बेनी–पुरुण्डी सडकखण्ड पक्की बन्यो
सारांश
- म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट पुरुण्डी खण्डको सडक पक्की बनाइयो।
- सडक स्तरोन्नतिका लागि नगरपालिकाले विभिन्न योजनाहरू सञ्चालन गरेको थियो, जसले यात्रा अवधि घटाएको छ।
- स्थानीयवासीले नियमित यातायात र भाडादर समायोजनको माग गरेका छन्, जसमा नगरपालिकाले समन्वय गर्ने जनाएको छ।
म्याग्दी । म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनीबाट बेनी –६ अर्थुङ्गे–बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
“बेनीबाट अर्थुङ्गे हुँदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो”, उनले भने, “पुरुण्डीबाट पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/८३ मा लागि रु एक करोड ६२ लाख ५० हजार विनियोजन भएको छ ।”
बेनी–अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजना सञ्चालन गरेको थियो । गत वर्षसम्म बेनीबाट अर्थुङ्गे हुँदै बेनी नगरपालिका–६ बाँसबोटसम्म ढलान र कालोपत्र भएको थियो ।
रु ६२ लाख ६७ हजार ८३८ मा ठेक्का सम्झौता भएको योजनामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, एक सय ३० मिटर ढलान र एक सय ९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताए ।
सडक बोर्डको कार्यक्रमअन्तर्गत रु ६८ लाख ७९ हजार ४९८ मा ठेक्का सम्झौता भएको योजनामार्फत पुरुण्डी खण्डमा दुई सय ३२ मिटर ढलान, एक सय ५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ ।
कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक चार मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ ।
एकपाटेका बासिन्दा विष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवतजावतमा सहज भएको बताए । “सडक सुधार भएसँगै यसअघि एकपाटेबाट बेनी आउन ४० मिनेट लाग्ने गरेकामा अहिले यात्राअवधि १० मिनेटमा छोटिएको छ”, उनले भने, “हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रूपमा यात्रा गर्न पाउँदा दङ्ग परेका छौँ ।”
स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण