मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

डिफेन्डिङ च्याम्पियनको श्राप : बाहिरियो जर्मनी, स्वीडेन र मेक्सिको अर्को चरणमा

बुधबार, १३ असार २०७५, २१ : ४९
बुधबार, १३ असार २०७५

एजेन्सी । साबिक विजेता जर्मनीले सन् २०१८ को विश्वकपको आफ्नो पहिलो खेलमा मेक्सिकोसँग अप्रत्यासित हार बेहोरेपछि प्रशिक्षक जोचिम लोले भनेका थिए – हामी ‘त्यो’ नियति भोग्ने छैनौँ ।

‘त्यो’ नियति भनेर उनले पछिल्लो विश्वकपहरुमा डिफेन्डिङ च्याम्पियनहरुले भोग्दै आएको नियतितर्फ लक्षित थियो । 

पछिल्लो २० वर्षमा विश्वकपको इतिहास हेर्ने हो भने डिफेन्डिङ च्याम्पियनहरु, ब्राजिललाई छाडेर, समूह चरणबाटै बाहिरिने गरेका थिए ।

सन् १९९८ को विश्व विजेता फ्रान्स सन् २००२ मा समूह चरणबाट बाहिरिएको थियो । सन् २००२ को विजेता ब्राजिल सन् २००६ मा फ्रान्ससँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्कन बाध्य भएको थियो ।

सन् २००६ को च्याम्पियन इटाली सन् २०१० मा समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१० को विजेता स्पेनले ब्राजिलमा भएको विश्वकपमा समान नियति भोग्न बाध्य बन्यो ।

यसपटक साबिक विजेता जर्मनीले पनि आफ्नो नियति बदल्न सकेन र सोही नियति भोग्दै समूह चरणबाट बाहिरन बाध्य बनेको छ ।

बुधबार भएको खेलमा जर्मनी दक्षिण कोरियासँग २–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

अर्को चरणमा पुग्न जीत अति आवश्यक भएको अवस्थामा इन्जुरी समयमा किम योङ ग्वानको गोलले पछि पर्यो ।

थप गोलका लागि गोलकिपर म्यानुअल नुयर विपक्षीको हाफमा भएको बेला सन ह्योङ मिनले गोल खाली पोष्टमा गोल गर्दै कोरियाको अग्रता दोब्बर बनाए ।

त्यसपछि पनि जर्मनीले गोल फर्काउनै सकेन ।

यता, जीतका वावजुद कोरिया लागि यो सान्तवना जीतमात्र बनेको छ । ऊ यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

उता, स्वीडेनले मेक्सिकोमाथि ३–० को शानदार जीत हासिल गरेको छ ।

पछिल्लो पटक स्वीडेन र मेक्सिको सन् १९५८ को विश्वकपमा भिडेका थिए जसमा स्वीडेन ३–० ले नै विजयी भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको शुरुवात सँगै लुडविन अगस्टिनसनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ६२ औँ मिनेटमा आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीबाट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको अवस्थामा खेलको ७४ औँ मिनेटमा एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि मेक्सिकोको पीडा झन् थपियो ।

जीतसँगै स्वीडेन र मेक्सिकोको समान ६–६ अंक भए पनि गोल अन्तरको आधारमा स्वीडेन समुह विजेता बनेको छ । हारको बावजुद मेक्सिको समूहको उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप