आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

रमेश क्षितिजका तीन कविता

शनिबार, ०७ भदौ २०८२, १२ : ५५
शनिबार, ०७ भदौ २०८२

१) एउटा मूर्तिको आत्मसंस्मरण
कुनै सीमान्तकृत नागरिकजस्तो भएर
ढुङ्गा थिएँ म— ढुङ्गा
जीवनको किनारतिर कतै बगरमा पल्टिरहेको 
घामको झरी सहिरहेको
बेला–बेलामा चल्ने असिनाको हुरी भोगिरहेको,

स्थिर थिएँ/जड र अप्रगतिशील थिएँ 
मौन थिएँ/लाटो र अवाक् थिएँ
झरी पथ्र्यो — पिरो बनाएर जान्थ्यो नाक
हुरी चल्थ्यो — आँखामा खसाएर जान्थ्यो बालुवा 
बाढी खस्थ्यो — तड्पाएर जान्थ्यो मेरो आत्मा,

त्यो लोकगायक नदी हुन सकिनँ
—जससँग थिए, हृदय छुने गीतहरू !
त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ
— जसले लेख्थ्यो, घामका उज्याला पंक्तिहरू !
त्यो कलाकार चरा हुन सकिनँ
— जसले बनाउँथ्यो, आफ्नै सीपले कलात्मक गुँड !

टाढा हिँडेको माझीजस्तो बाटो
वा कोमल हृदयजस्तो पग्लिरहेको मेघ
— त्यस्तो केही हुन सकिनँ
बरु एक दिन ईश्वरको अवतार भएँ म, ईश्वर ।

जब लग्यो, कुनै कलाकारले मलाई हिर्कायो शरीरका एक–एक विन्दुमा
ताछ्यो पत्र–पत्र छाला र फुटायो पुराना अङ्गहरू,

उता
मालसिरीको मीठो स्वरलहरी गुन्निँदा
म चिच्याउँथेँ कर्कश आर्तनादले यहाँ,
बिहान हुन्थ्यो —
र पक्षीहरू उड्थे उन्मुक्त आकाशमा 
साँझ हुन्थ्यो
र रातो–रातो खुल्दथ्यो सुदूर क्षितिज
म खस्दथेँ — क्षण/प्रतिक्षण टुकिँदै आफैँबाट यहाँ,
म खप्दथेँ — छिनो/हथौडा र मार्तोल
म सहन्थेँ — प्रहार/चोट र दुःख,

अनि एउटा शुभबिहान
पाएँ नवीन स्वरूप
र प्रतिष्ठापित भएँ म — अग्लो मन्दिरमा,

अचेल – बेलपत्र/अक्षता/सिन्दूर
अनि घाम/शीत छेक्ने छानो
बस्नलाई आसन/सुँघ्नलाई वासना/हेर्नलाई रङ 
सुन्नलाई लयात्मक श्लोकहरू — के छैन मसँग ?
एउटा साधारण ढुङ्गाले ईश्वर बन्नु 
किमार्थ एउटै थियो तर रहस्य कि — 
मैले पीडाको लामो यात्रा हिँडेको थिएँ !
००

२) सालिकहरूको सपना

वर्षाको एकदिन, हिँड्दाहिँड्दै
बीचबाटोमा भासियो एक युगनायक र सालिक बन्यो 
अचानक, हाहाकार फैलियो सहरमा
पछ्याउँदै सनसनीपूर्ण खबर ओइरिन थाले मान्छेहरू

जजसले छोए वा हेरे त्यो सालिकलाई
ती सबै— हिँड्दै गरेकाहरू पूर्णकदका, 
बसिरहेकाहरू अर्धकदका सालिक बने
सालिकै सालिकले भरियो सम्पूर्ण सहर
र बाटोको छेउमा बग्यो भेल सालिकहरू रोएको आँसुले !

सालिकहरूले हेरे चुपचाप
धारामा खुकुरीको रगत पखालिरहेको युवक

शिर गिडिएका आमाबाबुको रगतको आहालमा 
रुँदारुँदै निदाएका अबोध नानीहरू
र गैँतीले बालुवा कोट्याउँदा निस्केका मृत मानिसका
तरूलजस्ता हातगोडाहरू

धपाउन सकेनन् सालिकले
उनीहरूकै काँधमा बसेर बिस्ट्याइरहने गिद्ध 
र अनुहारमा भुन्भुनाइरहने हरियो झिँगा

शब्दबिनाका सालिकहरूको आँखामा अझै निख्रिसकेको छैन
सपना, कोही आउनेछ एक दिन
ब्युँझाउनेछ सम्पूर्ण सालिकलाई आफ्नो स्पर्शले
फेरि जीवन फुल्नेछ सहरमा, मनाइनेछ उत्सव 
अघिअघि लाएर झाँकीहरू, घन्किनेछ तुमुल ध्वनि
जिन्दगी जिन्दावाद !!
००

३) नयाँ गायक

अब — 
मौलिक गीत आउनेछ — रङ्गमञ्चमा 
गुन्जिनेछ राग प्रत्येक कुना/कुनामा,

काठका मुढाझैँ निस्लोट सुतेका बाजाहरूमा 
जब पर्नेछ सिपालु औँलाहरूको स्पर्श 
झङ्कृत हुनेछ अपूर्व नाद
बग्नेछ मूर्च्छना र फैलिनेछ आरोह/अवरोह

तीव्र/मध्यम — तालमा हिँड्नेछ समय
सुरको लहर/लहर व्याप्त हुनेछ यहाँ,

शुरू हुनेछ एक अनुष्ठान
बिउँझेर जुर्मुराउनेछन् फेरि
बूढानीलकण्ठझैँ सुतिरहेका — बेहोश शब्दहरू !

श्रोताको शरीरमा वेगले चल्नेछ – रक्तसञ्चार 
हल्लिनेछन् हृदयका तारहरू 
र त्यो गायकीको रानोलाई पछ्याउँदै
भुन्भुन्/भुन्भुन् समवेत स्वरका मौरीहरूले 
गुञ्जायमान हुनेछ — परिवेश,
यो मौन सहरमा — मनाउनु छ जीवनको उत्सव ।

दर्शकदीर्घामा बसेका असंख्य दर्शकमध्ये 
नयाँ गायकको व्यग्र प्रतीक्षामा बसेको मानिस 
— एक त म पनि हुँ,

टाढा नेपथ्यमा — कसको हो त्यो सुमधुर आलाप ? 
अहो ! कसले गाउन खोजिरहेछ नयाँ युगको गीत ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश क्षितिज
रमेश क्षितिज
लेखकबाट थप