिन्छ । यो कदमले नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न, एक स्थिर र बलियो सरकार निर्माण गर्नका लागि आवश्यक राजनीतिक धरातल तयार पार्दछ ।
नेकपा (एमाले) को भविष्यको बाटो भनेको यी दुई शक्तिबिचको सन्तुलनमा निहित छ । पार्टीले ७० वर्षे उमेर हदलाई विनाकुनै हिच्किचाहट कडाइका साथ लागु गर्नुपर्छ, जसले गर्दा पार्टीमा नयाँ नेतृत्वको ढोका सधैँका लागि खुला रहोस् तर सँगसँगै विद्यादेवी भण्डारीजस्ता राष्ट्रिय कद र वैचारिक उचाइ भएका नेताहरूलाई उहाँहरूको गरिमा अनुसारको सम्मानित भूमिकामा स्थापित गरी पार्टीको अभिभावकविहीन परिस्थितिलाई अन्त्य गर्नुपर्छ ।
७० वर्षे उमेर हदले पार्टीलाई शारीरिक रूपमा जवान राख्नेछ भने विद्यादेवी भण्डारीजस्ता धरोहरहरूको संरक्षण हुनेछ, जसले पार्टीलाई वैचारिक रूपमा परिपक्व र भावनात्मक रूपमा एकजुट बनाउँछ । एउटा सफल र जीवन्त पार्टीका लागि जवान ऊर्जा र परिपक्व विवेक दुवै अनिवार्य छन् । एउटाले गति दिन्छ, अर्कोले दिशा । यही सन्तुलित र द्वन्द्वात्मक बाटो नै मदन भण्डारीको गतिशील र लोकतान्त्रिक पार्टीको सपनाको सच्चा सम्मान हुनेछ भने नेकपा (एमाले) को उज्ज्वल भविष्यको निर्विकल्प सुनिश्चितता पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण