आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउँदा हुने फाइदाहरू

सोमबार, १९ साउन २०८२, १० : ३५
सोमबार, १९ साउन २०८२

सारांश

  • कर्णाली प्रदेश अस्पताल एक दशकको प्रयासपछि विकसित भएको छ, जुन पहिले जिल्ला अस्पताल मात्र थियो।
  • अस्पतालले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएको छ, जनशक्तिको अभाव ठूलो चुनौती बनेको छ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता छ, जसले दक्ष जनशक्ति उत्पादन, सेवाको गुणस्तर वृद्धि, र अनुसन्धानमा सघाउ पुर्‍याउँछ।

अहिले हामीले देखिरहेको कर्णाली प्रदेश अस्पतालको यो विशाल संरचना र चहलपहल एक दशक यताको उपलब्धि हो । मेरो स्मृतिमा यो अस्पतालको एउटा पुरानो तस्बिर छ, जतिबेला यो जिल्ला अस्पतालमात्र थियो । म बच्चा छँदा बिरामी भएर यहाँ आएको थिएँ । समयको चक्रले मलाई यहीँ सेवा गर्ने अवसर दियो ।

एक दशकअघि जब म बालरोग विशेषज्ञका रूपमा यो अस्पतालमा प्रवेश गरेँ, यहाँको अवस्था फरक थियो । केही डाक्टरमात्रै हुनुहुन्थ्यो । उहाँहरू २४ सै घण्टा खटिनुहुन्थ्यो, आफ्नो क्षमताले भ्याएसम्मको अथक सेवा दिनुहुन्थ्यो । भवनहरू जीर्ण थिए । स्रोत–साधन सीमित थिए, तर सेवा गर्ने भावना असीमित थियो ।

त्यो समय, कर्णालीको स्वास्थ्य नियति भनेकै ‘रेफर’ हुनु थियो । भर्खरै जन्मेको शिशुलाई ज्वरो आयो वा श्वास बढ्यो भने अभिभावकहरू अत्तालिँदै नेपालगन्ज दौडन्थे । सुत्केरी आमालाई सामान्य जटिलता देखिनासाथ वा सर्पले टोकेको बिरामी आइपुग्नासाथ यहाँ प्राथमिक उपचार गरेर सिधै नेपालगन्ज पठाउनुको विकल्प थिएन । एउटा प्राथमिक उपचार केन्द्रजस्तै थियो, जहाँबाट बिरामीलाई अन्यत्र पठाउने काम बढी हुन्थ्यो ।

म आएपछि बालरोग विभाग स्थापना भयो । क्रमशः विशेषज्ञहरू थपिँदै जानुभयो । विभागहरू विस्तार हुन थाले, सेवाको दायरा फराकिलो बन्दै गयो । तर, वास्तविक चित्र त्यतिबेला बदलियो, जब अस्पतालको नेतृत्व (निर्देशक) मा डा. डम्बर खड्का आउनुभयो । उहाँको नेतृत्वले भौतिक संरचनादेखि सेवा प्रवाहको गुणस्तरसम्ममा अविश्वसनीय परिवर्तन ल्यायो । उहाँको कार्यकालले हामीलाई सिकायो– नेतृत्व केवल व्यवस्थापक होइन, एक दूरदर्शी र राजनीतिक तहलाई समेत घच्घच्याउन सक्ने शक्ति हुनुपर्छ ।

भौतिक संरचना बन्यो, अत्याधुनिक उपकरणहरू थपिए, स्वास्थ्य बीमा लागु भयो र नागरिकको विश्वास ह्वात्तै बढ्यो । कर्णालीका दूरदराजका नागरिकहरूका लागि प्रदेश अस्पताल ठुलो आशा र भरोसाको केन्द्र बन्यो ।

डा. डम्बरले प्रदेशका मुख्यमन्त्रीदेखि केन्द्रका स्वास्थ्यमन्त्रीसम्मलाई अस्पतालको आवश्यकता र सम्भावनाबारे निरन्तर झकझक्याउनुभयो । त्यतिबेला प्रदेश सरकारमा पनि स्वास्थ्यप्रति संवेदनशील नेतृत्व थियो । तत्कालीन सामाजिक विकासमन्त्री दल रावल र तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको योगदानलाई कर्णालीले कहिल्यै बिर्सन सक्दैन । मुख्यमन्त्री शाही बारम्बार भन्नुहुन्थ्यो– यो अस्पताललाई कर्णालीको गौरवका रूपमा, एउटा ‘बुटिक अस्पताल’ बनाउनुपर्छ ।

उहाँले केवल आश्वासन दिनुभएन, अस्पतालमै आएर अनुगमन गर्ने र आवश्यक बजेट सहजै उपलब्ध गराउने वातावरण बनाइदिनुभयो । यही साझा प्रयासको परिणाम हो– आज हामीले देखिरहेको यो आधुनिक भवन ।

भौतिक संरचना बन्यो, अत्याधुनिक उपकरणहरू थपिए, स्वास्थ्य बीमा लागु भयो र नागरिकको विश्वास ह्वात्तै बढ्यो । कर्णालीका दूरदराजका नागरिकहरूका लागि प्रदेश अस्पताल ठुलो आशा र भरोसाको केन्द्र बन्यो । परिणामस्वरुप, बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्यो । आज अवस्था यस्तो छ कि अस्पतालले आफ्नो क्षमताभन्दा दोब्बर, तेब्बर बिरामीको भार बोकिरहेको छ । यो सफलता आफैँमा एउटा नयाँ सङ्कटको सूचक पनि हो ।

आज प्रदेश अस्पताल होस् वा कर्णालीका अन्य जिल्ला अस्पतालहरू, बिरामीले हरेक विभागमा घण्टौँ लामो लाइन बस्नुपर्छ । उसले चाहेजस्तो समय र गुणस्तरीय परामर्श पाउन सकिरहेको छैन । यहाँ मिर्गौला प्रत्यारोपण भइसक्यो, मुटुको जटिल शल्यक्रिया हुन थालेको छ, हाइ–टेक आईसीयूहरू सञ्चालनमा छन् । तर यी सबै सेवाका पछाडि एउटा कटु सत्य लुकेको छ– जनशक्तिको चरम अभाव ।

सेवा छ, तर सेवा दिने हातहरूको कमी छ । डाक्टर, नर्स, प्यारामेडिक्स र व्यवस्थापकीय कर्मचारीहरूको संख्या अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा अत्यन्तै न्यून छ । अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने, हाम्रो जनशक्ति २०–२५ प्रतिशत पनि छैन । राज्यले लोक सेवामार्फत तोकेको दरबन्दी शतप्रतिशत पूर्ति हुँदा पनि हामी मुस्किलले ३५ प्रतिशतको हाराहारीमा पुग्छौँ । यसको अर्थ, एउटा स्वास्थ्यकर्मीले तीनदेखि चार जनाको काम गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा गुणस्तर कायम राख्नु कति चुनौतीपूर्ण होला ? एउटै व्यक्तिले दिनमा दुई–तीन सय बिरामी हेर्नुपर्दा सेवाको गुणस्तरमा ह्रास आउनु स्वाभाविक हो । त्यसैले, अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको यही जनशक्तिको खाडल पुर्नु हो । यदि राज्यले बिरामीको बढ्दो चापअनुसार स्वास्थ्यकर्मीको संख्या पनि बढाउँदै लैजान सक्यो भनेमात्र हाम्रो भविष्य उज्ज्वल छ ।

समस्याको जड पहिचान गरेपछि अब समाधानको बाटो खोज्नुपर्छ । टुक्रे समाधानले यो विशाल समस्यालाई सम्बोधन गर्न सक्दैन । यसको एकमात्र दीर्घकालीन र दिगो समाधान हो– प्रदेश अस्पताललाई ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ जस्तै एउटा स्वायत्त र प्राज्ञिक संस्थामा रूपान्तरण गर्नु । प्रतिष्ठान केवल एउटा ठूलो अस्पताल होइन, यो एउटा यस्तो इकोसिस्टम हो, जसले सेवा, शिक्षा र अनुसन्धानलाई एकसाथ अगाडि बढाउँछ ।

यस कारण आवश्यक छ प्रतिष्ठान

१. दक्ष जनशक्ति उत्पादनको केन्द्र

आज हाम्रा युवाहरू डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मी बन्नका लागि काठमाडौँ वा बाहिर जान बाध्य छन् । त्यहाँ पढाइको भन्दा बसाइ र अन्य खर्च महँगो छ, जसले गर्दा कर्णालीका अधिकांश जेहेन्दार विद्यार्थी अवसरबाट वञ्चित छन् । यदि हामीले यहीँ प्रतिष्ठान बनायौँ भने हाम्रा छोराछोरीले आफ्नै घर–आँगनमा बसेर कम शुल्कमा गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्न सक्छन् ।

यसले दुई वटा काम गर्छ– पहिलो, स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुन्छ, जो यहाँको भूगोल र समाजसँग परिचित हुन्छन् । दोस्रो, ‘ब्रेन ड्रेन’ को समस्या समाधान हुन्छ र उत्पादित जनशक्तिले यहीँ सेवा गर्ने सम्भावना बढ्छ ।

२. सेवाको गुणस्तरमा वृद्धि

प्रतिष्ठान बनेपछि हरेक विभाग प्राज्ञिक केन्द्र बन्छ । अहिले लोकसेवाले खटाएका तीन जना डाक्टरले चलाएको विभागमा भोलि एक जना ‘प्रोफेसर’ हुनेछन् । प्रोफेसर हुनका लागि लामो अनुभव, गहिरो अध्ययन र अनुसन्धान चाहिन्छ । उनले प्रत्यक्ष रूपमा सबै बिरामी नहेरे पनि आफ्ना जुनियर डाक्टरहरूलाई जटिल केसहरूमा मार्गदर्शन गर्छन् । उनको अनुभव र ज्ञानले पूरै विभागको उपचार पद्धतिलाई परिष्कृत र गुणस्तरीय बनाउँछ । यसले अस्पताललाई उपचार गर्ने ठाउँ मात्र नभएर, सिक्ने र सिकाउने केन्द्रमा परिणत गर्छ ।

३. अनुसन्धान र नीति निर्माणमा सहयोग

हामी अहिले पनि स्वास्थ्यका धेरै निर्णयहरू अन्दाजको भरमा गरिरहेका छौँ । प्रतिष्ठानले अनुसन्धानलाई बढावा दिन्छ । जस्तै, कर्णालीका दलित वा पिछडिएका समुदायका बालबालिकामा कुपोषण र संक्रमण किन बढी छ ? यसको सामाजिक, आर्थिक र सांस्कृतिक कारण के हो ? यस्ता प्रश्नहरूको जबाफ अनुसन्धानले दिन्छ । जब तथ्य र तथ्याङ्क बाहिर आउँछ, तब राज्यले लक्षित वर्गका लागि प्रभावकारी नीति र कार्यक्रम बनाउन सक्छ । यसरी समाज विज्ञानमा आधारित भएर अगाडि बढ्छ ।

४. जिल्ला अस्पतालहरूसँग समन्वय

प्रतिष्ठानको मोडेल यस्तो बनाउनुपर्छ कि यसले केवल सुर्खेतमा मात्र सेवा सीमित नराखोस् । यसलाई कर्णालीका सबै जिल्ला अस्पतालहरूसँग जोड्नुपर्छ । प्रतिष्ठानका विशेषज्ञहरूले रोटेसनका आधारमा जिल्ला–जिल्लामा गएर सेवा दिने र त्यहाँका स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गर्न सकिन्छ । यसले कर्णालीको समग्र स्वास्थ्य प्रणालीलाई नै बलियो बनाउँछ ।

  • आर्थिक भारको कुरा

जब प्रतिष्ठानको कुरा आउँछ, पहिलो प्रश्न उठ्छ– पैसा कहाँबाट आउँछ ? प्रदेश सरकारको आम्दानीले त तलब खुवाउन पनि धौ–धौ छ । यो यथार्थ हो, तर यो पूर्ण सत्य होइन ।

पहिलो कुरा, प्रदेश सरकारले ठुला र असम्भव योजनामा बजेट ‘फ्रिज’ गराउने प्रवृत्ति अन्त्य गर्नुपर्छ । ठुला नेताहरूले आफ्ना कार्यकर्ता पाल्न वा राजनीतिक स्वार्थका लागि वर्षौंसम्म योजनाहरू ओगटेर राख्ने तर काम सुरु नगर्ने परिपाटी छ । त्यस्ता अनुत्पादक योजनाहरूमा अड्किएको बजेटलाई स्वास्थ्य जस्तो प्रत्यक्ष जनसरोकारको विषयमा लगाउनुपर्छ ।

दोस्रो, प्रतिष्ठानमा गरिने लगानी ‘खर्च’ होइन, ‘लगानी’ हो । यो मुख्यमन्त्री रोजगार कार्यक्रमजस्तो पैसा बाँड्ने काम होइन । यो एउटा यस्तो सम्पत्ति हो, जसले आउने पुस्ताका लागि स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गर्छ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण तर्क, हामीले यो लगानीका लागि संघ सरकारसँग लड्नुपर्छ । यो हाम्रो अधिकार हो । इतिहास साक्षी छ, बहादुर शाहले खस राज्य (जुम्ला) माथि विजय हासिल गरेपछि कर्णालीलाई योजनाबद्ध रूपमा पछाडि पारियो । शासकहरूले कुनै पनि क्षेत्रमा लामो समय शासन गर्न त्यहाँका जनतालाई अशिक्षित, गरिब र आपसमा विभाजित राख्ने नीति लिन्छन् । कर्णालीमाथि त्यही भयो । बहादुर शाहदेखि राणाकाल र पञ्चायतसम्म, यहाँ विकासको लगानी शून्यप्रायः रह्यो । त्यसैले, आज हामीले संघ सरकारसँग केवल यो वर्षको बजेट होइन, २०० वर्षदेखिको ऐतिहासिक क्षतिपूर्ति माग गर्नुपर्छ । प्रतिष्ठान निर्माण त्यही क्षतिपूर्तिको एउटा हिस्सा हो भनेर हाम्रा नेताहरूले तर्क गर्न सक्नुपर्छ ।

खर्च कटौती र आम्दानीको नयाँ स्रोत

यदि प्रदेशसँग पैसा कम छ भने उसले झन् स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा लगानी बढाउनुपर्छ । किनकि यसले हाम्रो पैसा बाहिरिनबाट रोक्छ । आज कर्णालीको मानिसले वर्षभरि बाख्रा पालेर कमाएको पैसा बिरामी पर्दा नेपालगन्ज र भारतको लखनउमा लगेर खर्च गर्न बाध्य छ । छोराछोरी पढाउन काठमाडौँ पठाउँदा हाम्रो अर्थतन्त्र बाहिर गइरहेको छ । यदि हामीले यहीँ प्रतिष्ठान बनायौँ भने त्यो पैसा यहीँ खर्च हुन्छ । बिरामीले यहीँ उपचार गराउँछ, विद्यार्थीले यहीँ पढ्छ ।

प्रदेश अस्पतालको समितिमा जम्मा भएको २५–३० करोड रुपैयाँ कहाँबाट आयो ? यहीँका बिरामीले उपचार गराएर आएको हो । यसरी, खर्च कटौती गर्नु पनि आम्दानी बढाउनु बराबर हो । यसले आम्दानी पनि सिर्जना गर्छ । जुम्ला प्रतिष्ठानमा भारतीय विद्यार्थीहरू पढ्न आइरहेका छन् । नेपालगन्ज मेडिकल कलेजमा हरेक वर्ष भर्ना हुने १०० विद्यार्थीमध्ये ६० जना भारतीय हुन्छन् । एक जना भारतीय विद्यार्थीले करिब एक करोड रुपैयाँ तिर्छ भने त्यसले वार्षिक ६० करोड रुपैयाँ लुम्बिनी प्रदेशमा भित्र्याइरहेको छ । हामीले कर्णालीमा त्यस्तै संस्था किन नबनाउने ? यो त आम्दानी बढाउने र खर्च घटाउने सबैभन्दा उत्तम विधि हो । पैसा छैन भनेर हात बाँधेर बस्ने हो भने हामी सधैँ यस्तै रहन्छौँ ।

विगत १० वर्षको स्वास्थ्य क्षेत्रको विकास हेर्दा हामी आशावादी हुने ठाउँ प्रशस्त छ । तर अब हामी स–साना सुधारमा मात्रै अल्झिएर हुँदैन । कर्णालीलाई एउटा ठुलो फट्को चाहिएको छ र त्यो फट्को ‘प्रतिष्ठान’ मार्फतमात्र सम्भव छ । प्रतिष्ठान बन्दा सुरुका केही वर्ष राज्यलाई आर्थिक भार पर्ला, तर यो भविष्यको सुनिश्चितताका लागि आज गरिने सबैभन्दा बुद्धिमानीपूर्ण लगानी हुनेछ ।

संघीय सरकारले छुट्टै शिक्षण अस्पताल बनाउने भनेर चार वर्षदेखि आयोजना अल्झाइरहेको छ । त्यो ठुला योजना देखाएर बजेट फ्रिज गर्ने पुरानै राजनीतिक खेल हो । त्यसलाई कुरेर बस्नुभन्दा प्रदेश सरकारले नै प्रदेश अस्पताललाई स्तरोन्नति गरेर प्रतिष्ठान बनाउने आँट गर्नुपर्छ । यसका लागि अहिले नै ठुला भौतिक संरचना बनाइरहनु पर्दैन, भएकै संरचनाबाट सुरु गर्न सकिन्छ । मुख्य कुरा, जनशक्ति थप्ने, पाठ्यक्रम विकास गर्ने र एउटा प्राज्ञिक वातावरण सिर्जना गर्ने हो ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा दलीय राजनीतिभन्दा माथि उठेर एउटा साझा राष्ट्रिय सहमति आवश्यक छ । कर्णालीको स्वास्थ्य अब कुनै एक डाक्टर वा एक मुख्यमन्त्रीको मात्रै सरोकारको विषय होइन, यो समग्र राज्यको दायित्व हो । हामीले २०० वर्षदेखि गुमाएको अवसर र भोगेको उपेक्षाको क्षतिपूर्ति अब यस्तै दूरगामी महत्त्वका संस्थाहरू निर्माण गरेरमात्र पाउन सक्छौँ । प्रतिष्ठान केवल एउटा अस्पताल बन्ने छैन, यो कर्णालीको स्वाभिमान, स्वास्थ्य र समृद्ध भविष्यको प्रतीक बन्नेछ । अबको यात्रा यही हुनुपर्छ ।

 (कर्णाली प्रदेश सरकारद्वारा गठित ‘प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समिति’का सदस्य तथा बालरोग विशेषज्ञ डाक्टर नवराज केसीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवराज केसी
नवराज केसी
लेखकबाट थप