शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, ०४ साउन २०८२, १४ : १४
आइतबार, ०४ साउन २०८२

सारांश

  • विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
  • सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, एक घाइते छन् ।
  • रुपन्देही र दाङमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ, घाइतेहरुको उपचार भइरहेको छ ।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, रुपन्देही, दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।  

सुनसरीको इनरुवा नगरपालिका ७ बर्छुवा चोकस्थित सडकमा बर्छुवा चोकबाट मुसहरी टोलतर्फ जाँदै गरेको को–३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय पारस यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका–८ सितलडाँडास्थित सडकमा लु. ६१ प ७२३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क घर भएकी ६८ वर्षीया कुमारी कुँवरको मृत्यु भएको छ ।

शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता दाङको लमही नगरपालिका–५ सुनखोलीमा लु. ३ च ४८१४ नम्बरको बोलेरो पिकअपले किचेर सोही ठाउँ बस्ने २१ वर्षीय राकेश कुमार बानियाँको आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि पार्किङ गरी राखेको बोलेरोको पछाडिको टायरमा ओत

लगाएको ढुङ्गा निकाल्ने क्रममा बोलेरो ब्याक भई किच्दा गम्भीर घाइते भएका राकेशको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप