‘छाउगोठमा पाएको यातनाले क्रान्ति जगायो’
सारांश
- पशुपति कुँवर विगत २४ वर्षदेखि अछाममा छाउपडी प्रथाविरुद्ध लडिरहेकी छिन्।
- उनकै पहलमा अछाममा पहिलो पटक छाउगोठ भत्काइएको थियो र उनले विद्यालय पाठ्यक्रममा छाउपडीसम्बन्धी विषय समावेश गराउन भूमिका खेलिन्।
- उनले छाउपडी प्रथा गरिबी, घरेलु हिंसा र पितृसत्तात्मक सोचसँग जोडिएको बताइन् र यसको समाधान चेतना मात्र नभई मानसिक रोग जस्तै भएको बताइन्।
धनगढी । छाउपडी प्रथाविरुद्ध अनवरत लडिरहेकी एक योद्धा हुन् पशुपति कुँवर । विगत २४ वर्षदेखि उनी अछाममा महिला अधिकारका लागि सङ्घर्षरत छिन् । कुनै समय आफैँ छाउगोठमा बसेर यातना भोगेकी पशुपतिको मनमा त्यही यातनाले क्रान्तिको ज्वाला जगायो ।
आज उनी यो प्रथा उन्मूलनका लागि अग्रपङ्क्तिमा खटिएकी छन् । अछाममा पहिलो पटक साबिकको भागेश्वर गाविसमा उनकै पहलमा छाउगोठ भत्काइएको थियो ।
आफूहरू सानै छँदा आमाले छाउ बार्ने क्रममा गोठमै राखेको र त्यहीँ पकाएर दिएको खानेकुरा खाएर बस्नु परेको अनुभव उनीसँग छ । ‘साँघुरो ठाउँ, सुत्न पनि गाह्रो । वर्षा हुँदा पानी चुहिने,’ उनले भनिन् ।
महिनावारी नहुँदै पनि कलिलो उमेरका कारण खान–बस्न आमासँगै छाउगोठ पसेकी पशुपति महिनावारी हुन थालेपछि झन् नबस्ने कुरै भएन ।
पशुपति १४–१५ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिइन् । त्यतिवेला उनी कक्षा ६ वा ७ मा पढ्थिन् । ‘मलाई ठ्याक्कै यति उमेर भन्ने त थाहा छैन, म ६ या ७ कक्षा पढ्दाखेरि पहिलो पटक महिनावारी भएको थिएँ,’ उनले भनिन् ।

पहिलो पटक महिनावारी हुँदा चार दिनसम्म परिवारका सदस्य, विशेष गरी आमा र दाजुहरूको नजिक पर्न पाइँदैनथ्यो । उनले भनिन्, ‘त्यो वेला परिवारका सदस्यलाई अनुहार देखाउन हुँदैन भन्ने चलन थियो । साथीहरूले खाना ल्याइदिन्थे अनि उता बाहिर–बाहिरै गएर काम गर्ने । राति गोठमा जाने अनि साथीहरू कुर्न आउँथे ।’
पहिलो महिनावारीमा सात दिनसम्म बार्नुपर्ने चलन थियो । सात दिनपछि मात्रै उनी घरभित्र पस्न पाइन् ।
छाउगोठभित्रको बसाइ सम्झिँदा अहिले पनि पशुपतिको मन सिरिङ्ग हुन्छ । उनले भनिन्, ‘त्यही पीडा भोगेको भएर त्यसको कष्ट मलाई थाहा छ । त्यस्तो कष्ट अरूले भोग्नु नपरोस्, कोही असुरक्षित महसुस गर्न नपरोस्,’ उनले भनिन्, ‘विभेद भनौँ वा कुसंस्कार त भोग्नेलाई मात्र थाहा हुन्छ ।’
विद्यालय पढ्ने उमेरमा गोठमा बस्दाका अनेकन् समस्या थिए । त्यतिखेर मैनबत्ती अथवा लालटिन पनि सीमित हुन्थे । छाउगोठमा पति त्यो सुविधा पनि हुँदैनथ्यो । गोठमा ढोका हुँदैनथ्यो ।
‘कहिलेकाहीँ साथीहरू र बहिनीहरूलाई सुत्न बोलाउँदा पनि उनीहरू आउन मान्दैनथे । कारण थियो– बिहानै चिसोमा नुहाएर मात्र घर जानुपर्ने बाध्यता,’ उनले भनिन्, ‘छाउपडीसँग सुतेको महिलालाई नुहाएर मात्र घरमा छिर्न दिने चलन थियो ।’

जाडोमा बिहानै नुहाउनुपर्छ, नत्र घरभित्र छिर्न पाइँदैन भनेर पनि सुत्नका लागि छाउगोठमा साथी आउन नमान्ने उनको भनाइ थियो । ‘म धेरै त एक्लै बसिनँ, कसै न कसैलाई बोलाइहाल्थेँ । कहिलेकाहीँ त अरू साथीहरू पनि महिनावारी भएका हुन्थे,’ उनले भनिन्, ‘यदाकदा एक्लै सुत्नुपर्ने वेला रातभरि निन्द्रा लाग्दैनथ्यो । कोही आइहाल्छ कि भन्नेजस्तो डर लाग्ने ।’
सरसफाइ र महिनावारी हुँदा प्रयोग गरिने कपडाको अवस्था झनै दयनीय थियो । ‘त्यतिखेर सफा लाउनुपर्छ भन्ने ज्ञान पनि थिएन । अनि पुरानो जे पायो त्यही लगाउने, कालो टालो लगाएर बस्नु पर्थ्यो,’ उनले भनिन् ।
पशुपतिको माइती घर अछामको साँफेबगर नगरपालिकामा पर्छ भने उनको विवाह चौरपाटी गाउँपालिका– ४ मा भएको हो । १० कक्षाको टेस्ट परीक्षा दिनुभन्दा अगाडिसम्म उनी गोठमै बस्थिन् । तर जब उनले तालिमहरूमा भाग लिन थालिन्, उनमा चेतनाको दियो बल्यो । त्यसपछि उनी कहिले लुकेर घरभित्रै बस्ने, कहिले गोठमा बस्ने गर्न थालिन् ।
एसएलसी पास गरेपछि उनी सामाजिक संस्थामा आबद्ध भइन् । २०५७ सालदेखि उनी महिनावारी हुँदा घरमै बस्न थालिन् । २०५८ सालदेखि भने उनी खुलेरै महिनावारी हुँदा घरमा बस्न थालिन् । त्यसपछि महिनावारी हुँदा घरभित्रै बस्दा पनि केही हुँदैन रहेछ भन्ने आत्मविश्वास अझ बढेको उनले सुनाइन् ।
‘परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यता राख्छु म,’ उनले भनिन्, ‘विभेद, कुसंस्कारविरुद्ध हामीले आफैँबाट परिवर्तनको सुरुवात गर्न नसकेसम्म मञ्चमा गएर बोलेरमात्र हुँदैन ।’

पशुपतिले आफ्नी भाउजुलाई पनि महिनावारी हुँदा घरमै बस्न मनाइन् । तर सुरुवाती दिन उनका लागि सहज थिएनन् । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बसेको भनेर छिमेकीले कुरा काटे । ‘बिहे गरेपछि देवता लाग्छ, अनि देख्छेस् भन्थे,’ उनले भनिन्, ‘गाउँमा गाली गर्ने, यो मान्छेलाई पढाउनु हुँदैन, यो पढाएर उल्टो–उल्टो काम गर्न थाली भन्थे ।’
२०५९ पुस १६ गते पशुपतिको पहलमा सुदूरपश्चिममै पहिलो पटक साबिकको भागेश्वर गाविस (हाल साँफेबगर नगरपालिका–६) लाई छाउपडी गोठमुक्त घोषणा गरियो । यो अभियान सहज थिएन । ‘हामीले भागेश्वरमा त एक वर्षसम्म काम गर्यौँ, काउन्सिलिङ गर्यौँ । मोनिटरिङ गर्नेदेखि धामीझाँक्रीको सहयोग लिनेसम्मको काम गर्यौँ,’ उनले भनिन् ।
अभियानको सुरुवात बाहुनहरूको बाहुल्यता रहेको वडा नम्बर १ को डोटे भन्ने ठाउँबाट भएको थियो । राजनीतिक दल, जिल्लास्थित सरकारी कार्यालय (महिला विकास), अन्य संघसंस्था र महिला सञ्जालहरूको सहकार्यमा यो अभियान सफल भएको थियो । ‘त्यो वेला भागेश्वरमा हाम्रो अभियानको सफलता दर ९५–९९ प्रतिशतजस्तै थियो,’ उनले भनिन् ।

२०५७ देखि सुरु भएको पशुपतिको यो अभियानले २५ वर्ष पार गरिसकेको छ । यो अवधिमा उनले विभिन्न उपलब्धि हासिल गरेकी छन् ।
- सफलताका खुट्किलाहरू
२०७६ सालमा पशुपतिले महिला, बालबालिका मन्त्रालयसँग समन्वय गरी छाउपडीसम्बन्धी विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न महत्त्वपूर्ण भूमिका खेलिन् ।
विद्यालयमा किशोरीहरूलाई निःशुल्क प्याड उपलब्ध गराउनुपर्छ भनेर पशुपतिले अभियान चलाइन् ।
२०७७ सालदेखि अछाममा उनले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग सञ्चालन गरिरहेकी छन्, जहाँ १०–१५ जना महिलाले रोजगारी पाएका छन् ।
२०७५ मंसिर १५ गते पार्वती रावतको छाउगोठमा मृत्यु भएपछि पशुपतिले आफैँ प्रहरीमा जाहेरी दिएर कानुनी कारबाहीका लागि दबाब दिइन् ।

भर्खरै २०८१ सालमा पञ्चदेवल विनायकमा एक किशोरीमाथि बलात्कार भएपछि उनले बाँकी रहेका गोठहरू भत्काउन ‘मर्यादित महिनावारीका लागि छाउगोठ मुक्त अभियान–२०८१’ सुरु गरेकी छन् ।
आफ्नो २५ वर्षे अभियानको समीक्षा गर्दै पशुपति भन्छिन्, ‘धेरै महिलाचाहिँ अहिले सुरक्षित घरमा बस्नुभएको छ । कानुन आएको छ, कानुनले सपोर्ट गरेको छ । राज्यले विभिन्न कार्यक्रमहरू चेतनामूलकहरू गरेको छ ।’
महिलाहरू पनि सङ्गठित भएर वकालत गर्न सक्ने भएको उनको बुझाइ छ । यसलाई उनले महत्त्वपूर्ण उपलब्धि मानेकी छन् ।
- चुनौती बाँकी नै छन्
अछामका चौरपाटी, मेल्लेख र विशेष गरी मेल्लेखको हात्तीकोटजस्ता ठाउँमा यो प्रथा अझै क्रूर रूपमा जीवित छ । हात्तीकोटमा त सुत्केरीलाई समेत गोठमा राख्ने चलन छ ।

पशुपतिका अनुसार हात्तीकोटमा तालिम दिन जाँदा उनलाई एक जना महिलाले सुत्केरी नुहाउन गएको वेला गोठमा राखेको बच्चालाई स्यालले खाएको घटना सुनाइन् । त्यस्तै, गर्भपतन गरेर रक्तस्राव हुँदा छाउ भएको भनेर गोठमा राख्दा एक महिलाको मृत्यु भएको घटना पनि आफूले सुनेको उनको भनाइ छ ।
पशुपतिका अनुसार यो समस्याको समाधान केवल ‘चेतना’ जगाएरमात्र सम्भव छैन । यो मानसिक रोगजस्तै हो । ‘मान्छेले देवता लाग्यो, भूत लाग्यो, म बिरामी भएँ भन्ने, बोक्सी लाग्यो भन्छन् नि ! यी त एकदम विभेदका कुरा हुन्,’ उनले भनिन् ।
पशुपतिको बुझाइमा यो समस्या गरिबी, घरेलु हिंसा र पितृसत्तात्मक सोचसँग जोडिएको छ । उनी राज्यको प्राथमिकतामाथि पनि प्रश्न उठाउँछिन् । ‘विकास भनेको पहाड फोर्ने मात्रै कुरा राज्यले मानेको छ,’ उनले भनिन्, ‘अब गाउँमा रोड पुगेको छ, घर–घर बस्तीसम्म बाटो पुग्यो तर मान्छे छैन अहिले । रोड पुगेरमात्रै त भएन नि, भौतिक विकास भएर मात्रै त हुँदैन रहेछ नि त !’
सामाजिक सेवा र राजनीतिलाई एकै सिक्काका दुई पाटा मान्ने पशुपति भविष्यमा पनि यही क्षेत्रमा निरन्तर लाग्ने बताउँछिन् । निर्णय गर्ने तहमा पुगेर महिलाले नेतृत्व सम्हाल्न आवश्यक रहेको उनको बुझाइ छ ।
‘समविकास नेपाल’ नामक गैरसरकारी संस्था सञ्चालन गरिरहेकी उनलाई परिवारको बलियो साथ छ । विशेष गरी श्रीमान् र घरपरिवारको पूर्ण साथ रहेको उनले बताइन् । उनको विवाह हुनुभन्दा अगाडि नै उनका जेठाजुले आफ्नी श्रीमतीलाई छाउ बार्नबाट रोकेर एउटा उदाहरणीय काम गरिसकेका कारण पनि विवाहपछि पशुपतिलाई यो अभियानमा अघि बढ्न हौसला मिलेको हो । सबैले यस्तै साथ र सहयोग पाएको खण्डमा महिलाहरू यो कुरीतिबाट चाँडै बाहिर निस्कन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण