आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
बाढी

लोमान्थाङमा बाढी, कालीगण्डकीसम्म अर्लट

मङ्गलबार, २४ असार २०८२, १८ : ४९
मङ्गलबार, २४ असार २०८२

काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा बाढी आएको छ । मंगलबार साँझ लोमान्थाङमा बाढी आएको हो । तटीय क्षेत्रका बासिन्दालाई अलर्टमा बस्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

मुस्ताङ लोमन्थाङ गाउँपालिका वडा नम्बर ४ चुम्जुङ खोलामा बाढी आएको हो । मुस्ताङबाट सहायक प्रहरी निरीक्षक बिष्णुहरी थापाको कमाण्डमा १० जनाको टोली खटिएको छ । 
लोमन्थाङ ४ चुम्जुङ खोलाको माथिल्लो नयाँ बन्दै गरेको पक्की पुलमाथीबाट लेदो सहितको बाढी आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

खोलाले प्रभाव पार्न सक्ने मुस्ताङको ईलाकाहरु छुसाङ, कागबेनी, जोमसोम लगायतका स्थानहरुमा विपद् फोकल पोईन्ट र विपद् सुचकहरु मार्फत सतर्क रहन भनिसकिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालका अनुसार खोला नजिकका बासिन्दालाई अलर्टमा बस्न आग्रह गरिएको छ । 

लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।” 

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरू गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताए । 

यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ ।

उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । आज त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरू गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप