बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
संसद्

भिजिट भिसा प्रकरण : विरोधमा रहेका दलका नेताहरूसँग सभामुखको छलफल

मङ्गलबार, ०६ साउन २०८२, १६ : ४८
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन्।
  • सभामुखले सरकार र विपक्षी दलहरूबीच संवाद हुन नसक्दा संसद् अवरुद्ध भएको बताए।
  • कानुनमन्त्री चौरसियाले सरकार छानबिन समिति बनाएर काम गरिरहेको र विपक्षीसँग छलफल गरिरहेको जानकारी दिए।

काठमाडौँ । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद्‌मा निरन्तर विरोधमा उत्रेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् । 

त्यस क्रममा सभामुख घिमिरेले भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी नभएको भन्दै सरकार र दलहरूबिच संवाद हुन नसक्दा त्यसको असर संसद्‌मा परेको बताए । 

‘यो कुरा सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरू कोही सभामुख भए पनि संसद् चलाउनुपर्ने बाध्यात्मक स्थिति छ’, सभामुख घिमिरेले भने, ‘सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु ।’

उनले दलहरुको सैद्धान्तिक, राजनीतिक  मुद्दाहरूप्रति आफ्नो केही भन्नु नरहेको भन्दै संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरे । 

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको भन्दै विपक्षीलाई नजरअन्दाज गरेर सरकार अघि बढ्न नचाहेको बताए ।

‘रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ’, मन्त्री चौरसियाको भनाइ छ । 

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूले उठाएका मुद्दा धेरै गम्भीर भएपनि सम्बोधन गर्न छाडेर सरकारले उल्टै गैरजिम्मेवारी देखाएको बताए । राप्रपा उपाध्यक्ष तामाङले वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी नदिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप