शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा

सोमबार, २६ साउन २०८२, १२ : ०१
सोमबार, २६ साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २६९ योजना सम्पन्न गरेको छ।
  • कार्यालयले ३२ करोड ७३ लाख बजेटमध्ये ३१ करोड ८३ लाख ५६ हजार खर्च गरेको छ, जुन ९७.२७ प्रतिशत हो।
  • कार्यालयले १६२ किलोमिटर नहर पक्की बनाएको र ७ हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुर्याएको छ।

दाङ । दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले रु ३२ करोड ७३ लाख बजेमध्ये रु ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए ।

उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँचवटा योजना पूरा भएका हुन् ।

 सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुईवटा योजना भने कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ । उनका अनुसार हाल कार्यालयबाट तीनवटा बहुवर्षीय योजनाको काम चलिरहेको छ । झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छभने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ । 

कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छभने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ । जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ । 

त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छभने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् ।

कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९९१ हेक्टर (२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप