समीक्षकको ‘मौसुफ, लेखिबक्सेको, पढिबक्सेको’जस्ता सम्बोधन मन पराएनन् समले
नाट्यसम्राट् बालकृष्ण समको जीवनी
जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो । समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका, कठोर र क्रूर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरू पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्यो ।
बालकृष्णशमशेर जबराको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा सम्पन्न भएको थियो । त्यस स्कुलमा दशौँ कक्षासम्मको अध्ययन गरिसकेपछि उनले कोलकाताबाट म्याट्रिक उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ उनले विज्ञान विषय लिएर पढ्न थाले । त्यसै बखत उनी सैनिक सेवामा प्रवेश भए । सुरुमै कप्तानमा भर्ना भए पनि काम गर्दै जाँदा क्रमशः सैनिक सेवामा असन्तुष्ट हुँदै गए, किनभने त्यस बेला समको गहिरो झुकाव नै साहित्य, कला र संस्कृतिमा थियो । सैनिक सेवामा आफ्नो असन्तुष्टि हुँदाहुँदै उनी लेफ्टिनेन्ट कर्णेल चाहिँ भए ।
लेफ्टिनेन्ट कर्णेल भइसकेपछि सैनिक सेवालाई चटक्कै छाड्ने निधो गरेका सम अन्ततः वाङ्मय सेवामा आबद्ध हुन थाले । त्यस बेला उनको उदारतालाई राणाशाहीहरू पटक्कै देख्न सक्तैनथे । साथै नेपाली जनताचाहिँ समलाई ‘राणा’को पगरीमा गुथ्ने गर्थे । त्यस बखत जनता पनि राणा भनेर समसँग त्रसित थिए । वास्तवमा त्यस बेला समको स्थिति अत्यन्तै नमजाको थियो, यसो हुँदाहुँदै पनि उनी साहित्यमा लिप्त भए । एउटा सुखसयलमा हुर्केका र बढेका व्यक्तित्वमा पनि सरस्वतीको अनन्त साधना थियो । अनि उनी त्यसैमा समर्पित भएर आफ्नो अभिरुचिमा जुटेका थिए । हुँदाहुँदै यी नेपाली साहित्यमा एउटा अमर रत्नका रूपमा स्थापित भए । अनि त्यसैको परिणामस्वरूप उनलाई त्रिभुवन विश्वविद्यालयले पीएचडी उपाधि पनि समर्पण गर्यो ।
बालकृष्ण सम नेपाली भाषामा मौलिकताका प्रेमी थिए । संवत् १९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई समकै ओजस्वी नेतृत्वका कारणले ‘नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराइएको थियो । केही कालसम्म प्रकाशिनी समितिका अध्यक्ष भएर उनले नौला र महत्त्वपूर्ण कार्य गरे । त्यहाँ उनले विशाल सुधार गरे । वास्तवमा राणाकालीन युगमा पनि यिनले जनता र राष्ट्रका लागि काम गरे । संवत् २००० सालभन्दा अघिदेखि नै उनी त्रि–चन्द्र कलेजमा नेपाली पढाउने गर्थे । उनले यो क्रम निकै समयसम्म खेपेका थिए ।
राणाशासनको जल्दोबल्दो बेलाका साहित्यकार हृदयचन्द्रसिंह प्रधानले बालकृष्ण समको नाटकको समालोचना गरेका थिए । त्यस समीक्षामा समलाई प्रधानले ‘मौसुफ, लेखिबक्सेको, पढिबक्सेको, हजुर’जस्ता दरबारिया आदरार्थी शब्दहरूको प्रयोग गरे, तर त्यस समीक्षामा आधारित त्यस्ता शब्दहरू समका लागि अप्रिय भए । त्यसैले समले त्यस समालोचनाका बारेमा भनेका थिए, ‘साहित्यमा त्यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ ।’
बालकृष्ण सम जनताका पक्का प्रतिनिधि थिए । त्यसैले उनले सैनिक सेवालाई पनि चटक्कै छाडिदिए । त्यसपछि उनी जनसमूहमा मिस्सिन लागे र जनतासँग गर्दन जोडेर हिँड्न थाले, अनि उनले आफूसँगसँगै आफ्ना छोरा जनार्दन समलाई पनि हिँडाउन थाले । यी बाबुछोराको काम, व्यवहार र पद्धति राणाका लागि सहन सक्ने विषय थिएन, किनभने समहरू आफ्ना धारणा जनताका धारणामा आबद्ध गरी भाषण गर्दै हिँड्थे । परिणामस्वरूप बालकृष्ण सम र जनार्दन सम पक्राउ परे । समलाई जेलखाना चलान गरिएपछि समले त्यहाँ आफ्नो धारणालाई साकार पार्ने प्रतिज्ञा गरे । समले त्यस बेला आफ्ना प्रतिज्ञालाई तीन चरणमा विभाजित गरे ः (१) सामन्ती पाराका स्वस्ति, कुर्णोश, गोडामा ढोग्नेजस्ता चलनका सट्टा सबैलाई नमस्कार गर्ने । (२) सबैमा समानता, सहृदयता र तपाईं शब्दको प्रयोग गर्ने । (३) भादगाउँले टोपीलाई राष्ट्रिय पोसाक मान्ने ।
समीक्षामा समलाई प्रधानले ‘मौसुफ, लेखिबक्सेको, पढिबक्सेको, हजुर’जस्ता दरबारिया आदरार्थी शब्दहरूको प्रयोग गरे, तर त्यस समीक्षामा आधारित त्यस्ता शब्दहरू समका लागि अप्रिय भए । त्यसैले समले त्यस समालोचनाका बारेमा भनेका थिए, ‘साहित्यमा त्यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ ।’
बालकृष्णशमशेर जबरा जेलमा थुनिएपछि उनले जेलभित्र विभिन्न घटना देखे । जीवनमा मान्छेले मान्छेलाई कसरी सताउँदो रहेछ भन्ने उनले जेलभित्रै प्रत्यक्ष घटना हेरे । जेलभित्र कैदीलाई आँखा चिम्लेर कुटेको क्षण उनका लागि चिरस्मरणीय दुःखद घटना बन्यो । उनीसँगै पक्राउ परेका न्हुच्छेमानले खाएको कुटाइले उनी झनै दुःखित बने । न्हुच्छेमानले कुटाइ खाइखाई मर्नुपरेको घटनाले उनको भावना झनै विह्वलित, शोकाकुल र व्यथित भयो । २००७ सालको जनक्रान्तिको सफलतापछि उनी पनि जेलमुक्त भए । त्यसपछि उनी आफ्नो समवेदना र सहानुभूति अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गए । अनि त्यही कारणले त्यसै दिनदेखि उनले शमशेरको ‘शेर’लाई चट्टै काटेर आफ्नो थर ‘सम’ लेखे ।
बालकृष्ण सम बहुआयामिक व्यक्तित्वका धनी थिए । त्यसैले यी नेपाली साहित्याकाशैभरि सम्मानित भए । यिनको योगदानका कारणले यी सर्वत्र पुजिए । प्रजातन्त्रपछि मात्र होइन उनी २००७ सालअघि पनि जनप्रिय थिए । सम सधैँ जनताका माझमा थिए । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली परिवेशप्रति समको अपार माया, गहन भरोसा र अनुपम श्रद्धा थियो ।
२००७ सालको क्रान्तिपछि समको व्यक्तित्वले झनै झाँगिने अवसर पायो । त्यसपछि उनी रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए । साथै उनी राजसभा स्थायी समितिका सदस्य पनि भए ।
नेपाली वाङ्मय संसारमा बालकृष्ण सम एउटा अमर प्राज्ञका रूपमा स्थापित भए । उनी एउटा उच्चकोटिका लेखक थिए, सफल चित्रकार थिए र कुशल अभिनेता थिए । सम एउटा दार्शनिक थिए । उनले लेखेका कैयौँ रचना दर्शनमा आधारित छन् । साथै उनले कैयौँ नाटकमा आफूलाई मञ्चित पनि गरे । उनी जे जे विषयमा हात हाल्थे, सफल हुन्थे । उनी एउटा कुशल चित्रकार पनि थिए । उनले कैयौँ चित्रहरूको पनि निर्माण गरे । चित्रकारितामा पनि समले खुबै प्रशंसा पाए, नाउँ कमाए र त्यसैमा पनि आफूलाई स्थापित गराए ।
समले नेपाली माटामा गर्नु गरे । यिनले नेपाली वाङ्मयमा हात हालेर नेपाली कला, संस्कृति र साहित्यलाई विश्वको कला, संस्कृति र साहित्यको हाराहारीमा पुर्याए । परिणामस्वरूप उनले नेपालबाट सम्मान पनि पाए । नेपाली वाङ्मयको उत्कृष्ट र उच्चकोटिको सेवा गरेबापत सम गोरखा दक्षिणबाहु प्रथमबाट विभूषित भए । उनले राजकीय पदक र त्रिभुवनजयन्ती पदक पनि पाए । नेपाली साहित्यको गरिमालाई नेपालका डाँडापाखा, सहर र बेँसी पुर्याएबापत उनलाई ‘त्रिभुवन प्रज्ञापुरस्कार’ पनि समर्पण गरियो । साथै नेपाली भाषा, साहित्य, कला, संस्कृतिको उन्नति र विकासमा लामो समयदेखि उल्लेखनीय सेवा गरी नेपाल राष्ट्रको गौरव विदेशमा समेत पुर्याएबापत बालकृष्ण सम ‘पृथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए । त्यस पुरस्कारबाट सम्मानित हुने पहिलो स्रष्टा सम नै थिए ।
नेपाली भाषा र साहित्यको सेवाको सिलसिलामा समले नेपालका विभिन्न भूभागको भ्रमण गरे । साथै उनले नेपालका तर्फबाट विभिन्न सभा, समारोह र सम्मेलनमा भाग लिनका निम्ति भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रुस र अमेरिकाको भ्रमण गरे ।
बालकृष्ण समको व्यक्तित्वलाई मुख्यतया तीन भागमा विभाजित गरिन्छ— (क) सांस्कृतिक व्यक्तित्व । (ख) कलात्मक व्यक्तित्व र (ग) साहित्यिक व्यक्तित्व ।
उनको सांस्कृतिक व्यक्तित्वमा अभिनयले प्रमुख भूमिका खेलेको पाइन्छ भने उनी गीत गाउनमा पनि निपुण देखिन्छन् । समको कलात्मक व्यक्तित्वले चित्रकलाको भूमिकालाई उल्लेख गरेको पाइन्छ । उनका व्यक्तित्वमध्ये साहित्यिक व्यक्तित्वले चाहिँ देशदेशान्तरमा अहं भूमिका निर्वाह गरेको छ । वास्तवमा सम आयरल्यान्डमा जन्मेका भए इट्स र बर्नार्ड शा हुन्थे, अमेरिकामा जन्मेका भए टीएस एलियट हुन्थे र रुसमा जन्मेका भए मिखायल शोलोखेभभन्दा ठुला पनि हुन्थे । एउटा गरिब र पछौटे देशमा जन्मेर बालकृष्ण सम नेपालभित्र मात्रै थन्किन पुगे । यति हुँदाहुँदै पनि उनी आफ्ना यात्रामा कहिल्यै नथाकी नेपाली माटामा करिब आठ दशक हिँडिरहे । त्यही क्रममा उनका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।
२००९ सालमा दार्जिलिङ पुगेका बेला साहित्यका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिमूर्तिमा घोषित भएका थिए । नेपाली भाषा–साहित्यमा अति उत्कृष्ट नाटक लेखन र मञ्चनका शिखर व्यक्तित्व समलाई नाट्यसम्राट् भनिन्छ ।
समको २०३८ साउन ६ गते काठमाडौंमा स्वर्गारोहण भयो । उनको महिमामा सरकारले हुलाक टिकट प्रकाशनमा ल्यायो । साथै काठमाडौँको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण