आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमतीलाई कुटिरहेका भाइलाई रोक्न खोज्दा दाइको हत्या

आइतबार, ११ साउन २०८२, २१ : ५६
आइतबार, ११ साउन २०८२

सारांश

  • सिरहाको गोलबजारमा दाजुभाइबीचको विवादमा ३५ वर्षीय मोतीराम सदाको हत्या भएको छ।
  • मोतीरामलाई भाइ श्यामकुमार सदाले श्रीमतीलाई कुटपिट गरिरहेको बेला हतियार प्रहार गरेका थिए।
  • प्रहरीले श्यामकुमारलाई भारत भाग्दै गरेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ पुरन्डी टोलमा दाजुभाइबिचको विवाद हत्या घटनामा परिणत भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन ८ गते राति करिब ८ ः ५५ बजे झैझगडा भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

त्यहाँ ३५ वर्षीय लेला भनिने मोतीराम सदा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान पठाइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार मोतीरामका कान्छा भाइ भुटका भनिने २५ वर्षीय श्यामकुमार सदाले आफ्नै श्रीमती १९ वर्षीया कौसिला देवी सदालाई कुटपिट गरिरहेको बेला मोतीरामले झगडा छुटाउन खोज्दा भाइले धारिलो हतियार प्रहार गरेका थिए। हतियारले छातीमा लागेको कारण मोतीराम गम्भीर घाइते भएका थिए।

घटनापछि श्यामकुमार हतियारसहित फरार भएका थिए। खोजतलासका क्रममा प्रहरी टोलीले उनलाई औरही गाउँपालिका–३ जमुवा नहरतर्फ भारत भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका श्यामकुमारलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर अनुसन्धान गरिरहेको छ। आइतबार जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप