मानमती विष्ट : साथीहरूको जुत्ता मागेर खेल्नेदेखि विश्वकपमा कप्तानीसम्म
सारांश
- १९ औँ एसियाली खेलकुदमा कांस्य पदक जितेपछि मानमती विष्ट भावुक भइन्, यो उनको वर्षौँको सङ्घर्षको प्रतिफल थियो।
- नेपाली महिला कबड्डी टोली विश्वकपको तयारीका लागि भारतमा प्रशिक्षण गरिरहेको छ, कप्तान मानमती विष्टको नेतृत्वमा टोली छ।
- मानमती विष्ट सामान्य परिवारबाट आएर राष्ट्रिय टोलीको कप्तान बन्न सफल भइन्, उनको लक्ष्य विश्वकपको फाइनल खेल्नु छ।
धनगढी । १९ औँ एसियाली खेलकुदमा कांस्य पदक जितेपछि नेपाली झण्डा फहराउँदै गर्दा मानमती विष्टका आँखाबाट आँसुको धारा बगे । त्यो आँसु पीडाको थिएन, वर्षौँको सङ्घर्षको प्रतिफल प्राप्त गर्दाको खुसीमा झरेका थिए ।
कञ्चनपुरको धुलाम्य मैदानमा खाली खुट्टा दौडिएका दिनदेखि एसियाली खेलकुदसम्मको यात्रा मानमतीका लागि कम चुनौतीपूर्ण थिएनन् ।
नेपाली राष्ट्रिय महिला कबड्डी टोली यतिवेला भारतको हरियाणास्थित मोरमाजरामा प्रशिक्षणका साथै स्थानीय ५ क्लबसँग अभ्यास खेल खेलिरहेको छ । आगामी अगस्टमा हुने विश्वकपमा सहभागी हुने नेपाली टोली अहिले भारतमा प्रशिक्षण गर्नुका साथै अभ्यास खेल खेलिरहेको छ ।
यसअघि अगस्ट ३ देखि ११ सम्म विश्वकप हुने भनिए पनि अहिले सो समय केही पछि सरेको छ । नेपाली टोलीकी कप्तान हुन् मानमती विष्ट । टोलीमा १४ खेलाडीसहित १८ सदस्य छन् र प्रशिक्षकको जिम्मेवारी विष्णुदत्त भट्टले सम्हालेका छन् ।
_E9mDF71WVM.jpg)
‘विश्वकपमा नेपालले फाइनल खेल खेल्ने छ । फाइनल खेल्ने मेरो सपना हो । यही सपनालाई पूरा गर्न म कप्तान र खेलाडीका रूपमा समेत उत्कृष्ट प्रदर्शन गर्नेछु,’ आत्मविश्वासका साथ मानमतीले रातोपाटीसँग भनिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका, तिलकपुरमा जन्मिएकी मानमती सामान्य परिवारकी सदस्य हुन् । बैतडीको पुर्ख्यौली घर छाडेर उनका बुबा १२ वर्षको कलिलो उमेरमै तराई झरेका थिए र आफ्नै मेहनतले जग्गाजमिन जोडे । आमा खेती किसानी गर्थिन् भने बुबा गाडी चलाउँथे ।
मानमतीको बाल्यकाल खेलकुदमै बित्यो । उनलाई खेलकुदमा प्रवेशको प्रेरणा भने जेठी दिदीले दिइन् । दिदी जिल्लास्तरसम्म एक सय मिटर दौडमा सहभागी हुन्थिन् ।
_PH5olrdmtc.jpg)
‘दिदीले खेलेको देखेर मलाई पनि खेलप्रति आकर्षण बढ्यो । स्कुलमा पनि खेलबाट इज्जत हुँदो रहेछ भन्ने लाग्यो,’ मानमतीले सुनाइन् ।
बिहेपछि दिदीको खेल जीवन टुङ्गियो, तर दिदीले बालेको खेलकुदको दियो मानमतीले निभ्न दिइनन् । सुरुमा परिवारले खेलप्रति मानमतीको रुचिलाई सामान्य रूपमा लियो । प्रतियोगितामा जाने, खेल्ने र आउनेमै उनी सीमित थिइन् र परिवारले पनि त्यही रूपमा उनलाई लिने गरेको थियो ।
२०६२ सालमा काठमाडौँमा आयोजित पहिलो जुनियर राष्ट्रिय खेलकुद (तत्कालीन वीरेन्द्र शिल्ड) मा ३ हजार मिटर दौडमा मानमतीले स्वर्ण पदक जितेपछि भने परिवार चकित भयो । ‘मेरो प्रदर्शन र नतिजा देखेर ममी छक्क पर्नुभयो । त्यसपछि मैले खेललाई नै निरन्तरता दिएँ,’ मानमतीले भनिन् ।
मानमतीले तेक्वान्दोमा पनि हात हालिन् । ‘त्यो वेला तेक्वान्दो, कराँतेजस्ता मार्सल आर्ट्सको क्रेज थियो । आत्मरक्षाका लागि पनि मार्सल आर्ट्स खेल्नुपर्छ भन्ने थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण मानमतीले तेक्वान्दोको यात्रा लामो बनाउन सकिनन् ।
‘घरमा पैसा नदिने भएपछि मैले तेक्वान्दो छोडिदिएँ,’ उनले बाध्यता सुनाइन् ।
एथलेटिक्समा केही समय शरीरले साथ नदिएपछि उनको जीवनमा कबड्डीको प्रवेश भयो । सन् २०१८ तिरको कुरा हो, साथीहरूले कबड्डी खेलिरहेको देखेपछि उनले पनि खेल्ने इच्छा देखाइन् ।
_TfdEs2XCjD.jpg)
‘मैले गाउँमा त कबड्डी खेलेको हो भनेँ । सिनियर दिदीहरूले ल आइज, कोसिस गर भन्नुभयो । म पावरले दुई–तीन जनालाई उडाइदिन्थेँ,’ उनले भनिन् ।
प्राविधिक ज्ञान उनमा नभए पनि शरीरको पावरले नै सबैलाई चकित बनायो । त्यहीँबाट उनको कबड्डी यात्रा सुरु भयो ।
कबड्डीमा लागेपछि मानमतीले पछाडि फर्केर हेर्नुपरेन । उनले एसियन गेम्स, साउथ एसियन गेम्स, एसियन च्याम्पियनसिप, मलेसियामा सर्कल कबड्डीलगायत करिब सात वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । गर्वको कुरा त के छ भने उनले खेलेका सबै प्रतियोगितामा नेपालले पदक जितेको छ ।
‘अहिलेसम्म मेडलविना त कहिल्यै फर्किएको छैन,’ मानमतीले भनिन् ।
सन् २०२५ को फागुनमा भएको छैटौँ एसियन च्याम्पियनसिपदेखि उनले कप्तानको जिम्मेवारी सम्हालिन् । कप्तान बन्नुको अर्थ उनी राम्ररी बुझ्छिन् । उनका अनुसार कप्तानमा जिम्मेवारी बढी हुन्छ । ‘आफ्नो उत्कृष्ट प्रदर्शनसँगै जुनियर बहिनीहरूलाई पनि उत्प्रेरित गर्नुपर्छ, सिकाउनुपर्छ,’ उनले भनिन्, ‘पूरै टिमलाई सम्हाल्नुपर्छ ।’
मानमतीको नेतृत्व क्षमता देखेरै प्रशिक्षक र व्यवस्थापकले यो जिम्मेवारी दिएका हुन् । ‘म जुनियर हुँदादेखि नै साथीहरूलाई यसरी ट्याकल गर्नुपर्छ, यसरी रेड हान्नुपर्छ भनेर सिकाउँथेँ । सायद यही गुण देखेर गुरुहरूले विश्वास गर्नुभयो,’ मानमतीले भनिन् ।
मानमतीले राष्ट्रिय टिमसम्म पुग्न अनेक चुनौती सामना गर्नुपर्यो । किसान परिवारबाट खेल क्षेत्रमा आएकी उनले त्यो रोड गेमदेखि लिएर एसियन गेम, १९ एसियन गेमको मेडलसम्मको यात्रामा पुुग्दा धेरै कठिनाइ भोगिन् । त्यो वेला थोरै खुसी तर कठिनाइ बढी थियो ।
‘अरूको साथीहरूको जुत्ता सापटी मागेर पनि खेलेँ । म्याट प्याड मागेर पनि खेलियो । धेरै दुःख गरियो यहाँसम्म पुग्नलाई,’ उनले भनिन्, ‘अहिले यस्तो कुरा सम्झिँदा मेरो आँखाबाट आँसु आउँछ ।’
पुराना दिनहरू सम्झिँदा भावुक हुने गरेको उनी बताउँछिन् । ‘एकदम दुःखलाग्दो समय थियो । एकजोर जुत्ता किन्नलाई पनि आमाबुबासँग पैसा हुन्थेन,’ उनले भनिन् । त्यो स्थितिबाट हुर्केर अहिले केही नभए पनि ब्रान्डेड लुगा लगाउने एउटा लेबल कबड्डीले स्थापना गरिदिएको उनको भनाइ छ ।
_ysexFxVyqi.jpg)
हाल उनी नेपाल प्रहरीको जागिर गर्छिन् । विभागीय टिमबाट पनि खेल्छिन् । जीवनमा खेलेका अनेकौँ प्रतियोगितामध्ये १९ औँ एसियन गेम्समा कांस्य पदक जितेको क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् ।
‘त्यो गेम जितेपछिको क्षण म जीवनमा कहिल्यै बिर्सिन सक्दिनँ । मेरो आँखाबाट धेरै आँसु बगेको थियो,’ मानमतीले भनिन् । खेलमा निरन्तर लागिरह्यो भने सफलता पाइँदो रहेछ भन्ने आफूले त्यहीँबाट सिकेको उनले बताइन् ।
‘हामीले साउथ एसियन गेम्समा रजत पदक पनि ल्यायौँ, तर त्यो दक्षिण एसियामा मात्र सीमित थियो,’ उनले भनिन्, ‘तर ५१ वटा देश सहभागी एसियाली खेलकुदमा नेपालको झण्डा फहराउँदा र पोडियममा उभिँदा म भावुक भएँ । त्यो क्षण म कहिल्यै बिर्सिने छैन ।’
मानमतीको खेल जीवनलाई उचाइ दिन उनको परिवारको धेरै सहयोग रह्यो । बिहेपछि झन् उनको श्रीमानको ठुलो साथ छ । ३१ वर्षकी मानमतीको बिहे भएको तीन वर्ष भयो । उनी श्रीमान विमल केसीलाई आफ्नो सबैभन्दा ठुलो प्रेरणाको स्रोत मान्छिन् ।
‘मेरो अहिलेको मुख्य प्रशिक्षक नै मेरो श्रीमान हो । उहाँले मलाई यति धेरै सपोर्ट गर्नुहुन्छ कि सायद बिहे नगरेको भए म यो ठाउँमा पुग्दिनँ थिएँ होला,’ उनले खुसी हुँदै भनिन् ।
कहिलेकाहीँ अभ्यासमा जान अल्छी लाग्दा वा थकित हुँदा श्रीमानले नै उत्प्रेरित गर्ने उनको भनाइ छ । श्रीमानको भनाइ उद्धृत गर्दै उनले सुनाइन्, ‘विश्वकप र एसियनको फाइनल खेल्नु छैन ? यो तिम्रो सपना होइन ? तिमीले गर्यौ भने जुनियरले पनि सिक्छन् ।’
मानमतीका बुबाको दुई वर्षअघि निधन भयो । छोरीको सफलतामा आमा गर्व गर्छिन् । मानमतीले सुनाइन्, ‘आमा भन्नुहुन्छ– मेरो गर्भबाट यति मेहनती छोरी जन्मिइन् । म कति भाग्यमानी छु ।’
जब गाउँमा मानिसहरू ‘मानमतीकी आमा’ भनेर चिन्छन्, तब आमाले करोडौँ पैसा कमाएभन्दा बढी खुसी मिल्ने गरेको भनेर आफूलाई सुनाएको उनको भनाइ छ ।
मानमती खेलकुद क्षेत्रमा लागेको १७ वर्ष पुग्यो । यो अवधिमा उनी विभिन्न ठाउँबाट अवार्ड पाउँदै सम्मानित भएकी छन् ।
_au8M9t6c0h.jpg)
उनीसँगै खेल्ने खेलाडी प्रायःजसो सबै अवकाश भइसकेका छन् । कोही प्रशिक्षक छन् । कोही बाहिर दुबईतिर वैदेशिक रोजगारीमा गएका छन् । पुलिस, एपीएफ, आर्मीमा रहेका उनका सहकर्मी कतिपय खेलाडीले खेल्न छोडिसके । केही भने क्लबस्तरमा नेपालमै खेलिरहेका छन् । मानमती भने देशकै टिमको नेतृत्व गर्दै आफ्नो अनुभव नयाँ बाँड्ने र एकजुट बनाएर सकारात्मक नतिजा निकालिरहेकी छन् ।
नेपालमा क्रिकेट, फुटबलजस्ता खेलको जति चर्चा हुन्छ, कबड्डीको त्यति हुँदैन । तै पनि मानमती निराश छैनन् ।
‘हामीले अन्य खेलको चर्चा छ भनेर डाहा गर्ने कुरा आउँदैन । कबड्डीको चर्चा पनि आफ्नो ठाउँमा छ,’ उनले भनिन्, ‘घरेलु क्षेत्रमा हामी पनि चिनिँदै छौँ । राम्रो गर्न सक्छौँ । राम्रो गर्दै गएपछि पब्लिकले रुचाउने त हो ।’ मानमतीका अनुसार पहिलाको तुलनामा हाल कबड्डीको अवस्था धेरै राम्रो भएको छ । सामूहिक खेलमा सबैभन्दा सफल टिम कबड्डी नै भएको उनी दाबी गर्छिन् ।
एसियन गेम्समा पदक ल्याएपछि राष्ट्रिय खेलकुद परिषद्बाट मासिक पारिश्रमिक आउन थालेको छ । यसबाट खेलाडीहरूलाई गुजारा चलाउन सहज भएको उनको भनाइ छ ।
_TMBP84Y6Nu.jpg)
चुनौती पनि उत्तिकै छन् । मानमतीका अनुसार सबैभन्दा ठुलो समस्या प्रशिक्षणका लागि आफ्नै हल र राम्रो मैदान नहुनु हो । ‘अर्काको हल भाडामा लिएर अभ्यास गर्दा त हामी एसियन गेम्समा पदक ल्याउन सक्छौँ भने आफ्नै सुविधासम्पन्न हल भइदिए पक्कै फाइनल खेल्न र स्वर्ण पदक जित्न सक्छौँ,’ मानमतीले भनिन् ।
उनको सपना एसियाली पदकमा मात्र सीमित छैन । ‘मेरो सपना विश्वकप फाइनल खेल्ने हो,’ उनले भनिन् ।
विश्वकप प्रतियोगिताको मिति केही पछि सरे पनि यसले नेपाली टोलीलाई हतोत्साहित बनाएको छैन, बरु तयारीका लागि थप समय दिएको मानमतीको भनाइ छ । हाल टोलीले हरियाणाको मोरमाजरामा कडा प्रशिक्षण गरिरहेको छ ।
अभ्यास खेलमा पनि राम्रो भइरहेको मानमती बताउँछिन् । विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण