आजपाले देशका विभिन्न स्थानमा जलायो निजामती विधेयक
काठमाडौँ । प्रतिनिधिसभाबाट पारित ‘सङ्घीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशका विभिन्न स्थानमा जलाएको छ । यो विधेयक श्रेणीविहीन, गरिब, निमुखाको पक्षमा नरहेको निष्कर्ष सहित आजपाले अस्वीकार गर्दै विरोधमा उत्रिएको हो ।
सोमबार देशका विभिन्न स्थानमा विधेयकको प्रति जलाएको आजपाले जनाएको छ । सो विधेयक आइबार प्रतिनिधिसभाबाट पारित भएको थियो । बैठकमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले निजामती विधेयक ‘गरिबमारा’ भएको टिप्पणी गर्दै विधेयकको प्रति नै च्यातेर बैठक समेत बहिष्कार गरेका थिए ।
निजामती विधेयक गरिबमारा भएको भन्दै आजपा अध्यक्ष साहले रोष्ट्रमबाटै च्यातेर बैठक बहिष्कार गर्दै यो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी समेत दिएका थिए ।
गरिबको भविष्य कत्लेयाम गर्ने निजामती विधेयक आजपा अध्यक्ष साहले अस्वीकार गरेपछि आजपा नेताकार्यकर्ताले त्यसलाई जलाउन सुरु गरेका हुन् ।
काठमाडौँको भृकुटीमण्डप, थापाथली, धनुषाको जनकपुरधाम, रौतहटको गरुडा, सर्लाहीको मलंगवा, ब्रह्मपुरी, बाराको कलैया, पर्साको वीरगन्ज, कास्कीको पोखरा, सुनसरी, बाँकेको नेपालगन्ज, रुपन्देहीको लुम्बिनी, पाल्पाको तानसेन, महोत्तरीको जलेश्वर सहित विभिन्न ठाउँमा प्रतिनिधिसभाबाट पारित ‘सङ्घीय निजामती सेवा विधेयक, २०८२’ को प्रति जलाएर आजपाले विरोध गरेको आजपा सङ्गठन विभाग प्रमुख त्रिभुवन साहले जनाएका छन् ।
यो विधेयकले गरिब, अशिक्षित नेपाली जनतासँग अन्याय गरेकाले आफूहरू विरोधमा उत्रेको साहले जनाएका छन् । श्रेणीविहीन कर्मचारीको हक अधिकारको बारेमा केही पनि उल्लेख नहुने निजामती विधेयक आफूहरूलाई स्वीकार्य नभएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण