आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘देशमा सुशासनको अभाव मुख्य समस्या’

शुक्रबार, २७ असार २०८२, ०० : १९
शुक्रबार, २७ असार २०८२

काठमाडौँ। नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित “हेमबहादुर मल्ल सम्मान” कार्यक्रममा पूर्व तथा वर्तमान प्रधानन्यायाधीशहरूले मुलुकमा सुशासनको गम्भीर अभाव रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले नेतृत्व, न्याय प्रणाली र शासन प्रणालीको वर्तमान अवस्थाप्रति गुनासो गर्दै गम्भीर आत्म मूल्याङ्कनको आवश्यकता औँल्याए।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारहरू स्वार्थ समूहको प्रभावमा गठन हुने आरोप लगाए। उनका अनुसार राजनीतिक दलहरू घोषणापत्र त बनाउँछन्, तर सरकारमा गएपछि त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति नै देखाउँदैनन्।

“गठबन्धन एकसँग, सरकार अर्कोसँग बनाउने प्रवृत्तिले दलप्रतिको जनविश्वास हराउँदै गएको छ,” श्रेष्ठले भने। उनले देशका लागि काम गर्न सक्ने इमानदार नेतृत्व हराउँदै गएको पनि उल्लेख गरे।

श्रेष्ठले न्यायालयप्रति राज्यको ध्यान र लगानी न्यून भएकोप्रति पनि चिन्ता व्यक्त गरे। उनका अनुसार न्याय क्षेत्रमा सुधारका लागि विदेशी भ्रमणसमेत गराइएको छ, तर प्रतिफल भने देखिएको छैन।

कार्यक्रमका प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधानन्यायाधीश श्रेष्ठको न्याय क्षेत्रमा देखिएको निर्भीकता र प्रतिबद्धताको प्रशंसा गरे।

“उहाँ पदमा नभए पनि सक्रिय जीवन बाँचिरहनुभएको छ, जुन सबैका लागि प्रेरणादायी हो,” उनले भने।

प्रधानन्यायाधीश राउतले देशमा अहिले विश्वासको सङ्कट देखिएको र त्यसलाई सम्हाल्न सबै प्रबुद्ध नागरिक लाग्नुपर्ने बताए। “हामी कहाँ चुक्यौँ, त्यो मनन गर्नुपर्ने समय आएको छ,” भन्दै उनले देशको मुख्य समस्या सुशासन रहेको स्पष्ट पारे।

राउतले न्यायालयमाथि हस्तक्षेप अस्वीकार्य रहेको चेतावनी दिँदै भने, “हजारौँ राम्रो काम गर्दा एउटा गल्ती भयो भने त्यसैलाई मात्रै उचालिन्छ।” उनले न्यायालयमा भइरहेका सबै गतिविधिको जिम्मा आफूले लिने भन्दै न्यायाधीशहरू निष्ठाका साथ काम गरिरहेका बताए । 

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान” प्रदान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप